विपनाहरु वर्तमान हुन् हाम्रा । तिनलाई हामी भोग्छौं, छाम्छौं, छुन्छौं, देख्छौं, चाख्छौं, सुँघ्छौं, सुन्छौं । विपनाहरु तिता पनि छन्, मिठा पनि छन्, बिझाउने पनि छन्, कोमल पनि छन् । विपनाको लोकमा दुख्ख छ, दर्द छ, अभाव छ, रोग छ, शोक छ, मृत्यु छ ।
सपनाहरु भविष्य हुन् हाम्रा । हामी ती भोग्दैनौं, देख्छौं मात्र ! सपनाहरु सुमधुर मात्र छन्, कोमल मात्र छन् । सुखै–सुख छ त्यहाँ । सपनाको लोकमा दुख्ख, अभाव, रोग, शोक, मृत्यु छैन । एउटा फेन्टासी हो सपना ।
सपनाहरु प्रायः सुतेमा देखिने हुन् । अब दिउसै वा सम्साँझमा कतै हिंड्दा–डुल्दा पनि सपना देखिने भएका छन् । कतै होर्डिङ बोर्डहरुमा पनि सपनाहरु झुन्डिएका देखिन्छन् । जस्तैः– १. तपाईंको युरोप जाने सपना साकार पार्न हामीलाई सम्झनुहोस् । २. तपाईंको कोरिया जाने सपना पूरा गर्न हामीसँग सम्पर्क गर्नुहोस् । ३. तपाईंको अस्ट्रेलिया जाने सपना हामी पूरा गरिदिन्छौं, आउनुहोस् ।
अब यसरी नै देखिरहनेछौं हामीले सपनाहरु । अब यसरी नै पूरा हुनेछन् हाम्रा सपनाहरु पनि । अब यसरी नै हाम्रा सन्तानहरु पछ्याउने छन् सपनाका पाइलाहरु । हो देशवासीलाई सपनाका पछि पठाएर यहाँ नून, सुन र सम्पत्ति जोर्नेछन् यसै गरी सपनाका सौदागरहरु । देशको उन्नतिको सपना देख्दैछन् केही थान मान्छेहरु यसै गरी ।
निर्जन बन्दैछन् बस्तीहरु । श्रम, सीप र जाँगर बगिरहेछ बर्खाको भेलसँगै तल–तल । बाँझै छन् खेतबारीहरु । शून्य छन् आँगनहरु । भग्न हुन थालेका घरभित्र छन् – भग्नहृदय बाआमाहरु । यस्तोमा कृषिक्रान्तिको सपना देखिरहेछन्–माटो र हिलो नदेखेका एकथरी मान्छेहरु ।
सपना देखेथ्यौं हामीले पनि कुनै दिन–देशोन्नतिका, समानताका । सपनाका लागि लडेथ्यौं हामी आपसमा पनि । हाम्रा सपनाहरु छताछुल्ल भएर पोखिएका छन्– विपनामा, वर्तमानमा, यथार्थमा । हो हामी उठाइरहेछौं तिनै पोखिएका सपनाहरु पोल्टामा
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस