किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु कार्यक्रम सामाजिक संजाल सम्पर्क

पृष्‍ठभूमि

२००९ सालसम्म तम्घासमा कुनै प्रकारका आधुनिक पाठशालाहरू, स्कूलहरू थिएनन् । त्यसबेला पुस्तकालय हुने त कुरै भएन । गाउँघरका पण्डितहरुका घर-आँगन पेटीपाठशालाहरु थिए । कर्मकाण्ड , ज्योतिष , व्याकरण र पुराणका केही पुस्तकहरु गाउँघरका पण्डितहरूले संग्रह गर्दथे । पुस्तकालयका प्रारम्भिक स्वरूप र स्रोत तिनै हुन् । तिनताक जिल्लामा एस्.एल्.सी. पास गरेको मान्छे भेटाउन मुस्किल थियो ।

सात सालको परिवर्तनपछि, गुल्मी-अर्घाखॉचीका अड्डा- अदालतहरू तम्घासमा स्थापित भए । स्कूल खुल्यो । पढ्ने- पढाउने काम सुरू भयो । २०१५ सालसम्म जिल्लामा एउटा पनि हाई स्कूल थिएन । १६ सालमा तम्घासमा हाई स्कूलको माग भयो र महेन्द्र हाई स्कूल बन्यो ।

resunga

२०२४ सालसम्म तम्घासमा बी.ए. पास भएको एउटा पनि मान्छे थिएन । आई. ए. वा सो सरह उत्तरमध्यमा पास गरेको ४-५ जना मान्छे थिए । एस्.एल्.सी. पास गर्ने ८-१० जना व्यक्तिहरू थिए । यस्तो बेलामा अलिकति पढेका किशोरहरूका मनमा केही कुराहरु उब्जने गर्दथे । पढ्ने किन ? पढेर के गर्ने? पढेको मान्छे र नपढेको मान्छे बीचको भिन्नता के हो ? अरु देशले किन विकास गरे ? हामी किन पछाडि परियो ? समाज र देश बनाउने काम कसको हो ? कसले गरिदिन्छ हाम्रो काम ? हामीले आफै केही गर्नुपर्छ कि पर्दैन ? काम कहिले शुरू गर्ने ? कहाँबाट गर्न ? कसले गर्ने ? के गर्ने ? यस्तै कुराहरू बालमस्तिष्क र युवामस्तिष्कमा उब्जिरहन्थे । तम्घासमा २-४ वटा अड्डा-अदालत थिए र एउटा सानो बजार थियो । अड्डा-अदालतका र बजारका पढेलेखेका मान्छेहरु जूवा -तास खेल्ने , रक्सी भट्टीमा भुल्ने गरेको देखेर केही किशोरहरूलाई अचम्म लाग्थ्यो । हामी त सुध्रन पो पर्छ । यस्तो चालाले समाजको विकास कसरी हुन्छ ? आजको मान्छेले त पढ्ने देशविदेशका नौला कुराहरू थाहा पाउने र केही सिकेर केही गर्नेतिर लाग्नुपर्छ भन्ने भावनाका तरङहरु केही किशोरहरूका मन-मस्तिस्कमा चलिरहन्थे । केही गरौं ,भट्टी-पसलमा जानेहरूलाई पुस्तकालयमा जाने बनाउन पाए कस्तो हुन्थ्यो होला । जाड - रक्सी , जूवा तासमा खर्छ गर्ने पैसा पुस्तक, पत्र-पत्रिकामा लगाई ज्ञान आर्जन गर्ने सीप सिक्ने गरे कस्तो हुन्थ्यो होला भन्ने चिन्तन र तर्कहरु हुन थाले । त्यसको लागि त ठाउँ हुनुपर्‍यो, बातावरण बन्नुपर्‍यो भन्ने कुराहरु आउन थाले। त्यसैको खोजीमा किरण पुस्तकालयको स्थापना भएको हो ।

पुस्तकालयको स्थापना

logo

किरण पुस्तकालयको स्थापना २०२५ साल कार्तिक २० गते तम्घास गाउँ विकास समिति (तत्कालीन लक्ष्मीपुर गाउँ पञ्चायत ) वार्ड नम्बर १ भलुवाकुण्ड भडखाला आदर्श निकेतनमा आवस्थित देवीदत्त पन्थीको घरको पेटीमा पुस्तक जम्मा गरी उहाँकै गाइगोठको एउटा कोठामा गरिएको थियो । श्रुती, स्‍मृति ,पुराण , कर्मकाण्डका केही पुस्तक र एस्.एल्.सी. आई.ए., शास्त्री , आचार्यका केही पाठ्यपुस्तकहरु संकलन गरी पुस्तकालयको शुभारम्भ गरिएको थियो ।यस पुस्तकालयले प्रथम र दोस्रो वार्षिकोत्सव सोही ठाउँमा मनायो । यसको प्रथम वार्षिकोत्सवको खबर रेडियो नेपालबाट प्रसारण हुनुका साथै गोरखापत्रमा छापियो । उक्त खबर प्रसारण भएपछि स्थानीय प्रसासनबाट यो पुस्तकालय कहाँ छ , कसले चलाएको छ , कसरी चलेको छ भनी शोधखोज हुन थाल्यो । पुस्तकालयका संचालकहरूलाई बिशेष आधिकृतबाट बोलाउने काम भयो। श्री ५ को सरकारको स्वीकृतिविना यस्ता संस्थाहरु सन्चालन गर्न नपाइने र चलाएमा संघ- संस्था नियन्त्रण ऐन अन्तर्गत कार्वाही हुने जानकारी प्रशासनद्वारा सन्चालकहरूलाई दिइयो ।

resunga

यसका सन्चालकद्वारा स्थानीय जिल्ला शिक्षा कार्यलय र शिक्षा मन्त्रालयमा स्वीकृतिका लागि माग गरी पठाईयो । तत्कालीन खाद्य , कृषि , भूमिसुधार तथा वन राज्यमन्त्री स्व. दयानिधि शर्माद्वारा शिक्षा मन्त्रालयमा स्वीकृतिका लागि कारबाही भइरहेको जानकारी स्थानीय प्रशासनले पाएपछी यसको सन्चालनमा कुनै रोक लागेन । गुल्मी इन्टर कलेजद्वारा तत्कलीन विशेष अधिकृत रुपबहादुर स्वॉरको सहमतिमा किरण पुस्तकालयलाई हाल जिल्ला खेलकूद विकास समितिको कार्यालय भएको स्थानमा रहेको एकतले सानो भवनमा सन्चालन गर्नका लागि लिखित रुपमा अनुरोध गरियो । कलेजको उक्त अनुरोधअनुसार २०२७ सालमा किरण पुस्तकालयलाई गाईगोठबाट एकतले भवनमा सारी सन्चालन गर्न थालियो । शिक्षा नियमवली २०२७ को परिच्छेद १७का सम्पूर्ण शर्तहरू यसले पूरा गरेको हुँदा मिति २०२८-३-३२ मा श्री ५ को सरकार शिक्षा मन्त्रालय , शिक्षा विभागबाट यस पुस्तकालयलाई सन्चालन गर्ने अनुमति प्राप्त भयो र मिति २०२९-६-१९ मा जिल्ला शिक्षा अधिकारि कार्यालय पाल्पाबाट स्वीकृति प्राप्त भयो । एकतले भवन पुस्तकालयलाई सानो हुँदै गएको हुँदा २०३१ सालमा पुस्तकालयका लागि स्थानीय गाउँ पञ्चायतको तर्फबाट एउटा पुरानो सामुदायिक भवन किरण पुस्तकालयलाई उपलब्ध गराइयो । उक्त भवन साह्रै जीर्ण भएकोले सोही घडेरीमा पुस्तकालयले २०३२-०३३ सालमा २ तले भवन निर्माण गर्‍यो र पुस्तकालयलाई त्यस भवनमा स्थानान्तरण गरी २०३५ सालमा उक्त पुस्तकालय भवनको उद्घाटन तत्कालीन शिक्षा राज्यमन्त्री श्री पशुपती शमशेर जवराले गर्नु भएको थियो। पुस्तकालय पुरानो एकतले भवनबाट सरेपछि पुस्तकालयको स्थायी आएस्रोतका लागि पुरानो भवन प्रयोग गर्ने निर्णय भएको थियो । पछि पुस्तकालयले जिल्लामा खेलकूदको स्थायी व्यवस्था मिलाउनका लागि उक्त घर र जग्गा पुस्तकालयलाई अन्य स्थायी स्रोत जुटाउने सर्तमा जिल्ला खेलकूद विकास समितिलाई दियो । सो ठाउँबाट हाल जिल्ला खेलकूद समितिले खेलकूद कार्यक्रम सन्चालन गर्नुका साथै आयआर्जन गरेको छ तर पुस्तकालयका लागि स्थायी आयस्रोत अझै जुट्न सकेको छैन। २०५६ सालतिर अाईपुग्दा पुस्तकालयको ढुंगे छानाको २० बर्ष पुरानो उक्त घर जीर्ण भई पुन: मरम्मत सुधार गर्ने अवस्था आयो। तम्घास गाउँ विकास समिति गुल्मी जिल्ला विकास समिति , गुल्मी अर्घाखाँची ग्रामीण विकास पारीयोजनाको सहयोगमा पुस्तकालयको पुनर्निर्माण कार्य सम्पन्न भयो र हाल सोही भवनमा किरण पुस्तकालय सन्चालन भइरहेको छ।

पुस्तकालयको भौतिक अवस्था

library

किरण पुस्तकालय गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा जिल्लाको प्रशासकीय भवनको ठिक अगाडि पश्चिमपट्टि मुख्य केन्द्रमा रहेको छ । हाल यस पुस्तकालयको नाममा करीब १ रोपनी जग्गा छ । पुस्तकालयको आफ्नै २ तले ७ कोठे पक्की भवन छ । भवनको अगाडिपट्टि खुला बरण्डा र बगैंचा छ । पुस्तकालयको आफ्नै शौचालय छ । पुस्तालयको एउटा वाचनालय छ । एउटा कोठामा ‘हाम्रो पुरुषार्थ’ पत्रिकाको कार्यालय छ । यस पुस्तकालयमा काठका दराज १२ थान , स्टिलका साना ठूला दराज ७ थान , टेबुल साना ठूला गरी १२ थान , विभिन्न प्रकारक कुर्सी ५० थान , बेञ्च ९ थान , पुस्तक राख्ने खुला र्याक १२ थान छन् । यसरी २ लाखभन्दा बढी मूल्यका फर्निचरहरू यस पुस्तकालयले जुटाएको छ । वाचनालयमा एकै पटक २५-३० जना पाठकहरु बसेर पत्र-पत्रिका पढ्न सक्छन् । यसप्रकार एक पटकमा ५०-६० जना व्यक्तिहरुले पुस्तकालयको उपयोग गर्न सक्दछन् ।हाल १-१ थान टेलिफोन, कम्प्युटर , ल्यापटप , सिसिटिभी , आदि पनि जोड्ने काम भएको छ । पुस्तकालयलाई अत्याधुनिक सुविधासम्पन्न बनाउनका लागि अझै धेरै कम्प्युटरहरु राखेर इ-लाइब्रेरीको व्यवश्था गर्न जरुरी छ र त्यसै अनुसारको नया भवन निर्माण गर्नु पर्ने आवश्यकता छ ।त्यसै आवश्यकलाई द्रीस्टिगत गरी यस पुस्तकालयको सोर्ण जयन्तिको आवसरमा भबिस्यका ५० वर्षका आवश्यकताहरु पुरा हुने गरी आधुनिक सुविधासम्पन्न ४ तले पक्की भवन निर्माण गर्नका लागि स्रोतहरु जुटाउने गरी श्रम रोजगार मन्त्री गोकर्ण बिस्टले २०७५ कार्तिक १८ गते १ भब्य समारोहका बीच सो भवनको सिलान्यास गर्नु भएको छ । उक्त भवनको निर्माण कार्य पूरा भएपछि पुस्तकालय अझै बढी वेवस्थित रुपमा सन्चालन हुनेछ ।


पुस्तकालयमा पत्र-पत्रिका तथा पुस्तकको व्यवश्था

book

यहाँको पुस्तकालयमा ५ दशक अघिदेखि नै मेचीदेखि महाकालीसम्मका विभिन्न पत्र-पत्रिकाहरु पढ्न पाईने व्यवश्था मिलाइएको थियो । धेरैजसो पत्र-पत्रिकाहरु सम्पादक र प्रकाशकको सहयोगमा प्राप्त हुने गरेका हुन् । यस पुस्तकालयमा हाल करीब १० हजार पुस्तकहरुको संग्रह छ । शुरू शुरुमा दर्ता भएका पुस्तकहरु धेरै जीर्ण भएका छन् । कति च्यातिएर कामै नलाग्ने भएका छन् । कति टालटुल पारेर राखिएका छन् । यहाँ संग्रिहित आधा जसो पुस्तकहरु अब हटाउनु पर्ने अवस्था छ । आधा पुस्तकहरु राम्रो अवस्थामा छन् । केहि पुस्तकहरु पाठकहरुकै घरमा छन् । शुरुमा पुस्तकालयले विना धरौटी साधारण सदस्य बनाएर पुस्तकहरु दिने गर्दथ्यो ।त्यसरी दिएका पुस्तकहरु पाठककै हातमा पनि रहेका छन् । पुस्तकालयबाट पुलिस पठाएर पुस्तक असुल्ने व्यवस्था छैन । पुस्तकालयको नियम मान्नु पाठकको कर्तव्य हो र इमानदारीपूर्वक पुस्तक फर्काउनु दायित्त्व पनि हो । कर्तव्य र दायित्त्व पालन गर्ने कुराको उपहास हुने बेलामा त्यसको अपेक्षा गर्नु मुर्खता ठहरिन सक्छ । पुस्तकालय इमानदार र कर्तव्यपरायण सहयोगी पाठकहरुबाट चल्ने संस्था हो । हाल पुस्तकालयले केहि कठोर नियमहरु बनाएको छ । त्यसले गर्दा अब पुस्तकहरु सुरक्षित हुन थालेका छन् ।

पुस्तक आदान-प्रदान व्यवस्था

किरण पुस्तकालयभित्रै बसेर पुस्तक पत्र-पत्रिका पढ्न सबैलाई खुला छ । त्यसकालागि कुनै प्रकारको शुल्क लाग्दैन । पाठकहरुले घरमा लगेर पढ्न चाहे भने वार्षिक रु. ५०० तिरी साधारण सदस्य बनेर रु. ५०० धरौटी राखी पुस्तक लैजान सक्छन् । निर्धारित समयभित्र पुस्तक नफर्काएमा विलम्ब शुल्क लाग्ने व्यवस्था छ । पुस्तकालयक संरक्षक सदस्य, आजीवन सदस्य र विशिष्ट सदस्यलाई पुस्तक लैजान कुनै प्रकारको शुल्क लाग्दैन र धरौटी पनि राख्नुपर्दैन ।

पुस्तकालयमा सदस्यताको व्यवस्था

पृथ्वीको जुनसुकै व्यक्ति पनि पुस्तकालयको पाठक सदस्य बन्न सक्दछ । त्यसले निर्धारित शुल्क तिरेपछि पुस्तक पढ्न पाउँछ । पाठक सदस्यका लागि शुरुमा वार्षिक ५० पैसा (१ मोहर ) तिर्नुपर्थ्यो । हाल रु. ५०० बुझाउने व्यक्ति पाठक सदस्य हुन्छ । पुस्तकालयमा जुनसुकै नेपाली नागरिकले एकमुष्ठ रु. १० हजार वा सो भन्दा बढीको सहयोग गर्ने व्यक्ति आजीवन सदस्य बन्न पाउँछ । त्यस्तै रु. २० हजार वा सो भन्दा बढी सहयोग गर्ने व्यक्तिलाई विशिष्ट सदस्य बनाइन्छ । पुस्तकालयको संरक्षण र विकासमा ठूलो योगदान गर्ने व्यक्तिलाई पुस्तकालय संचालक समितिले निर्णय गरी संरक्षक सदस्य बनाउने गर्दछ । पुस्तकालयक आजीवन, विशिष्ट र संरक्षक सदस्य तथा पुस्तकालय संचालक समितिका सदस्यहरु पुस्तकालय सभाका सदस्य हुन्छन् । पुस्तकालय सभा सामान्यत: वर्षमा १ पटक बस्दछ । आवश्यक पर्दा जहिले पनि सभा बस्न सक्दछ । सभाबाट संचालक समितिको गठन गरिन्छ । पुस्तकालय सभा पुस्तकालयको सर्बोच्च निकाय हो । पुस्तकालय संचालकक लागि यसले गरेको निर्णय अन्तिम हुन्छ । यसले दैनिक कार्य संचालनका लागि आफूमध्यबाट पुस्तकालय व्यवस्थापन समितिको गठन गर्दछ । पुस्तकालय व्यवस्थापन समिति पुस्तकालय सभाप्रति उत्तरदायी भई काम गर्दछ । प्रतेक ३-३ वर्षमा पुस्तकालय व्यवस्थापन समितिको निर्वाचन हुने गर्दछ । पुस्तकालय संचालनक लागि पुस्तकालयको आफ्नै विधान छ ।

पुस्तकालय संचालक समिति

२०२८ सालदेखि किरण पुस्तकालयमा सदस्यहरुको माध्यमद्वारा संचालक समितिको गठन गर्ने प्रक्रियाको थालनी भएको हो । पुस्तकालय विधानको आधारमा पुस्तकालय व्यवस्थापन समिति गठन गर्ने गरिन्छ । पुस्तकालय व्यवस्थापन समितिले वार्षिक बजेट बनाउने , खर्च गर्ने , लेखापरीक्षण गराउने , विनियम बनाउने र पुस्तकालयको दैनिक संचालकका लागि आवश्यक पर्ने सबै काम गर्दछ । यस समितिमा हाल ९ जना सदस्य रहने व्यवस्था छ । त्यसमा १ जना महिला सदस्य अनिवार्य रुपमा राख्ने व्यवस्था छ ।

पुस्तकालयको आर्थिक अवस्था

किरण पुस्तकालयको कुनै निश्चित र स्थायी आयेस्रोत छैन । स्वच्छाले कुनै दाताले पुस्तकालयलाई सहयोग गर्ने , सदस्यता शुल्क , पुस्तकालयले छापेका पुस्तक पत्र पत्रिका बिक्रीबाट प्राप्त हुने रकम , विज्ञापन शुल्क , ग्राहक शुल्क र विभिन्न संघ- संस्थाहरुबाट पटके रुपमा प्राप्त हुने सहयोग नै यसका आम्दानीका स्रोतहरु हुन् । तम्घास गाउँ विकास समिति , गुल्मी जिल्ला विकास समिति , जिल्ला प्रशासन कार्यालय , जिल्ला शिक्षा कार्यालय आदि संस्थाहरुबाट समय-समयमा यस पुस्तकालयले सम्भव सहयोग प्राप्त गर्दै आइरहेको छ । भविस्यमापनि यिनै संस्थाबाट पुस्तकालयले सहयोग प्राप्त गर्ने आशा गरेको छ । पुस्तकालयमा विभिन्न व्यक्तिहरुले अक्षय कोषको स्थापना गर्नु भएको छ । हाम्रो पुरुषार्थका आजीवन ग्राहकको शुल्कबाट पत्रिकाको लागि एउटा कोष खडा गर्ने प्रयत्न भएको छ । पुस्तकालयको स्थायित्व र विकासका लागि भविस्यमा एउटा निश्चित र नियमित स्रोत बनाउनु जरुरी छ । हाल पुस्तकालयको वार्षिक साधारण खर्च करीब १० लाख रहेको छ ।

पुस्तकालय स्वीकृति र संचालन

किरण पुस्तकालयको स्थापना २०२५ सालमा भए पनि यसलाई विधि पुराएर श्री ५ को सरकारबाट स्वीकृत गराउन ३ वर्ष लग्यो । २०२८ सालमा यसले श्री ५ को सरकारको अनुमति प्राप्त गरेको थियो । त्यसबेला गुल्मीमा प्रमुख जिल्ला अधिकारी कार्यालय अन्तर्गत शिक्षा शाखा थियो । त्यस कार्यालयले २०२८/३/३० मा निरिक्षण गरी शिक्षा मन्त्रालयमा रिपोर्ट पठायो । उक्त मन्त्रालयको प्रशासन शाखाको २०२८/३/३२ को पत्रानुसार २०२८/५/३ मा शाखा गुल्मीको पत्रद्वारा पुस्तकालयलाई अनुमति पत्र प्राप्त भयो । अनुमति लिंदाका सम्पूर्ण शर्तहरु पुस्तकालयले ३ महिना भित्र पूरा गरेको निरिक्षण प्रतिवेदनका आधारमा जिल्ला शिक्षा अधिकारी कार्यालय पाल्पाबाट मिति २०२९/६/१९ मा यसले स्वीकृति पाएको हो । त्यसको १० वर्षपछि २०३९/७/२४ मा जिल्ला कार्यालय , गुल्मीबाट ३ नं मा दर्ता भई यसले प्रमाणपत्र प्राप्त गरेको छ । मिति २०५५/१/१७ मा शिक्षा नियमावली २०४९ (छैठौं संशोधन २०५४ सहित) नियम १२२ को उपनियम ३ बमोजिम पनि जिल्ला शिक्षा कार्यालय गुल्मीबाट यसले स्वीकृति प्राप्त गरेको छ । २०३५ सालको चैत्र १४ गते जिल्ला कार्यालय गुल्मीमा १ नं मा दर्ता भई ‘हाम्रो पुरुषार्थ’ अर्धबार्षिक साहित्यिक पत्रिका प्रकाशित गर्ने प्रमाणपत्र पुस्तकालयलाई प्राप्त भएको हो ।यी सबै प्रमाणपत्रका सक्कल नमुनाहरु २०५५ सालको ‘हाम्रो पुरुषार्थ’ को सम्पुर्णाङ्क ३७ मा छापिएका छन् ।यिनै स्वीकृति पत्रका आधारमा किरण पुस्तकालय सार्बजनिक पुस्तकालयको रुपमा संचालित छ ।

Kiran Pustakalaya