एउटा पावन धाम हो– रुरुक्षेत्र । रुरुकन्याको इच्छाले यहाँ बस्छन् – भगवान् हृषीकेश सधैभरि । पतितपावनी काली गण्डकीको धर्मक्षेत्र हो यो । भगवान् हृषीकेशलाई भेट्न हिमालबाट हतार–हतार झर्छिन् काली गङ्गा यहाँ । उनी कतै विशाल बगरहरुमा बग्छिन् कतै साँघुरा गल्छी र खोंचहरुमा बग्छिन् । बग्नु नै जीवन हो भन्ने संघर्षका कथाहरु सुसेल्दै बग्छिन् उनी ।
जहाँ महर्षि, भृगु, और्व र देवदत्तका कठोर तपस्याका कथा छन् । जहाँ सुन्दरीका कटाक्षले पराजित तपस्वी र दूधमुखे बालिकालाई जंगलमै छोडेर हिड्ने ममताहीन माताका कथा छन् । जहाँ मान्छेका आस्था, प्रथा र संस्कृतिका आँखीझ्याल छन् । त्यो रुरुक्षेत्र हाम्रो धर्म, संस्कृति, कला, इतिहास र सभ्यताको केन्द्र पनि हो ।
जहाँ सरित्प्रवरा गण्डकी छन् । जहाँ साक्षात् भगवान् हृषीकेश छन् । जहाँ गण्डकी र रिडी भेट हुन्छन् – आमाछोरी झैं । जहाँ गण्डकी र हृषीकेश भेट हुन्छन् – आमाछोरा झैं । जहाँ गण्डकीको आवाज सुनेर हृषीकेश गद्गद् हुन्छन् ममताले । जहाँ माघे सङ्क्रान्तिमा आफन्तहरु भेट हुन्छन् – मेलामा । जहाँ मधेश र पहाड भेट हुन्छन् – तीर्थमा । जहाँ हिमालको पाखी र मधेशको ढकियाको भेट हुन्छ । हो त्यो हाम्रो रुरुक्षेत्र हो ।
यहाँका यी घाटहरु मान्छेका जीवनका आदि र अन्त नियालिरहेछन् । यी जलिरहेका चिताहरु जीवनको अनित्यताका कथाहरु भनिरहेछन् । नदीका यी छालहरु जीवनका गति र यतिका याद दिलाइरहेछन् । अलि पर बसेर भगवान् हृषीकेश जगत्को कल्याणखातिर तपोरत छन् । यता गण्डकी पलभर पनि नसकेर समय झैं तलतलै झरिरहिछन्, झरिरहिछन् ।
मुक्तिक्षेत्र हुँदै बगेकी गण्डकी निर्बाध यहाँ बग्दैआऊन् । घाटहरु “सुन्दर बनून् । गण्डकी तटमा वर, पीपल र स्वामीका बोटहरु उभिएर शीतलता छरुन् । यस महातीर्थमा देशदेशान्तरका असङ्ख्य तीर्थयात्रीहरु भरियून् । विश्वास, आस्था र इतिहासका भव्यताहरु विकास, निर्माण र नूतन शिल्पले सिंगारिऊन् ।
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस