यी आकाश, सूर्य, चन्द्र, पृथ्वी, वायु, जल जो हामीले बनाएनौं । यी पर्वत, मैदान, सागर, जीव, वनस्पति जो हामीले बनाएनौं । मान्छेका मनहरु, सहजात वासनाहरु जो हामीले बनाएनौं । कसले बनायो यिनलाई ? हामी भन्छौं प्रकृतिले । यी उपहार हुन्–प्रकृतिका हामीलाई । यी वरदान हुन्–विधाताका हामीलाई ।
प्रकृति स्वयंभू छन् । मान्छेले प्रकृतिलाई गिजोल्छ र भन्छ–म स्रष्टा हुँ । मान्छेले प्रकृतिलाई संस्कृति र विकृतिमा बदल्छ । प्रकृतिलाई सुधार्दा संस्कृति बन्छ, प्रकृतिलाई बिगार्दा विकृति बन्छ । संस्कृति समाजका शुभसंस्कारहरुको सार हो । जौबाट पवित्र प्रसाद पनि बन्छ, अपवित्र जा ँड पनि बन्छ । संस्कृतिको नाममा चलेका कतिपय विकृति पनि हुन्छन् समाजमा । प्रकृतिलाई संस्कृति बनाऊँ, विकृति नबनाऊँ ।
प्रकृतिका उपहारहरु देवता हुन् लोकका । अग्नि, वायु, चन्द्रमा, सूर्य, पृथ्वी, जल आकाश सबै पूज्य छन् हाम्रा । यी छन् र त हामी छौं । विकास भनेको विनाश होइन । प्रकृतिलाई गिजोल्नुमात्र विकास होइन । विकासको नाममा अहिले आकाश, पृथ्वी, वायु, जल सबै दूषित भएका छन् । धुवाँले व्याप्त छ वायुमण्डल । क्षतविक्षत छन् पृथ्वी । दूषित छन् नदीहरु । दूषित छन् मान्छेका मनहरु पनि ।
हिजो मजाले चलेको थियो सृष्टि । आज पृथ्वी दुहेर मान्छेले चमत्कार देखाइरहेछ । भोलि के हुन्छ ? कसले भन्न सक्छ ? ‘सत्यम्’ लाई कसले रोक्छ ? यस सृष्टिको ‘शिवम्’ र ‘सुन्दरम्’ लाई हामीले जोगाउनु पर्छ । प्रकृतिको यो उपहारलाई यो कल्पवृक्षलाई मास्नु हुन्न । पृथ्वी मान्छेको मात्र बिर्ता होइन । यहाँ पशुपक्षी छन् कीट– पतंग छन्, मान्छे छन् । हामी प्रकृति बनाउन सक्दैंनौं तर जोगाउन सक्छौं, नबिगार्न सक्छौं । प्रकृति जोगाऊँ, संस्कृति जोगाऊँ, वातावरण जोगाऊँ । भवतु सब्ब मंगलम् ।
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस