राष्ट्रको भूगोल हुन्छ, माटो हुन्छ । माटोमा हामी उभिन्छौं, हिड्छौं, त्यहीं छरिन्छौं । हाम्रा पुर्खाहरु छरिएका छन् यस माटोमा । त्यसैले त प्रिय छ हामीलाई यो माटो । अग्रजहरु यसलाई ढुङ्गा भन्थे । यो राष्ट्रको शरीर हो । मातृभूमिको मुहार हो यो । अ·प्रत्यङ्ग हुन् यी राष्ट्रका हिमालहरु, पहाडहरु, मैदानहरु ।
भाषा वाणी हो राष्ट्रको । भाषामा, वाङ्मयमा उनिएका छन् हाम्रा गौरवगाथाहरु । भाषा हाम्रो कान हो, जिभ्रो हो, आँखा हो । भाषाले जोड्छ हामीलाई अनेकताबीच एकतामा । हामी बहुभाषाभाषी छौं । सबै भाषा सम्पत्ति हुन् हाम्रा । सबै भाषा सभ्यता र संस्कृति बोकेर उभिएका छन् । नेपाली भाषा सम्बन्ध– सेतु हो हाम्रो । यो समग्र नेपालको पहिचान हो ।
साहित्य मन हो, मस्तिष्क हो – राष्ट्रको । राष्ट्रका भावना र विचारहरु प्रतिबिम्बित हुन्छन् साहित्यमा । साहित्यमा राष्ट्रको ढुक्ढुकी बज्छ । साहित्यमा राष्ट्रको मानवजीवन लहराउँछ । एउटा निर्जीव भूगोल भाषाले, संस्कृतिले, इतिहासले, सभ्यताले जीवन्त बन्दछ ।
भूगोलले, भाषाले, संस्कृतिले, सभ्यताले, इतिहासले नेपाल जोडेको छ । हामी नेपाली भएका छौं । नेपाल र नेपाली हाम्रो पहिचान बनेको छ । खण्डखण्डमा विभाजित हाम्रा मनहरु नेपाली राष्ट्रिय एकताको सूत्रमा उनिएर एकाकार बनून् । à पृथ्वीनारायणले एकीकरण गरेको यस राष्ट्रको शरीरमा भानुभक्तले प्राण भरे, मन भरे । राष्ट्रलाई भाषाले, साहित्यले एकीकरण गर्ने भानुभक्त धन्य छन् । तिनै आदिकवि भानुभक्त आचार्यप्रति कृतज्ञ हुँदै उनको २०६ औं जन्मजयन्तीमा हार्दिक श्रद्धाञ्जलि ।
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस