हिजो विकास थिएन, विनाश पनि थिएन । आज विकाससँगै विनाश पनि आएको छ । विकासको अर्थ हो –प्रसन्नता, प्रफुल्लता । मान्छे प्रसन्न हुनसक्ने वातावरण बनेमा विकास भएको हुन्छ । आज हामीसँग माता धरणी क्रुद्ध छन्। आज हामीसँग वायुदेवता र जलदेवता क्रुद्ध छन्। देवता रिसाएपछि आज हामी खिन्न छौं, त्रस्त छौं । आज पृथ्वी, वायु, जल, आकाश प्रदूषित बनेका छन्। तिनको आधारमा जीवन धारण गर्ने सबै पीडा र सन्त्रासमा छन्।
विज्ञान हामीलाई वरदान हो प्रकृतिको । हामी भस्मासुर बन्दैछौं, हामी धुन्धुकारी बन्दैछौं । हामीले सुख खोज्दै पृथ्वी उधारिरहेछौं । हामीले इन्धनहरु बालेर प्रतिदिन धुवाँ उडाइरहेछौं । हामीले वृक्षहरु फाँडिरहेछौं। हामीले वायु, जल र आकाशलाई दूषित पारिरहेछौं । विज्ञानका वरदानहरु हाम्रा लागि अभिशाप बन्दैछन्। हाम्री सुन्दर प्रकृति, हाम्री आधार धरा बिरुप र विकृत बन्दैछन्। जीवन दुरुह बन्दैछ धरतीमा ।
यसै गरी इन्धनहरुको खपत विश्वमा भइरहेमा हाम्रो वायुमण्डल कार्बनले ढाकिनेछ । कार्बन हलाहल विष बनेर फैलिनेछ वायुमा । त्यस हलाहललाई पिएर शान्त पार्ने भगवान्नीलकण्ठ छैनन्अहिले । औद्योगिक राष्ट्रहरुले उत्पन्न गरेको हलाहलले हामीजस्तालाई डढाल्ने छ । वातावरण बिग्रँदै गएमा विश्वमै प्रभाव पर्नेछ । जलवायु परिवर्तनले मानवजाति नै संकटमा पर्नेछ ।
विश्वमा यसरी नै कार्बन उत्सर्जन भइरह्यो भने यस शताब्दीको अन्तसम्म विश्वको तापक्रम ६.५ डिग्रीले बढ्नेछ । त्यसरी तापक्रम बढ्दा हिमालको दुई तिहाई हिउँ पग्लनेछ । हिमनदीहरु सुक्नेछन्। मौसमी चक्र र मनसुनलाई कुप्रभाव पर्नेछ । मरmभूमि बन्नेछन्–हराभरा फाँटहरु । भयावह हुनेछ स्थिति । दुरुहहुनेछ जीवन ।
वैज्ञानिकहरुले भविष्यवाणी गरेका छन्। यस कुराले संसारलाई झस्काएको छ, सृष्टिलाई नै जिस्काएको छ । विकासको नाममा भस्मासुर नबनौं । आफूले बनाएको हलाहलबाट आफ्नै विनाश नडाकौं । कार्बन उत्सर्जनमा कटौती गरौं । यस सुन्दर धरतीको काखमा युगयुगसम्म मानवसन्तान रमाउन पाऊन्।
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस