अजरामर हुन्छन् अक्षरहरू । हामी मान्छे बन्छौं अक्षरबाट । अक्षरले हामी सभ्य भयौं, नैतिक भयौं, ज्ञानी भयौं । हाम्रा ज्ञानहरू अक्षरबाट बगेका छन् स्वर्ग झैं । हाम्रा शरीरहरू क्षर छन् । हाम्रा कृतिहरू अक्षर छन् । हाम्रा ज्ञान, कला, प्रविधि अक्षर छन् । संसारमा सर्दै जानेछन् ती पुस्तापुस्तासम्म अक्षरमा ।
अक्षरहरू अडिन्छन् पुस्तकमा । ज्ञानसागर छचल्किन्छ–पुस्तकमा । हामीले वेद पढ्यौं, बुद्ध पढ्यौं, कृष्ण पढ्यौं, व्यास पढ्यौं, वाल्मीकि पढ्यौं–पुस्तकमा । हामीले होमर पढ्यौं, श्रीहर्ष पढ्यौं, रुसो पढ्यौं, माक्र्स पढ्यौं–पुस्तकमा । जहाँ पुस्तक छन्, त्यहाँ ज्ञान छ । जहाँ ज्ञान छ, त्यहाँ सुखशान्ति छ । पुस्तकबाट सम्पूर्ण ज्ञान आयो सरेर । ज्ञान साँचेर राख्नुपर्छ । सुनभन्दा बहुमूल्य हुन्छ ज्ञान ।
पुस्तकहरू ज्ञानका स्रोत हुन् । जोगाएर राख्नुपर्छ पुस्तकहरू । पुस्तकहरू पढिनुपर्छ–ज्ञानको तिर्खा मेट्न । पुस्तकहरू जहाँ राखिन्छन्, पुस्तकहरू जहाँ पढिन्छन्–त्यसलाई पुस्तकालय भन्छौं हामी । मानवसभ्यताका प्रतीक हुन्छन् पुस्तकालयहरू । जहाँ पुस्तकालय छैनन्–त्यहाँ सभ्यता छैन ।
‘समृद्ध पुस्तकालय ः सुदृढ समाज’ अहिलको नारा हो हाम्रो । सृदृढ समाज हुनको लागि समृद्ध पुस्तकालय हुनुपर्छ । पर्याप्त पुस्तकहरू भएको, राम्रो व्यवस्था भएको, पढ्नेहरूलाई सुविधा भएको, युगानुकूल उपकरणले सुसज्जित हो–समृद्ध भनेको । समृद्ध पुस्तकालय बनाउनुपर्छ–सुदृढ समाज बनाउन । ज्ञानी, दक्ष, नीतिज्ञ नागरिक भएमा सुदृढ समाज बन्छ ।
देशविकासका कुरा गर्छौं हामी । विकासको अर्थ हाँस्नु र फुल्नु हो । जहाँ नागरिकहरू प्रसन्न र प्रफुल्ल हुन्छन्–त्यो राष्ट्र विकसित हुन्छ । विकासका सूचकहरू भौतिक मात्र हुँदैनन् आत्मिक, नैतिक, सांस्कृतिक पनि हुन्छन् । मान्छेका ज्ञान, विज्ञान, कला, शिल्प र प्रविधिलाई उन्नत बनाउन पढ्नुपर्छ– पुस्तकहरू । समाजलाई समुन्नत बनाउन चाहिन्छ पुस्तकालय ।
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस