राजनीति र साहित्य मान्छेको सभ्यतासँगसँगै आए। रक्षा र बलको भावनासँगै राजनीति आयो । आनन्द र सौन्दर्यको खोजसँगै साहित्य आयो । खारिँदै, सुधिदै, फेरिँदै आए राजनीति र साहित्य पनि । यी दुबै आवश्यक छन् मान्छेको समाजलाई । समाजको अभ्युदय र कल्याणका लागि हुनुपर्छ राजनीति र साहित्य पनि।
राजनीतिमा नीति छ, हुनुपर्छ । नीतिले शुभम्को भावना बोक्छ । राजनीतिमा शुभम् हुनुपर्छ । राजनीतिबाट नीति हरायो भने ‘राज’ मात्र रहन्छ जहाँ शुभम् पनि शून्य हुन्छ। जंगलजस्तै हुन्छ मान्छेको बस्ती। बलमिच्याइँको जंगली राज चल्छ । त्यसैले चाहिन्छ राजनीतिमा नीति।
साहित्य पनि प्रियकर अनि श्रेयस्कर दुबै हुनुपर्छ। सत्यम्, शिवम्, सुन्दरम् यी तीनै खोज्छौं साहित्यमा हामी । हित अर्थात् श्रेयले भरिनु नै साहित्य हो। मनोरजन र सदुपदेशले समाजको हित गर्छ साहित्यले । समाजको प्रतिबिम्ब बनेर देश चिनाउँछ साहित्यले। राष्ट्रको शान र मान उठाउँछ साहित्यले ।
साहित्य सधैँ हावाको प्रतिकूल चल्छ, चल्नुपर्छ। भावना, कल्पना र अनुभूतिसँगै स्वच्छन्द र अराजक बन्न सक्छ साहित्य । सत्यको अन्वेषणमा विद्रोहको हुङ्कार बन्न सक्छ साहित्य । स्वतन्त्रताको संरक्षणमा आवाज बन्न सक्छ साहित्य । राजनीति वर्तमान मात्र हो। साहित्य त भविष्य पनि बन्छ।
जहाँ साहित्य राजनीतिको पछि हिछ त्यहाँ सत्य लुकेको हुन्छ। राजनीतिमा नीति हराउँदा साहित्यले सम्झाउनुपर्छ। साहित्य त्यो ज्योति हो जसले राजनीतिलाई बाटो देखाउँदै अघिअघि हिड्छ। राजनीतिमा विचार र आचारका स्खलनहरूमा साहित्यले व्यजनाबाट औंलो ठड्याउनुपर्छ। लक्षणाबाट आँखा झिम्काउनुपर्छ । राजनीतिका निर्ममता र शुष्कतालाई साहित्यका सौन्दर्य र कोमल भावहरूले भिजाइदिनुपर्छ ।
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस