किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो पुरुषार्थ अंक १०४


हाम्रो पुरुषार्थ अंक १०४
  त्रैमासिक

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

टुक्राटुक्रामा विभाजित यस हिमवत्खण्डलाई जसले एकताको सूत्रमा उन्यो । जसले सजायो यस सुन्दर फूलबारीलाई । जसले जोड्यो मनहरुलाई विशाल राष्ट्रको भावनामा । जसले चिनायो राष्ट्रको शान र मानलाई । जसले त्यस युगमा पनि सुशासन र देशोन्नतिको सपना देख्यो । त्यस्तो पृथ्वीलाई हामी आज पनि राष्ट्रिय एकताको शान र मान भनेर सम्झिरहन्छौं ।

देशहरु मेटिइरहेका थिए । मिसिइरहेका थिए – साम्राज्यमा । पहिचान र मान मिचिइरहेका थिए – देशका । हामी यता बाइसी–चौबीसी बनेर आपसमा लडिरहेका थियौं । लडेर दुर्बल बनिरहेका थियौं । भारत जितेर निस्किरहेको थियो अंग्रेजी साम्राज्य । समय बुझेर पृथ्वी उठे, वीरहरु जुटे । एउटा एकताको सूत्र उनियो । एउटा अभियान उठ्यो राष्ट्रएकीकरणको । नायक बने पृथ्वी ।

हरेक राष्ट्रका जगमा बलिदान र वीरताका गाथा छन् । राष्ट्रनिर्माणका पात्रहरु अनेक छन् । सूत्रधार र नायक हुन् पृथ्वी । राष्ट्रनिर्माणमा धेरैको पसिना बगेको छ, रगत बगेको छ । पुस २७ गते राष्ट्रिय एकता दिवस मान्छौं हामी । यस दिवसले ती उज्ज्वल पुर्खाहरुलाई सम्झाउँछ – जसको साना दुःखले यो राष्ट्र बनेको होइन । ठूला दुःखले बनेको हो यो राष्ट्र ।

पृथ्वीसँग खानी खनेर देश धनी बनाउने चाह थियो । स्वदेशमै कपडा बुनेर देशलाई सम्पन्न र स्वाभिमानी बनाउने चाह थियो । भ्रष्टाचारीलाई दण्ड दिने चाह थियो । उनका यी चाहनाहरु अधुरै रहे आजसम्म । उनका यी सपनाहरु विपना बन्न सकेनन् आजसम्म । युग फेरिए; तन्त्र फेरिए; मन्त्र फेरिए; पात्र फेरिए; पत्र फेरिए तर खोइ अब त कसैले सपना पनि देख्न छाडे ।

राष्ट्रिय एकता दिवसले हाम्रो यो विविधतामय फूलबारीलाई सुन्दर र समुन्नत बन्ने सन्देश ल्याओस् । राष्ट्रभक्तिको मियोमा हामी जुटौं, घुमौं र देशोत्थानको अनुष्ठानमा लागौं । एकता दिवस र पृथ्वीको सन्देश यहीं हो हामीलाई । देशनिर्मातालाई सम्मान गरौं ।

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya