सरिरहने संसारमा नसर्ने केही छैन । समयको निर्देशनमा जगत् सर्छ, जीवन सर्छ । सर्नु वा फेरिनु नै संसार हो । पृथ्वी सर्छ – आफ्नो अक्ष र कक्षमा । जीवन सर्छ – पुस्ता–पुस्तामा । नदीमा पानी सर्छ – क्षणक्षणमा अविश्रान्त । ग्रह नक्षत्रहरु सर्छन् । समयसँगै प्रतिक्षण चलिरहेछ– क्रान्ति । जगत् निरन्तर छ । जीवन निरन्तर छ ।
ज्ञान पनि सर्छ, सीप पनि सर्छ, शिक्षा पनि सर्छ । मान्छे मर्छ तर अक्षर मर्दैन । अक्षर सर्छ अर्को पुस्तामा । अक्षरहरु अविनाशी छन् । ज्योतिर्मय छन् । ती ज्ञान छरेर बस्छन् भाषामा । ती युग–युग बाँच्छन्–ग्रन्थमा । हिंजोका सीपहरु, हिंजोका ज्ञानहरु, हिंजोका शिक्षाहरु आज पनि हामी पढ्छौं पुस्तकमा । ती भोलिका लागि पनि बनून् । ती ग्रन्थागारमा रहून् । ज्ञान निरन्तर छ । सीप निरन्तर छ । शिक्षा निरन्तर छ ।
ज्योतिर्मय अक्षरहरु मर्दैनन् । ती मृत्युञ्जय छन् । ती छेकेर छेकिन्नन् । ती रोकेर रोकिन्नन् । चेतना बोकेर हिड्छन् ती । अविद्या चिरेर हिड्छन् ती । शिक्षा, सीप, ज्ञान, चेतना, बुद्धि मत्र्यलोकलाई वरदान हुन् । यिनैमा मान्छेको इतिहास बाँच्छ, सभ्यता बाँच्छ, संस्कृति बाँच्छ । ज्योतिर्मय अक्षरहरु पुस्तकमा बस्छन्, उज्यालो छर्छन् । पुस्तकहरु बस्छन् पुस्तकहरुको घरमा, पुस्तकालयमा । त्यसैले पुस्तकालय ज्ञान, विज्ञान र सभ्यताको केन्द्र हो ।
ज्ञानका भोकहरु अनन्त छन् । सीप र शिक्षाका खोजहरु अनन्त छन् । कुनै उपाधिको सिंढीसँगै शिक्षाको अन्त हुँदैन । ती निरन्तर छन् । ती नित्यनूतन छन् । विद्या र ज्ञानका क्षितिजहरु असीम छन् । नित्यनूतन, असीम र निरन्तर शिक्षाका लागि पुस्तकालय छन् । ज्ञान निरन्तर छन् र स्वाध्याय पनि निरन्तर छन् । ज्ञानमा हिजोसँग आज जोडिएको छ र आजसँग भोलि जोडिनेछ उन्नत, नूतन प्रविधिसँगै ।
शिक्षा निरन्तर छ भन्दै ।।।निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने सत्रौं राष्ट्रिय पुस्तकालय दिवसको आदर्श वाक्यलाई हामी पनि आत्मसात् गर्छौं ।
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस