कतै वाणी–वाणीमा घुमिरहेछ । कतै फाइल–फाइलमा कुँदिरहेछ–वायुपंखी घोडाझैं । कतै थुप्रिइरहेछ तालझैं । कतै बगिरहेछ नदीझैं । कतै उभिइरहेछ टावरझैं । कतै गर्जिरहेछ पावरझैं । कतै झुकिरहेछ दीनहीनझैं । कतै उठिरहेछ सगरमाथाझैं । बहुरुपी, बहुरंगी र जादूगरी छ हाम्रो विकास पनि।
कतै पुलमाथि पुल छन् । कतै तुइनमाथि तुइन छन् । कतै भोजनमाथि भोजन छन् । कतै भोकमाथि भोक छन् । शहरले तुइनमाथि करुणा पोखेर कविता लेख्छ । नून नपाएर कतै गाउँहरु अलिना छन् भनेर शहरले भाषण ठोक्छ । राजधानी कर उठाएर हाँस्छ । रम्छन् गाउँहरु दशैंमा छोरो कुरेर ।
सुन्थ्यौं–विकास भनेको फुल्नु हो, हाँस्नु हो । जब देश फुल्छ–उद्यमले, इलमले, समृद्धिले तब विकास हुन्छ । जब लोकका ऒठहरु फुल्छन् मुस्कुराहटमा हर्षातिरेकले तब विकास हुन्छ । विकास भनेको अलिकति उद्यम र इलम पनि हो; अलिकति समृद्धि पनि हो; अलिकति न्याय, समता र शान्ति पनि हो; अलिकति इमान, नैतिकता र देशप्रेम पनि हो ।
शून्य बनिरहेछन् बस्तीहरु । हाँस्ने अनुहारहरु भागिरहेछन् । मन यतै छोडेर भागिरहेछन् शरीरहरु । दाना, नाना र छाना खोज्दै भाग्दैछन् नेपालका जहानहरु । रेमिट्यान्समा मख्ख छन्–डाडु–पन्यू समातेर भान्सेहरु । विकास हेर्ने आँखा खोइ ? विकास सुन्ने कान खोइ ? विकास हिंड्ने पाइताला खोइ ? विकाससित सौदाबाजी चलिरहेछ मान्छेको ।
राष्ट्र भनेको माटो–ढुङ्गा पनि हो । राष्ट्र भनेको भावना पनि हो, आस्था पनि हो । मान्छेको दिलमा पनि हुन्छ राष्ट्र, दिमागमा पनि हुन्छ, राष्ट्र । हामी दिल र दिमागले देखेको राष्ट्रको विकास खोजिरहेछौं । देशको माटोमा पसिना सिंचेर फुलेको विकास हेर्न लालायित छौं हामीहरु । खोइ ! कसले दिन्छ हामीलाई श्रम, सीप र बुद्धि पोखेर पौरख उमार्ने मैदानहरु ?
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस