पहाड भत्किरहेछन् । धुलो उडिरहेछ । धुलोसँगै उडिरहेछन् मान्छेहरु । हिलो बगिरहेछ तलतलै । सँगसँगै बगिरहेछन् हाम्रा सपनाहरु पनि । भाषण चलिरहेछ । लाग्छ, सत्य लुकिरहेछ । स्वाभिमान झुकिरहेछ ।
बाटा बनिरहेछन् । बाटामा हिड्नेहरु भागिरहेछन् । पानीझैं जवानी पनि बगिरहेछ पहाडबाट । जवानी छैन गाउँमा । शुष्क, रुग्ण, उद्विग्न भएर पसारिएका छन् बूढा पहाडहरु । न यहाँ प्रेमका गीत सुसेल्ने बैंसालु छन् । न यहाँ भविष्य बोक्ने बलिया काँधहरु छन् । यहाँ त केवल अतीतका स्मृति, वर्तमानका आँसु र भविष्यका सुर्तामात्र छन् ।
यहाँ न देश बनाउने स्वप्नछन् । न विचार छन्।न चिन्तन छन् । न चिन्ता छन् । न राष्ट्रका शान, मान र ध्यान छन् । न सभ्यता, संस्कृति र पहिचानका ज्ञान छन् । छन् त केवल सत्ताका तानातान छन् । अनन्त लालसा छन् । र्याल छन् । अहंकार छन् । ढाेंग छन् । स्वाब् छन् । देखेर जगत् हाँस्छ हामीलाई ।
विकास भनेको फुल्नु हो, हाँस्नु हो । देशवासीको खुशीमा फुल्नु पर्छ विकास । गफ होइन विकास । तीन कोटी मुहारहरुमा झल्किनुपर्छ विकास । बालकका तोतेबोलीमा फुट्नुपर्छ विकास । युवाहरुका उत्साह र दक्षतामा देखिनुपर्छ विकास । पाकाहरुका शान्ति र सन्तोषमा देखिनुपर्छ विकास । विकास आकाशको फल होइन ।
भत्किरहेछन् विधि र विधानहरु । लाग्छ यो एउटा नाटक हो । एउटा विद्रूपमय नौटंकी । जसमा नट, विट र विदूषक मात्र छन् पात्रहरु । जसले हँसाउछन् मात्र जगत्लाई । के यसरी नै चल्छ सधै ? कहाँ पुगिन्छ यस बाटोबाट ? अब सोच्नुपर्छ र सच्चिनुपर्छ । समय कसैलाई पर्खेर बस्दैन पनि।
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस