मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · गीत/कविता/गजल/मुक्तक · पृ. ३२

यो रामायणकथा सत्य हो ?

जीवित खड्का मगर

छोरा,
तिमीले पनि धर्मको लुगा लगायौ
जसरी म जन्मिदै मलाई लगाइदिए
देवीदेउताका कहानीहरु सुनाउँदै आए
राजामहाराजाका तस्विरहरु देखाउँदै आए
उनीहरुलाई पूजा गर्न भन्ने आदेश दिँदै आए
यसरी पहिलो पटक म मेरै बालमस्तिष्कको
दासी भएँ

जस्तै म सानो छँदा
कहिलेकाहीं तिमीजस्तै
बेखुसीमा त्यसै–त्यसै म रोएको देखेर हजुरबुबा
रामायणकथाका श्लोकहरु सुनाएर मलाई
मख्ख पारिरहनुहुन्थ्यो
यसरी म दोस्रो पटक रामायण कथाको प्यासी भएँ

तेस्रो पटक
तिमीले कठघरामा उभ्याएर मलाई अनौठो
प्रश्न गरिरहेछौ ।
बा – हामीले टेलिभिजनमा हेरिरहेको
रामायणकथा सत्य हो ?
म तिमीलाई कसरी भनूँ छोरा !
सत्य होइन भनूँ कसरी
तिम्रो प्रश्न ‘जंजीर’ ले बाँधेको छ
सत्य हो भनूँ कसरी
कि तिम्रो प्रश्नको जबाफमा
विश्वासको आधार कहाँनेर हुनेछ ?
खोइ ! कहाँनेर ?

छोरा !
तिम्रो स्कुलले तिमीलाई किन पढाउँछ
इतिहास ?
तिम्रो स्कुलले तिमीलाई किन पढाउँछ धर्म ?
किन पढाउँछ
बुझ्दै जानू छोरा !
बुझ्दै जानू– अक्षरहरुको स्लोपोइजन ।
जसरी आज तिमीलाई पढाउँदै छन्
त्यसरी नै हिजो हामीलाई पढाइयो
त्यसरी नै पढाइनेछ भोलि आउने पुस्ताहरुलाई
राजामहाराजाहरुका अलौकिक सत्ताका कुरा
देवी देउताहरुका अवर्णनीय सृष्टिका कुरा
किंवदन्ती कथाहरुका शक्तिका कुरा
त्यसैगरी पढाइनेछ, त्यसैगरी
अहिले–अहिले शासकहरुका अकल्पनीय
र भ्रमपूर्ण कुरा ।

इतिहासले इतिहास पढाउँछ कि, भ्रमको इतिहास ?
धर्मले धर्म पढाउँछ कि, भ्रमको धर्म ?
किन पढाउँछ,
बुझ्दै जानू छोरा !
बुझ्दै जानू – भ्रमहरुको स्लोपोइजन ।
जब भ्रमहरुले पढाउँछ
यत्ति बुझ्नु छोरा
भ्रमहरुकै पछि लागेर हिँड्न सिकाउँछ ।

यी हेर त छोरा
टेलिभिजनमा भर्खरै देखिरहेका यी रावण
जसलाई यो रामायणकथाले एउटै खराब पात्र बनाउँछ
तिमी उनलाई देखेर घृणा गर्छौ थुक्छौ ।
रामलाई आदर्शको प्रतीक
र हनुमान्लाई निःस्वार्थ सेवक
तिमी उनीहरुलाई देखेर श्रद्धा गर्छौ ढोग्छौ ।
जसलाई तिमी घृणा गरिरहेका हुनेछौ तर
अर्कै– अर्कै देशको रामायण
अर्कै– अर्कै धर्मको रामायण
अर्कै– अर्कै कथाकारहरुले
अर्कै– अर्कै चरित्र बनाएर लेखेका रामायण
यदि तिमी यही टेलिभिजनमा हेर्यौ भने,
त्यतिबेला तिमी के सोच्छौ ?
बा यो रामायणकथा सत्य हो ?

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्