सहज छैन यहाँ गतिरोध छन्
सुमतिकाप्रति नै प्रतिशोध छन् ।
कुसुम फुल्छ सुवास चलाउँछ
तर मनुष्य चुँडेर सताउँछ ।।
जब हिमालय गर्छ उँभो शिर ।
शिखर दूषित भै नहुने नुर ।
प्रगतिको पहिचान दिने प्रण ।
विफल बन्दछ दुर्जन छन् मन ।।
कति मुलायम छन् सुमुखी परी ।
सकस नै छ सँधै हुन सुन्दरी ।
अलप बन्दछ छाल समुद्रमा ।
जब कलाविनु डुब्दछ चन्द्रमा ।।
नव वसन्त छुँदा प्रिय साखिल ।
कुहु गरेर रमाउँछ कोकिल ।
स्वर हराउँछ ग्रीष्म चढेपछि ।
दिन–दशा दिन थाल्छ अधोगति ।।
नसकियो सुख–दुःख बिसाउन ।
सपरिवार भएर रमाउन ।
नजर छन् अरु सामु खुशी तर ।
सकलका घट छन् पिरका घर ।।
जिउँछ पत्थरका बिच पीपल ।
दिंदछ ताप सहेर नि शीतल ।
रवि उदाउँछ रात चिरि बन्धन ।
विषमता बिच फुल्दछ जीवन ।।