आमाका हातको आशीषको टिका बाबाको मालाले
हुँदैछु बिदा झम्टेर रुन्छन् यी लाल–बालाले
बरबरी आँसु झारेर हेर्छिन् झ्यालबाट प्यारीले
घरमा बस्न दिएन क्यारुँ ऋणको भारीले
कुलदेव साक्षी राखेर सारा देवी र देउराली
कसरी बिर्सूं यी वन पाखा उकाली–ओराली
झन् पर जान्छु झन् माया लाग्छ सँङसाथी साराको
खेलेको यादले सताउन थाल्यो बालककालको
अगाडि पाइला सार्दैछु जति पछाडि हेर्दैछु
कस्तो छ आफ्नो भाग्यको फल परीक्षा गर्दैछु
बाबा र आमा परिवार रुँदै घरमा छोडेर
चिडिया जस्तै बादलभित्र हाबामा उडेर
थिएन रहर अर्काको देशमा शहर घुम्नलाई
विदेशी ज्यानको बनेर दासी चरण चुम्नलाई
शहरमा पुगी कागजपत्र लिएर हातमा
समुद्र पारी जानी हो आफ्नो क्यै छैन साथमा
सक्कली हुन् कि नक्कली कागज दलालको छ भर
पराइ देशमा दया र माया गर्ने पो को छ र
खाडीमा पुगी पचास डिग्री तातोमा जल्दै छु
जागिरको निम्ति पराइ ज्यानको म गोडा मोल्दै छु
तातो छ हावा तातो छ पानी तातो छ यो धर्ती
दया र माया गर्ने क्वै छैन फरक छ संस्कृति
जागिर मेरो कोदाली खन्ने खेतबारी जोत्ने हो
यो मात्र होइन गगनचुम्बी महल पोत्ने हो ।