मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · गीत/कविता/गजल/मुक्तक · पृ. ८४

तिमी जाऊ...

सुरेशप्रसाद अर्याल

तिमी जाऊ,
जहाँसम्म जान छ जाऊ ।

आकाशले जहाँ धर्ती छुन्छ,
त्यहाँसम्म जाऊ,
सूर्यलाई जबसम्म हिमालले छेक्दैन,
त्यहाँसम्म जाऊ ।
जहाँसम्म ताराहरु मुस्कुराएर तिमीलाई हेर्छन्
र जून बाटो देखाउँछ,
त्यहाँसम्म जाऊ ।
जाऊ,
जहाँसम्म तिमीलाई तिम्रो मुटुले धिक्कार्दैन
र तिम्रा पैतालाहरुले तिमीलाई जबाफ दिदैनन् ।

जाऊ,
जहाँसम्म तिम्रो अभिमान जिउँदो रहन्छ
र तिम्रो स्वाभिमान मर्दैन ।

जाऊ–
तिमीले रोजेको बाटै– बाट
अनि जब बाटो सकिन्छ,
जाऊ तिमीले नरोजेको नदी तिरै–तिर पनि ।

तर
जब त्यो नदी समुद्रमा समाहित हुन्छ,
त्यो अघि नजानू ।

किनकि –
त्यहाँ म सकिएको हुनेछु ।

त्यहाँ उप्रान्त,
“तिमी फर्की आऊ“ भन्ने कोही हुने छैन ।

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्