(किरण पुस्तकालय गुल्मीबाट प्रकाशन हुने हाम्रो पुरुषार्थ(त्रैमासिक) पत्रिकाको लागि सेवानिवृत्त सरकारी प्राध्यापक वयोवृद्ध एवं दार्शनिक विद्वान् पं. चेतोनाथ शर्मा आचार्यसँग डा. लक्ष्मीकान्त पन्थीद्वारा लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । यो अन्तर्वार्ता गुरुबाट लिएपछि यसको लेखन, सम्पादन तथा टङ्कन कार्यमा गुरुपुत्र मनोजकुमार आचार्यबाट विशेषरुपमा सहयोग प्राप्त भएको ब्यहोरा आदरणीय पाठकहरुमा अनुरोध छ –सम्पादक ।)
१.
गुरु ! हजुरको जन्मस्थान एवं पुर्ख्यौली पृष्ठभूमिसहित विद्या आर्जन गर्नमा कोबाट कसरी प्रेरित हुनुभएको थियो, बताइदिनुहुन्छ कि?
धन्यवाद डा. लक्ष्मीकान्त पन्थीजी तपाईंको प्रश्नको लागि । मेरो जन्म वि.सं. १९९१ साल वैशाख २ गते वैशाख शुक्ल प्रतिपदा तिथिका दिन काठमाडौं उपत्यकाको दक्षिणवर्ती वज्रवाराही मन्दिर र सन्तानेश्वर महादेव मन्दिरबीचको भूभाग जसलाई स्थानीय भाषामा झरुवारासी भनिन्छ, त्यहाँ भएको हो । यो स्थान चापागाउँ बजार नजिक रहेको छ । मेरो जन्म कौण्डिन्यगोत्रीय उपाध्याय आचार्यकुलमा भएको हो । हाम्रा पुर्ख्यौली १२–१३ औं शताब्दीतिर भारतमा तुरुष्क (मुसलमान)हरुको आक्रमण भई कान्यकुब्जक्षेत्रमा पनि उनीहरुको प्रभाव बढ्दै जान थालेपश्चात् उत्तरी पहाडी राज्य हुँदै जुम्ला पुगेको र त्यहाँ हाम्रा कुलका दुई भाइ प्रकाण्ड विद्वान् सच्चिदानन्द र सदानन्दले एकपटक कर्णाली प्रदेशका तत्कालीन राजाले आयोजना गर्न लागेको यज्ञमा मन्त्रबलले जल र अग्नि प्रकट गरेको कारण त्यसबाट राजा खुसी भई अग्नि प्रकट गर्नेलाई यज्ञको आचार्य पद्वी दिएछन् । नयाँ पानी निकाल्ने भाइलाई चाहिँ नवपानीय (न्यौपाने)नामले सम्बोधन गर्न थालिएछ । यज्ञको आचार्यत्व ग्रहण गर्ने तिनै व्यक्तिका सन्तान, दरसन्तान त्यहाँबाट क्रमशः पूर्व–पूर्व लाग्दै गर्दा कालान्तरमा काठमाडौं उपत्यकाको वायव्यदिशामा रहेको बालाजुमाथिको मुड्खु भन्ने ठाउँमा आइपुगेछन् । मेरो पिताजी आदरणीय भोजराज आचार्यको जन्म त्यहीं भएको हो । पछि उहाँको विवाह झरुवारासीस्थित काश्यप गोत्रीय वासुदेव घिमिरेकी सुपुत्री गुणकुमारीसँग भएपछि उहाँले मुड्खुबाट झरुवारासीतिरै बसोबास सार्नुभएछ । त्यहीं हामी ६ भाइ र १ दिदीको जन्म भएको हो । हाम्रा मातापिताको जीवित ७ जना सन्तानमा म सबैभन्दा कान्छो हुँ । त्यसै भएर मलाई सबै दाजुहरुले कान्छु र भाउज्यूहरुले भाइबाबु नामबाट बोलाउनुहुन्थ्यो ।
२.
यहाँले कसबाट शिक्षा आर्जन गर्ने प्रेरणा पाउनुभयो तथा के कस्ता विषयमा के कति औपचारिक शिक्षा प्राप्त गर्नुभयो ? जानकारी पाउन सकिएला कि? अरु पनि कुन विषयमा हजुरको रुचि रह्यो ?
जहाँसम्म मैले विद्या आर्जन गर्न कसबाट प्रेरणा प्राप्त गरें भन्ने कुरा छ मेरो पिताजी त्यस समयको एक पठित र नैष्ठिक ब्राह्मण हुनुहुन्थ्यो । उहाँलाई चालीस अध्याय शुक्लयजुर्वेद कण्ठस्थ थियो भन्ने कुरा मेरी आमा तथा दाजुहरुले बताउनुहुन्थ्यो । दुःखद कुरा म करिब २ वर्षको शिशु छँदै मेरो पिताजीको अल्पवयमै देहावसान भएकोले मैले पिताजीसँग पढ्न र सिक्न पाइनँ । मेरो अक्षरारम्भ घरमै भयो र मैले मेरा दाजुहरु खासगरी माहिलो दाजु गेहेन्द्रप्रसाद (रामनाथ) र साहिँलो दाजु नारायणप्रसाद आचार्यबाट त्यतिखेरको चलनअनुसार चण्डी, रुद्री र वेदको प्राथमिक शिक्षा पाएँ । मेरो माहिलो दाजु गेहेन्द्रप्रसाद प्रतिदिन पञ्चमहायज्ञ गर्नुहुन्थ्यो । उहाँले लगभग आजीवन यो पुण्यकृत्य गर्नुभयो । त्यसबाट मलाई विद्या आर्जन गर्न र धर्मनिष्ठ हुन अभिप्रेरणा मिल्यो ।
त्यसपछि वि.सं. २००६ सालमा काठमाडौं रानीपोखरीस्थित संस्कृत प्रधान पाठशालामा औपचारिक शिक्षाको लागि भर्ना भएँ । यसैबीच २००९ सालमा उक्त पाठशालाको बनारसस्थित क्विन्स कलेज (पछि राजकीय संस्कृत महाविद्यालय नाम रहन गएको) सित सम्बन्धन कायम भयो । त्यही पाठशालाबाट मैले २००९ सालमा प्रथम परीक्षा, २०११ सालमा पूर्वमध्यमा र काठमाडौंको पुतलीसडकस्थित राजकीय संस्कृत महाविद्यालयबाट वि.सं. २०१४ सालमा उत्तरमध्यमा उत्तीर्ण गरें । यसैबीच मैले वि.सं. २०१७ सालमा नव्यन्याय विषय लिएर वाराणसेय संस्कृत विश्वविद्यालयबाट शास्त्री र वि.सं. २०२२ सालमा त्रिभुवन विश्वविद्यालयबाट सोही विषयमा आचार्य परीक्षा उत्तीर्ण गरें । निजी प्रयासमा वि.सं. २०२७ सालमा नेपाली साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरें । सरकारी जागिरमा प्रवेश गर्न सहयोग पुग्ने हिसाबले वि.सं. २०१४ सालमा निजामती मध्यमा परीक्षा पनि उत्तीर्ण गरेंको थिएँ । दर्शनको विद्यार्थी भए पनि मलाई पछिबाट पौराणिक साहित्यहरुको अध्ययनमा रुचि जागेअनुसार केही प्रसिद्ध पुराणहरुको स्वअध्ययनसमेत गरें ।
३.
पढाइ पूरा गरेपछि कहाँ कुन क्षेत्रमा रहेर के कति सेवा गर्नुभयो भन्ने विस्तृत जानकारी पाउन सकिन्छ कि ?
वि.सं. २०१४ सालमा उत्तरमध्यमा उत्तीर्ण गरेपछि मलाई संस्कृत प्रसारिणी समितिअन्तर्गत सञ्चालित काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित नारी विद्यापीठमा पढाउने सुयोग मिल्यो । त्यो विद्यालयमा छात्राहरुलाई निःशुल्क पूर्वमध्यमासम्म पढाइन्थ्यो । मैले छात्राहरुलाई त्यहाँ संस्कृत व्याकरणलगायतका विषयहरु ६ वर्षसम्म पढाएँ । त्यसपछि २०१९ सालमा संस्कृत प्रधान पाठशालामा न्याय विषयका शिक्षक मुकुन्दप्रसाद भट्टराई संस्कृत महाविद्यालयमा सरुवा भई जानुभएपछि रिक्त हुन आएको पदमा एक शैक्षिक सत्र निःशुल्क अध्यापन गरें । वि.सं. २०२० सालमा आचार्य प्रथम खण्डको परीक्षा उत्तीर्ण गरेपछि लोकसेवा आयोगबाट रानीपोखरी संस्कृत पाठशालामा शिक्षकको लागि विज्ञापन भयो । त्यो परीक्षामा उत्तीर्ण भएपछि शिक्षक पदमा स्थायी नियुक्ति पाएँ । तत्पश्चात् वि.सं. २०२६ साल भाद्रमा राजकीय संस्कृत महाविद्यालय (वाल्मीकि विद्यापीठ)मा प्राध्यापन गर्ने गरी नियुक्ति पाएँ ।
मैले २०२६ सालमा नियुक्ति भएदेखि २०५० साल असोज १५ मा नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीको प्राध्यापक पदबाट सेवा निवृत्त नहुञ्ज्याल प्राध्यापनकै काम गरें । बीचमा २०३३ सालदेखि २०३९सालसम्म करिब ५–६ वर्ष शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रमा काजमा रही संस्कृत विशेषज्ञको रुपमा विद्यालयस्तरीय पाठ्यक्रम तर्जुमा, पुस्तक लेखन, सम्पादन, परिमार्जनको काम गरें । फुर्सदको समयमा रेडियो नेपाल तथा नेपाल टेलिभिजन मार्फत विभिन्न समयमा धार्मिक, दार्शनिक, सांस्कृतिक विषयमा लेखरचना प्रसारण गरी नेपाली समाजसमक्ष हिन्दू धर्म र संस्कृतिका विभिन्न पक्षमा जानकारी प्रवाहित गरें । साथै, गोरखापत्र, कान्तिपुरलगायतका ठूला छापामाध्यमहरुमा र विभिन्न धार्मिक, साहित्यिक पत्रपत्रिकाहरुमा समय–समयमा धार्मिक, सांस्कृतिक विषयमा लेख रचना प्रकाशन गरें । अरुणोदय, धर्मसन्देश, मर्यादा, समुदाय आदि पत्रिकाको सम्पादनमा संलग्न रहें ।
४.
अध्ययनको क्रममा काठमाडौंको तीनधारा संस्कृत छात्रावासमा पनि बस्नुभयो होला ? त्यहाँ बस्दा तपाईंले छात्र कार्य समितिमा रहेर पनि केही काम गर्नुभएको थियो कि ? बताइदिनुहोस् न ।
म काठमाडौं उपत्यकाभित्रकै विद्यार्थी भए पनि एउटा निम्नमध्यम वर्गीय ब्राह्मण परिवारको व्यक्ति भएको हुँदा तीनधारा संस्कृत छात्रावासमा भर्ना हुन सके पढ्नलाई केही सुविधा हुने ठानी सोको लागि प्रयास गरेको थिएँ । तर २००७ सालको राजनैतिक क्रान्तिसँगै विभिन्न किचलोले सो छात्रावासमा नयाँ विद्यार्थी भर्ना गर्ने क्रममा केही व्यवधान उत्पन्न भएको थियो । अतः मैले चाहेअनुसार भर्ना हुन सकिनँ । तर प्रजातन्त्रको आगमनसँगै सरकारले विद्यार्थीहरुलाई सहयोग पुर्याउने अभिप्रायले सीमित संख्यामा कल्याण छात्रवृत्ति नामक छात्रवृत्ति प्रदान गर्न थालेको थियो । म पनि त्यो छात्रवृत्ति पाउने विद्यार्थीमध्येमा एक थिएँ । त्यसबापत विद्यार्थीहरुलाई महिनाको रु १०।– छात्रवृत्ति प्राप्त हुन्थ्यो । अतः संस्कृत छात्रावासमा भर्ना हुन नपाउन्जेल यो छात्रवृत्तिले मलाई पढ्नमा केही भरथेग भयो । पछि वि.सं. २०१५ सालमा संस्कृत छात्रसंघले ठूलो आन्दोलन गरेपछि राजा महेन्द्रबाट संस्कृत छात्रावासमा १०६ सिट राख्ने निर्णय भएपछि भएको भर्ना छनौटमा म पनि परें । त्यतिखेर म शास्त्रीमा अध्ययनरत थिएँ । तर संस्कृत छात्रसंघमा आएको फुटका कारण मेरा लागि छात्रावासको बसाइ सुखकर भएन ।
मैले संस्कृत छात्रसंघको सभापतिको हैसियतले वि सं २०१८ साल असारमा संस्कृत छात्रसंघको संसदीय अधिवेशन लालदरबारमा सम्पन्न गराएँ जसमा काठमाडौं उपत्यकाभित्रका विभिन्न भागबाट संस्कृत विद्यालयमा पढ्ने विद्यार्थीहरुका साथै विभिन्न क्षेत्रका गण्यमान्य व्यक्ति सहभागी थिए ।
५.
तपाईंको विद्यार्थीजीवन केवल अध्ययनमा मात्र व्यतीत भएको थियो कि सँगसँगै अरु काममा पनि आफूलाई संलग्न गराउनुभयो ? छात्रकालमा राजनीति, साहित्यसिर्जना वा अरु कुनै क्षेत्रमा पनि संलग्न हुनुभयो कि ?
वि.सं २००७ सालमा प्रजातन्त्रको स्थापनासँगै हरेक विद्यालय, महाविद्यालयमा छात्र कार्यसमिति स्थापना भएका थिए । तिनीहरुबाट छात्रछात्राहरुको हितको लागि केही न केही आवाजहरु उठ्दै रहे । प्रधानाध्यापकले पनि व्यक्तिभन्दा कार्य समितिको आवाजलाई मान्यता दिन्थे । हामीले पढुन्ज्याल संस्कृत प्रधान पाठशालामा फर्निचर नभएर सुकुलमा बसी पढ्नुपर्ने स्थिति थियो । हामीले बेञ्च, कुर्सीलगायतका फर्निचरको व्यवस्थाका लागि आवाज उठायौं । बिस्तारै त्यो प्रबन्ध हुँदै गयो । विद्यालयहरुमा महिना–महिना दिन जस्तोमा विभिन्न विषयमा वादविवाद प्रतियोगिता आयोजना हुन्थ्यो । वि. सं. २०१२ साल वैशाखमा संस्कृत छात्रसंघको आयोजनामा देशव्यापी विद्यालयस्तरीय संस्कृतज्ञहरुको महासम्मेलन भयो । त्यसमा आफ्नो विद्यालयबाट प्रतिनिधित्व गर्ने तीन जनामा म पनि एक थिएँ । वि. सं. २०१३ सालमा भएको राजा महेन्द्रको राज्याभिषेकमा विद्यालयबाट प्रतिनिधित्व गर्नेमा म पनि थिएँ । वि. सं. २०१८ सालमा त्यतिखेरका महाविद्यालय (क्याम्पस) बाट छानिएका विद्यार्थी प्रतिनिधिहरुको अल इण्डिया टुरमा म पनि संस्कृत महाविद्यालयबाट समावेश भई भारतको धेरै स्थानमा भ्रमण गर्न पाएँ । मैले विद्यार्थी कालमा शुरुमा संस्कृत छात्र संघ उपत्यका समितिको उपाध्यक्ष भई कार्य गरेकोमा पछि संस्कृत छात्र संघको सभापतिसम्म भई काम गरें ।
वि. सं. २०१८/०१९ सालतिर संस्कृत छात्रावासमा रहँदा विपक्षी लाइनका साथीहरुले संस्कृतमा “जयतु संस्कृतम्” र नेपालीमा“सिंहनाद”पत्रिका निकालेपछि मेरै पहलमा संस्कृत छात्र कार्यसमितिबाट आर्थिक व्ययभार ब्यहोर्ने गरी “अरुणोदय” त्रैमासिक पत्रिका निकाल्ने निर्णय भएको थियो । सो पत्रिकाको नामकरण गर्ने क्रममा मैले विभिन्न नामहरु प्रस्ताव गरेकोमा प्रस्ताव गरेकैमध्येबाट साथीहरुले “अरुणोदय” नाम रुचाएअनुसार सोही नामबाट २०२० साल आषाढमा सो पत्रिकाको प्रथम अङ्क प्रकाशन भयो । सो पत्रिका अद्यापि संस्कृत छात्रावासबाट निरन्तर प्रकाशित भइरहेको छ । सो पत्रिकाको पहिलो प्रधान सम्पादक पनि म नै थिएँ । उक्त पत्रिकाको पहिलो अङ्कमा “वर्तमान भौतिक संसारमा अध्यात्मवादको स्थान” विषयको मेरो लेख पनि छापिएको थियो जसलाई गोरखापत्रले पछि साभार गरी प्रकाशन समेत गरेको थियो । त्यतिखेर प्रधान पाठशालाका पूर्व छात्रहरुको सम्मेलन पनि भएको थियो जसमा मैले सो लेख पूरै वाचन गरी सुनाएको थिएँ । सो सम्मेलनमा आदरणीय गुरु वरिष्ठ नैयायिक स्व. पद्मप्रसाद भट्टराई पनि समुपस्थित हुनुहुन्थ्यो । म छात्रावासमा रहँदा दुई अङ्कसम्म अरुणोदय प्रकाशित भयो । त्यसपछि म रानीपोखरी पाठशालाको स्थायी शिक्षकमा नियुक्ति पाई बाहिरिएँ । त्यसपछि नयाँ साथीहरुले अरुणोदयलाई निरन्तरता दिँदै रहे । विपक्षी साथीहरुले निकालेको ‘जयतु संस्कृतम्’ र ‘सिंहनाद’ भने १–२ वर्षमै बन्द भए ।
छात्र अवस्थादेखि नै मैले विभिन्न विषयहरुमा लेख तथा निबन्ध लेख्ने गर्थें । साथै, प्रिय आफन्तजनको मृत्यु हुँदा म श्लोकात्मक कवितामा शोक व्यक्त गर्थें । स्थायी शिक्षकको रुपमा पढाउन थालेपछि मैले विभिन्न विषयमा लेख रचनाहरु तयार गरी गोरखापत्रमा प्रकाशन गर्न थालेपछि लेख्ने क्रम थप विस्तारित हुँदै गयो । गोरखापत्रका अतिरिक्त रुपरेखा, प्रज्ञा, मर्यादा, हाम्रो संस्कृति आदि विभिन्न पत्रपत्रिकामा लेखरचनाहरु प्रकाशन गरें । त्यही क्रममा वि.सं. २०३४ सालदेखि रेडियो नेपालमा प्रमुख चाडपर्व परेको बेला सो विषयमा लेख रचना तयार गरी कहिले कार्यक्रम सञ्चालक मार्फत त कहिले आफैं बोलेर पनि प्रसारण गरें । वि.सं. २०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि त्यहाँबाट प्रसारित ‘साधना–सङ्गम’ नामक धार्मिक कार्यक्रममा विभिन्न समयमा धार्मिक, सांस्कृतिक विषयमा प्रवचन गरें । यसरी म सार्वजनिक सञ्चार माध्यमहरुबाट पनि धेरैतिर फिजिएँ ।
६.
तीनधारा संस्कृत छात्रावासमा रहँदा घटेका र तपाईं जोडिनु भएका केही महत्त्वपूर्ण र उल्लेखनीय घटनाहरु केही भए बताइदिनुहोस् न !
तीनधारा संस्कृत छात्रावास पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्मका जिल्लाहरुबाट विद्याध्ययनका लागि काठमाडौं आउने विद्यार्थीहरुको प्रमुख आश्रयस्थल थियो । संस्कृत पढ्ने विद्यार्थीहरु प्रायः निम्नमध्यम र मध्यम वर्गका ब्राह्मण परिवारबाट आउने हुँदा तिनलाई आफ्नै घरको आयस्रोतका आधारमा काठमाडौं उपत्यकामा बसी विद्या आर्जन गर्न कठिन थियो । यस्तोमा निःशुल्क खाना र बस्नको सुविधा भएको तीनधारा संस्कृत छात्रावासले विद्या आर्जन गर्न खोज्ने त्यस्ता धेरै ब्राह्मण विद्यार्थीहरुलाई ठूलो राहत दिएको थियो । यस छात्रावासमा त्यतिबेला २१० जनासम्म विद्यार्थीहरु भर्ना भएर पढ्ने गरेका थिए । यसै क्रममा संस्कृत पढ्ने विद्यार्थीहरुले २००४ सालमा संस्कृतका अतिरिक्त अन्य आधुनिक विषयहरु पनि पढ्न पाउने लगायतका विभिन्न सुधारका माग राखी “जयतु संस्कृतम्” आन्दोलन गरे । राणा सरकारले आन्दोलनमा संलग्न तीनधारा संस्कृत छात्रावासका विद्यार्थीहरुमध्ये कतिपयलाई निर्वासित तुल्यायो भने कतिपयलाई नसिहतसमेत दियो । बाँकी रहेका विद्यार्थीहरुमा देश र समाजका लागि केही गर्नुपर्छ भन्ने जागरणको बीज उम्रिरहेको थियो । त्यतिबेला गुठीको आम्दानी घटेर हो वा धेरै विद्यार्थी एकै ठाउँमा रहे आन्दोलन गर्छन् भन्ने भावले हो संस्कृत छात्रावासमा नयाँ विद्यार्थीको भर्ना रोकियो । तत्कालीन उच्चपदस्थ नेता वा पदाधिकारीसँग चिनजान भएका कतिपयले चाहिँ फाट्टफुट्ट उनीहरुको हुकुमप्रमाङ्गी ल्याएर भर्ना हुन्थे । म २००६ सालदेखि रानीपोखरी पाठशालामा भर्ना भएर पढ्न थालेको र काठमाडौमं ा मेरो घर नभएकोले छात्रावासमा भर्ना हुन पाए केही राहत हुन्थ्यो भन्ने धुनमा भए पनि भर्ना हुन सकेको थिइनँ । उच्च पदस्थ कसैको हुकुम प्रमाङ्गी ल्याउनसक्ने हैसियत मेरो थिएन । त्यसैबेला २००७ सालमा मुलुकमा राणाशासनविरुद्ध ठूलो जनक्रान्ति भई प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्र स्थापनापछि राजनैतिक रुपमा अनेक पार्टी बने भने चारवटा छात्रसंघ बने । जसमध्येको एक संस्कृत छात्रसंघ थियो । त्यसबेला विद्यालयपिच्छे छात्रकार्य समिति पनि बने । संस्कृत छात्रसंघले आफ्नो समुदाय र वर्गको उत्थान र मान्यताको लागि विभिन्न मागहरु राख्दै विभिन्न कार्यक्रम गर्यो । तर त्यसले कुनै ठोस उपलब्धि हासिल भएन, तात्कालिक प्रशासकवर्गबाट केवल आश्वासन मात्र प्राप्त भयो । अनि वि.सं. २०१३ साल मंसिरमा श्रीप्रसाद गौतम, जो पछि गोरखापत्रका प्रधान सम्पादक पनि भए, अध्यक्ष भएको छात्रसंघले अन्तिम प्रयासस्वरुप संस्कृतका पुस्तकहरु राजदरबारअगाडि लगेर बुझाई छात्रावासमा बाँकी रहेका २०–२२ जना विद्यार्थीसहित छात्रावास छोडी असन, इन्द्रचोक, नयाँ सडकमा जयतु संस्कृतम्को नारा लगाउँदै जुलुस निकाली अन्त्यमा थापाथली र त्रिपुरेश्वरबीचको वाग्मती नदीकिनारमा अवस्थित कालमोचनघाटको सत्तलमा बस्न थाले । यसरी राजदरबारमा संस्कृतपुस्तक बुझाउनेमा म पनि एक थिएँ । सत्तलमा बसेका विद्यार्थीहरुले तन्ना फिँजाएर भीख माग्दै आहार जुटाउन थाले । केही समयपछि त्यस आन्दोलनको परिणामस्वरुप राजा महेन्द्रले राज्यस्तरबाटै खर्च बेहोर्ने गरी २०१५ साल आश्विनमा संस्कृत छात्रावासमा १०६ सिट हुने व्यवस्था मिलाई दिए । यसरी नयाँ सिटमा विद्यार्थी भर्ना गर्ने क्रममा मैले पनि संस्कृत छात्रावासमा प्रवेश पाएँ ।
२००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि विद्यार्थीहरुमा पनि वामपन्थी र दक्षिणपन्थी विचार बढ्दै गएको थियो र छात्रावासलाई पनि त्यसले प्रभावित गरेको थियो । म छात्रावासमा भर्ना भएसँगै पहिलेदेखि भर्ना भई अध्ययन गरिरहेका अग्रज विद्यार्थीहरुबीच विवाद बढ्दै गई अन्त्ततः दुई पक्ष कायम हुन पुगेको थियो । त्यसको परिणतिस्वरुप संस्कृत छात्रसंघसमेत दुई भागमा विभक्त भयो । त्यसमा एक पक्ष प्रजातन्त्रवादी लाइनको थियो भने अर्को पक्ष वामपन्थी लाइनको । त्यसमा प्रजातन्त्रवादी लाइनका अग्रज यज्ञप्रसाद थपलिया, पशुपतिनाथ आचार्यआदिले संस्कृत छात्रावास छोडेर सरकारी जागिर खान गएपछि मलाई त्यो पक्षको नेतृत्व सम्हाल्नुपर्ने दायित्व आइलाग्यो । पहिले म कुनै पार्टीबाट प्रभावित थिइनँ । एकोहोरो खुरुखुरु पढाइमा मात्र तल्लीन थिएँ तर बाहिर बसेर स्वतन्त्र रुपमा पढेको मजस्तो व्यक्तिलाई संस्कृत छात्रावास प्रवेश गरेपछि तटस्थ बस्न मिल्ने स्थिति भएन । यसले मेरो शास्त्री तहको पढाइमा समेत केही व्यवधान सिर्जना गर्यो । म त्यतिखेर शास्त्री तहमा पढ्ने र उमेरमा पनि अरुभन्दा केही परिपक्व भएकोले त्यो जिम्मेवारी ममा आइलाग्यो । शुरुमा त मलाई विद्यार्थी हित विभागको जिम्मेवारी दिइएको थियो । पछि संस्कृत छात्रसंघको सभापति भई जिम्मेवारी सम्हाल्नुपर्ने स्थिति आइलाग्यो ।
वि.सं. २०१५ सालमा आम चुनाव भई कांग्रेसको सरकार बनेको थियो । सरकार बनेको नाताले सबैतिर उसको प्रभाव बढी हुनु स्वाभाविक थियो । त्यसबेला संस्कृत छात्रावासमा वामपन्थी विचारधारा राख्ने विद्यार्थीहरुको संख्या तुलनात्मक रुपमा कम भए पनि उनीहरु अलि उग्र स्वभावका थिए । यता प्रजातन्त्रवादी विद्यार्थीहरुको संख्या केही बढी भए पनि उनीहरुको स्वभाव अलि नरम थियो । संस्कृत छात्रसंघको अफिस तीनधारा संस्कृत छात्रावास प्रवेश गर्ने मूल गेटसँगै दक्षिणतर्फको प्रकाशटोलको छिँडीको कोठामा थियो । दुई पक्षबीच विवाद बढ्दै गएपछि २०१७ साल मंसिर महिनाको एक दिन बिहान म नारी विद्यापीठमा पढाउन गएको बेला विपक्षी विद्यार्थीहरुले संस्कृत छात्रसंघको अफिस रहेको कोठाको ताला फोरी त्यहाँ भित्रका सामान तथा दस्ताबेज लुट्ने काम गरेछन् । दुई पक्षबीच हात हालाहालको स्थिति भएछ । फर्केर आउँदा छात्रसंघको अफिस तोडफोड भै कागजपत्र छताछुल्ल भएको देख्दा म अत्यन्त दुःखी भएँ । आफू सभापति भएको बेला संस्कृत छात्रसंघको अफिसलाई लुट्नबाट जोगाउन नसकिएकोमा धेरै दुःख लाग्यो । यस घटनाबाट म निकै दिनसम्म व्यथित बनें । तीनधारा संस्कृत छात्रावासभित्रको संस्कृत छात्रसंघको अफिस लुटिएपछि मैले साथीहरुको सहयोगमा पछि बागबजारमा संघको नयाँ कार्यालय खोलें । बहाल तिर्नका लागि साथीभाइहरुबीच एक–एक सुका पैसा पनि उठाइयो ।
त्यतिखेर म शास्त्री पूरा गर्दै थिएँ । नव्यन्यायका लक्षणग्रन्थ प्रसिद्ध विद्वान् पद्मप्रसाद भट्टराई गुरु पढाउनुहुन्थ्यो । गुरु उद्भट विद्वान् हुनुहुन्थ्यो तर उहाँको स्वभाव केही कडा मिजासको थियो । त्यसैले पढाउँदा बीचमा केही नबुझी प्रश्न सोध्नुपर्दा केही धक लाग्थ्यो । आफू मध्यमस्तरको विद्यार्थी थिएँ । यता संस्कृत छात्रसंघको किचलोले पढाइमा पूरा तल्लीन हुन सकिरहेको थिइनँ । त्यसमाथि नारी विद्यापीठमा बिहान सँधै पढाउन जानुपर्ने भएकोले आफ्नो पढाइका लागि पर्याप्त समय दिन पाइरहेको पनि थिइनँ ।
त्यतिखेर छात्रावासमा तोयनाथ शर्मा नाम गरेका सुपरिवेक्षक राखिएका थिए । उनले प्रत्येक दिन बिहान विद्यार्थीहरुले सामूहिक प्रार्थना गर्नुपर्ने निर्देशन जारी गरेका थिए । तदनुसार संस्कृत छात्रसंघको सभापतिको हैसियतले प्रार्थना चलाउने जिम्मेवारी मलाई तोकिएको थियो । छात्रसंघको अफिस लुटिएपछि ६ जना उग्रपन्थी विद्यार्थीहरुलाई छात्रावासबाट बाहिर निष्कासन गरियो । निष्कासित विद्यार्थी र तिनीहरुको मतियार साथीहरुले त्यसको विरोधमा आन्दोलन गरे । त्यतिखेर सूर्यप्रसाद गृहमन्त्री थिए । एकदिन निष्कासित विद्यार्थीहरुको समूहले उनको मोटर रोक्नेसम्मको काम गरे । फलतः छ दिनपछि निष्कासित विद्यार्थीहरुलाई पुनः छात्रावास प्रवेशको अनुमति दिइयो । त्यो घटनापश्चात् साँझपख भान्छामा भात पाकेर धोती फेरेर खान जान लागेको बेलामा संस्कृत छात्रसंघको अफिस तोडफोडमा मुख्य रुपमा संलग्न निष्कासित उद्दण्ड विद्यार्थीहरुलाई सरकारले पुनः प्रवेश दिएकोमा त्यसको विरोधस्वरुप भान्छा हडतालमा उत्रिनुपर्छ भन्दै साथीहरुले सभापतिको नाताले मलाई यो काममा अघि सर्नुपर्ने कुरा राखे । त्यसपछि म अरु साथीभाइहरु भान्छा घरको मूल ढोकामा गई बस्यौं र कसैलाई पनि प्रवेश दिएनौं । त्यत्रा विद्यार्थीलाई पकाएको खाना त्यसै खेर फालियो । त्यसको भोलिपल्ट बिहान खाद्यान्न झिक्नै नदिने भनेर भण्डारमा पिकेटिङ् गरियो । आफू र आफ्ना पक्षका साथीहरु पनि भोकभोकै रहेर केही दिनसम्म यो विरोध गरियो । त्यतिखेर दीर्घराज कोइराला शिक्षा सचिव थिए । यो विरोधको खबर उनकहाँ पुगेपछि उनले आएर सम्झाउने काम गरे । अनि पुनः भान्छा सुचारु भयो ।
यस्तै अन्तर्द्वन्द्व चलिरहेको बेलामा राजा महेन्द्रले २०१७ पौष १ गते बी.पी. कोइरालाको नेतृत्वको कांग्रेस सरकारलाई अपदस्थ गरी नेताहरुलाई नियन्त्रणमा लिए । त्यसपछिका दिनमा तीनधारा संस्कृत छात्रावासमा सरकारका गुप्तचरहरुको निगरानी बढ्नथाल्यो । प्रजातन्त्रपक्षधर विद्यार्थीहरुलाई धरपकड गर्ने काम शुरु भयो । त्यतिखेर कांग्रेस भनेर खुल्ले आम चिनिएका दुई विद्यार्थी पीताम्बर दाहाल र रामप्रसाद भट्टराईलाई पक्राउ गरेर लगे । मलाई पुतलीसडकस्थित राजकीय संस्कृत महाविद्यालयबाट तीनधारा संस्कृत छात्रावासतर्फ आउँदै गर्दा बागबजारको मोडमा पक्रेर त्यहीं नगिचको प्रहरी बुथमा बुझाए । दिनभर प्रहरी बुथमा बसेपछि साँझपख नकुलशमशेर नाम गरेका प्रहरी इन्चार्जले आएर विद्यार्थी भएर राजनीतिमा लाग्नु हुँदैन, तपाईंहरुजस्तो शिक्षित मान्छेले सरकारको विरोध गर्नुहुँदैन भनी सम्झाउँदै छोड्न आदेश दिए । पक्राउ परेका साथीहरुलाई छुटाउन म र श्यामप्रसाद दाहाल नाम गरेका हामी दुई साथी महाराजगञ्ज, पानीपोखरीस्थित तुलसी गिरीको क्वार्टरमा गई उनीसँग अनुनय विनय गर्यौं । पछि उनीहरु पनि छुटे ।
संस्कृत छात्रसंघमा संसद् र कार्य समिति गरी दुई अङ्ग थिए । संस्कृत छात्रसंघको विधानमा प्रत्येक वर्ष संसदीय अधिवेशन गर्नुपर्ने प्रावधान थियो । अतः म संस्कृत छात्रसंघको सभापतिमा चुनिएपछि त्यसको संसदीय अधिवेशन गर्नुपर्ने काम मेरो थाप्लामा आइपर्यो । तदनुसार वि.सं. २०१८ साल आषाढमा संस्कृत छात्रसंघको संसदीय अधिवेशन गर्ने निर्णय भएअनुसार सोको लागि शिवराज आचार्यको अध्यक्षतामा आयोजक समिति गठन भयो । अधिवेशन आयोजनाका लागि अर्थसङ्कलन गर्न धेरैतिर खट्नुपर्यो । हामीप्रति सद्भाव राख्ने विभिन्न क्षेत्रका व्यक्तिहरुदेखि भारतीय राजदूतावाससम्म आर्थिक सहयोग मागियो । सबैतिरबाट चन्दा उठाई करिब चार–पाँच सय जति रकम जम्मा भएपछि सम्मेलनका लागि तत्कालीन लालदरबार सम्बद्ध व्यक्तिहरुसँग सम्पर्क गरी त्यहीं भित्रको हलमा आयोजना गर्ने व्यवस्था मिलाइयो । कार्यक्रममा सभापतित्वको लागि सहायक मन्त्री भुवनलाल प्रधान र प्रमुख अतिथिमा गृह सहायक मन्त्री काजीमान कन्दङ्वालाई आमन्त्रण गरियो । सम्मेलनमा उपस्थितिका लागि काठमाडौं उपत्यकाभित्रका सबै संस्कृत विद्यालयका छात्र प्रतिनिधिहरुका साथै सबै गण्यमान्य व्यक्तिलाई आमन्त्रण गर्दै कार्ड बाँडियो । संस्कृत छात्रसंघको संसदीय अधिवेशन भनेर पम्पलेट छापी ठाउँ ठाउँमा वितरण गरियो ।
यसरी अधिवेशन आयोजनाको तयारी लगभग पूरा भएको अवस्थामा कार्यक्रम हुने अघिल्लो दिन अपराह्न ४–५ बजेतिर मलाई काठमाडौंको मजिष्ट्रेट अफिसबाट बोलावट आएअनुसार म त्यहाँ हाजिर हुन गएँ । त्यहाँ पुग्ने बित्तिकै मजिष्ट्रेट सरदार विष्णुमणि आचार्यले अहिले संसद् नभएको बेलामा केको संसदीय अधिवेशन गर्न लागेको? भनेर मलाई हप्काए । मैले छापेको पम्पलेट देखाई यो संस्कृत छात्रसंघको संसदीय अधिवेशन हो भनेर बुझाउन खोज्दा पनि उनले यसबाट जनतामा भ्रम पर्छ भन्दै यो गर्न मिल्दैन भनी अड्डी कसे । सबै कुराको तयारी भइसकेको अवस्थामा यो कार्यक्रम रोक्न उपयुक्त थिएन । अनि मैले एकछिन सोचेर उसो भए संसदीय अधिवेशन नभनेर वार्षिक अधिवेशन भनेर गर्छु भनेपछि उनले नजिकको एक कर्मचारीलाई “संसद् शब्द बोलेमा जस्तो पनि सजाय भोग्न तयार छु”भन्ने कागज गराएर छोड्न आदेश दिए । सोही बमोजिम कर्मचारीले लेखेको कागजमा सही छाप गरी निस्कें । यसरी अनेक हण्डर ब्यहोर्दै संस्कृत छात्रसंघको वार्षिक अधिवेशन आयोजना गरियो । तर सभापतिको रुपमा आमन्त्रण गरिएका भुवनलाल प्रधानलाई विपक्षी साथीहरुले भड्काई दिएकोले उनी आएनन् । उनको सट्टामा कविराज शिवनाथलाई सभापति बनाइयो । काजीमान कन्दङ्वा भने आए । शिक्षा विभाग हेर्ने राष्ट्रिय निर्देशनालयका डाइरेक्टर सुरेन्द्रराज शर्माले पनि विशेष आमन्त्रित अतिथिका रुपमा आफ्नो मन्तव्य राखेका थिए । सम्मेलनमा विभिन्न क्षेत्रबाट आएका लब्धप्रतिष्ठ व्यक्तिहरुले हल खचाखच भरिएको थियो । संस्कृतक्षेत्रका ठूला विद्वान्हरु जस्तै गङ्गाधरशास्त्री पराजुलीदेखि तीनधारा संस्कृत छात्रावास स्थापना गर्ने वीरशमशेरका सन्तति माधवशमशेर, भारतीय राजदूतावासका उच्च पदाधिकारीसम्म सहभागी थिए ।
सम्मेलन तीन दिनको अवधिको थियो । जसअन्तर्गत सभामुखको चयन, संस्कृत छात्रसंघको आगामी कार्यक्रम र कार्यदिशाबारे छलफल र निर्णय तथा सांस्कृतिक कार्यक्रमको प्रदर्शन आदि भए । सम्मेलनको आयोजनामा विभिन्न व्यवधान आइलागे तापनि सम्मेलन भव्यताका साथ सम्पन्न भएकोमा सभापतिको हैसियतले मलाई ठूलो आत्मसन्तोष भयो । विपक्षी साथीहरुको माझमा हाम्रो साख रह्यो । यसरी नचाहँदा नचाहँदै पनि विद्यार्थी राजनीतिमा केही समय संलग्न हुनुपर्ने बाध्यता मेरो जीवनमा आइलाग्यो । यसप्रकार संस्कृत छात्रसंघलाई पुनः सङ्गठित गर्ने काममा मैले आफूलाई संलग्न गराउनुपर्यो ।
छात्रावासमा रहँदै वि.सं. २०१८ साल असोजमा मलाई अल इण्डिया टुरमा विद्यार्थी प्रतिनिधिका रुपमा सहभागी हुने अवसर प्राप्त भयो । यसका लागि म गुरुवर पद्मप्रसाद भट्टराईज्यूप्रति आभारी छु । यसले मलाई भारतका विभिन्न ठाउँ घुम्ने र विभिन्न विषयमा जानकारी बटुल्ने अवसर मिल्यो ।
७.
तपाईंको खास रुचिको विषय के रह्यो ?
दार्शनिक, धार्मिक, पौराणिक, ऐतिहासिक र साहित्यिक ग्रन्थहरुको अध्ययन र परिशीलन तथा त्यसको आधारमा लेखन, प्रवचन, शिक्षण र धार्मिक, साहित्यिक पत्रिकाहरुको सम्पादन मेरो मुख्य रुचिको विषय रह्यो । मैले मेरो पूरै जीवन लगभग यसैगरी बिताएँ । विद्यालय, महाविद्यालयमा पढ्दा तथा संस्कृत छात्रावासमा रहँदा विभिन्न विषयमा हुने वादविवाद तथा वक्तृत्वकला र निबन्ध प्रतियोगिताहरुमा पनि समय–समयमा भाग लिने गर्थें र कतिपय प्रतियोगिताहरुमा म पुरस्कृत पनि भएको थिएँ । यसैगरी मलाई विद्यार्थीकालदेखि नै ठूला साधु, सन्त, भक्त, महात्माहरुको प्रवचन, उपदेश सुन्ने, उनीहरुसँग सत्सङ्ग गर्ने अभिरुचि रह्यो र यो क्रम पछिसम्म नै कायम रह्यो । मैले स्वामी रामसुखदासदेखि शास्त्रार्थ महारथी माधवाचार्यसम्म, योगी नरहरिनाथदेखि स्वामी ईश्वरानन्दसम्म, स्वामी त्रिवेणी पुरीदेखि महेश्वरानन्द गिरिसम्म, पशुपतिनाथको वासुकिक्षेत्रमा बस्ने श्यामचैतन्य बाबादेखि क्षितीशचन्द्र चक्रवर्तीसम्म, कृपालुजी महाराजदेखि भागवत मर्मज्ञ केशव डोंगरेजी तथा उहाँका सुयोग्य शिष्य कमलेशजी महाराजसम्मको प्रवचन सुनेको छु । योगाचार्य स्वामी सच्चिदानन्द विशुद्धदेवसँग मैले योगको व्यावहारिक शिक्षा लिएको थिएँ । थानेश्वर बाबादेखि नेपाली बाबा तेजोनाथशर्मा र जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यसम्मको सङ्गत गरेको छु । भारतबाट समय–समयमा पाल्नुभएका जयेन्द्रसरस्वती, स्वरुपानन्द नामका शङ्कराचार्यहरुलगायत अन्य थुप्रै साधुसन्तको प्रवचन सुनेको छु, उहाँहरुसँग सत्सङ्ग गरेको छु । यसबाट मेरो जीवनलाई पवित्र बनाउन र मेरो आध्यात्मिक चिन्तनको दायरालाई फराकिलो बनाउन ठूलो मद्दत पुगेको छ ।
८.
तपाईंले आफूले जीवनमा पढेका किताबहरुमध्ये आफूलाई सबैभन्दा बढी मन परेका र तपाईंको जीवनलाई समेत प्रभावित पारेका किताबहरुबारे उल्लेख गरिदिनुहोस् न ?
मेरो अध्ययन अध्यापन मूलतः संस्कृतमै भएकोले मलाई रुचिकर ग्रन्थहरु पनि अधिकांशतया संस्कृतमै छन् । खासगरी व्याकरणमा पाणिनीय अष्टाध्यायी र मध्यकौमुदी, अमरकोष, धार्मिक आध्यात्मिक साहित्यमा वाल्मीकिरामायण, अध्यात्मरामायण तथा योगवाशिष्ठ र महाभारत, पुराणहरुमा श्रीमद्भागवत, देवीभागवत र शिवपुराण लौकिक साहित्यिक ग्रन्थहरुमा रघुवंश, शाकुन्तलनाटक, मेघदूत, कुमारसम्भव र किरातार्जुनीय, हितोपदेश, भर्तृहरिशतक र चाणक्यनीति, स्मृतिग्रन्थहरुमा मनुस्मृति र याज्ञवल्क्यस्मृति मेरा विशेष रुचिकर ग्रन्थ हुन् । यसैगरी दार्शनिक ग्रन्थहरुमा षड्दर्शन सूत्रसङ्ग्रह, तर्कसङ्ग्रह, मुक्तावली, न्यायभाष्य, वेदान्तसार र वेदान्तपरिभाषा, पञ्चदशी, शब्दशक्तिप्रकाशिका, ईशादि ११ उपनिषद् र श्रीमद्भगवद्गीता मैले बढी स्वाध्याय गर्ने ग्रन्थ हुन् । नेपालीमा कविशिरोमणि लेखनाथ पौड्यालविरचित तरुण–तपसी, सत्य–कलि संवाद र सत्यसन्देशलगायतका विभिन्न फुटकर कविताहरु, लक्ष्मीप्रसाद देवकोटाको लक्ष्मी निबन्धसंग्रह, कविशिरोमणि लेखनाथको बुद्धिविनोद नामक कविताप्रश्नावली उपर पं. नयराज पन्तको उत्तरावली र गुरुप्रसाद मैनालीका कथाहरु मलाई मन पर्ने कृति हुन् । हिन्दीमा तुलसीदास विरचित रामचरितमानस, सूरदासको सूरसागर, मैथिलीशरणगुप्तरचित भारत–भारती, साकेत र जयद्रथवध तथा रामनरेश त्रिपाठीद्वारा सम्पादित कविताकौमुदी र प्रेमचन्दका गोदान र रवीन्द्रनाथ टैगोरको गीताञ्जलीलगायतका कृतिहरु मलाई मन पर्ने किताब हुन् । सन्त कबिरको दोहावली पनि निकै मार्मिक लाग्छ । यी सबै कृतिहरुले मेरो जीवन र सोचलाई कुनै न कुनै रुपमा प्रभावित गरेका छन् । जीवनको उत्तरार्धमा म अहिले खासगरी श्रीमद्भागवत, गीता र उपनिषद्हरुको परिशीलनमा रमाउने गरेको छु ।
९.
तपाईं आफूले अध्ययन गरेका र सङ्गत गरेका व्यक्तिहरुमा कसलाई बढी सम्मान र आदर गर्नुहुन्छ ? तपाईं जीवनमा कोबाट बढी प्रभावित हुनुभयो, केही बताइदिनुहुन्छ कि ?
म शिशु अवस्थामै छँदा मेरो पिताजीको निधन भएकोले म मेरी विधवा माताको संरक्षणमा हुर्केँ । सात जना सन्तान भएकी मेरी माताले धेरै संघर्ष र धैर्य गरी हामीलाई हुर्काउनुभयो । पछि डायबिटिजको कारण उहाँ दुबै आँखासमेत नदेख्ने हुनुभयो । मेरी माता एक पुण्यात्मा र समझदार गृहिणी हुनुहुन्थ्यो । उहाँलाई भागवत, रामायण र महाभारतका धेरै कथाहरुको राम्रो ज्ञान र सम्झना थियो । मलाई उहाँले सानैदेखि भागवत, रामायण र महाभारतका कथाहरु सुनाउने गर्नुहुन्थ्यो । यसले मलाई पछि शिक्षा आर्जन र पुराणवाचनको क्रममा पनि धेरै सहयोग पुग्यो । यसैले म मेरी आमालाई पहिलो आदरणीय गुरु मान्दछु जसले मलाई धेरै कुरा सिकाउनुभयो । त्यसपछि मेरा दाजुहरु जसले अक्षरारम्भ गराउनेदेखि रुद्री, चण्डीपाठ, सन्ध्यावन्दन आदि गर्न सिकाउनुभयो उहाँहरुलाई पनि सदैव सम्मान गर्दछु ।
औपचारिक शिक्षा लिन थालेपछि धेरै गुरुहरुसँग पढियो । उहाँहरु सबै सम्मान र आदरको पात्र हुनुहुन्छ । खासगरी पद्मप्रसाद भट्टराई गुरु जोसँग मैले उत्तरमध्यमा तहदेखि आचार्य तहसम्म न्यायका प्रौढ ग्रन्थहरु पढें । उहाँप्रति मेरो विशेष आदर छ । उहाँ असाधारण विद्वत्ताले युक्त सरस्वतीका वरदपुत्र हुनुहुन्थ्यो । न्यायका अतिरिक्त उहाँ व्याकरण, धर्मशास्त्र, मीमांसा, साहित्यलगायत धेरै विषयका ज्ञाता हुनुहुन्थ्यो । ज्योतिषबाहेक पाठ्यक्रममा राखिएका पूर्वीय वाङ्मयका लगभग सबैजस्तो ग्रन्थ उहाँ पढाउनसक्ने हैसियत राख्नुहुन्थ्यो । काशीमा उच्चतम तहसम्मको विद्याध्ययन पूरा गरी त्यहाँका प्रतिष्ठित कलेजमा प्राध्यापन गरिबस्नुभएका उहाँलाई २००९ सालतिर राजा त्रिभुवनको पालामा विशेष आग्रह गरी नेपाल ल्याइएको थियो । त्यसैगरी पूर्व बडागुरुज्यू श्री अम्बिकाप्रसाद अधिकारी जोसँग मैले मुक्तावलीलगायतका दर्शनका प्राथमिक विषयहरु पढें । उहाँप्रति पनि मेरो विशेष सम्मान छ । उहाँ गीताको पनि ठूलो अध्येता र व्याख्याता हुनुहुन्थ्यो त्यसबाट पनि म धेरै लाभान्वित भएको छु । मैले पढाइ शुरु गर्दा मलाई संस्कृतव्याकरण, संस्कृतकाव्य तथा हिन्दी साहित्यका विभिन्न विषयहरु पढाउने गुरुहरु स्वर्गीय बुद्धिनाथ अर्याल, पूर्णभद्र सुवेदी र रोहिणीप्रसाद भट्टराई पनि उत्तिकै आदरणीय हुनुहुन्छ । यसैगरी पं. नयराज पन्त गुरु जोसँग मर्यादा पत्रिकाको सम्पादनको क्रममा धेरै सङ्गत भयो उहाँको इतिहास, ज्योतिष र विभिन्न विषयको ज्ञानबाट म धेरै प्रभावित भएको छु । यसैगरी पं. विष्णुप्रसाद न्यौपाने जो वेदान्त र साहित्य विषयका आचार्य हुनुहुन्थ्यो उहाँबाट पनि म धेरै प्रभावित छु । पछि सत्सङ्गको क्रममा योगी नरहरिनाथ, स्वामी ईश्वरानन्द गिरी, स्वामी त्रिवेणी पुरी, स्वामी महेश्वरानन्द गिरी, डा. क्षितीशचन्द्र चक्रवर्ती आदिबाट धेरै ज्ञान र शिक्षाहरु मिलेको थियो उहाँहरु सबैप्रति म कृतज्ञ छु । सङ्कीर्तनभक्तिका श्रेष्ठ साधक कविप्रसाद गौतम र उहाँका अनुज श्री ज्योतिप्रसाद गौतमको कर्म, जीवनी र रचनाबाट पनि म धेरै प्रभावित छु । डा. स्वामी प्रपन्नाचार्यको व्यक्तित्व र कर्तृत्वबाट पनि म प्रभावित छु । उहाँ मेरो थापाथलीस्थित घरमा विभिन्न प्रयोजनले फाट्टफुट्ट आई पनि रहनुहुन्थ्यो । सनातन धर्म सेवा समितिका संस्थापक सभापति स्व. धरणीधर कोइरालाबाट पनि म धेरै अभिप्रेरित छु । यसका साथै म मेरा थुप्रै सहवर्ती मित्र तथा गुरुहरु जस्तै वैदिक दामोदर कोइराला, अग्निहोत्री तीर्थराज आचार्य र वाल्मीकिशर्मा पौडेल, प्राध्यापक खेमराज केशवशरण, मधुसूदन रिसाल, प्राध्यापक शिवगोपाल रिसाल, देवीप्रसाद चापागाईं, डा. गोविन्द टण्डन, समाजसेवी एवं गाउँ सेवा कोषका संस्थापक स्व.भीमबहादुर अधिकारी, विदूषी एवं पद्मकन्या क्याम्पसकी पूर्व प्रिन्सिपल श्रीमती अङ्गुरबाबा जोशी लगायतबाट पनि विभिन्न रुपमा प्रभावित छु । जीवनको उत्तरार्द्धमा मैले समुदाय पत्रिकाको सम्पादनको क्रममा पूर्व गभर्नर एवं पूर्व मुख्यसचिव स्व. कुलशेखरशर्मासँग पनि केही समय सङ्गत गर्ने मौका पाएँ । उहाँको सरलता, सज्जनता, सनातनधर्मप्रतिको अगाध आस्था र ज्ञानको विशालताबाट पनि म निकै प्रभावित छु ।
१०. गुरु ! हजुरको यति धेरै लामो जीवनयात्रामा रहँदा केही कृतिहरु पनि रचना तथा प्रकाशन गर्नुभएको छ कि ? यदि छन् भने कुन कुन विषयमा के कस्ता कृतिहरु प्रकाशन गर्नुभएको छ तिनको संक्षिप्त विवरण दिनुहोस् न? मेरा फुटकर लेखरचनाहरु करिब १००० जति होलान् तिनमा धेरैजसो विभिन्न माध्यमले प्रकाशित नै छन् । पुस्तकाकारका रुपमा भने मेरा ७ वटा कृतिहरु बाहिर आएका छन् । ती हुन् – गणेशतत्त्वचिन्तन, २०४२ (दोस्रो संस्करण गणेश एक ः स्वरुप अनेक नाममा २०६१ सालमा प्रकाशित), भक्ति साहित्यको परम्परामा कविवर गुणराज खनाल रामदास विरचित श्रीमद्भगवद्भक्ति महिमा, २०४४, हाम्रा धार्मिक चाडपर्व (प्रथम संस्करण २०४५ र दोस्रो संस्करण २०७८), आत्मानुसन्धान (प्रथम संस्करण २०६४ र दोस्रो संस्करण २०७८), शब्दपुष्पाञ्जलि (भजन एवं प्रार्थना सङ्ग्रह, २०६५), अवतार एक विहङ्गम अवलोकन (२०६८) र अन्तर्मनका भावतरङ्ग (२०७२) । मेरा अधिकांश कृतिहरुमा ईश्वर, आत्मा, धर्म, मानव जीवनको महत्त्व र कर्तव्य तथा हाम्रा धार्मिक, सांस्कृतिक विशेषताहरुको बारेमा प्रकाश पारिएको छ । अन्तर्मनको भावतरङ्गमा अन्य कुराका अतिरिक्त मेरो विदेश यात्राको अनुभव पनि समेटेको छु ।
मैले साहित्यिक, दार्शनिक, धार्मिक, आध्यात्मिक आदि विषयमा विभिन्न कालखण्डमा लेखेका फुटकर लेखरचनाहरु गोरखापत्र, कान्तिपुर, अरुणोदय, धर्मसन्देश, मर्यादा, हैमवती, प्रज्ञा, रुपरेखा, हाम्रो संस्कृति, परिमार्जन, अनन्त धारालगायतका पत्रपत्रिकाहरुमा प्रकाशित छन् ।
११. गुरु ! हजुरले लामो समयसम्म संस्कृतविद्या त्यसमा पनि दर्शनशास्त्रको अध्ययन, अध्यापन गरेर बिताउनुभयो । संस्कृत विषयमा पनि केही कृतिहरुको रचना गर्नुभएको छ कि ? मैले आमजनसमुदायले बुझ्ने नेपाली भाषामा नै मेरा अधिकांश लेखरचना र कृतिहरु प्रकाशन गरें । यद्यपि समय–समयमा कतिपय स्मृतिग्रन्थ (पद्मस्मृतिग्रन्थ) र पत्रपत्रिकाहरुमा जस्तै गोरखापत्रको संस्कृतपृष्ठ, हैमवती, देववाणी आदिमा मैले संस्कृतभाषामा लेखेका फुटकर लेखहरु प्रकाशित भएका छन् । मैले वाल्मीकि विद्यापीठमा प्राध्यापनको क्रममा रहँदा“नैपालक नैयायिकानां जीवनचरितम्” भन्ने शीर्षकको लघु परियोजना लिएर नेपालका नैयायिकहरुको उपलब्ध भएसम्मको विवरण सङ्कलन गरी संस्कृतमा एउटा सानो कृतिको मस्यौदा तयार गरेको थिएँ । तर प्रकाशनमा चाहिँ ल्याउन सकिएन । मेरा लेखनीका स्रोत र सन्दर्भसामग्री भने अधिकांश संस्कृत ग्रन्थहरु नै हुन् ।
१२. तपाईं के–कस्ता सामाजिक, धार्मिक संस्थामा आबद्ध हुनुहुन्थ्यो र ती संस्थाहरुमा रहेर के गर्नुभयो ? म सनातन धर्म सेवा समितिको संस्थापक सदस्य हुनुका साथै पछि सो संस्थाको उपाध्यक्षसम्म भई सनातन धर्मको प्रचार–प्रसार र संवर्धनका लागि करिब २४–२५ वर्ष सक्रिय रहें । अद्वैत संस्थामा १०–१२ वर्षजति आबद्ध भई त्यहाँबाट देशिकोत्तमसम्म भएँ । स्वयम्भूस्थित गीता अध्ययन मण्डल, बृहद् आध्यात्मिक परिषद्, जावलाखेलस्थित सत्सङ्ग परिवार, सिनामङ्गलस्थित प्रकाश सन्यास आश्रम, मध्यबानेश्वरस्थित नेपाल पूजा प्रतिष्ठान, गणेश–राधा–माधव सङ्कीर्तन मण्डल, थापाथली हाइट, सानेपास्थित ढुङ्गेधारा सत्सङ्ग समाज, थापाथली जनकल्याण परिवार, विश्व सनातन धर्म एकता महासंघजस्ता सामाजिक धार्मिक संस्थाहरुसँग म विभिन्न कालखण्डमा विभिन्नरुपमा आबद्ध भई सत्सङ्ग, प्रवचन आदि कार्यमार्फत योगदान गरें । वि. सं. २०४३ सालमा केही समय हिन्दूधर्म सेवा समन्वय समितिको सल्लाहकार पदमा पनि रही काम गरें ।
साथै, विश्व शान्ति र सार्वजनिक कल्याणको उद्देश्यले सार्वजनिक तवरमा लगाइएका विभिन्न अनुष्ठान तथा यज्ञहरुमा कतै वाचक, कतै आचार्य, कतै ब्रह्मा र कतै सदस्य आदिको रुपमा विभिन्न भूमिका निर्वाह गरें । जस्तै साँखुको शालीनदी तटमा लगाइएको कोटिहोम, गोकर्णेश्वर मन्दिर क्षेत्रमा लगाइएको कोटिहोम, भक्तपुरको तेलकोटमा लगाइएको कोटिहोम, बुढानीलकण्ठमा लगाइएको कोटिहोम र सोलुखुम्बुको सल्लेरीमा लगाइएको कोटिहोम, हेटौंडाको भुटनदेवी मन्दिर परिसरमा लगाइएको कोटिहोममा आचार्यको भूमिका निर्वाह गरें । चण्डेश्वरी मन्दिर बनेपामा लगाइएको अतिरुद्रीमा पनि आचार्य बसें । जयबागेश्वरी मन्दिर परिसरमा लगाइएको देवीभागवत पुराण, गोठाटारमा लगाइएको शिवमहापुराण आदि अनुष्ठानमा प्रमुख वाचकको भूमिका निर्वाह गरें । ती अनुष्ठानहरुमार्फत सम्बन्धित क्षेत्रका मन्दिर र तीर्थस्थलहरुको प्रचार प्रसार, मठमन्दिरको संरक्षण, सुधार र जीर्णोद्धार, सम्बन्धित क्षेत्रमा घाट, पूजामण्डप, यज्ञशाला, भजनपाटी आदिको निर्माणमा विभिन्न किसिमको मद्दत पुगेको थियो । भागवतमर्मज्ञ श्री रामचन्द्र केशव डोंगरेजी महाराजको श्रीमद्भागवत अनुष्ठानमा मैले भागवत पाठकको रुपमा कार्य गरेको थिएँ । यसैगरी वि.सं. २०४३ सालमा विन्ध्यवासिनी आध्यात्मिक संघका संस्थापक नेपाली बाबा पं. तेजोनाथशर्माको अग्रसरतामा भारतको विन्ध्याचलमा ११ हजार ब्राह्मण (तर यज्ञस्थलमा यसको पुग नपुग आधाजस्तो ब्राह्मणमात्र उपस्थित थिए) को सहभागितामा भएको बृहत् धार्मिक अनुष्ठानमा एक महिनासम्म सह–आचार्य र पुराणमण्डपको आचार्यका रुपमा समेत सहभागी भएँ । व्यक्तिगत स्तरमा लगाइएका करिब तीन दर्जन जति अनुष्ठान(सप्ताह तथा नवाह) मा पनि वाचकको रुपमा काम गरें ।
१३. लामो समयसम्म सरकारी प्राध्यापक बनेर सेवा गर्दा के कस्ता मानसम्मान, पुरस्कार, विभूषण वा अभिनन्दनपत्र पाउनुभएको थियो ? वि.सं २०२४ सालमा श्री ५ त्रिभुवनको हीरकजयन्तीको उपलक्ष्यमा राष्ट्रियस्तरको साहित्य सम्मेलन भएकोमा त्यसमा मेरो निबन्ध सर्वप्रथम भई मलाई स्वर्णपदक प्राप्त भएको थियो । गोरखापत्रद्वारा आयोजित “म प्रधानपञ्च भएँ” भन्ने शीर्षकको राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा मेरो निबन्धलाई दोस्रो स्थान प्राप्त भएको थियो । त्यसैगरी गोल्छा अर्गनाइजेसनले आयोजना गरेको अणुव्रत शीर्षकको निबन्ध प्रतियोगितामा मलाई तृतीय पुरस्कार प्राप्त भएको थियो । वि.सं. २०४३ सालमा मलाई तत्कालीन राजा श्री ५ वीरेन्द्रको हातबाट प्रबल गोरखादक्षिणबाहु विभूषण प्राप्त भयो । वि.सं. २०४४ सालमा गुणराज स्मारक व्याख्यान पुरस्कार र वि.सं. २०४७ सालमा हाम्रा धार्मिक चाडपर्व नामक मेरो कृतिका लागि गुणराज पुरस्कार प्राप्त भयो । सो पुरस्कार तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको हातबाट प्राप्त गर्ने सौभाग्य मिलेको थियो । वि.सं. २०७० सालमा स्व. डा. विहारीलाल श्रेष्ठ राष्ट्र सेवा पुरस्कार, वि.सं. २०७० सालमा भारती खरेल पुरस्कार, वि.सं. २०७४ सालमा थापाथली जनकल्याण प्रतिभा पुरस्कार, २०७५ सालमा रुपकुमारी अध्यात्म सेवा पुरस्कार र २०७९ सालमा सत्सङ्ग परिवारबाट वि.सं. २०७० सालमा कृष्णचन्द्र अर्याल स्मृति पुरस्कार एवं सम्मान प्राप्त भयो । यसैगरी वैदिक सनातन कर्मकाण्ड महासंघले २०५४ सालमा र सनातन धर्म सेवा समितिले वि.सं. २०६३ सालमा र पशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले २०७६ सालमा अभिनन्दन–पत्र प्रदान गरेका छन् । अन्य केही संस्थाहरुले पनि विभिन्न समयमा विभिन्न किसिमका सम्मानपत्र प्रदान गरेका छन् ।
१४. यहाँले नेपालका तथा विदेशमा पनि कुन–कुन ठाउँको भ्रमण गर्नुभएको छ ? यसबाट तपाईंलाई के–कस्तो शिक्षा र सन्देश मिलेको छ, बताइदिनुहोस् न ? मैले नेपालको कर्णाली अञ्चलबाहेक सबै अञ्चलका गरी करिब ६० वटा जिल्लाको भ्रमण गरेको छु । कतै भाषा शिक्षणको सन्दर्भमा, कतै नैतिक शिक्षा प्रवचनको क्रममा, कतै सरकारी कामकाजको सन्दर्भमा र कतै धार्मिक अनुष्ठानमा सहभागी हुने र कतै तीर्थभ्रमणका रुपमा ती जिल्लाहरु घुमेको हुँ । भारतमा सर्वप्रथम वि.सं. २०१८ साल असोजमा विद्यार्थी प्रतिनिधिको रुपमा करिब एकमहिना अल इण्डिया टुर गरेको हुँ । त्यस क्रममा भारतको पटनादेखि मैसुर, मद्रास, बम्बई, कलकत्ता र दिल्लीलगायतका ठाउँको भ्रमण गरेको हुँ । पछि निजीतवरमा तीर्थभ्रमण गर्ने क्रममा उडिसाको भुवनेश्वर, बनारस, प्रयाग, गोरखपुरको भ्रमण गरेको छु । भारतका चारवटै धाम, गङ्गासागर, कुरुक्षेत्र, तिरुपतिबालाजी, रङ्गनाथ, कन्याकुमारी र आसामको कामरुपकामाख्यादेखि परशुरामकुण्डसम्मको भ्रमण गरेको छु । जीवनको उत्तरार्धमा २०७०–७१ सालमा आएर जेठो छोरा मनोज जेनेभास्थित नियोगमा वाणिज्य प्रतिनिधिका रुपमा खटिई गएपछि स्वीटजरल्याण्डको जेनेभा, ज्युरिच र वर्नलगायतका स्थानहरु, इटालीको रोम, फ्रान्सको पेरिस, बेल्जियमको ब्रसेल्स, हल्याण्डको आम्सटरड्याम, हेग र रोटरड्याम, पोर्चुगलको लिस्बन भ्रमण गर्ने अवसर मिल्यो । सोही क्रममा कान्छो छोरा विनोद बसेको ठाउँ क्यानाडाको टोरन्टो घुम्न गएको बेला त्यहाँको राजधानी शहर ओटावा तथा अमेरिकाको न्यूयोर्क र वासिङ्गटन डिसीको भ्रमण गर्ने अवसर जुट्यो । मैले विदेश भ्रमणबाट सिकेका कुराहरु मेरो अन्तर्मनको भावतरङ्ग भन्ने कृतिमा उल्लेख गरेको छु ।
१५. तपाईं दर्शनको विद्यार्थी भएको र धेरै समय हाम्रो पौरस्त्य दर्शन र धर्मसंस्कृति विषयमा अध्ययन–अध्यापनमा संलग्न हुनुभएको व्यक्ति भएको नाताले एउटा प्रश्न सोध्न मन लाग्यो । तपाईंको विचारमा जीवन के हो ? जीवनको अन्तिम उद्देश्य के हो ? हाम्रो जीवनदृष्टि कस्तो हुनुपर्दछ ?
जीवन परमात्माले व्यक्तिलाई उसको पूर्वजन्मको संस्कारअनुसार सुखदुःख भोगाउन र आत्मकल्याण गर्न दिनुभएको अनुपम उपहार हो । चौरासी लाख जुनीमा मानवजीवन सर्वोत्तम जीवन भएको कुरा वेदव्यासको “न हि मानुषाच्छ्रेष्ठतरं हि किञ्चित्” भन्ने वाक्यले पुष्टि गर्दछ । धेरै जन्ममा आर्जित पुण्यको परिणतिस्वरुप यो दुर्लभ मानव चोला मिलेको हो । अतः उत्तम मानवयोनि मिलेको बेला हामीले सुकर्म र सदाचरणद्वारा यो जीवनलाई सार्थक तुल्याउनुपर्दछ । आहार, निद्रा, भय, मैथुनजस्ता अरु जीवनमा पनि सहजै उपलब्ध हुने, इन्द्रियतृप्तिको कुरामा मात्र लिप्त नभएर आत्मलाभ गरी पुनः नजन्मने प्रयास गर्नु हाम्रो जीवनको उद्देश्य हो । शास्त्रमा धर्म, अर्थ, काम र मोक्ष गरी चार किसिमका पुरुषार्थको उल्लेख भएको छ । यी पुरुषार्थहरुमध्ये मोक्षलाई परमपुरुषार्थ भनिएको छ । अतः दुर्लभ मानवजीवन मिलेको बेला हामीले त्यही परमपुरुषार्थ प्राप्त गर्ने प्रयास गर्नुपर्दछ । त्यो भनेको आफूले आफैंलाई चिन्ने हो, आफ्नो यथार्थ अनश्वर आत्मस्वरुपलाई जान्ने हो, सबै किसिमका वासना र रागबाट पृथक् रही निर्वाणको स्थितिमा पुग्ने हो । शास्त्रमा आत्मालाई जान्ने, चिन्ने र आफूलाई संसारबाट उद्धार गर्ने कामलाई सबैभन्दा ठूलो पुरुषार्थको रुपमा व्याख्या गर्दै आत्मज्ञान गर्ने व्यक्ति कुनै पनि सांसारिक विषयभोग र कामनाको पछाडि नलाग्ने कुरा उल्लेख भएको छः–
यदात्मानं विजानीयादहमस्मीति पूरुषः । किमिच्छन् कस्य कामाय संसारमनुसंसरेद् ।।
यदि मानवजुनी मिलेको बेलामा पनि आत्मलाभ गर्ने काममा लागिएन भने हामी आत्महन्ता हुन्छौं भनेर श्रीमद्भागवत एकादशस्कन्धमा यस प्रकार सतर्क गराइएको छ–
नृदेहमाद्यं सुलभं सुदुर्लभं प्लवं सुकल्पं गुरुकर्णधारम् । मयानुकूलेन नभस्वतेरितं पुमान् भवाब्धिं न तरेत् स आत्महा ।। जीवनदृष्टि कस्तो हुनुपर्दछ भन्ने सन्दर्भमा चाहिँ मलाई के लाग्छ भने हामीमा आत्मौपम्य जीवनदृष्टि हुनुपर्दछ । त्यो भनेको अरुमा आत्मसमान दृष्टि राखेर हेर्ने भन्ने हो । याने आफूलाई अनुकूल लाग्ने कुरा अरुलाई पनि अनुकूल हुन सक्छ र आफूलाई प्रतिकूल लाग्ने, मन नपर्ने कुराचाहिँ अरुलाई पनि मन नपर्न सक्छ भनेर सोच्नु र तदनुसार व्यवहार गर्नु हो । हामीले सबै जीवमा दया, करुणा, समता र शुद्ध भावले व्यवहार गर्न सक्नुपर्दछ । यस सन्दर्भमा श्रीमद्भगवद्गीताको छैटौं अध्यायमा भनिएको यो श्लोक मननीय छः–
आत्मौपम्येन सर्वत्र समं पश्यति योऽर्जुन । सुखं वा यदि वा दुःखं स योगी परमो मतः ।।
१६. गुरु ! के जीवात्मा र परमात्मा एउटै हो ? वा भिन्न हो ? जीवात्मा त अनेक छन् र तिनका क्रियाकलापहरु पनि भिन्न–भिन्न छन् । यदि एउटै हो भनेर मान्नका लागि समन्वय कसरी गर्ने ? यो प्रश्नको अलि विस्तारमा उत्तर दिनु मनासिब हुन्छ । वेदान्त दर्शनमा “जीवो ब्रह्मैव नापरः”, “अयमात्मा ब्रह्म” आदि भनेर जीवात्मा र परमात्माबीच ऐक्य दर्शाइएको छ । उता गीतामा भने “ममैवांशोजीवलोके जीवभूतः सनातनः”भनेर जीवहरु अंशी परमात्माका अंशरुप हुन् भनेर बताइएको छ । सारांशमा भन्नुपर्दा अद्वैतदर्शनले सबै कुरालाई ब्रह्म मान्दै ब्रह्म र जीवबीच अभेद्यसम्बन्ध सिद्ध गरेको छ । यता द्वैतदर्शनमा भने ब्रह्म र जीवबीच केही भेद स्वीकारिएको छ । दर्शनशास्त्रको प्राथमिक ग्रन्थ तर्कसंग्रहमा ईश्वरलाई नित्य ज्ञानाधिकरण र जीवात्मालाई अनित्य ज्ञानाधिकरण भनिएको छ । त्यस हिसाबले जीवात्मा र परमात्मा शक्ति र सामर्थ्यको दृष्टिले एउटै होइनन् भन्ने देखिन्छ । न्यायदर्शनको अर्को प्रसिद्ध ग्रन्थ मुक्तावलीमा “संसारमहीरुहस्यबीजाय” भनेर ईश्वरलाई संसाररुपी वृक्षको बीज याने कारण (उत्पादक) भनिएको छ । जीवात्मालाई चाहिँ“आत्मेन्द्रियाद्यधिष्ठाता करणं हि सकर्तृकम्” भनेर इन्द्रियहरुको अधिष्ठाता मानिएको छ । इन्द्रिय करण हुन् तिनले कर्ताको प्रेरणाविना काम गर्दैनन् । त्यसोहुँदा आत्मा, शरीर इन्द्रियको प्रेरक हो जो प्रतिशरीरमा अलग छ । शरीर नै अलग भएपछि कर्म पनि फरक–फरक हुनु स्वाभाविकै भयो । न्यायदर्शनमा “इच्छा–द्वेष–प्रयत्न–सुख–दुःख–ज्ञानान्यात्मनोलिङ्गम्” भनेर इच्छा गर्ने, प्रयास गर्ने, सुखदुःखको अनुभव गर्ने रुपमा आत्मालाई परिभाषित गरिएको छ भने विशिष्टरुपको आत्मालाई चाहिँ ईश्वर भनिएको छ । वेदान्तदर्शनमा “जन्माद्यस्य यतः”भनेर सृष्टि, स्थिति र लय गर्नेलाई ईश्वर या ब्रह्म भनिएको छ भने “अंशोनानाव्यपदेशात्” भनेर आत्मालाई अंशरुपमा उल्लेख गरिएको छ । श्रीमद्भगवद्गीताको कथन पनि यसैलाई समर्थन गर्ने खालको छ । यसरी शास्त्रकारले ईश्वर र आत्मालाई सचेतन, समानधर्मी तर अलग–अलग शक्ति, सामर्थ्य र गुण भएका तत्त्वका रुपमा बताएका छन् ।
१७. गुरु ! यो संसार सत् हो कि असत् हो ? अथवा सदसत् दुबै हो ? अथवा योभन्दा भिन्न अरु केही हो ? कृपया बताइदिनुहोस् । संसार सत्य हो वा असत्य हो भन्ने बारे दर्शनैपिच्छै विभिन्न मतहरु पाइन्छन् । व्यासरचित ब्रह्मसूत्रका प्रथम भाष्यकार आदि शङ्कराचार्यले ब्रह्म सजातीय, विजातीय र स्वगतभेदरहित निर्गुण निर्विशेष भएकोले त्यो मनवाणीको विषय हुँदैन भनेका छन् । ब्रह्ममा विद्यमान शक्तिलाई माया भनिन्छ । यसका दुई रुप छन् – अविद्या र माया । माया उत्कृष्ट सङ्खवप्रधान हो र यसले उपहित चैतन्यलाई ईश्वर भन्छ । अविद्या मलिन सङ्खवप्रधान हो र यसले उपहित चैतन्यलाई जीव भन्दछ । संसार मायिक हो, अनित्य हो स्वप्नमा देखिएको दृश्यजस्तै हो भन्ने भनाइ अद्वैतदर्शनको मत हो । आचार्य शङ्करपछि उत्पन्न भएका द्वैतवादी वैष्णवदार्शनिकहरुको मतमा जीव, माया (जगत्) र परमात्मा वा ब्रह्म नित्य हुन्, अनादि हुन् । उनीहरुले शङ्कराचार्यले भनेजस्तो अज्ञान विनिर्मुक्त भएपछि जीव ब्रह्ममा गएर एकाकार हुन्छ भनेर मानेका छैनन् । उनीहरुको मतमा अज्ञानावस्थाको जीव मायाबद्धरुपले सुखी दुःखी हुन्छ भने तीव्ररुपको भक्ति या शरणागतिले अज्ञान विनिर्मुक्त बनी भगवद्धाम प्राप्त गर्न समर्थ हुन्छ । भगवद्धाम प्राप्त भएपछि पनि जीवको अलग अस्तित्व भने मेटिँदैन । श्वेताश्वतर उपनिषद्मा “भोक्ता भोग्यं प्रेरितारं च मत्वा”भनेर यस कुरालाई समर्थन गरिएको पाइन्छ । यसरी अद्वैत र द्वैतदर्शनमा संसारको सत्तालाई लिएर भिन्न–भिन्न मान्यता र मत रहेको देखिन्छ । लामो समय यी दुबै दर्शनको अध्ययन र विश्लेषणबाट म के निष्कर्षमा पुगेको छु भने संसार हुँदै नभएको होइन । यो मायिक नभएर भएकै हो, यथार्थ हो । तर यो अनित्य हो ।
१८. संस्कृतमा ज्ञान विज्ञानका अथाह विषय समेटिएको भए तापनि नेपालमा अझै पनि संस्कृत लोकप्रिय बन्न सकेको छैन । त्यसैले संस्कृतलाई लोकप्रिय बनाउन वा गेहे गेहे, जने जने बनाउनका लागि के कस्ता उपायहरु कार्यान्वयनमा ल्याउनुपर्ला ? यस विषयमा तपाईंसगँ व्यावहारिक र कार्यान्वयनयोग्य सुझावहरु केही छन् कि ? बताइदिनुहोस् ।
वि.सं. २००७ सालअघि सबै सरकारी विद्यालयहरुमा पढ्नेले अरु विषयसँगसँगै १०० पूर्णाङ्कको संस्कृत विषय पनि पढ्नुपर्थ्यो । त्यसपछि त्यसमा कम हुँदैहुँदै गई नयाँ शिक्षा लागू भएपछि त संस्कृत विद्यालयहरुमा मात्र संस्कृतलाई सीमित गरियो । बीचमा ६–७ कक्षातिर थोरै भए पनि संस्कृत पढाउने चलन भएकोमा अहिले त्यो पनि हटेको छ । संस्कृत, भाषामात्र नभएर ज्ञान–विज्ञान–आयुर्वेद–व्याकरण–ज्योतिष–साहित्य र शिल्प शास्त्रादि अनेक विद्याको विशाल भण्डार हो । यसमा जीवनोपयोगी अनन्त कुरा र कृतिहरु छन् । तर त्यसलाई पूरै उपेक्षा गरेर अहिले संस्कृतलाई बाहुनको र त्यसमा पनि कर्मकाण्डमा मात्र प्रयोग हुने भाषा जस्तो ठानेर हेर्ने र सोच्ने गरिन्छ । यो गलत हो । कामधेनुसमान विभिन्न विषयको ज्ञानभण्डार रहेको विशाल संस्कृत वाङ्मयबाट लाभ लिन यसलाई कम्तीमा माध्यमिक तहसम्म १०० पूर्णाङ्कको पढाउने व्यवस्था मिलाउन आवश्यक छ । त्यसो भयो भने विद्यालयतहदेखि नै संस्कृत पढ्ने पढाउने प्रचलनले व्यापकता लिन्छ । कालान्तरमा यसको हाँगाबिँगा बेस्सरी फैलन्छन् । साथै, उच्च शिक्षामा पनि संस्कृतलाई यथोचित स्थान दिनुपर्दछ । यसमा अध्ययन अनुसन्धान गर्ने, बोल्ने लेख्ने र छलफल गर्ने अभ्यास बढाउन जरुरी छ । संस्कृतलाई व्यावसायिक र जीवनोपयोगी बनाउँदै अघि बढ्न आवश्यक छ । त्यस्तै संस्कृतभाषामा अध्ययन, अध्यापन गरिने विद्यालय तथा गुरुकुलहरुको संख्या विस्तार गर्दै जान आवश्यक छ । राष्ट्रभाषा नेपालीलाई सुदृढ र सबल तुल्याउनसमेत संस्कृतलाई प्रवर्धन गर्न अति आवश्यक छ ।
१९. गुरु ! वर्तमान समयमा वैदेशिक देखासिकीले हाम्रो समाजको नयाँ पुस्तामा ठूलो प्रभाव परिरहेको छ । यस्तो अवस्थामा हाम्रा प्राचीन धर्म–संस्कृति, सभ्यता, मर्यादा, मूल्य–मान्यता र परम्परा एवं प्रचलनहरु सङ्कुचित हुँदै गइरहेका छन् । यिनलाई जोगाई राख्न र नयाँ पिँढीलाई समेत यसबाट लाभान्वित तुल्याउन के गर्नुपर्ला तपाईंका केही मौलिक सोचहरु छन् कि ? अहिले सरकारदेखि समाजसम्म सबै नै अर्थोन्मुखी भएका छन् । आदिराज मनुले भनेका छन् “परित्यजेदर्थकामौ यौ स्यातां धर्मवर्जितौ” अर्थात् धर्मले रहित अर्थ र कामलाई परित्याग गर्नुपर्दछ । किनकि धर्मरहित अर्थ र कामले अनर्थ र व्यभिचार पैदा गर्दछ र अन्ततः यसले समाजलाई पतन गराउँछ । अतः धर्म, संस्कृति र हाम्रा प्राचीन मूल्यमान्यता भनेका हाम्रो जीवन र समाजलाई सुव्यवस्थित र मर्यादित बनाउन सहयोग पुर्या्उने अमूल्य विषय हुन् भनेर हामीले नयाँ पिँढीलाई बताउन र बुझाउन सक्नुपर्दछ । विद्यालयतहदेखि नैतिक शिक्षालाई पाठ्यक्रममा समावेश गरिनुपर्दछ । हितोपदेश, चाणक्यनीति, पञ्चतन्त्र, गीता, रामायण तथा महाभारतभित्रका नैतिकता, सदाचार र सत्य व्यवहारलाई उत्प्रेरित गर्ने विषयहरु विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरी सबैलाई नैतिकवान् बन्न र आफ्नो धर्मसंस्कृतिप्रति गौरवबोध गर्नसक्ने वातावरण निर्माण गर्न आवश्यक छ ।
२०. गुरु ! वर्तमान परिप्रेक्ष्यमा नेपाली साहित्यको अवस्था कस्तो देख्नुहुन्छ ? के यसमा हजुरलाई सन्तुष्टि छ ? भर्तृहरिले “साहित्य–सङ्गीत–कला–विहीनः साक्षात् पशुः पुच्छ विषाणहीनः” भनेका छन् । अर्थात् साहित्य, सङ्गीत र कलाले विहीन मानिस सिङ र पुच्छर नभएको पशुसमान हो । अतः सत् साहित्य, मनोरम सङ्गीत र कला सभ्य समाजको परिचायक हो । जहाँसम्म नेपाली साहित्यको अवस्था कस्तो छ भन्ने कुरा छ निश्चय पनि एक डेढ सय वर्ष यताको छोटो अवधिमै कविता, कथा, उपन्यास, निबन्ध, नियात्रालगायत सबै क्षेत्रमा ठूलो विकास भएको छ । आज गद्य–पद्य दुबै विधामा नेपाली भाषामा उन्नत साहित्य सिर्जना हुन थालेका छन् तर नेपाली साहित्यलाई संस्कृत साहित्य र अंग्रेजी साहित्यसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी अघि बढाउन अझै थप मिहिनेत गर्नुपर्ने खाँचो छ । अर्को कुरा साहित्य सृजना व्यक्ति र समाजलाई दिशाबोध गर्न र बृहत्तर समाजको हितका लागि हुनुपर्दछ । त्यसो भयो भने मात्र त्यो सार्वजनीन र सार्वकालिक हुन्छ । महाभारत र रामायण अहिले पनि सत्साहित्यका रुपमा विश्वभर प्रसिद्ध छन् । त्यस्तै सुन्दर, मनोहारी र शाश्वत सिर्जना नेपाली भाषामा गर्न सक्नुपर्दछ । त्यसो हुन सक्यो भने नेपाली साहित्यको उचाइ थप चुलिन्छ ।
२१. नेपाली व्याकरण र हिज्जेका बारेमा अहिले केही भिन्न मतहरु पनि देखा परेका छन् । विभिन्न थरी लेखकहरुले विभिन्न तरिकाले लेख्दा कलम चलाउन खोज्ने नयाँ व्यक्तिहरुका लागि दुविधा पर्न गएको छ ? साथै विदेशीहरुलाई समेत नेपाली भाषाको मानक लेखाइ नहुँदा कुन शैली पछ्याउने भन्ने अप्ठ्यारो छ । यसलाई कसरी सम्बोधन गर्ने होला ? नेपालका अधिकांश जनताले बोल्ने र बुझ्ने राष्ट्रभाषा नेपाली सरकारी कामकाजको समेत भाषा हो । नेपाली भाषा विभिन्न जातजाति र सम्प्रदायका मानिसहरुबीच बोलीचालीको सम्पर्क भाषा पनि हो । आज नेपालभित्रका अधिकांश पत्रपत्रिका, रेडियो र टेलिभिजनले प्रयोग गर्ने भाषा नेपाली भाषा नै हो । अतः यस भाषाको प्रयोगलाई शुद्ध, स्तरीय र व्यवस्थित बनाउन र यसको हिज्जे र व्याकरणमा एकरुपता र स्तरीयता कायम गर्न अति आवश्यक छ । अतः यसलाई कुनै व्यक्ति वा समूह विशेषको लहडबाजी, बौद्धिक हारजित वा स्वच्छन्द निर्णयको विषय नबनाएर प्रज्ञा प्रतिष्ठानजस्तो बौद्धिक संस्थाको नेतृत्वमा स्वतन्त्र र सुपठित प्राज्ञिकवर्गको सुझाव र सल्लाहबमोजिम हिज्जे र व्याकरणमा एकरुपता दिन आवश्यक छ । नेपालीभाषाको शब्दभण्डारमा ६० प्रतिशतभन्दा बढी शब्द संस्कृतभाषाबाट आएका शब्द हुनु र यसको लेखनशैली संस्कृतबाटै बढी प्रभावित हुनुले यसको हिज्जे र व्याकरण तय गर्दा संस्कृतको शिष्ट परम्परालाई नै मूल आधार बनाई अघि बढ्नु उपयुक्त हुन्छ ।
२२. मैले सोध्न बिर्सेका र गुरुले बताउन उपयुक्त ठान्नुभएका जीवनोपयोगी अरु कुनै कुरा भए बताइदिनुहुन्छ कि ? मानवजीवनको सर्वोपरि उद्देश्य सुकर्म गरेर, सदाचरण र स्वधर्मको पालन गरेर अन्त्यमा आत्मज्ञान हासिल गर्नु हो । अतः हामी सबै यसैमा प्रवृत्त हुनसके जीवन सार्थक हुने ठान्दछु । मलाई जीवनको उत्तरार्धमा आफ्नो जीवनका महत्त्वपूर्ण पक्षमा केही कुरा बताउने सुअवसर प्रदान गर्नुभएकोमा तपाईं र तपाईंमार्फत किरण पुस्तकालय, गुल्मीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
२३. धन्यवाद गुरु यहाँको महत्त्वपूर्ण विचारका लागि ।