यस रणभूमिमा आज म विश्वविजयी रावण
क्षतविक्षत छु, असहाय छु, मृततुल्य छु
हो, राम ! तिमीले युद्ध जित्यौ
मैले हारें
म ढलें युद्धमैदानमा
संसारले नबुझोस्
मैले तिम्री भार्या हरें
त्यसैले म पापमा परें
त्यही पापले मैले युद्ध हारें
मैले त मेरी प्रिय बहिनी सूर्पणखाले भोगेको
अन्यायको प्रतिकार मात्र गरेको हुँ
तिम्रा भाइ लक्ष्मणले
प्रेमयाचनाको बदला
मेरी बहिनीका नाककान काटे
आफ्नी प्रिय बहिनी नाककान काटिएर
रक्तरञ्जित अनुहार लिएर
बुची र नकटी बनेर रुँदै
गुहार माग्न आएपछि
मैले सहन सकिनँ
हो, त्यसपछि मैले तिम्री भार्यालाई हरें
मैले सीताको नाक–कान त काटिनँ नि !
मैले सम्मानपूर्वक राखें तिम्री भार्यालाई
अशोक बाटिकामा, महिला सुरक्षाकर्मीसँगै सुरक्षित
तिमीले नारीको इज्जत गर्न जानेनौ
भाइलाई, प्रेमयाचनाको बदला नाककान काट्न प्रेरित गर्यौ
राम ! तिमी कस्ता मर्यादापुरुषोत्तम हौं ?
तिमीले लुकेर निर्दोष बालीको छातीमा बाण हान्यौ ।
म राजामात्र होइनँ, राम
म विख्यात वेदज्ञाता पनि हुँ
म पारंगत संगीतज्ञ पनि हुँ
म उत्कृष्ट वैज्ञानिक पनि हुँ
म योद्धामात्र होइन
म तपस्वी शिवभक्त पनि हुँ
म क्षत्रीयधर्ममा तेजस्वी हुँ
हरेक गुणले परिपूर्ण हुँ
र पनि मैले तिमीलाई जित्न सकिनँ
मैले युद्ध हार्नुको कारण तिमीलाई थाहा छ
मेरो भाइ विभीषण मसँग थिएन
तिम्रो भाइ लक्ष्मण तिमीसँगै थियो
जब आफ्ना पराइ हुन्छन्
शक्ति दुई गुनाले घट्दो रहेछ
जब पराइ आफ्ना बन्छन्
शक्ति चार गुनाले बढ्दो रहेछ ।
शत्रुको आक्रमण
छाती थापेर सामना गर्न सकिदो रहेछ
आफ्नाको आक्रमण गाह्रो हुँदो रहेछ, राम !
त्यो भरोसा, त्यो विश्वास
सबै हटेर जाने रहेछ
आफ्नो पराइ हुँदा
युद्ध जित्न केवल बुद्धि र बाहुबलले मात्र हुने रहेनछ ।
विश्वास भरोसा र मन्त्रशक्ति पनि चाहिने रहेछ ।
तिमीले भाइको विश्वास र भरोसा पायौ
फुट भएन भाइ–भाइमा
त्यसैले तिमी विजयी भयौ
मेरो जीवनको यस अन्तिम क्षणमा
तिम्रो भ्रातृत्वलाई
सम्मान गर्न चाहन्छु लक्ष्मण !
आऊ, तिमी म नजिकै आऊ
मेरा जीवनका सच्चा अनुभवहरु तिमीलाई सुनाउँछु ।
लक्ष्मण !
रामको बाणले क्षतविक्षत भएर
मेरो घाउ दुखेको होइन
आफ्नाको धोका र छलले
छाती चर्केको हो
सन्मार्ग कठिन छ, लक्ष्मण !
तर यसलाई सधै अंगाल्नू
शुभकार्य शीघ्रातिशीघ्र गर्नू
कुमार्ग सजिलो छ
तर यसबाट सदा दूर रहनू
अहंकारले योद्धालाई अन्धो बनाउँछ
अहंकारबाट टाढा रहनू
आफ्नो कमजोरीको गोपनीयता
आफूमै राख्नू
नत्र आफैलाई ध्वस्त पार्छ
शत्रु, रोग र आगोलाई कम नआँक्नू
आफैमा अति विश्वस्त नहुनू
यति भन्दाभन्दै ढले
महावीर रावण निश्चेष्ट भएर ।