१. पृष्ठभूमि
सुनवल–१२, भुमही, नवलपरासी
विश्वप्रेम अधिकारी (स्याङ्जा, वि.सं. २००७) नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनमा विगत लामो समयदेखि क्रियाशील प्रतिभा हुन् । भाषाका गद्य र पद्य दुबै रुपमा समान गतिले कलम चलाउन सिपालु अधिकारीको वि.सं. २०५२ मा प्रकाशित ‘बन्दीको मनस्थिति’ काव्यकृतिको दोस्रो संस्करणमा बन्दीको मनस्थिति लघुकाव्यका साथै विभिन्न पुुटकर कविताहरुसमेत समावेश गरिएका छन् । प्रस्तुत आलेख अधिकारीकृत बन्दीको मनस्थिति काव्यकृतिभित्र समाविष्ट ‘रगतले माटो मुछिएन र’ शीर्षकीय फुटकर कविताको सेरोफेरोमा रहेको छ ।
२. विषयवस्तु
कवि विश्वप्रेम अधिकारी लोकतान्त्रिक विचार र व्यवहारबाट व्यक्ति, समाज, राष्ट्र र विश्वकै समुन्नति गर्न सकिन्छ भन्ने विचारका पक्षपाती हुन् । सम्पूर्ण नेपालीहरु एकताबद्ध भएर स्थापना भएको प्रजातन्त्र खोसिएपछि नेपाली जनताहरु प्रजातन्त्र पुनः स्थापनाको लागि आन्दोलनमा सरिक भए । प्रजातन्त्र पुनः स्थापनाको युद्धमा होमिंदा कतिपयले परिवार गुमाए, कतिपयको अङ्भङ्ग भयो, कतिले ज्यानै गुमाए । कतिले अभिभावकविहीन हुनपर्यो । कतिका टेक्ने लट्ठी भाँचिए । ठूलो त्याग र बलिदानस्वरुप देशमा प्रजातन्त्र स्थापना भयो तर प्रजातन्त्र स्थापना भए पनि शासनसत्तामा बस्नेहरु जनताले गरेको बलिदानलाई चटक्क बिर्सेर व्यक्तिगत र पारिवारिक सुखसुविधामा रमाई देश र जनताको् समुन्नतिको उपायको चिन्तन नगरेर आन्दोलनमा मात्र सरिक भएकोप्रति गुनासो गर्दै कवि शासकलाई ‘के अझै पनि रगतले माटो मुछिएको छैन र !’ भन्ने गुनासो गर्दै अब विनाश र आन्दोलनतिर होइन, नानाभाँती आन्दोलनका नाममा सोझा, निर्दोष जनताको रगत बगाउन छोडेर राष्ट्रनिर्माणतर्फ लाग्नुपर्छ भन्ने सन्देश दिएका छन् ।
प्रजातन्त्र प्राप्तिपश्चात् देशवासीलाई नागरिक अधिकारबाट सुसज्जित तुल्याई सर्वाङ्गीण विकास गर्न सकिन्छ भन्ने अभिप्रायले प्रजातन्त्रको लागि मेचीदेखि महाकालीमात्र होइन, जीविकोपार्जनको लागि भारतका विभिन्न स्थानमा बसोबास गरेका नेपालीहरुले भारतका विभिन्न स्थानमा पनि आन्दोलनको बिगुल पुुके । राजनेतामात्र होइन विद्यार्थी, शिक्षक, चिकित्सक, वकिल, किसान, मजदुर, ज्यामी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी सबै–सबै आन्दोलनमा होमिए । नेपाल आन्दोलनमय भयो, नेपालीमन आन्दोलनमय भयो । आन्दोलनको ठूलो आँधीबेहरी चल्यो । सहरका गल्ली गल्लीमा बम, पिस्तोल र बन्दुकका आवाज सुनियो, बम, बन्दुकको बारुदले नेपाली आकाश मेघाच्छन्नतुल्य देखियो । धनजनको ठूलो क्षति भो । समाजका हरेक व्यक्तिको अपूर्व योगदानले निरङ्कुशताका पहरेदारलाई घुँडा टेकायो । अँध्यारो रात हटेर प्रजातन्त्ररुपी सुनौलो झल्मले बिहानीको उदय भयो अर्थात् सबैले मन पराएको, सबैभन्दा उत्तम मानिएको (वरेण्य पद्धति) प्रजातन्त्र पनि प्राप्त भयो । प्रजातान्त्रिक वातावरणमा देश र जनताको सर्वोपरि हित हुने कार्य सम्पन्न हुनुपर्दछ र यस कार्यमा अवरोध तुल्याउने प्रतिगमनकारी शक्ति बाहिरको कोही नभएर हरेक व्यक्तिभित्र रहेको व्यक्तिवादी तुच्छ स्वार्थ हो भन्दै म भन्ने स्वार्थीभावका साथै रिस, राग, कपट, छल, विद्वेषजस्ता मनका मैला परित्याग गरी ‘संगच्छध्वं, संवदध्वं’ भन्ने सर्वहितकारी चिन्तन र व्यवहार गर्नुपर्छ, सम्पूर्ण नेपालीहरु एकापसमा नजुधी, सबैमा सद्भाव राखी एकताबद्ध हुँदै काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्छ भन्ने कविको विचार रहेको छ । देश र जनताको समुन्नतिको पवित्र विचार छोडेर सत्तामै जमिरहने यत्न गर्ने र आफ्नो मात्र भजनकीर्तन होस् भन्ने रछानतुल्य दुर्गन्धित विचार लिन नहुने कविको ठहर रहेको छ । हेरौ–ं
यौटा मै मुटुको व्यथा सरह हो हामी भनौं रे अब ईर्ष्या, द्वेष, विरोध, भेद जगका त्यागी बढौं रे अब सत्ताभोग प्रशस्ति निम्ति नजुधी सेवा ठूलो हो भने आऊ हात बढाउ मित्रहरुमा सत्धर्म सत्भावले (श्लोक – २)
नेता वा जनता स्पष्टवक्ता हुनुपर्ने, वाणी र व्यवहार समान भएमा देश र समाज समृद्धिपथमा लम्कने र समृद्धिको सुवास चारैतिर फैलन सक्ने कविको विचार छ । बोली र बेहोरा एक बनाएर समृद्धितर्फको चिन्तनलाई सफलीभूत तुल्याउन सबैले कम्मर कस्ने हो भने प्राचीन कालदेखि परम्पराको रुपमा रहेका रुढीबुढीहरु परिष्कृत परिमार्जित हुन्थे । समाज सुन्दर बन्नसक्थ्यो तर मीठो वस्तु देख्ने बित्तिकै लपलपाएर र्याल काढ्ने जिब्रोले गर्दा अर्थात् लोभलालचले मानिसलाई सर्वहितकारी बन्न नदिएकोले लोभमाथि विजय पाउनुपर्ने विचार कवि व्यक्त गर्दछन् । संसारमा जति पनि विकृतिबेथिति फैलिएका छन् ती सबैमा कतै कतै लोभ पनि कारक तत्त्वको रुपमा रहेको छ । यदि मानिसमा लोभको भावना हुँदैनथ्यो भने संसारमा कविले ‘बास्ना मग्मग चल्दथ्यो कुसुमको भुुल्थ्यो सधैं बामरी’ भनेझैं हुन्थ्यो ।
प्रजातन्त्र प्राप्तिपश्चात् देश र जनताको दुरवस्थाको अन्त्य होइन, सुधार पक्कै आउँछ भन्ने देशवासीको विचार थियो । भोक, रोग, अशिक्षा, अभाव, सामाजिक, सांस्कृतिक विकृतिविसङ्गति निर्मूल होइन, कम हुन्छ कि भन्ने देशवासीको विचार थियो तर राजनेताका विभिन्न क्रियाकलापले जनताको आकांक्षामा पानी फेरियो । जनभावनामाथि खेलवाड गरियो । जनभावनाको अपमान गरियो । राजनेताहरुले सत्ताको नरम गद्दीमा बसेर कबाफ लुँड्याए । सत्ताबाहिर बसेकाले भागबण्डाका सुविधा उपभोग गर्दै जनतालाई भुुक्याए । जनताको त्यो त्याग, त्यो उत्सर्ग सबै सबै विस्मृतिको आकाशले निल्यो । फलतः प्रजातन्त्र जनताको लागि ‘हात्ती आयो हात्ती आयो पुुस्सा’ भनेझैं भयो । प्रजातन्त्र आए पनि जनताहरु कहिले सत्ताबाटै र कहिले सत्ताबाहिरबाट प्रताडित भइरहे । राजनेताहरुले जनतासँग रगत्को माग गरिरहे ।
प्रजातन्त्र ल्याउन जनताले के गरेनन् ? दिदीबैनीको बैंसालु जीवन व्यर्थ गएन कि ? दिदीबहिनी र आमाको स्यूँदो पुछिएन कि ? बुढा बाबुआमाका सहारा युवा छोराछोरीको अवसान भएन कि ? दूधमुखे बालबालिकाले आमाको न्यानो काख र बाबुको आडिलो भरमात्र होइन अभिभावकत्व गुमाएनन् कि ? हाँसीहाँसी छातीमा तातो गोली खाएनन् कि ? देश र जनताको लागि प्राणोत्सर्ग गरेनन् कि ? रगत्ले माटो भिजाएनन् कि ? निरङ्कुशका मतियारसँग आँखामा आँखा जुधाएनन् कि ? इन्कलाबको आवाजले आकाशजमिन थर्काएनन् कि ? के गरेनन् ? सबै थोक गरे । प्रजातान्त्रिक आन्दोलनमा रगतको भेल बग्यो, बहिनीमात्र होइन आमासमेत विधवा बनिन्, हाम्रा साथीभाइको पूुलझैं कोमल शरीरमा निरङ्कुशताका पहरेदारहरुका बन्दुकका ताता गोली ड्याम्म पर्दा रगत्का बलिन्द्र धारा बगे । साथीभाइले बगाएका रगतले माटो भिज्यो । सत्ताप्राप्तिपश्चात् सत्तासीनहरुलाई कवि त्यो आन्दोलन, साथीभाइको त्यो आह, उत्सर्गको समयमा मुखबाट रगत ओकल्दै हाम्रा वीर शहीदको मुखबाट निस्केको प्रजातन्त्र जिन्दावादको आवाज, त्यो भीषण आन्दोलनका घाइते, अपाङ्ग, विधवा दिदीबहिनी र आमालाई सम्झेर सत्तासञ्चालन गर्न सल्लाह दिन्छन् । कवि ती साथीभाइ, दिदीबहिनी र आमाहरुको त्यागबाट मात्र प्रजातन्त्र /लोकतन्त्र प्राप्त भएकोले आन्दोलनको त्यो क्षण सत्तासीनले कदापि बिर्सन नहुने विचार प्रकट गर्दछन् । जसले त्यो उत्सर्ग बिर्सन्छ, त्यो बैगुनी हो । सभ्य, शिक्षित र शिष्ट समाजमा बैगुनीको इज्जत हुँदैन । मानिसको गहना भनेको शिष्टता, मर्यादा, अनुशासन, आत्मसंयम, लोकोपकारी भावना, कृतज्ञता आदि हुन् । समाजमा बैगुनीको इज्जत हुँदैन । सभामा ऊ शोभायमान हुँदैन । अशोभनीय, इज्जतहीन व्यक्तिले गहना लाएर के इज्जतिलो भनिन्छ र ? बाँच्नैको लागि हातखुट्टा नै काफी हुन्छन् । बेइमान भएर कमाउनु राम्रो होइन, भौतिक सम्पत्ति थुपारेर इज्जतिलो बनिदैंन, कृतज्ञ, विनयीस्वभावले व्यक्तिको व्यक्तित्वलाई बढाउँछ, बैगुनी बन्न हुँदैन भन्ने कविको ठहर रहेको छ ः–बैनीको वय–बैंसमात्र त कहाँ स्यूँदो पुछीएन र ? साथीका तनभित्रका रगतले माटो मुछीएन र ! सम्झे है मनका उदाङ्ग गहका आँसु झरेको तिमी सत्तासीन भएँ भनेर क्षणमा बन्छौ बडो बैगुनी (श्लोक – ५) आन्दोलनताका होस् वा निर्वाचनताका जनतासँग गरेका वाचाकसमबाट विमुख हुनु भनेको बेइमान हुनु हो । बेइमान हुनु समाजबाट नाङ्गिनु हो । सामाजिक मर्यादा नहुनु हो । इज्जत गुमाउनु हो । समाजमा नाङ्गिएको व्यक्ति जतिसुकै मूल्यवान् वस्त्रालङ्कारयुक्त भए पनि हाँसहरुका बीच बकुल्लोझैं अशोभनीय हुन्छ । लज्जा र घृणाको पात्र हुन्छ । जनताको अथक प्रयास र बलिदानबाट प्राप्त स्वतन्त्र वातावरणको उपयोग गरी देश र जनताको समृद्धिमा नलागी कुनै न कुनै बहानामा आन्दोलन मच्चाउँदै ध्वंस गर्दै रगत्को खोलो बगाइरहनु कविलाई युक्तिसङ्गत लाग्दैन । स्वतन्त्रता प्राप्त भएपछि समाजका दीनदुःखीका आँसु पुछ्दै सिर्जनात्मक कर्मबाट देश र जनता समृद्ध तुल्याउनुपर्दछ भन्ने जीवनवादी सन्देश यस कवितामा व्यक्त भएको देखिन्छ ।
३. उपसंहार
नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रत्यक्षरुपमा सहभागी भई लमजुङ, दमौली आदि विभिन्न स्थानका कारागारमा बन्दी जीवन बिताएका अधिकारी प्रजातन्त्रका पक्षधर मानवाधिकारवादी चिन्तनका पक्षपाती हुन् । देशमा प्रजातन्त्र /लोकतन्त्र स्थापनाको लागि वैयक्तिक सुखसुविधा, घरबारसमेतलाई किञ्चित् नमानी प्रजातान्त्रिक आन्दोलनमा होमिएका उनी जनसहभागिताबाट प्रजातन्त्र / लोकतन्त्र स्थापना भएको ठान्दछन् । प्रजातन्त्र पुनः स्थापनापश्चात् पनि अगुवाहरुले विभिन्न बहानामा जनतासँग अझै रगत्को माग गरेकोले कवि अगुवाहरुसँग रगत्ले माटो मुछिएन र ? अझै पनि जनतासँग रगत्को माग गर्नु उपयुक्त हो र ? भन्ने प्रश्न गर्दछन् । प्रजातन्त्रको स्थापनामा जनताले ठूलो मूल्य चुकाउनु परेको यथार्थ अभिव्यक्ति दिंदै राजनैतिक पार्टीका अगुवाहरुले देश र जनताको समृद्धिका लागि जनतासमक्ष गरेका प्रतिबद्धता बिर्सन नहुने, नेतागणले व्यक्तिगत सुखसयललाई तिलाञ्जली दिई देश र जनताको सर्वोपरि हितमा काम गर्नुपर्ने, म र मेरो भन्ने साँघुरो चिन्तनबाट माथि उठी हामी र हाम्रो भन्ने उदार भावना बनाउनुपर्ने, भौतिक सम्पत्तिको लालचमा पर्न नहुने, समाजमा सद्भाव कायम गर्नुपर्ने, स्वतन्त्रताको लागि लडेका जनताको आँसु पुछिने गरी काम गर्नुपर्ने सन्देश दिएका छन् । जनसमक्ष गरेका वाचाकसम पूरा नभए अगुवाहरु समाजबाट नाङ्गिने र उनीहरुले जनताबाट कुनै इज्जत पाउन नसक्ने भाव व्यक्त गर्दै यस कवितामा सधैंभरि आन्दोलनको डम्फु बजाएरमात्र हुँदैन समाजका सबै व्यक्तिको सक्रिय सहभागिताबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै नवीन सिर्जनाका साथ समृद्धितर्फ लाग्नुपर्दछ, जनतासँग सधैं रगत् मागिरहनु हुँदैन एवं अगुवाहरुले प्रजातन्त्रको सदुपयोग गरी देशलाई विकासको झिलमिले ज्योतिले झलमल्ल तुल्याउनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।