मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · स्थायी स्तम्भहरू · पृ. ११०

पुस्तकालय परिचय

गणेशकुमार श्रेष्ठ

नेपाल जर्नी पब्लिक लाईब्रेरी, हेटौंडा

तत्कालीन हेटौडा नगरपञ्चायतले हेटौडामा व्यवस्थित नगर बसाउने उद्देश्यले हेटौडा नगर विकास समिति गठन भै व्यवस्थित आवास क्षेत्रको लागि जग्गा प्लटिङ गरी बिक्री वितरण भएको थियो । त्यसै नगर विकास समितिले खेलकुद मैदान, पशुपति मन्दिर र बालउद्यानको लागि सार्वजनिक जग्गा छुट्याएको थियो । हाल हेटौडा उपमहानगरपालिका वडा नं. ४ (हुप्रा)को पूर्व दक्षिण कुनामा भैरवरोडसँग जोडिएको करिब १३ कठ्ठा त्रिकोणात्मक जग्गा चिल्ड्रेन पार्कको प्रयोजनको लागि हेटौडा उपमहानगरपालिकाकै स्वामित्वमा रहेको छ । सो जग्गालाई पुनः प्लटिङ गरी बेच्न, महिला बालबालिका कार्यालय भवन बनाउन, असहाय बालबालिकाको आश्रयस्थल बनाउन, बालईजलास बनाउन प्रयास नभएका होइनन् तर स्थानीय बासिन्दाहरुको विरोधका कारण चिल्ड्रेनपार्ककै लागि संरक्षित रहेको छ । चिल्ड्रेनपार्कको सार्वजनिक जग्गा संरक्षण र विकास गर्ने उद्देश्यले ०६३ सालमा स्थानीय चिल्ड्रेन पार्क, चिसापानी, प्रतिभानगर, लक्ष्मीनारायण, कल्याणी टोल विकास संस्थाहरु र प्रतिभा क्लबको प्रतिनिधित्व रहने गरी तत्कालीन जिल्ला विकास समितिका उपसभापति श्री बद्री लम्सालको अध्यक्षतामा ११ सदस्यीय बालउद्यान समिति गठन गरी जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौंडामा विधिवत् दर्ता भएको छ । हाल सो बालउद्यान गणेशकुमार श्रेष्ठको अध्यक्षतामा गठित बालउद्यान समितिअन्तर्गत संचालनमा रहेको छ । यो जग्गाको पूर्व कुनामा गणेश मन्दिर निर्माण भएको छ भने पश्चिम दक्षिण कुनामा तत्कालीन जिल्ला बालकल्याण समितिका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी जयमुकुन्द खनालको अगुवाइमा बालकल्याण भवनको भूइँतल्ला निर्माण भयो । भवन निर्माणपश्चात् भवनको सदुपयोग हुन नसक्दा लागु पदार्थ दुर्व्यसनीको अखडामा परिणत भयो ।

बालउद्यान समितिको गठनपश्चात् सो भवनमा नेपाल शैक्षिक सहयोग कोष (नेष्ट) नामक गैरसरकारी संस्थाको समन्वयमा कोरियाली संस्था र जिल्ला विकास समितिको आर्थिक सहयोगमा माथिल्लो तल्ला निर्माण गरी नेष्टकै पहलमा ०६६ सालमा बाल पुस्तकालय स्थापना गरी बालक्लब गठन गरी बालबालिकाकेन्द्रित क्रियाकलाप संचालन गरियो । बालउद्यानमा चिप्लेटी, पिङ, जिमवार, टेबुल टेनिस बोर्डजस्ता साधारण खेल सामाग्री मात्र जडान हुन सके ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हेटौडाले पुष्पलाल पार्कलाई सुन्दर र व्यवस्थित बनाएको प्रभावको कारण चिल्ड्रेन पार्कको व्यवस्थापन पनि ब्रह्मकुमारी राजयोग केन्द्रलाई जिम्मा दिनु उपयुक्त हुने सहमतिअनुरुप ०७३ सालमा ३० वर्षको लागि ब्रह्मकुमारी राजयोगसँग सम्झौता भई कार्य भइरहेको छ । ब्रह्मकुमारीले आफ्नो पहलमा चिल्ड्रेन पार्कलाई सुन्दर बनाउन विभिन्न व्यक्ति, संघसंस्थाहरुको सहयोगमा पार्कमा थप खेलकुद सामग्री, सिमेन्टेड बेन्चहरु, फूलबारी, पानीफोहोरा, शिवमूर्ति, शौचालय, पिउने पानीको व्यवस्था आदि मिलाएको कारण दैनिक सयौं बालबालिका, प्रौढ, वृद्ध, व्यक्तिहरु सम्पर्कमा अवलोकन भ्रमण गर्न आउनेको भिड लाग्ने गरेको छ ।

ब्रह्मकुमारी राजयोग केन्द्रकै पहलमा चितवन निवासी हाल अमेरिकामा रहेकी मौसमी श्रेष्ठको अध्यक्षतामा गठित नेपाल जर्नी नामक संस्थाको सहयोगमा भवनको तेस्रो तल्ला थप गरी २०७४ माघ २७ गते विभिन्न भाषाका (हिन्दी नेपाली, अंग्रेजी) करिब ३ हजार पुस्तकहरु र १२ वटा कम्प्युटर र ईन्टरनेट सुविधासहितको भौतिक र भर्चुअल (अनलाईन) लाईब्रेरी संचालन गर्न आवश्यक दराज, र्याक, कुर्सी, टेबुल आदि फर्निचरहरुको व्यवस्था भएको छ । पुस्तकालयको दिगो संचालनको लागि पाँच लाख रुपैयाँको अक्षयकोषको व्यवस्था गरिएको छ । बालउद्यान समितिको मातहतमा नेपाल जर्नी पब्लिक लाईब्रेरी संचालन निर्देशिका बनाई ७ सदस्यीय पुस्तकालय व्यवस्थापन समिति गठन गरी पुस्तकालय संचालन भइरहेको छ । पुस्तकालय नियमित संचालन गर्न एक जना कर्मचारी आंशिक समय (दिउँसो २ बजेदेखि ५ बजेसम्म) काम गर्ने गरी नियुक्त गरिएको छ । सोको खर्च लायन्स क्लब हेटौडाको सौजन्यमा प्राप्त भइरहेकोमा कोविडका कारण लगातार २ वर्ष लाईब्रेरी बन्द हुँदा हाल सो खर्च व्यवस्थापन हुन सकेको छैन । हाल दैनिक ३०/४० जना विद्यार्थी भाइबहिनीहरु अध्ययन गर्न आइरहेका छन् । पुस्तकालय सदस्यले नौं दिनको लागि पुस्तक घर लगी पढ्न पाइने व्यवस्था भए पनि सदस्य बनेका ज्यादै न्यून व्यक्ति रहेका छन् ।

कोभिडकै कारण पुस्तकालय समितिका संयोजक प्रल्हाद पोखरेलको मृत्यु भएपश्चात् पदपूर्ति हुन सकेको छैन । मोबाईल र अनलाईन पाठ्यसामग्री हातहातमा मोबाईलमा सहज रुपमा प्राप्त हुँदा पुस्तकालयमा आई पुस्तक अध्ययन गर्ने बानी छुटेको महसुस भएको छ । पुस्तकालयमा पुस्तकहरु भए पनि पाठकको अभावमा दराजमा थन्किएर रहनुले पुस्तकालयप्रति जनचेतना जगाउन नसकिएको महसुस गरिएको थियो ।

पुस्तकालयमा आधारित पाठक क्लब, युवा क्लब, बाल क्लबजस्ता समिति गठन गरी नियमित अतिरिक्त क्रियाकलाप गर्न सके पुस्तकालयमा पाठकलाई आकर्षण गर्न सकिने विगतको अनुभवले बताएको छ । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट नेपालको उत्कृष्ट पुस्तकालयको रुपमा चौधौं पुस्तकालय दिवस ०७८ को अवसरमा गुल्मीको किरण पुस्तकालय र यो पुस्तकालय कदर–पत्रबाट पुरस्कृत हुन सफल भएका छन् । यस नेपाल जर्नी पब्लिक लाइब्रेरीलाई छुट्टै पुस्तकालयको रुपमा दर्ता भएको भए सार्वजनिक पुस्तकालयहरुलाई नेपालका संघीय र प्रदेश सरकारका शिक्षा मन्त्रालयबाट अनुदान प्राप्त हुने अवसरबाट वञ्चित हुन नपर्ने थियो । पुस्तकालयलाई छुट्टै दर्ता गर्न जग्गा प्राप्ति हुन नसक्दा दर्ता प्रक्रिया अगाडि बढाउन सकिएको छैन ।

कोभिडको महामारी बिस्तारै कमजोर हुँदै गएको र मानिसहरुको जनजीवन सहज बन्दै गएको परिप्रेक्ष्यमा पुस्तकालयमा पनि नियमित पाठक बढदै जाने अपेक्षा गरिएको छ ।

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्