ऐतिहासिक हुलाक छाप
किरण पुस्तकालयमा बेलाबखतमा बसेर पुस्तकहरु अध्ययन गर्न पाउँदा मलाई ज्यादै खुशी लाग्छ । अझ कहिलेकाहीं कविगोष्ठी, कविजयन्ती, वार्षिकोत्सव, पुस्तकालय दिवस जस्ता कार्यक्रमहरुमा सहभागी हुन पाउँदा त तम्घास छोड्न नपरे हुन्थ्यो भन्ने लाग्छ । तर के गर्नु खै मान्छेलाई एकै ठाउँमा बसेर सधैं सबैको काम चल्दैन ।
अध्ययन, अध्यापन, कार्य विशेष र व्यवसाय आदिका कारणले मान्छेलाई कहिले कहाँ कहिले कहाँ जानुपर्ने हुन्छ । मैले भारतको चेन्नईमा बसेर अध्ययन गर्दा पनि वेभसाइटमा ‘हाम्रो पुरुषार्थ’ पढेर गुल्मीलाई सम्झने गर्थें र तम्घासको दृश्य झल्झल्ती आँखावरिपरि घुम्थ्यो । अहिले म कार्य विशेषले काठमाडौंमा छु । यहाँ बस्दा पनि हातैमा हाम्रो पुरुषार्थ पढ्न पाउँदा खुशीको सीमा रहेन । हाम्रो पुरुषार्थका केही प्रतिहरु बोकेर मैले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, सिराहा, धनुषा, खोटाङ आदि जिल्लाका केही सार्वजनिक पुस्तकालय र केही क्याम्पसका पुस्तकालयमा पुर्याउन पाएकोमा गौरवको अनुभव गरेकी छु ।
अहिले हाम्रो पुरुषार्थको सम्पूर्णाङ्क ९५ मेरो हातमा छ । यसको आवरण पृष्ठमा नेपालको पुरानो हुलाक छाप २००९ (सन् १९५२) सालको गुल्मी तम्घासको रु.३ को हुलाक टिकट र गुल्मीको वर्तमान जिल्ला हुलाक कार्यालयको भवनको फोटो मुद्रित छ । यसले गुल्मी जिल्लाको सदरमुकामको ऐतिहासिक परिचयलाई प्रमाणित गर्दछ । हाम्रो पुरुषार्थका ९४ र ९५ अङ्क हेर्दा यो पत्रिका भारतको उत्तराखण्ड, देहरादूनदेखि पूर्वमा दार्जिलिङ, सिक्किमसम्म नेपालीभाषी क्षेत्रमा फैलिएको देखिन्छ । नेपालीभाषीहरु पृथ्वीको जुनसुकै कुनामा पुगे पनि इन्टरनेटको पहुँच भएका ठाउँमा यसको वेभसाइट धधध।पष्चबलउगकतबपबबिथब।अयु बाट हाम्रो पुरुषार्थसँग परिचित हुन सक्छन् । आधा शताब्दीको गौरवशाली इतिहास बनाएको ‘हाम्रो पुरुषार्थ’लाई चिरकालसम्म निरन्तर चलाइरहन सबैभन्दा ठूलो समस्या र चुनौती छ । यो समस्या र चुनौतीको सामना गर्नसक्ने हातहरु अगाडि आउन सकून् । अहिले यहीं कामना छ ।