१. परिचय
शशिकिरण रेग्मी उर्फ रह शर्मा (साहित्यिक नाम) । २००९ साल मंसिर ८ गते लमजुङ, अलैंचेको जन्म, २०१७ सालपछि चितवनमा बसाइ–सराइ, स्नातकसम्मको शिक्षा र त्रि.वि. लेखा अधिकृत पदबाट अवकाश, अनेकौं सामाजिक संस्थाहरुसँगको संलग्नता, कविता, गीत, बालसाहित्य, उपन्यास, चिन्तनपरस्त लेख, यात्रासंस्मरणका साहित्य सिर्जना र विदेश भ्रमणको अभिरुचिका क्रममा चार पटकसम्म अमेरिका यात्रा उनको भौतिक पहिचान हो । प्रायः विदेश भ्रमण गरिरहने अवकाशप्राप्त जीवनको रोमाञ्चक यात्रा, आडम्बरहीन शालीन अभिव्यक्ति, सरल र सम्प्रेष्य भाषा, लघु आयतनका निबन्धलेखन, समसामयिक विषयसामग्रीको प्रस्तुति प्रायः स्थानीय साप्ताहिक र दैनिक पत्रिकामा प्रकाशनको अभिरुचि, उनको साहित्यिक जागरण हो । हालसम्म प्रकाशित कृतिहरुमध्ये पाताल प्रवास अमेरिकाकेन्द्रित दुःखान्त आख्यानको उदाहरणीय कृति इप्सान्त उपन्यास चर्चित डायस्पोरिक आख्यान मानिएको छ ।
उनको २०७८ वैशाखमा प्रकाशित विभावना निबन्ध विधा भईकन पनि देवकोटाका शब्दमा ‘विभिन्नताको मोजी मसाला’ बनेको छ । यसभित्र दृष्टिकोणमा १०, संस्मरण ११, विसङ्गति ११, अनुभूतिका १० गरी ४२ वटा मझौला आयतनका निबन्धहरु सङ्गृहीत छन् । डिमाइ साइजको यो पुस्तकमा आवरणबाहेक अगणनीय पृष्ठ १२ छन् भने गणनीय १६० रहेका छन् । समयसापेक्ष रुपान्तरणमा विश्वास गर्ने कर्मशीलहरुका प्रति समर्पण गरिएको छ । बी.एन. संसार प्रा.लि., काठमाडौं प्रकाशक र सर्वाधिकार लेखकमा रहेको यस कृतिमा डा. अमर गिरीको भूमिकासँगै लेखकको लेखकीयबाट कृतिलाई पूर्णता दिने कार्य भएको छ । यो रह शर्माको १२ औं कृति हो । पुस्तकभित्रका सामग्रीलाई डा. गिरीले विद्वत्तापूर्ण सारसमीक्षा गरेकोमा टिप्पणी गर्ने ठाउँ छैन भने लेखकीय गृहित विषयसँगै लेखकीय चेतनाको रचानागर्भ माथिको टिप्पणी छ । यसभित्रका समग्र सामग्रीको सतही विवचेना निम्नानुसार रहेको छ ः–
२.‘विभावना’ निबन्धसङ्ग्रहभित्रको अन्तर्वस्तु
कारणविना कार्यको उत्पत्ति वर्णन गर्दा मानिएको अलङ्कार भन्ने अर्थ संस्कृत–नेपाली शब्दकोशका लेखक विद्वत्शिरोमणि कुलचन्द्र गौतमको शाब्दिक व्याख्या छ तर त्यसभन्दा विशिष्ट अर्थद्योतन गर्ने स्थिति संस्कृत हिन्दीकोश वामन शिवराम आप्टेको छ । उनको यो कोश शब्दकोशको इन्साइक्लोपीडिया पनि हो । जसअनुसार यो नामवाचक शब्द भए पनि (वि+भू+णिच्+ल्युट्) स्पष्ट प्रत्यक्ष ज्ञान या निश्चय, विवेक, निर्णय, विचार, विमर्श, गवेषण, परीक्षा, प्रत्यय, कल्पना, ना. (आलंमा) एउटा अलङ्कार जसमा विना कारण कार्य हुने कुराको वर्णन गरिन्छ । राजशेखर पनि आफ्नो काव्य मीमांसा नामक ग्रन्थमा (क्रियायाप्रतिषेधे ऽ पि फलव्यक्तिर्विभावना) भनेका छन् । यसरी यो शब्दले वहन गर्ने अर्थ भनेको विशिष्टताको प्रतिबिम्ब नै हो– विभावना ।
खण्ड एक ः दृष्टिकोण
यसभित्र १० वटा सामग्रीहरु रहेका छन् । विचारमा परिवर्तनअन्तर्गत तीन पृष्ठको आयतन रहेको छ । यसभित्रका केही निबन्धहरु स्थानीय पत्रिकाहरुमा पूर्व प्रकाशित पनि छन् । यी सबैको रचना वर्ष मिति २०६७ देखि २०७६ का बीचको छ । यसभित्र आफ्नो मौलिक दृष्टिकोणमा विश्वास गर्नु, परम्परागत कुसंस्कारहरुको विरोधी हुनु, आफू प्रगतिशील भए पनि अन्धभक्त नभएर वस्तुनिष्ठ वैज्ञानिक दृष्टिकोणमा विश्वास गर्नु, मूर्तिपूजा र मन्दिरको आराधनाभन्दा प्राकृतिक सत्य र पञ्चतत्त्वमा विश्वास गर्नु, पुनर्जन्म र जादूटुना वा अतिमानवीय तत्त्वको विरोधी भई पुरातन, पाखण्डी संस्कार विरोधी रही भौतिक पुनःनिर्माण र सामाजिक रुपान्तरणको मार्गचित्रमा विश्वास गर्नु आदि विषय सामग्री यसमा आएका छन् । राजनीति, मानवता र विभेदमा मान्छे सर्वश्रेष्ठ प्राणी भएको जिकिर गर्दै उसले गर्ने गरेको मानवीय व्यवहारप्रति लेखकको आपत्ति छ । सबै क्षेत्रमा राजनीतिक दलको भागबण्डा हुनु, जागिरदार व्यक्तिहरुको असमान उमेरहद भएकोमा आपत्ति जनाउँदै सम्पूर्ण राष्ट्रसेवकहरुमा अवकाश उमेर एउटै हुनुपर्ने कुराको जिकीर गर्नु, अन्यत्र योग्यता आवश्यक हुने तर राजनीतिमा योग्यता र उमेरहदको आवश्यकता नहुनु, ज्येष्ठ नागरिक र वयोवृद्धाहरुले राजनीतिबाट सन्यास लिई त्यो उत्तरदायित्व युवापुस्तामा छोडिदिनु पर्ने मत व्यक्त गर्नु, नेपालका केही गाउँपालिकामा ८० वर्षदेखि ९८ वर्षसम्मका वडाध्यक्षको नेतृत्व गरेको सूचनापरक सामग्रीदेखि राजनीति गर्न पनि निश्चित योग्यता र मापदण्डका बीच युवापुस्ता कर्मशील बन्नुपर्दछ भन्ने सन्देश दिनु यसको सार हो । मानवता र प्रवृत्तिमा सर्वश्रेष्ठ मानिने मानवजातिको असमान व्यवहार, झै–झगडा, जातीय विभेद, सत्य र न्यायको बलात्कार, सामन्ती चरित्र, धर्म र संस्कृति, पाखण्डी प्रलाप, अधिकार तथा कर्तव्य बिर्सने, अहङ्कार तथा मपाइँवादी चरित्र कहिल्यै पनि मानवतावदी प्रवृत्तिको मार्गचित्र बन्न सक्दैन, समानता, स्वतन्त्रता र विश्वबन्धुत्वको भावना नै मानवतावादको मूल मन्त्र हो भन्ने सन्देशका रुपमा यसलाई लिन सकिन्छ । संस्कार–संस्कृतिमा बाबाआमाले आफ्ना सन्तानलाई असल आचरण, वैज्ञानिक सोच, वस्तुगत र धरातलीय यथार्थको चित्रणमा शिक्षा दिन सकियो भने असल नागरिक बनाउन सकिन्छ भन्ने सोचलाई महत्त्व दिँदै सन् १९९२ को बाबरी मस्जिद भत्काएपछि भड्किएको हिन्दू–मुस्लिम दङ्गा सन् २०१३ मा भारतको उत्तराखण्डमा आएको प्राकृतिक विपत्ति, २०७२ सालको नेपालको महाभूकम्पका दृष्टान्तका साथै अग्रगामी पुस्तालाई परिवर्तनकारी, युगसापेक्ष रुपमा रुपान्तरण गर्नुपर्दछ भन्ने उद्देश्य यसमा निहीत छ । मानिसभित्र सर्वश्रेष्ठ जाति भनिएको यो जन्तुले अकल्पनीय र निन्दनीय काम गर्ने कुराको वृत्तान्त सुन्नु, सर्वगुणसम्पन्न भईकन पनि अविवेकी बन्नु, अधर्मी, कुकर्मी र हिंस्रक बन्दै जानु, पारदर्शी र निरक्षिर विवेकी नहुनु, अदृश्य र स्वैरकाल्पनिक शक्तिमा विश्वास गर्नु, स्वर्ग, नर्क र ईश्वरलाई कोरा कल्पना ठान्नु, उन्नतशील, विवेकवान् र वस्तुनिष्ठ वैज्ञानिक चिन्तनले उक्त मान्छे नै सभ्य मान्छे हो भन्ने सार हुनु यसको विशेषता हो ।
निष्पक्ष समाज २०७४ सालमा रचना गरिएको निबन्ध विशेषगरी २०७४ कै निर्वाचनताका नारायणकाजी र डा.बाबुराम भट्टराईको संसदीय चुनावी बहस र भट्टराई प्रधानमन्त्री हुँदा भएका विचलनसँगै आफूलाई बुद्धिजीवी भनिने राजनीतिज्ञहरुको बौद्धिक दुर्बलता, सङ्कीर्णता र राजनैतिक संस्कारविहीन चरित्रलाई विश्लेषण गर्ने सन्दर्भका साथ यो चिन्तनपरक सामग्री आएको छ । निवृत्तको मापदण्डमा २०७६ सालमा रचना भएको र पूर्वप्रकाशित सामग्री हुनु, समाजलाई सम्पूर्ण तह र तप्काका मान्छे जागिरे, राजनीतिज्ञ, समाजसेवी, व्यापारी सबैलाई उमेरहद ७० वर्षभन्दा मुनि नै हुनुपर्ने सोच राख्नु मान्छेको उमेरसँगै संस्मरण, चिन्तनलगायतका शारीरिक र मानसिक ऊर्जा ह्रासोन्मुख हुने गरेका कारण राजनीति र प्रशासन संयन्त्रमा निवृत्तको राष्ट्रिय मापदण्ड कायम हुनुपर्ने भन्ने सोच राख्नु यसको सार हो । ज्ञान, इमान र विवेकमा २०७६ मा रचना भएको यस सामग्रीमा विशुद्ध मान्छेको मानवीय तथा सिर्जनात्मक चिन्तनलाई महत्त्व दिइएको छ । माथिको शीर्षकसापेक्ष तीन शब्दलाई इमान्दारितापूर्वक मान्छेले पालना गर्ने हो भने नमुना मानव समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश यसको छ ।
त्रास, काँतर र कोरोना यो २०७६ चैतमा रचना भएको नैबन्धिक सामग्री हो । २०७६ पौषमा चीनमा देखिएपछि विद्युत् गतिमा विश्वव्यापी रुपबाट फैलिएपछि र संसारमा लाखौ–लाख मान्छेहरु मर्दै गएपछि नेपालले पनि बन्दाबन्दी सबै क्षेत्र गरेको दृष्टान्त छ । समय समयमा यस्ता महामारी आए पनि चेतनाको कमी र चिकित्साविज्ञानको पहुँच नभएका कारण पुरानो युगका मान्छेहरु अतिमानवीय तत्त्वका सिकार हुन्थे भन्दै दृढ मनोबल राखेर सामाजिक दूरी तथा बन्दाबन्दी नै कोरोनामाथि विजयप्राप्ति हो भन्ने सार यसमा छ । इच्छामरण शीर्षकको रचना २०७६ मा प्रकाशित सामग्री हो । यो मृत्युचिन्तनसँग सम्बन्धित छ । मान्छे दीर्घरोगी, अशक्त र अपाङ्ग भएर बाँच्नुभन्दा राज्यले इच्छामृत्युलाई वैधानिकता दिनुपर्छ भन्ने कुराको चिन्तन गर्दै छोराछोरी वा परिवारजनबाट अपमानित भई बाँच्नुपर्ने नियति, विमानस्थलभित्र पसेको छोराले त्यहीं आमालाई बेवारिसे बनाएको घटना, सबैबाट तिरस्कृत भई बाँच्नुपर्ने अवस्थाको अन्त्य नै इच्छामरण हुनुपर्दछ भन्ने सार यसमा छ ।
खण्ड दुई ः संस्मरण
यस खण्डको पहिलो निबन्ध जमिनमुनिको कुहिरो हो । यसमा जहाजयात्राको संस्मरण रहेको छ । जन्मने र मर्ने प्राकृतिक नियम भए पनि असामयिक मृत्युबारे प्रत्येक प्राणी डरलाग्दो मानसिक अवस्थाबाट गुज्रिएको हुन्छ । अमेरिकाबाट नेपाल आउँदा देखिएका र भोगिएका अनुभूतिसँगै काठमाडौंमा जहाज उत्रन नसकेको र उक्त अवस्थामा भोगिएका आफन्तको संस्मरण र मृत्युको भयप्रद अवस्थाका बीच कुइरो भौतिक त छँदै थियो त्यो मानसिक पनि बनेको अवस्था यसमा छ । एउटा अनुत्तरित प्रश्नमा अमेरिका बसाइको बीच एउटा वैवाहिक र साहित्यिक भेटघाटमा आउँदा जाँदाको यात्रा अनुभव हो । आफन्तले गरेको सत्कार, यात्राका कठिनाइ, प्राकृतिक विविधता, विभिन्न सुरुङबाट पार गरी समेटिएका अनुभव, पारिवारिक यात्राको रमणीयपन, कृषिको विविधताको चर्चा छ । काम र पैसाकै लागि मरिहत्ते गर्ने व्यस्त जीवनशैली, सामाजिकता, हार्दिकता, आत्मीयताको अभाव, अवैध आप्रवासन, वैधताका निमित्त नक्कली विवाह र लाखौंलाख खर्चेको अवस्था, सुविधासम्पन्न जीवनशैलीको आकर्षण, जङ्गली जनावरको अण्डरपास अभाव, व्यवस्थित सडक सञ्जाल, तीब्रगतिको मोटर हँकाइबाट मरेका जङ्गली जनावरको सुरक्षामा प्रहरी, सचेत नागरिक र मानवाधिकारवादीको चासो नहुनुलाई अनुत्तरित प्रश्न भनिएको छ । विवेच्य शीर्षकअनुसारको गहन तथा रोमाञ्चक अनुभूतिको प्रस्तुति नभएको हो किन भन्ने प्रश्न विचारणीय छ ।
२०७० सालमा रचना गरिएको अमेरिकी यात्राकै उपज हो टर्नर फल्स । अमेरिकी राज्य अकलोहमामा पर्ने यो झरना अवलोकन गर्न जाँदा समेटिएका अनुभूतिहरुको दस्तावेजका रुपमा यसलाई लिन सकिन्छ । झरनाको स्वरुप, यात्राको अवस्था, झरनाको अवलोकनार्थ देखिएका मानवीय भीड र जुवाघरमा जुवा खेलेको, खेलाइएको दृश्यचित्र, प्रत्येक राज्यले पर्यटकहरुलाई बनाइएका पार्कहरुको अवस्था, राजमार्गमा गाडीको गति र प्रहरीको अनुगमनसम्मका विषयसामग्री यसमा समेटिएका छन् । हिउँको वृष्टि यो निबन्ध पनि अमेरिकी बसाइको संस्मरण हो तथापि आफ्नो बाल्यकालीन जन्मभूमिबाट देखिने हिमशृङ्खला, काठमाडौं जाँदा सिमभञ्ज्याङमा देखेको हिमवर्षाका अतिरिक्त अमेरिकाको विभिन्न राज्यमा भएको हिमवर्षा र गाडीहरुको दुर्घटनाका परिदृश्यहरुको रेखाङ्कनसँगै साहित्यिक मित्रहरु सँगसँगै संवादलाई चर्चाको विषय बनाइएको छ । यसको रचना पनि २०७० सालमा नै भएको थियो । पानीले भिजाएको क्षणमा अमेरिकी यात्रा र बसाइको क्रममा २०६९ सालमा नै जनमत द्वैमासिकमा प्रकाशित हुनु, क्यालीफोर्निया र लजएञ्जलसजस्ता समुद्रतटवर्ती सहरका साथ सामुद्रिक छाल हेर्ने क्रममा त्यहाँको बाटो, पानीजहाज, भारतीय–पाकिस्तानी र आंशिक रुपमा भए पनि नेपालीहरुले गरेका व्यापार–व्यवसाय, खेलौना भण्डारको साँचो खोल्दा छोराको हात काटेर रक्तश्राव हुँदाको दुःखित मनोदशा, नासाको अवलोकन, रकेट प्रक्षेपण केन्द्र र अन्तरिक्षविज्ञानको जिज्ञासा आदि सामग्रीहरुको विवरण यो संस्मरणमा आएका छन् । यसबाहेक समुद्रको पानीसँग खेल्दा र भिज्दै गर्दाका क्षणहरु पनि सम्झनाका सामग्री बनेका छन् ।
छोटो यात्रा चार पृष्ठको आयतन ओगट्ने यो संस्मरण २०७३ सालमा चितवन पोष्टमा प्रकाशित रचना हो । काठमाडौं–नारायणगढ यात्राको संस्मरण हुनु, सतनचुली बससेवाबाट यात्रा गर्दा यात्रारत युवतीसँगको भेटघाट, परिसंवाद, परिचयात्मक आदान–प्रदान, लोकसेवा परीक्षा दिएको जानकारी, महिला सशक्तीकरणका बीच सरकारी जागिरको आकर्षण र विदेश पलायनको उपेक्षा, संविधान संशोधन, राजनैतिक स्थिरता र आफ्नै देशको सेवा गर्ने ती नारीको दृढता र त्यस्ती नारीप्रतिको लेखकीय सम्मान यसका विषयसामग्री भइआएका छन् । आश्रयी त्रिआत्मामा अमेरिका दुबई यात्राको क्रम र २०६९ को समयक्रम हुनु, छोरी, नाति र आमासँगै आफू श्रीमान्–श्रीमतीका साथ यात्रारत कुराकानी, यात्राको कठिनाइ, डलर मूल्यमा किन्नुपर्ने रकमी परिकार, जहाजभित्रको परिवेश, आफ्नो परिचय दिइएको स्थिति, बाह्र कक्षा पढ्दै गरेकी युवतीको रुप, शील र स्वभावको वर्णनातीत स्वरुप, विश्रामपछि गेटपास लिँदाका कठिनाइ, विमानस्थलबाट बाहिर आएपछि सहयोग गर्न नपाएकोमा पश्चात्ताप, त्रिआत्माले आफूलाई विशेष अभिभावकका रुपमा दर्शाइएको ममता आदि भावनाहरु यसमा आएका छन् । मुक्तिनाथ च्याङ्ग्रा र त्रासमा मुक्तिनाथ यात्रा र पितृ उद्धार गर्ने मिथकको प्रभावमा यात्रारत देखिनु, चितवनबाट बेनी पुगेपछि होमनाथ सुवेदी अमेरिका र यमपुरीको महलको बिम्ब आउनु, पिचबाटो, झोलुङ्गे पुल, कच्चीबाटो पार गर्दै मुक्तिनाथ पुग्नु, फर्कने समयको व्यवस्थापनबारे चर्चा चल्नु, कागबेनीको पितृस्मरण र मुक्तिनाथ मन्दिर दर्शन, १०८ धाराको स्नान, बाग्लुङ्ग कालिका दर्शन, झोलुङ्गेपुल तर्दाको भयप्रद मानसिकता, बाटोमा च्याङग्राको हुलबाट त्रसित भइने स्थिति, दशैंको निजी गाडी वा सार्वजनिक बसमा गए पनि भोग्नुपर्ने बाटोको कठिनाइको वर्णन विवरण छ तर यस तीर्थस्थल धार्मिक पर्यटनबारे लेखक मौन छन् । विशुद्ध पर्यटकभन्दा धर्मभिरुहरुको भीड देख्नु लेखकको धार्मिक अभिरुचि पटक्कै होइन । रुपान्तरण संस्मरण खण्डमा राखिएको भए पनि यो चिन्तनपरक अभिव्यक्ति हो । सामाजिक रुपान्तरणका बारेको चासोका रुपमा लेखक सञ्चार माध्यमप्रति अद्यावधिक भइरहनु मान्छे फुर्सि दलो भएपछि समयलाई उपयोग गर्ने क्रममा पढाइ, लेखाइ, जुवातास, धार्मिक संघसंस्थाप्रतिको लगाव, स्वदेश–विदेश भ्रमणमा रुचि लिनु, सामाजिक र मानसिक रुपान्तरणमा मङ्गलचौथी र स्वस्थानी व्रतकथाको पालनामा अलौकिक, तिलस्मीशक्ति बाधक हुनु, सावित्री गौतमले २०७० माघ २५ गते कान्तिपुरको लेखले रुपान्तरणमा राम्रो सन्देश दिन पुगेको ठान्नु, भूगोल, खगोल र ब्रह्माण्डबारे वैज्ञानिक अनुसन्धानलाई रुपान्तरणको मार्गचित्र ठान्नु, पूजा, पुराण र अन्य पाठपारायण भनेका रुपान्तरणका अवरोधक हुन् भन्ने सोच राख्नु, परम्परागत संस्कार, भजन–कीर्तनलाई चटक्कै छाड्न नसक्नु, अलौकिक, काल्पनिक र तिलस्मीपरक संस्कार छोडेर वैज्ञानिक सोचअनुरुप व्यवहार गर्नुलाई रुपान्तरण ठान्नु लेखकीय निष्कर्ष हो । शिवरात्रि लगभग चार पृष्ठको आयतन ओगटेको र २०७० सालमा रचना गरिएको धर्म र संस्कृतिपरक चिन्तनयुक्त सामग्री हो । शिवरात्रिको नाममा सडकैपिच्छे, टोलिै पच्छे बालबालिका र अन्य वयस्कले पनि पैसा उठाएर यात्रारत व्यक्तिलाई दुःख दिने, उठाएको पैसाको दुरुपयोग गर्ने, पशुपतिनाथमा नागा जोगीको अभिनय र जोगीको नग्न रुप हेर्न लालायित युवायुवतीका मनोकाङ्क्षाले जन्माउने विकृतिको चित्रणसमेत यसमा छ । स्वतन्त्रता यो पनि २०७० सालमा रचना गरिएको हो । जसमा मान्छे जहाँ पुगेर जे कर्म गरे पनि आफ्नो मूल्य र मान्यताबाट बाहिर गएर स्वच्छन्द र छाडातन्त्रमा लाग्नु हुँदैन । असल र नैतिक आचरणयुक्त बन्नुपर्दछ, अनुशासनहीन र कर्तव्यविमुख हुनुहुन्न, संस्कार, संस्कृति र सभ्यताको पालना गर्नु नेपाल र नेपालीको मान र प्रतिष्ठा सधैं उँचो राख्नुलाई स्वतन्त्रता मानिएको छ । तेसा्र े खण्ड ः विसङ्गति
यस खण्डमा ११ वटा शीर्षकहरु रहेका छन् । यी सबैमा प्रतिपादित विषयप्रतिको निजी दृष्टिकोण मुखरित हुन पुगेको छ । त्यसमध्येका प्रथम शीर्षक मान्छे र गोरु राखिएको छ । यो २०७० सालमा रचना गरिएको सामग्री हो । कृषि सभ्यताको उठान गर्दै सेते र ढ्याके नामका हलगोरुको कथालाई मिथक बनाउँदै मान्छेले गरेको कुकर्मजन्य प्रवृत्तिको रेखाङ्कन गर्नु, २०३२–०३४ सालतिरको नमिता–सुनिता काण्डदेखि बालिका र वृद्धा बलात्कारको घटना, चेलीबेटी बेचबिखन, अपराधीले विभिन्न व्यक्तिलाई अपहरण गरी मोटो रकम फिरौती माग्ने सन्दर्भ, दिल्लीमा घटेको विद्यार्थीमाथिको बलात्कार केन्द्रित निर्भया काण्ड र न्यायालयले अपराधीलाई मृत्युदण्डको सजाय सुनाउँदा मानवाधिकारको हनन भयो भनेर हल्ला गर्ने कथित मानवाधिकारवादी सर्वश्रेष्ठ भनिएका मान्छेको व्यवहार मानवकै नाममा कलङ्कित बन्न पुगेको दृष्टान्त यसमा आएको छ । सत्ता र अभिव्यक्ति स्वतन्त्रता चार पृष्ठको आयतन ओगट्ने यो रचना २०७६ सालमा चितवन पोष्टमा प्रकाशित सामग्री हो । शीर्षकीय शब्दको पारिभाषिक र पर्यायगत अर्थको औचित्यमाथि प्रकाश पार्नु, अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थित गर्ने नाममा सत्ता सञ्चालकले मनपरितन्त्र गर्दै जानु, सामाजिक सञ्जालको व्यापक दुरुपयोग गर्नु, दण्डसंहिताको र कानूनी मान्यतालाई उल्लङ्घन गर्नु, कमजोर प्रतिपक्ष, सत्तापक्षको उन्मादी प्रवृत्ति, स्वेच्छाचारी शासनप्रणाली, अराजकता, निरङकुशता, जघन्य अपराध, मानव बेचबिखन, बलात्कारजस्ता अपराधमा कडा सजाय दिने कानूनको अभाव र दोषीलाई सजाय दिनैपर्दछ भन्ने निष्कर्ष यसमा छ । विश्वसनीयता मात्र सवा दुई पृष्ठको आयतन ओगट्ने र २०७६ सालमा नै पूर्ववत् पत्रिकामा प्रकाशित रचना हो । अल्पज्ञान र पूर्वज्ञानको व्याख्या गर्दै हाल विवादित एम.सि.सी. सँग सम्बन्धित निरर्थक र अर्थपूर्ण लाग्ने बहस–पैरवीको चर्चा गर्नु, दुईतिहाइ बहुमतप्राप्त दलको अकर्मण्यता, सार्वभौमिकता, परराष्ट्र नीति, नेपाल, भारत र चीनसँगको परराष्ट्र नीति र एम.सि.सी. पारित भएमा आत्मघाती गोल हुने लेखकीय निष्कर्ष रहेको छ ।
नारी पीडाको न्यूनीकरण २०७० सालमा रचना गरिनु, सवा तीन पृष्ठको आयतन हुनु, नारी मनोदशाको संवेदनशीलता केन्द्रित हुनु, पुरुषहरु कृत्रिम रुपले दयालु देखिए पनि आन्तरिक रुपले क्रूर तथा नरपिपाशु देखिनु, रज्यसंयन्त्र कानून र न्यायिक संस्थाको सक्रियता नभएका कारण बलात्कारपछि गरिएको बीभत्स हत्या सन् २०१२ मा ज्योतिसिंह पाण्डे नयाँदिल्ली, भारत नेपालका वीरेन श्रेष्ठले बलात्कारपछि शवलाई टुक्राटुक्रा पारी गरिएको ख्याति श्रेष्ठको हत्या र डोल्मा शेर्पाको सामूहिक बलात्कारपछि गरिएका घटनाको तथ्यपरक सूचनाबाट सभ्य मानव आतङ्कित हुनु, महिलाहिंसा पूर्णरुपमा निर्मूल नभए पनि न्यूनीकरणमा नागरिक समाज जागरुक हुनुपर्छ भन्ने सन्देश यसमा छ । विवादका बीच एम.सि.सी. राजनैतिक दल, नागरिक समाज, सचेत नेपाली जनता र अमेरिकी सरकारलगायत सबैको चासो अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन सन् २०१२ देखि हालसम्म विवादको विषय बनेको छ । नेपाललाई इराक वा अफगानिस्तान बनाउने इण्डोप्यासेफिक रणनीति नै हो भनेर विवाद गर्नु, महाकाली सन्धिले बनाएको नेपालको दुर्दशाको उल्लेख गर्नु, यसभित्र शङ्कास्पद सम्झौताले नेपालका बुद्धिजीवीहरु तर्सिनु आदि विषय सामग्री यसमा छन् । यो २०७६ सालमा रचना गरिएको पूर्वप्रकाशित रचना हो । जसले तीन पृष्ठको आयतन लिएको छ । देउकी र धर्मसन्तान यो तीन पृष्ठ आयतनको हुनु र २०७६ सालमा रचना प्रकाशन गरिएको यो सामग्री नेपाली समाजको सुदूरपश्चिमाञ्चल क्षेत्रमा प्रचलित देउकी सन्तानमाथि केन्द्रित छ । विशेषगरी जीवनभर मन्दिरमा जीवित बलि चढाइएकी नारीबाट अवैध रुपमा जन्मिएका सन्तान र अनाथ बालबालिका भन्ने उद्धार केन्द्र खोल्ने डलर एजेन्सी र त्यसमा अन्तर्निहित मानव बेचबिखनका सूचनापरक दृष्टान्तहरु यसमा छन् । देउकीप्रथालाई भाग्यको खेल, लेखान्तर, कर्मको फलजस्ता नियतिपरक अन्धधारणाको अन्त्य हुनुपर्दछ भन्ने सोच यसमा छ ।
निवृत्तिभरण यो पनि २०७६ कै रचना र प्रकाशन भएको नैबन्धिक सामग्री हो । लेखक त्रि.वि. निवृत्त कर्मचारी हुनु र संघीय सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकमा खाइपाइ आएको निवृत्तिभरण पेन्सन राज्यले दिन नसक्ने कुराको चर्चा छ । सम्पूर्ण कर्मचारीको निवृत्त समय ७० वर्ष भनेको र योभन्दा ६० वर्ष उपयुक्त देखिन्छ, नयाँ पुस्तालाई अवसर दिनुपर्दछ भन्ने पंक्तिकारको अभिमत हो । यस सामग्रीमा कानुनको उपहास, भ्रष्टाचार, अक्षम सरकारी चरित्र, राजनीतिज्ञहरुको शैक्षिक योग्यताको मापदण्ड र राजनैतिक सन्यासमा ७० वर्ष कायम राखिनुपर्ने उमेर क्रम बढेसँगै ह्रासोन्मुख दिमागी संरचना हुने भएको कारण नातागोताको सम्बन्ध तोडेर विवेकशील समाजनिर्माण गर्न सकिन्छ भन्ने सन्देश यसमा छ । राजनीतिमा प्रभुत्व यो पनि चिन्तनपरक निबन्ध हो । चार पृष्ठको आयतन, २०७६ सालको रचना र त्यसै समयमा प्रकाशित हुनु, राजनीति गर्नेहरुले राम्रालाई भन्दा हाम्रालाई शक्तिशाली बनाउनु, नेताको शक्ति र पहुँचका भरमा हैकमवाद र सर्वसत्तावाद कायम हुँदा न्यायसेवा, सुरक्षा निकायमाथि विवादास्पद अभिव्यक्ति दिनु, राजनैतिक नेतृत्वले वयोवृद्ध अवस्थासम्म सक्रिय रहने कुचेष्टा गर्दै सबै दलमा युवा नेतृत्व पछि पर्न जानु, जिम्मेवार व्यक्तिले विवादास्पद भेटघाट र सूचना चुहाउने काम गर्नु, प्रभुत्ववाद, सर्वसत्तावाद, हैकमवाद र व्यक्तिवादको दबदबा रहेसम्म शक्तिशाली राज्यसंयन्त्र र स्वच्छ छविको प्रशासन सम्भव छैन भन्ने निष्कर्ष यसमा छ ।
छाउपडी र अन्धविश्वासमा सुदूरपश्चिमाञ्चलका विभिन्न जिल्लाहरुमा सुत्केरी हुँदा र रजस्वला हुँदा महिलाहरु घरबाहिर गएर गोठमा, गुफामा वा ओडारमा एक्लै बस्नुपर्ने अवस्था नै छाउपडी हो । छुवाछूत नबार्दा र घरमा सँगै बस्दा देवता रिसाउँछन् र अनिष्ट हुन्छ भन्ने तथाकथित सोचाइबाट प्रत्येक वर्ष निसासिएर वा सर्पले डसेर धेरै नेपाली महिलाहरुको ज्यान जाने गरेको सन्दर्भलाई रचनात्मक परिवर्तन र अन्धविश्वासको समापनसँग यो सामग्री केन्द्रित छ । हजारौं छाउगोठ भत्काउने र बनाउने कुसंस्कारग्रस्त प्रचलनको अन्त्य हुनुपर्दछ भन्ने सार यसमा केन्द्रित छ । चार पृष्ठको आयतन र २०७६ को प्रकाशन यसको अतीत हो । मार्सीभात यसमा नेकपाका शक्तिशाली अध्यक्षद्वयले झापाली मेडिकल व्यावसायी दुर्गा प्रसाईको घरमा अतिथि बनेको विवरणदेखि विवादास्पद मेडिकल कलेजको स्वीकृति दिनु, १३ औं शताब्दीमा काश्मिरबाट चन्दननाथ बाबाले मार्सीधान ल्याएको सन्दर्भ र आदिभूमि जुम्लासँगै राजनेताहरुले गर्ने सभा–सम्मेलन उद्घाटनमा मिडियाकर्मीले दिइएको अतिरञ्जित महत्त्व, मार्सी चामलको अधिमूल्यन, पहुँचको भरमा कसाईवृत्तिका मेडिकल कलेज, गोविन्द के.सी. का जायज माग, कमजोरी स्वीकार गरी रचनात्मक मार्गमा आलोचनात्मक समर्थन गर्ने प्रवृत्ति नभएसम्म सामाजिक रुपान्तरण असम्भव छ भन्ने निष्कर्ष यसमा छ । २०७४ सालको प्रकाशन र तीन पृष्ठको आयतन नै यसको भौतिक रुप हो । नियत, लाभ र अस्तित्व पाँच पृष्ठको आयतन, २०७६ सालको रचना हो । यसले राजनेता सत्ता सञ्चालकहरुका अनुचित कार्य र जसरी पनि कमाउ वृत्तिमाथि विभिन्न चिन्तन र दृष्टान्तका साथ यसको विषयवस्तु आएको छ । राज्यसत्ताको दुरुपयोग, राजनीति, परोपकार, मान–सम्मान, पुरस्कार, पश्चगामी सोच, नागरिकता विधेयक, सूचना प्रविधिको दुरुपयोग, सामाजिक सञ्जालमा छाडापन, नेता–कार्यकर्ता–समर्थक, बुद्धिजीवीहरुले गर्ने गरेको देवत्वकरण, कुसंस्कारग्रस्त अशोभनीय कार्य, शोषण, दमन, उत्पीडन, मानव तस्करी, सामन्ती संस्कारपरस्त व्यवहार, चौतर्फी रुपमा भ्रष्टाचारसँगै जोडिएका विभिन्न काण्डहरु, सत्तालिप्साको चर्को मोहका कारण मूल्य र मान्यतामा आएको स्खलन, डा.बाबुराम भट्टराई र उपेन्द्र यादवजस्ताको बौद्धिक दासत्व र दिवालीयापन, निजीकरणको अर्थनीतिले पुर्याएको दलाल, पूँजीपतिको भरण–पोषण, सत्तामा सधैं रहिरहने कुचेष्टा आदि विषयसामग्रीका बीच यस निबन्धको समापन भएको छ ।
खण्ड चार ः अनुभूति
यसमा १० वटा सामग्रीहरु छन् । यसभित्रको प्रथम शीर्षक चिरा परेको घर हो । यसमा २०७२ सालको भूकम्पबाट घर चर्किएको पीडा र संस्मरणका बीच निम्न आयस्रोतको कमाइबाट कठिन सङ्घर्षको यात्रामा जीवित र दिवङ्गतहरुले गरेको संस्मरण र श्रद्धामा यो सामग्री केन्द्रित छ । घर निर्माण गर्दा र भूकम्पबाट भएको क्षतियुक्त विवरणका रुपमा आएको संस्मरणजन्य सामग्रीका रुपमा यसलाई लिन सकिन्छ । सिर्जनागृह साढे चार पृष्ठकै आयतन र २०७४ सालको रचना र प्रकाशन भएको यो सामग्रीमा आफ्नो घरलाई निवृत्त प्रा., कर्मचारीको सिर्जनागृह भेलायुक्त घर ठान्नु, अवकाशप्राप्त सबै साथीहरु सिर्जनशील बन्न सकून् भन्ने सोच राख्नु, चितवनमा सिर्जनागृह बनाउने सोचका साथ मित्रहरुको घरमा जानु, राजनीतिमा भागबण्डाको फेहरिस्त देखेर दुःखित हुनु, २०७४ को चुनावी विजय–पराजयको समीक्षा गर्नु, आफ्नो घरको बनोट बाह्य दृश्यचित्रको सौन्दर्यजनित विहङ्गावलोकन गर्नु, सिर्जना निर्माण बारे काठमाडौंका उच्चस्तरका साहित्यकारसँग पनि संवाद गर्नु, यो सामग्रीलाई सपनामा देखिएको र विपनामा अनुभूत गरिने खालको हुनु यसको विशेषता हो । वृद्ध, वयस्क र विधिमा कोभिड–१९ सँग प्रकारान्तरले सम्बन्धित हुनु, यो महामारीले तीनवटै पुस्तालाई अत्तालिएको अवस्थामा पुर्याउनु, संसारभर भयप्रद स्थिति देखिनु, विश्वका कुनै पनि देश यो महामारीबाट विमुख न हुनु, नेकपाका दुई अध्यक्षको गाईजात्रे रुपमाथि प्रकाश पार्नु प्रतिभाशाली नेपाली युवापुस्ता भए पनि नेताको नजिक नभएकै कारण प्रतिभा पलायनको अवस्था आउनु, स्थानीय र राष्ट्रिय निर्वाचनमा युवापुस्ताको जीवन्त सहभागिता भएमा मात्रै लोकतन्त्र र देशनिर्माणले गति लिन सक्दछ भन्ने चिन्तन प्रबल हुनु यसको सार हो ।
देख्न नसकिएको दृश्य २०७४ मा रचिनु, तीन पृष्ठको आयतन हुनु, नेपाली समाज, संस्कृति, पाषाणकालीन बन्दै गएको दृश्यचित्रका बीच कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा घटेको घटनामा १८ वर्षीय राधा चौधरीलाई बोक्सीको आरोपमा अन्धपरम्पराको झाँक्रीले निर्ममतापूर्वक पिटिरहँदा ७०–८० जना मान्छे रमिते बनेर सामाजिक सञ्जालको दृश्यचित्रलाई राधा पोखरेलको “चालीसपटक हेरें” भन्ने लेखबाट लेखक भावुक हुनु, झारफुक, धामी–झाँक्री, बोक्सी, पिचास, भूतप्रेतजस्ता अतिमानवीय तथ्यमाथि विश्वास गरी नेपाली नारीमाथि हुने नृशंस क्रूरतम पीडादायी घटनाको सन् २०१२ को दिल्लीको निर्भया काण्डले गर्दा भारतले मृत्युदण्डको कानुन बनाएजस्तै अन्धविश्वास र अतिमानवीय तत्त्वमा विश्वास गरी गरिने अपराधको कानूनी उपचार गरिनुपर्दछ भन्ने सन्देश यसमा छ । बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्दछ भन्न नसक्नु लेखकको दुर्बलता हो । जीवन, मृत्यु र प्रेम शीर्षकमा मृत्युको शाश्वत चिन्तन र भवितव्यमा परेका धूमिल स्मृतिचित्रका अनेकौं घटनाका बीच कमरेड प्रचण्डपुत्र प्रकाशको असामयिक मृत्यु, परिचित मित्र कार्यालयमा जाँदा वरण गरेको मृत्यु र एक विद्वान् साहित्यकारले होनहार तीन छोरा गुमाउँदाको पीडाका जीवन्त स्मृतिका तरङ्ग यसमा छन् । सवा तीन पृष्ठको आयतन र २०७४ सालको रचना यसको भौतिक कलेवर हो । लेखक स्तर र सम्बन्ध लेखनकला स्तरीयता लेखकीय क्षमता अभिव्यक्ति स्वतन्त्रता श्लील–अश्लील लेखन राष्ट्रियस्तरका दैनिक पत्रिकामा लेख लेखेर वैचारिक तरङ्ग ल्याएको आत्मरतियुक्त विचारप्रवाह, अनुपम जोशीको कुमारी आमाको चर्चा, राजनीतिज्ञ र कर्मचारीको अनिवार्य अवकाश, लेख–रचनाको दम र स्तरीयताको पक्षपाती हुनु आदि विषय सामग्री यसमा छन् ।
बिझेको घटनावृत्त नेपालका प्रसिद्ध नशारोग विशेषज्ञ डा.उपेन्द्र देवकोटाको मृत्युवरणसँगै जोडिएका लेखकीय अनुभूतिमा उनका दाजु वाचस्पति देवकोटाले गरेका आध्यात्मिक कामप्रतिको लेखकीय असहमति, मन्दिरदर्शन, दीप प्रज्वलनका घटनाले चिकित्साविज्ञान माथिको प्रभाव र उनले आफू जन्मेको ठाउँमा मृत्युवरण गर्ने जन्मभूमिप्रतिको आस्थालाई नतमस्तक भई श्रद्धाञ्जलि संस्मरणको उपज करुणामा आएको हो यो रचना । गुम्फित यात्राका तरेली साढे चार पृष्ठको आयतन र ०७४ को रचना वर्ष यसका भौतिक रुप हुन् । आत्मकथाको यात्रा र जीवन संघर्षको कहालीलाग्दो काँडाघारीको यात्राका संस्मरणपरक तरङ्गका रुपमा भारतका उत्तर प्रदेश र बिहारको रेलयात्रा राजनेताहरुको छलफल केन्द्र, नेपालको चितवनदेखि पूर्वको इलाम र पश्चिमको नेपालगञ्जलगायत चितवनकेन्द्रित जीवनमा भुक्तभोग्य घटना, होमस्टेको प्रभाव र घलेगाउँको रमणीय यात्राका तरङ्गसमेत यसमा आएका छन् ।
राजनैतिक दल र भागबण्डा तीन पृष्ठको आयतन २०७४ को रचनाका बीच संयम साल र वर्ष नै भनिए पनि २०७४ सालदेखि यताका राजनैतिक दलहरुले आफ्ना आसेपासेलाई राजनैतिक, आर्थिक लाभका पद दिई राष्ट्रिय ढिकुटीमाथि गरिएको भ्रष्टाचारका विषयसामग्री यसमा छन् । २०६२/०६३ सालपछि यो संस्कृति झन् मौलाएको छ । राम्रा मान्छे नभई हाम्रा मान्छे भर्तीकेन्द्र बनाउनु, गुलिया नारा दिए पनि ती सबै सत्ताप्राप्तिको हतियार हुनु आदि सामग्री यसमा छन् । विभावना निबन्धसङ्ग्रहको अन्तिम सामग्रीको रुपमा विचारको अवमूल्यन आएको छ । विचारको मूल्याङ्कन नभई असल विचारको उपेक्षा हुनु, दलीय व्यवस्थामा वैचारिक चिन्तन र निष्ठाको राजनीति प्रायः समापन हुनु, शक्ति, सत्ता, स्वार्थ, लोभ, लालच र जुनसुकै रुपमा भए पनि कमाउनु पर्दछ भन्ने चिन्तन बलवान् भएका कारण नेपालको सबै क्षेत्रमा विचारको खडेरी परेको छ । राष्ट्रप्रमुख र कार्यकारी प्रमुखहरुको तडक–भडक र पाखण्डीपूर्ण व्यवहारले पूर्णरुपमा वैचारिक अवमूल्यन भएको देखाउँछ भन्ने सन्देश यसमा छ ।
३. निष्कर्ष
शशिकिरण शर्मा उर्फ रह शर्मा सरल स्वभावका मिलनसार साहित्यिक स्रष्टा हुन् । मेरो समालोचना यात्रा र उनको साहित्य सिर्जनामा आरम्भदेखि हालसम्म समानता छ । हामी जसरी परिवर्तित हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैनौं कि जे होस् मझौला आयतन, सरल, सम्प्रेष्य निबन्धलेखन, समसामयिक चिन्तनपरक मनोविज्ञान रह शर्माका निबन्धको सार हो ।