मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · गीत/कविता/गजल/मुक्तक · पृ. २६

नवीन होस् चिन्तन

डा. घनश्याम न्यौपाने परिश्रमी

उषा उदय होस् सदा अमर होस् उज्यालो घना
बनेर नव सोंचका सब विचार सद्भावना
सफा हृदयमा सधै कुसुमका फुलून् कोपिला
उदार मनमा लता हरित झाङ्गियून् बान्किला ।

कलात्मक बनून् हरेक जनका मनोभावना
प्रभावमय होस् सबैतिर सदैव आफ्नो पना
खुसी प्रगतिका उँचा हुन सकून् हटून् उल्झन
विकास गतिशील होस् अझ नवीन होस् चिन्तन ।

हरेक मनभित्रका सबल पक्ष यात्री बनून्
उठून् प्रगतिशील पाउ गतिशील बन्दै हिंडून्
पछिल्तिर परोस् सधैंभरि चरित्र नालायक
रमाउन सकोस् यहाँ असल भाव उन्नायक ।

हटून् सकल तापका विकलता खुशी फैलियोस्
सदैव जनता रमाउन सकून् अँध्यारो हटोस्
धरातल बनोस् सुरम्य अनुनीतिको विलम्ब नै
जहाँ असुर भावका मतहरु नहुर्कून् कुनै ।

विशाल नभको अनन्त मनभित्रको कल्पना
बनोस् घनघटा र बर्सिन सकोस् मनोकामना
वसन्त र शरद् मिलून् अवनि होस् सदा श्यामला
प्रशंसित हुँदै रहून् प्रकृतिका खुलेका कला ।।

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्