मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · स्थायी स्तम्भहरू · पृ. ११५

नौलो सृष्टि : सानो दृष्टि

दीन पन्थी/अकिञ्चन

१. सुमधुर गजलको एउटा संग्रह ‘निभेका शिखा’

घनश्याम न्यौपाने मेरा समवय, समरुचि र करिब समस्वभाव भएका आदरणीय मित्र हुन् । साहित्यसाधना र सृजनामा अथक लागिरहने हुँदा उनी परिश्रमी कहिन्छन् । उनी स्वाभिमानी छन् तर अहंकारशून्य छन् । उनी साधना, व्युत्पत्ति र प्रतिभाका त्रिवेणी हुन् । जुन संयोग प्रायः दुर्लभ हुन्छ – सुनमा सुगन्ध झैं । उनी शिल्प र विचारका सेतु पनि हुन् । धेरै के भनूँ – समग्रमा परिश्रमी घनश्याम शिष्ट, मिष्ठ, इष्ट एवं विशिष्ट व्यक्तित्व हुन् । उनी महानुभाव हुन् । जसले आफ्नो महान् प्रभाव अरुमा पार्न सक्छ त्यहीं नै महानुभाव हुन्छ । हो उनको लेखनको प्रभाव उत्तरवर्ती पुस्तासम्म परेको देखिन्छ ।

परिश्रमी गजलका अंगअंगका मर्मज्ञ छन् । उनी आफै रंगरंगका ढंगढंगका मनमुग्धकारी गजलको रचना गर्न प्रवीण छन् । कलामा, भावमा, विचारमा उनका गजलहरु श्रेष्ठ छन् । ती रुचिकर पनि छन्, कल्याणकारी भाव भएका पनि छन् । त्यसैले त म उनलाई गजलरत्न भन्छु ।

गजलकार परिश्रमीको गजलसंग्रह ‘निभेका शिखा’ मेरो हातमा परेको छ । म गजलको सृजनपक्षमा बालक छु । त्यसैले यस कृतिको सूत्रसमीक्षामा पनि बालकै हुँला । तर मलाई यस कृतिले घचघच्याइरहेछ केही लेख्न । गजलको व्याख्या म गर्दिनँ । सुन्दर र अर्थसघन नामकरण भएको यस संग्रहमा जम्माजम्मी एक सय तेत्तीस गजलहरु छन् । जुन ४ देखि ११ सेरको सीमामा संरचित छन् । २०७७ फागुनमा भुँडीपुराण प्रकाशन बागबजार काठमाडौंबाट प्रकाशित यस संग्रहमा प्रकाशकीय, भूमिका, शुभकामना, आत्मकथनले एकतीस पृष्ठ ओगटेका छन् । संग्रहका गजलहरु विभिन्न शास्त्रीय छन्दमा छन् । ‘निभेका शिखा’ यस पदावलीले देश र जनताको लागि शहीद भएका सपूतहरुको संकेत गर्छ । यस अर्थमा यस संग्रहको नामकरण सार्थक र उपयुक्त प्रतीत हुन्छ । प्रस्तुत गजलसंग्रहमा हाम्रो समाजका प्रतिबिम्बहरु छन् – कतै प्रेमभाव छन् तर गूढरुपमा । उत्ताउलोपन कतै छैन । युगबोधले रंगिएका, कलाले सिंगारिएका, व्यञ्जनाले तिखारिएका, भावमा डुबेका र विचारमा उचालिएका सूक्तिमय पंक्तिहरु यस संग्रहमा गजल बनेर बगेका छन् । गजलमा कतै शान्त मृदुभाव छन्, कतै वीरोचित स्वाभिमानहरु छन्, कतै समाजका विद्रूपमय विसंगति र विकृतिहरुमाथि व्यङ्ग्यका प्रहार छन् । गजलमा मैले परिश्रमीलाई नास्तिक देखिनँ, उदार आध्यात्मिक नै देखें – सम्प्रदाय र ढोङहरुको घेराभन्दा माथि । मैले यो संग्रह सर्सर्ती पढें – गजलसृजनामा ढंगमरु भए पनि म गजल पढ्न अभिरुचि राख्छु । यस संग्रहका केही सेरहरुले मलाई अँठ्याइरहे । केही मैले यहाँ टिपें –– खेत प्यासले तड्पिंदै रहे देख्नलाई मात्रै भयो नहर – म नेपालको सानको गीत गाऊँ सधै राष्ट्रको बन्दना गुनगुनाऊँ – बग्छन् नदी निरन्तर गन्तव्य भेट्नलाई हेर्दै कठै ! बसेका सुख्खा बगरहरु छन् । – तिमी कुँदेरै पछाडि पर्छौ उनी ढिलो हिंड्दछन्, उछिन्छन् – गुमाएर आस्था र अस्तित्व आफ्नो तिमी वामपन्थी भयौ दामपन्थी – दमन जानकीमाथि गर्दैछ कोही र भन्दै छ सच्चा म हुँ रामपन्थी – उज्यालो गिरफ्तार भो आज मेरो परेको छ सुन्दर बिहानी थुनामा – शिशिरको छ मौसम, खसे फूलपात बुझोस् मूलले पीर हाँगाहरुको – उनमा अजम्मरी छु भन्ने सोचाइ हुन्थ्यो देख्दैछु आज उनको जल्दै चिता रहेछ – तिम्रो इमानदारी बिक्री हुँदैन भाइ ! नेता प्रसन्न हुन्छन् दिनरात चाकरीले –सहयोग साथ पाऊन्, झुपडीहरु रमाऊन् भगवान् खुसी हुँदैनन्, पूजा र आरतीले – पुरानाले बुझेका छन् कमै देखाउँछन् फूर्ती नयाँ जोगीहरुले नै खरानी घस्तछन् ज्यादा – अहो ! कृष्णको आज विश्वासपात्र हिजाकोे उही धुन्धुकारी रहेछ – उनले ग्रहण गरेकें दर्शन छ साम्यवादी किनमेल गर्न जाँदा हाँक्छन् उनै पजेरो – गल्ती गरेछु जस्तै लाग्दैछ आजभोलि – मैले उमेर बेचें स्वार्थी शहरहरुमा – चलेको छ हावाहुरी बेगले नै न वारि न पारि बीचैमा छ नाउ । अन्तमा यस मनमुग्धकारी गजलको संग्रहका लागि डा. परिश्रमीलाई हृदयतः धन्यवाद । सरस, सरल, सम्प्रेष्य गजलहरु काव्यचातुरीले पनि भरिपूर्ण छन् । यी गजल शाश्वत भावसम्पन्न छन् । युगबोध र नूतन विचारप्रवाहले सम्पन्न छन् । म कवि परिश्रमीको दीर्घजीवन, आरोग्य, खुशी र सुयशको लागि कामना गर्दछु । – दीन पन्थी

२. मास्टर बाबु ! डा.तुलसी भट्टराई बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन् । उनी प्राज्ञ, भाषाविद्, सम्पादक, लेखक, समीक्षक र अनुवादकसमेत हुन् । कथा, उपन्यास, कविता, समालोचना, यात्रा संस्मरण, भाषा विषयका डेढ दर्जन जति कृति प्रकाशित गर्ने डा. भट्टराईले कोरोनाको बन्दाबन्दीको समयमा आफ्नो पुरानो डायरी खोतलेर ‘मास्टर बाबु !’ उपन्यासको जन्म दिएको कुरा डा. भट्टराईकै अभिव्यक्तिबाट बुझिन्छ । वि.सं. २०३८ साउनमा तत्कालीन काठमाडौंमा डेरा गर्ने युवापुस्ताले भोगेको अनुभव आज यो उपन्यास पढ्दै जाँदा भर्खरै जस्तोको अनुभव हुन्छ । भौतिक संरचना केही फेरिएका छन् तर मानवीय व्यवहार र घरधनीले डेरावालमाथि गर्ने व्यवहारको वास्तविक चित्र त्यतिबेला मात्र होइन यतिबेला पनि एकै छ । खास त्यही पक्षको चित्रणमा यो उपन्यास अत्यन्त सफल छ । प्रसन्न जस्तै लाखौं युवाको वास्तविक कथालाई यस उपन्यासले चित्रण गरेको छ । दुई तीन घण्टाको छोटो बसाइमा पढेर सकिने यस उपन्यासमा यथार्थ र कौतूहल तत्त्वको सन्तुलन छ । जम्माजम्मी १०० पृष्ठमा संरचित उपन्यास संक्षिप्त भैकन पनि आफैमा पूर्ण छ ।

३. दयानिधि शर्मा स्मृति ग्रन्थ नेपालको इतिहासमा निष्ठापूर्ण राजनीति गर्दागर्दै छोटो समयमा धेरै कामहरु गरेर ख्याति कमाउने व्यक्ति दयानिधि शर्मा हुन् । उनको जन्म वि.सं. १९७२ सालमा गुल्मीको हरेवामा भएको हो । नेपालको विकट ग्रामीण बस्तीमा जन्मेर तत्कालीन समयमा पनि मन्त्रीसम्म बन्न पुगेका दयानिधि शर्मा हालसम्म अज्ञातजस्तै रहेका थिए । उनलाई वर्तमान जनमानससम्म पुर्याउनका लागि करुणानिधि शर्मा, हरि पथिक र तुलसीदास गौतमको सम्पादन र शोभा शर्मा, जानकी कोइराला र अनु शर्माको प्रकाशनमा दयानिधि शर्मा स्मृति ग्रन्थ, २०७९ मा प्रकाशित भएको छ । उहाँको मृत्यु भएको पनि झण्डै आधा शताब्दीपछि मात्र उहाँलाई ओझेल पर्नबाट जोगाउनका लागि सम्पादक र प्रकाशक मण्डलबाट भएको प्रयास अत्यन्त प्रशंसनीय छ ।

३१७ पृष्ठभित्र दयानिधि शर्मालाई विभिन्न आयामबाट चिन्ने व्यक्तिहरुद्वारा लिखित जीवनी र व्यक्तित्वसँग सम्बद्ध रचनाहरु समावेश गरिएको छ । परिशिष्ट खण्डमा चन्द्रकोट हुलाकको पहिलो दरबन्दी, निष्पक्ष ध्वनिको श्रद्धाञ्जलि, चन्द्रकोटको पौडेलको कुलपूजा र मुकुन्दहरि शर्माद्वारा रचित विचार विन्दु प्रस्तुत गरिएको छ र अन्त्यमा गुल्मी चन्द्रकोटका पौडेलको वंशावली समावेश गरिएको छ । दयानिधिको मृत्युको धेरै समयपछि सामग्री सङ्कलन गरिएकोले उहाँका समकालिक व्यक्तिहरुको अभावमा प्रस्तुत स्मृति ग्रन्थभित्र उहाँका वास्तविक कार्य र योगदानहरु स्पष्ट रुपमा समेटिन सकेका छैनन् । दयानिधिको जीवनवृत्तको स्पष्ट खाका यत्रो ग्रन्थमा भेट्टाउन नसक्नुले पाठकमा खल्लोपन ल्याउनु स्वाभाविकै हो । भाषागत केही त्रुटिको प्रसङ्ग छोडेर एउटा अथक राजनीतिक योद्धालाई चिनाउन गरिएको यो प्रयास अत्यन्त प्रशंसनीय छ । सम्पादक र प्रकाशकलाई साधुवाद !

४. पुस्तकालयसँगको जीवन यात्रा

भोलाकुमार श्रेष्ठ नेपालका वरिष्ठ र विशिष्ट पुस्तकालय कर्मी हुन् । चार दशकभन्दा लामो समय पुस्तकालय पेशालाई नै जीवनको कर्म मार्ग बनाएका श्री श्रेष्ठले २१३ पृष्ठभित्र विभिन्न पाँच शीर्षकमा आफ्नो पुस्तकालयसँगको जीवनयात्रा कृतिलाई पुस्तकारका रुपमा दिइएका छन् । पहिलो मूल शीर्षकलाई मेरो जन्मस्थल र परिवार नाम दिइएको छ । यसभित्र दुई उपशीर्षक छन् । दोस्रो शीर्षकमा मैले पढेका विद्यालयहरु राखिएको छ । यसभित्र पनि मैसुर विश्वविद्यालय र दिल्ली विश्वविद्यालयको चर्चा गरिएको छ । तेस्रो शीर्षकमा अध्ययन पूरा गरेपछि पुस्तकालय पेशालाई मूल पेशाका रुपमा अँगालेका श्रेष्ठले ‘मैले काम गरेका पुस्तकालयहरु’ अन्तर्गत विभिन्न पाँचओटा पुस्तकालयको चर्चा गरिएको छ । चौथो शीर्षकमा ‘म आबद्ध संघ–संस्था’ शीर्षकभित्र विभिन्न चारवटा संस्था नेपाल पुस्तकालय संघ, रिड नेपाल, रुम टु रिड र नेपाल बालसाहित्य समाजको चर्चा छ भने पाँचौं अर्थात् अन्तिम शीर्षकमा आफूले भ्रमण गरेका विभिन्न १५ वटा भन्दा बढी देशहरु र ती देशहरुका रहनसहन र वस्तुस्थितिको चर्चा छ । अन्तिममा स्रष्टा श्रेष्ठका पारिवारिक तस्वीरहरु राखिएका छन् । सरल, सरस भाषाशैलीमा आफू पुस्तकालयप्रति समर्पित भएका अनुभवहरुलाई सँगालेर एउटा उत्कृष्ट प्रेरणादायी कृतिका स्रष्टा भोलाकुमार श्रेष्ठ नेपाली वाङ्मयको इतिहासमा उत्कृष्ट स्रष्टाका रुपमा स्थापित छन् ।

५. कालो आकाश

नेपाल सरकारको निजामती सेवामा लामो समयसम्म सेवा गरी अवकाश प्राप्त जीवनलाई भगवान्का श्रीचरण कमलमा समर्पण गर्न सङ्कल्परत तपोनिष्ठ साधक दुर्गादत्त पौडेलको चौथो प्रकाशित कृति ‘कालो आकाश’ (२०७९) प्रकाशित भएको छ । स्रष्टाले कालो आकाशलाई विज्ञानले पनि मान्दै आएको ९द्यबिअप धजयभि० ‘ब्लाक होल’ सँग सापेक्ष रुपमा तुलना गर्दै यस कृतिभित्र विभिन्न १३ वटा समसामयिक जीवनजगत्का विषयवस्तुहरु माथि समीक्षा गरिएको छ । ‘नयाँ भगवान्’ शीर्षकबाट आरम्भ गरिएको यस कृतिको १३ औं शीर्षक कालो आकाश रहेको छ । यस शीर्षकले धार्मिक र वैज्ञानिक साक्ष्यको सापेक्षतामा कालो आकाश शीर्षकको सार्थकता पनि देखाएको पाइन्छ । कतै लेखकले मानिसको खोजी गरेका छन् भने कतै ईश्वर, पाप, धर्म र अभिशापका सन्दर्भमा विवेचना गरेका छन् । यस कृतिको अन्त्यमा रुरु गोसेवाश्रमको परिचय दिइएको छ भने अन्त्यमा उपसंहार खण्ड राखिएको छ । स्रष्टाले आफ्ना कृतिको रचनाको श्रेय परमात्मा परमेश्वरको असीम कृपाबाटै भएको निष्कर्ष दिइएका छन् । यस्तै अमूल्य ज्ञानरत्न पस्कने इच्छा भगवद्कृपा साधकलाई सधै रहिरहोस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।

६. शान्ति र स्वतन्त्रता

पेशाले इन्जिनियर चन्द्रकान्त आचार्यले आफ्नो ११ औं कृति शान्ति र स्वतन्त्रता ‘प्रकाशित गरेका छन् । विश्वसाहित्यको इतिहासमा अत्यन्त सारगर्भित उपन्यास रुसी लेभ तल्स्टोयको युद्ध र शान्ति, भारतीय आचार्य चतुरसेनको वैशालीकी नगरबधु र अमेरिकी हावर्ड फास्टको ‘आदि विद्रोही’ यी तीन उपन्यासको गम्भीर अध्ययनपछि तीनै कृतिको समीक्षात्मक चर्चा गरेर आदिदेखि हालसम्म मानिसले भौतिक वैभवभन्दा शान्ति नै रुचाउँछ र युद्धको लक्ष्य पनि शान्ति प्राप्त गर्नुतर्फ केन्द्रित हुन्छ भन्ने मूल अभिप्रायका साथ यो कृति तयार गरिएको छ ।

यस ग्रन्थमा तीनवटै कृतिलाई विभिन्न शीर्षकमा राखेर समीक्षा तथा विश्लेषण गरिएको छ । स्रष्टाले युद्ध र शान्ति उपन्यासलाई विभिन्न छ खण्डमा प्रस्तुत गरेका छन् । यसभित्र खण्ड एकमा पिटर्स वर्गको कुलीन समाज, रस्तोभ र बेजुखोम परिवार, लिसिए गोरीमा बल्कोन्स्की परिवार, सन् १८०५ को युद्ध काउन्ट पियर बेलुखोम र प्रिन्स अनातोलको विवाह प्रस्तावजस्ता शीर्षकहरु राखिएका छन् । त्यस्तै खण्ड दुईमा दुई शीर्षक, खण्ड तीनमा तीन, चारमा पाँच शीर्षक पाँचमा तीन शीर्षक र अन्त्यमा समीक्षा प्रस्तुत गरिएको छ । दोस्रो उपन्यास वैशालीकी नगरबधूलाई उपसंहारसहित विभिन्न १६ वटा उपशीर्षकमा प्रस्तुत गर्दै स्पार्टकस र विद्रोह, वारिनियाँ र समीक्षा मूल तीन उपशीर्षक छुट्याइएको छ । उपसंहार खण्डमा उदार हृदयले हेर्ने / सोच्ने हो भने आदिदेखि आधुनिक कालसम्म मान्छेको अन्तरहृदयले शान्ति नै चाहन्छ । मानिस युद्धमा प्रवृत्त हुनुका पछाडि पनि शान्तिको चाहना नै केन्द्रमा रहेको छ भन्ने भाव संचरण गर्ने उद्देश्यका साथ प्रस्तुत कृति संयोजन गरिएको छ ।

विश्व साहित्यका यस्ता गहन ग्रन्थहरुको केस्राकेस्रा केलाएर यति उत्कृष्ट कृति पस्कन सक्ने आचार्यको बौद्धिक क्षमता र धीरतालाई साधुवाद छ । यस ग्रन्थले विज्ञ पाठकलाई मूल कृतितर्फ नजर दौडाउन प्रेरित गरेको यथार्थ पनि लुक्न सक्दैन ।

७. प्यारो नेपाल

विदुषी रेणुका पन्थी शिक्षण पेशामा आबद्ध स्रष्टा हुन् । विभिन्न विविध विधामा फुटकर रचनाहरु तयार पारेकी रेणुकाको ‘प्यारो नेपाल’ खण्डकाव्य अकिञ्चनको हातमा परेको छ ।

उपजाति छन्दका १५२ श्लोक र तीन श्लोक लोक छन्द (पहिलो र अन्तिम दुईवटा) मा रचना गरिएको छ । यस खण्डकाव्यभित्र नेपालको प्राकृतिक सौन्दर्य, सामाजिक, सांस्कृतिक, धार्मिक पक्ष मानवीय परम्पराका कुराहरु, भौगोलिक परिवेशलगायतका विविध पक्षहरुलाई संक्षेपमा चित्रण गरिएको छ । संविधान निर्माण भएपछिका वस्तुस्थितिको चित्रण गर्न पनि खण्डकाव्यकार क्रियाशील भएको देखिन्छ ।

आकारगत दृष्टिबाट कृति सानो भए तापनि यसभित्र नेपालको प्राकृतिक, धार्मिक, सांस्कृतिक, भौगोलिक र राजनीतिक पक्षका विविध आयामभित्र छिरेर कृतिलाई पूर्णता दिइएको छ । कृति आफैमा पूर्ण र सुन्दर छ । स्रष्टाको कलम साहित्यका अन्य विधातर्फ पनि विस्तार हुँदै जाओस् हार्दिक शुभकामना ! – अकिञ्चन

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्