उदाउँदै गरेका हे सूर्यनारायण ! तपाईं विवस्वान्का पुण्यात्मा र प्रकाशमय पुत्र
हुनुहुन्छ । तपाईंले नै लोकहरुलाई जगाउनुहुन्छ, अँध्यारो भगाएर दिन
बनाउनुहुन्छ । तपाईं कालस्वरुप हुनुहुन्छ । तपाईंविना समयको चक्र चल्दैन ।
तपाईं नित्य, सनातन हुनुहुन्छ र सत् चित् र आनन्दस्वरुप पनि हुनुहुन्छ ।
तपाईं ज्ञानमय, आनन्दमय र निरामय हुनुहुन्छ । तपाईं भग अर्थात् समग्र ऐश्वर्य,
धर्म, यश, शोभा, ज्ञान र वैराग्यले युक्त भगवान् हुनुहुन्छ । हे भगवन् ! म
तपाईंलाई सादर नमन र ध्यान गर्दछु ।
।।१।।
उदाउँदै गरेका हे सूर्यनारायण ! प्रथमतः म तपाईंलाई नमस्कार गर्दछु ।
तत्पश्चात् अनेक रोगहरुबाट पीडित मेरो यो परिमार्जित वक्तव्य तपाईंले
सुन्नुहोस् । त्यो पीडाको अनुभवले थलिएको म कुनै पनि काम गर्न नसक्ने
भएँ । त्यसैले मैले यहाँ तपाईंको मात्र सम्झना र प्रार्थना गर्न सकें । अरुको त
सक्दै सकिनँ ।
।।२।।
उदाउँदै गरेका हे सूर्यनारायण ! तपाईंका किरणहरुद्वारा जगत् उज्यालो बनोस् ।
अँध्यारो हटोस् । उज्यालो र अँध्यारोको सँगै बसाइ हुँदैन । भगवन् ! मलाई
क्षमा गर्नुहोस् । मैले तपाईंलाई अर्घ समर्पण गर्नसमेत किमार्थ सकिनँ । मलाई
क्षमा गर्नुहोस् । एकचित्तले गायत्री जप्नसमेत मैले सकिनँ । मलाई कल्याण
गर्नुहोस् भगवन् ! मैले नित्य स्नान र सन्ध्यावन्दनसमेत गर्न सकिनँ । म
तपाईंलाई नमस्कार मात्र गर्न सक्छु ।
।।३।।
मलाई क्षमा गर्नुहोस् भगवन् ! देवता र पितृको तर्पणविधिमा पनि म सक्षम
भइनँ । अहिले म एकचित्तले पाठ गर्न पनि सक्दिनँ । यहाँ जस्तो ठाउँमा बसेर
वा सुतेरै भए पनि यदुकुलभूषण भगवान् श्रीकृष्णलाई बारम्बार सम्झेर सम्पूर्ण
पापहरु नाश गर्ने विचार गरेको छु । मेरा लागि यस अवस्थामा अरु कुराले के
नै हुन्छ र अब !
।।४।।
← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्
हाम्रो पुरुषार्थ अंक ९६ · गीत/कविता/गजल/मुक्तक · पृ. २५
मानसिक एवं शारीरिक पीडाबाट पीडित पात्रले दिनदिनै गर्नयोग्य प्रार्थना
दीन पन्थी