मलाई मिलन समीर मन पर्दैन !
किनकि मैले चाहेको जस्तो
उसले कहिल्यै पनि गर्दै गर्दैन
जे गर्छ, आफ्नै क्षमताले गर्छ,
अरु कसैको भरमा अघि सर्दैन !
बोकेर स्पष्ट देखिने युगीन विचार
सदैव सिधा कुरा गरिरहेको हुन्छ
कहिल्यै कुनै किसिमको भ्रम छर्दैन
बनेर अरु कसैको आँखाको कसिङ्गर
अविरल आँसुसँगै पखालिएर झर्दैन !
मैले देखिरहेको जस्तो जीवन्त दृश्य
उसको नाङ्गो फुटेको आँखाले
उसले कहिल्यै पनि देख्दै देख्दैन
मैले लेखिरहेको जस्तो अर्थपूर्ण कविता
उसको बाङ्गो टुटेको कलमले
उसले कहिल्यै पनि लेख्दै लेख्दैन !
मैले भनेको त केही पनि मान्दै मान्दैन
स्वयं आफैंले फेरि कहिल्यै जान्दै जान्दैन
उसको यो उमेरले केही पनि धान्दै धान्दैन
मेरो कुनै पनि कुरो कहिल्यै खाँदै खाँदैन
मैले भनेको ठाउँमा त झन् जाँदै जादैन !
अरु जसले जेसुकै सोचिरहेको भए पनि
वास्तविक धरातलको बलियो जगमा टेकेर
वैकल्पिक बाटो बनाउँदै उभिएर आफ्नै खुट्टामा
चालेर अहिलेसम्म अग्रगामी पृथक् पाइलाहरु
बिझाउँदै प्रत्येक पाइलैपिच्छे जङ्गली नीलकाँढा
करादीखोलादेखि पैदल हिंडेरै काठमाडौंसम्म
जसरी पनि पुगेरै छोड्छु भनेर कम्मर कसिरहेको
एउटा अर्को दुस्साहसी संघर्षशील स्वप्नजीवी
सहृदयी सिर्जनशील नाम हो रहेछ मिलन समीर,
सदाबहार हरियो डाँडामाथि पुगिसकेको पहेंलो घाम
फेरि फर्केर फेंदीतिरको ओरालो बाटो झर्दै झर्दैन
त्यसैले त मलाई मिलन समीर कत्ति पनि मन पर्दैन !
मैले सदैव एकथोक भनिरहेको हुन्छु
उसले सदैव अर्कैथोक गरिरहेको हुन्छ
म घनघस्याको उकालो चढिरहेको हुन्छु
ऊ आँधिखोलाको ओरालो झरिरहेको हुन्छ
अरुलाई आजीवन उज्यालो देखाउँदै
आफू चाहिँ ओझेलमा परिरहेको हुन्छ !
मैले एकथोक सोचिरहेको हुन्छु
उसले अर्कैथोक सोचिरहेको हुन्छ
म फूल बनेर फुलिरहेको हुन्छु
ऊ काँढा बनेर घोचिरहेको हुन्छ !
फूल बनेर अरु हिंड्ने मूलबाटोमा
मैले आफैंलाई ओछ्याइरहेको हुन्छु
पाइलैपिच्छे नीलकाँढा बनेर उसले
सदैव मलाई पछ्याइरहेको हुन्छ !
मैले उसलाई भुइक
र्ं ो धूलो सम्झिरहेको हुन्छु
उसले मलाई हिउँदे कुलो सम्झिरहेको हुन्छ
मैले उसलाई आँखाको फुलो सम्झिरहेको हुन्छु
उसले मलाई चिसो चुलो सम्झिरहेको हुन्छ !
मैले उसलाई सदैव रिझाइरहेको हुन्छु
उसले मलाई सदैव बिझाइरहेको हुन्छ !
मसँग जत्तिकै त ऊ अहिलेसम्म
अरु कसैसँग पनि हिडेको छैन
त्यसैले त मैले जति नजिकबाट
उसलाई अरु कसैले पनि चिनेको छैन
पहिले त्यति धेरै नजिक भएर पनि
एक आपसमा मनमुटु मिलेको छैन
अहिले यति धेरै टाढा भएर पनि
हाम्रो सम्बन्धसूत्र छिनेको छैन !
निवर्तमान समयको मूलबाटोमा
लागिरहेको बेला सघन तुवाँलो
अल्झिएर बल्झिदै बीचबाटोमा
आफ्नै छायाँले छल गरिरहेको बेला
अरु सबै मिलेर भ्रम छरिरहेको बेला
स्वयं ऊ आफैं अलपत्रै परिरहेको बेला
पर्खिएर प्रमिथसको गाढा उज्यालो
आफ्ना दुई आँखाको बाटो भएर
आँधिखोले ओरालो झरिरहेको बेला
अरु कसैको ठुटे पुच्छर समातेर घिसारिदै
आफ्नै जीवनयात्राको वैतरणी तरिरहेको बेला
मलाई मेरै जीवनको मूलबाटो देखाइदिन खोज्छ
मेरो निधारमा आफ्नो दुर्भाग्य लेखाइदिन खोज्छ !
मैले भनेको नमानेपछि . .
जतिसुकै अर्थपूर्ण भएर के गर्नु ?
उसले भनेका कुनै पनि कुराहरु
उसले गरेका कुनै पनि कामहरु
कुनै पनि कोणबाट चित्तै बुझ्दैन !
चित्तै नबुझ्ने भएरै त होला,
मलाई मिलन समीर मन पर्दैन !