म को हुँ कहाँबाट आएँ जगत्मा ?
धकेल्ने यहाँ को छ त्यो लौ मफत्मा ?
लिई हात रित्तै म आएँ कसोरी ?
म जान्छु कहाँ? हात रित्तै गराई ।।१।।
थापाथली, काठमाडौं
छ को त्यो मलाई यहाँ श्वास भर्ने ?
छ के ध्येय त्यस्को मलाई हिँडाल्ने ?
भर्यो प्राण कस्ले ममा के विचारी ?
बताऊ न साथी छ के खै चिनारी ? ।।२।।
म बोल्छु कसोरी ? म हिँड्छु कसोरी ?
म देख्छु कसोरी ? म सुन्छु कसोरी ?
कहाँबाट निस्कन्छ ? ऊर्जा अचम्म !
कसोरी म नाच्छु यहाँ छम्म–छम्म ? ।।३।।
यो पुत्लासरि देहमा भित्र के छ ?
ध्वनि, तेज, गन्ध, रस, स्पर्श काँ छ ?
कहाँ अड्छ वायु ? कहाँ बस्छ प्राण ?
बताऊ न साथी कहाँ हुन्छ ज्यान ? ।।४।।
यो धोक्रोसरि देहमा भित्र के छ ?
छ बोक्रो छुँदा भित्र को गर्जंदो छ ?
कहाँबाट निस्कन्छ बोली फरर्र ?
अचम्मै छ जादू गुदीभित्र के छ ? ।।५।।
न हूँ हातखुट्टा न हूँ नाक, कान
न हूँ चक्षु, जिभ्रो, न हूँ टाउको म ।
न छाती, न कन्धा, म बस्छु कहाँ हँ ?
बताऊ न साथी हराएँ कहाँ म ? ।।६।।
हरायो कहाँ त्यो मिठो बाल्यकाल ?
बिलायो कहाँ त्यो युवा, प्रौढकाल ?
बितेको कथा, काल सम्झन्छ कस्ले ?
छ साक्षी कहाँ बस्छ ? के गर्छ त्यस्ले ? ।।७।।
थियो पूर्व के को जुनी थाह छैन
थिएँ मानिसै वा पशु वा अरु म ।
पढूँ जे जति चेत खुल्दैन केही
छ आश्चर्य लाग्दो कहाँ पुग्छु फेरि ? ।।८।।
म को हुँ ? मलाई भयो चिन्न गाह्रो
म देही हुँ वा देह हुँ भो पसारो ।
म छामिन्न छामेर, देखिन्न कत्ति
चिनाऊ न साथी म के हुँ नढाँटी ।।९।।
कहाँ पुग्छु घुम्दै कहाँ लिन्छु जन्म ?
कहाँ मिल्छ विश्रान्ति ? क्यै थाह छैन ।
म यात्रु, फिरन्ता कति कोश धाऊँ ?
अविश्रान्त यात्रा कसोरी बिसाऊँ ।।१०।।
भएँ श्रान्त, विक्षुब्ध, विक्षिप्त आज
नचिन्दा स्वयंलाई भो लौ फसाद ।
पढूँ जे जति ज्ञान खुल्दैन केही
हिंडूँ जे जति मार्ग छोटिन्न केही ।।११।।