मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · स्थायी स्तम्भहरू · पृ. ११३

किरण पुस्तकालयको पातो

सचिव

पुस्तकालयका गतिविधिहरु

२०७९ साल कार्तिक २७ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको गतेअनुसारको जन्मदिनको अवसरमा महाकविको ११४ औं जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइयो । किरण पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष शशि पन्थीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ पत्रकार तथा लेखक करुणानिधि शर्मा र विशिष्ट अतिथिमा चन्द्रकोट बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष केशव न्यौपाने रहनुभएको थियो ।

यसै अवसरमा किरण पुस्तकालयको ५४ औं वार्षिकोत्सव पनि मनाइयो । कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य दिनुका साथै विभिन्न कविहरुले कविता पाठ गर्नुभएको थियो । सोही अवसरमा करुणानिधि शर्मा, हरि पथिक, तुल्सीदास गौतमद्वारा सम्पादित तथा शोभा शर्मा, जानकी कोइराला, अनु शर्माद्वारा २०७९ मा प्रकाशित निष्ठापूर्ण राजनीतिका अथक योद्धा दयानिधि शर्मा स्मृति ग्रन्थको परिचर्चा गरी उक्त कृति कार्यक्रमका सहभागीहरुलाई वितरण गरिएको थियो । रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पसप्रमुखहरु दीन पन्थी र चन्द्रकान्त पन्थी तथा उप–प्राध्यापक रमाकान्त पौड्यालले उक्त कृतिबारे परिचर्चा गर्नुभएको थियो । सो समारोहमा स्व.दयानिधि शर्माको स्मृतिमा उहाँका कनिष्ठ सुपुत्र श्री हेमनिधि शर्माले पुस्तकालय सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले रु.१,११,१११।– को अक्षयकोष स्थापनार्थ सहयोग राशि पुस्तकालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

यसै गरी पुस्तकालयका विशिष्ट सदस्य तथा रेसुङ्गा नगरपालिकाका पूर्व नगरप्रमुख डिल्लीराज भुसालले आफू बाचुञ्जेल प्रत्येक वर्ष पुस्तकालयको दैनिक सञ्चालनमा सहयोग पुर्याउनका लागि पुस्तकालयको वार्षिकोत्सवका दिन रु.१ लाखको राशि पुस्तकालयलाई प्रदान गर्ने पूर्व प्रतिबद्धताअनुसार उक्त रकम पुस्तकालयलाई प्रदान गर्नुभएको छ ।

पुस्तकालय सञ्चालनमा लक्षाधिक सहयोग गर्ने श्री हेमनिधि शर्मा र श्री डिल्लीराज भुसालप्रति पुस्तकालयले स–धन्यवाद हार्दिक आभार प्रकट गरेको छ ।

पुस्तकालय भवनको भुईंतला हाल प्रयोगमा ल्याउन आवश्यक जनशक्ति, साधन र स्रोत पुस्तकालयसँग नभएको र बिजुलीबत्ती, पानी, टेलिफोन, नेट आदिको खर्च र भवनको मर्मत–सुधारका कामहरु पनि बढ्दै गएकाले उक्त भुईंतला बहालमा लगाउने उद्देश्यले नबिल बैङ्कको शाखा तम्घासमा सञ्चालन गर्नका लागि किरण पुस्तकालय र नबिल बैङ्कका बीच २०७९ कार्तिक ३० गते घरभाडासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा किरण पुस्तकालयको तर्फबाट अध्यक्ष शशि पन्थीले र नबिल बैंकको तर्फबाट सिद्धबाबा क्लस्टर प्रमुख पदमराज उप्रेतीले हस्ताक्षर गर्नुभएको थियो । बैङ्कका लागि आवश्यक व्यवस्था मिलाई २०७९ पुस ११ गतेदेखि सो बैङ्कले किरण पुस्तकालयको भवनबाट आफ्नो सेवा प्रारम्भ गरेको छ ।

मिति २०७९/८/१८ मा किरण पुस्तकालय र जानकी साहित्य प्रतिष्ठानबीच एक सम्झौता गरी पुस्तकालयले प्रदान गर्दै आएको रु.५ हजारको जानकी साहित्य पुरस्कारलाई २०८० सालदेखि रु.१० हजारको बनाउने गरी सम्झौतापत्र आदानप्रदान कार्य सम्पन्न भयो । उक्त सम्झौतापत्रमा किरण पुस्तकालयको तर्फबाट श्री शशि पन्थी र जानकी साहित्य प्रतिष्ठानको तर्फबाट श्री शङ्कर गौतमले हस्ताक्षर गर्नुभएको थियो । जानकी स्मृति अक्षय कोषमा यस वर्ष रु.५० हजार थप गरी जम्मा रु.२,०१,१५१ को अक्षयकोष बनाइएको छ ।

२०७९ साल मंसिर २४ गते किरण पुस्तकालयको ५५ औं सभा सम्पन्न भयो । उक्त सभाले पुस्तकालयको वार्षिक कार्यक्रम, नीति र बजेट पारित गर्नुका साथै लेखापरीक्षणको प्रतिवेदनमाथि व्यापक छलफल गरी सामान्य संशोधनसहित पारित गर्यो । सो सभाले किरण पुस्तकालयको विधान २०७२ मा २–३ ठाउँमा समयानुकूल केही सामान्य संशोधन गर्यो ।

२००९ साल पुस १५ गते किरण पुस्तकालयको आयोजनामा कविशिरोमणि लेखनाथ पौडेलको १३९ औं जन्मजयन्ती सधै जस्तै विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । पुस्तकालयका कार्यवाहक अध्यक्ष दीन पन्थीको अध्यक्षतामा भएको सो समारोहमा पुस्तक वृद्धि, रचना पाठ, प्रवचन आदि मुख्य कार्यक्रमहरु रहेका थिए । उत्तः कार्यक्रमको प्रमुख अतिथिमा रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक श्री रमाकान्त पौडेल हुनुहुन्थ्यो ।

मिति २०७९ पुस २९ गतेका दिन किरण पुस्तकालयका उपाध्यक्ष तथा हाम्रो पुरुषार्थका सहसम्पादक श्री दीन पन्थीद्वारा लिखित तथा किरण पुस्तकालयबाट प्रकाशित ‘हुटिट्याउँको मन’ शीर्षकको निबन्धात्मक कृतिका लागि अनुराग साहित्य समाज, नेपाल, देवदह नगरपालिका, रुपन्देहीले २०७६ सालको नरेन्द्र अनुराग सम्मानबाट श्री दीन पन्थीलाई सम्मान गरेको थियो ।

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्