मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · लेख/आलेख/निबन्ध/समीक्षा/टिप्पणी/संस्मरण/व्यक्तिवृत्त · पृ. ८२

कागजका डुँगाहरु

डा. विशाल पन्थी

तिनताका पानी पर्दा बडो मज्जा लाग्थ्यो । जिन्दगी तिनै थोपा–थोपा पानीमा कति रमाउँथ्यो । त्यो झमझम झरीमा, ती पानीले चुटेका पातहरु, त्यो पानीले बगाइदिएको धुलो र त्यही पानीले बनाइदिएको नौरंगे इन्द्रेनी, बालापनका रंगीन मेमोरिजहरु । हाय ! चुलबुल–चुलबुल गर्दै पानीमा उफ्रनु हामी केटाकेटीलाई गज्जब लाग्थ्यो । पानीले सर्लक्कको कपाल भिजेर लत्रक्क पर्थ्यो । कपडा सबै भिजेर निथ्रुक्कै हुन्थे । ज्वरो आउने डर मनमा कताकता लाग्थ्यो । घर आई तातो चिया, भुटेका मकै र दुई चार मिनेट गाली खानुको मजा बेग्लै आउँथ्यो । एक दुई दिनमा कपालमा भुसुना र लिखाले उधुम मच्चाउँथे । ती दिनहरु त्यसरी नै बगे जसरी झरीको पानी बगेर गयो । वो भी क्या दिन थे !

हाम्रो घरअगाडि बाघका छोरा बस्ने ठूलो बाँसघारी थियो । हामीले खानेबेला दुःख दिँदा हामीलाई तिनै बाघका छोराले खाइदिने डर हुन्थ्यो । माइली दिदीलाई २–३ पटक तर्साएको तथ्य घरमा बेला–बेला निस्कन्थ्यो । हामीले खेल्दा त्यो बाँसघारीमा हराएका कैयौं क्रिकेट बलहरु कहिल्यै भेटिएनन् । चिलौनी, ओखर र लप्सीका दाना भूँईमै बिलाउँथे । रातिमा त्यो बाटो हिड्दा मनमनै महामृत्युञ्जय मन्त्र जपिन्थ्यो । हे ! हे ! पानी परेको बेला त्यहाँबाट ठूलो भल बग्थ्यो । वेगले बग्ने पानी त्यहाँबाट टाढा जान्थ्यो । धेरै टाढा कहाँ हो कहाँ । ठुल्देईले रैंदी, छल्दी, बडीगाड, गण्डकी गंगा हुँदै समुद्रमा मिसिने कुरा गर्नु हुन्थ्यो । म अचम्म पर्थें अनि इम्याजिनेशनको डुंगा चढी “एक अनोखी भोयज” मा निस्कन्थें त्यो भलसँगै ।

कक्षा ४ मा पढ्दा बाले मलाई पहिलो पटक कागजको डुँगा बनाउन सिकाउनुभयो । आखिर रंग नै त हो, कापीका पानाका असंख्य डुँगा बने । किताबका पानाका पनि डुँगा बने होलान् सायद, हु नोज ? पानी परेको बेला घरको बलेनीबाट छाडिदिएका ती मेरा डुँगा त्यो भलमा तलमाथि गर्दै कताकता पुगे होलान्–मेरा कलकलाउँदा सपनाहरु बोकेर मेरा बालापनका मिठा अनुभव बोकेर । कति ठाउँ सेयर गरे होलान् मेरा डुँगाले ? कति व्यवधान भोगे होलान् तिनले ? छल्दी गण्डकी, गंगाजी हुँदै समुद्रमै पो पुगे कि ती मेरा डुँगाहरु ? डार्बिन, कोलम्बस, क्याप्टेन फिलिप्स र भास्को डिगामाहरुका जहाजलाई फेला पारे कि ? कतै ज्याक स्प्यारोको फन्दामा पो परे कि ? कतै ट्रिजर आइल्याण्डतिर बरालिए कि ? कतै सोमालियाका हन्टरहरुले हाइज्याक गरे कि ?

कति डुँगाहरुमा मेरा हठहरु बगे होलान् । कतिमा मेरा रहरहरु बगे होलान् । कति डुँगाहरुमा मेरा चञ्चलता र उत्सुकताहरु बगे होलान् । कति डुँगासितै बगेका समयहरु सम्झेर अहिले म भावविभोर हुन्छु । ती डुँगाहरुमा मेरा बालापनका स्मृतिहरु पनि बगेका छन् । कतिमा मेरा गणितका हिसाब बगे त कतिमा विज्ञानका असाइनमेन्टस्हरु । कतिले मेरा प्रेमिल नोटेशन बोके होलान् त कतिले गाउँठाउँका भाकाहरु । कतिले बाका त्यागहरु बोके होलान् त कतिले आमाका मायाहरु । कतिले प्रेमका अक्षरहरु बोके होलान् त कति सुमधुर यादहरु । ती कागजका डुँगाहरु सम्झेर आज पनि भावुक बन्छु । ती मबाट समयसितै टाढिएका छन् । टाढिए पनि मधुर स्मृति बनेर मेरो अन्तर्मनमा बस्न पुगेका छन् । बग्दै–बग्दै पुगे होलान् ती अनन्त सागरमा जहाँ मायाका अनेकौं भाकाहरु ज्वाराभाटासँगै गुञ्जिन्छन् । ती कति बगे होलान् कति डुबे होलान्, हु नोज ?

जुंगाका रेखा होस् वा भाग्यको लेखा, समय आफ्नै गतिमा चल्दो रहेछ । पानी पनि आफ्नै गतिमा बग्दो रहेछ निरन्तर, अविरल । आखिर जिन्दगी पनि त डुँगा झैं रहेछ खतराहरु झेल्दै बगिरहने, बढिरहने । आँधी र तूफान आइरहन्छन् यात्रामा सधै । प्यासिफिकको यस कोस्टमा डुँगा देख्दा म बाल्यकालीन यादहरुमा डुबुल्की मार्छु, स्मृतिको सागरमा सयर गर्छु । त्यहाँ म स–साना कागजका डुँगाहरु देख्छु । ती देख्दा मेरो मनमा भावनाहरु सल्बलाउँछन्, प्रश्न उठ्छन् । ती कतै मेरा बाल्यकालीन डुँगाहरु त होइनन् मैले झरी पर्दा भलमा बगाएका ? कतै मेरा अनुभूतिहरु जोगाउन आएका भूतकालका दूतहरु होइनन् ? ती बगिरहेका डुँगामा म आफूलाई देख्दछु र त्यो बगिरहेको पानीमा म त्यो बाँसघारीको भल देख्दछु । ती भावहरु बोकेका डुँगाहरु हेर्दै म संवादहीन हुन्छु । मनमनै रमाउँछु ।

पृष्ठभूमिमा पिङ्क फ्लोयडको “कम्फरटेब्ली नम्ब” बज्दैछ । म पनि बिस्तारै कम्फरटेब्ली नम्ब हुँदैछु ।

हाय ! समय । हाय ! मेरा डुँगाहरु । हाय ! मेरा प्रिय यादहरु ।

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्