मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · गीत/कविता/गजल/मुक्तक · पृ. १०४

गृहलक्ष्मी

रामप्रसाद पन्थी

विवाहको वर हुँदा तिमी भयौ वधू
जिन्दगीमा कति सुधा कति दियौ मधु
बालापन बितेका ती छोडी गाउँ–घर
गृहलक्ष्मी बनी आयौ परी मेरै भर ।
नजानेको गाउँ ठाउँ नयाँ नौला मान्छे
चुलो चौको सम्हालेर बनिदियौ भान्छे ।
दैलोपोतो तिम्रै जिम्मा मेलापात सारा
आधा रात गाग्री बोकी धायौ कुवा–धारा ।
उमेरमा सानी थियौ काम–कुरा पाका
रुपरङ्ग राम्रो तिम्रो मिठो बोली भाका ।
पकाएर मिठोचोखो खुवाएर टन्न
मेरा लागि व्रत बस्छ्यौ थाल्छ्यौ कथा भन्न
गुन्यु–चोली लगाएर चुरा–पोते चट्ट
धोक्रो बोकी मकै पिस्न जान्छ्यौ पानीघट्ट
चिसो लाग्छ तातो पानी खानू है त भन्छ्यौ
नुहाएर चिसै पानी मन्दिरमा जान्छ्यौ
छोराछोरी भन्ट्याङ्भुन्टुङ् मलमूत्र बिष्टा
नमानेर लाजघिन खेल्यौ थाङ्ग्राभोटा
सन्चो छैन भनें भने बनी कविराज
ओखतीको धुलोमुलो दिन्छ्यौ हर साँझ ।
खोजीखोजी धोई दिन्छ्यौ मैला लुगाफाटा
हिड्न थाले मुस्काएर भन्छ्यौ सि यु टाटा ।
सिर्जनाकी स्रोत तिमी ममताकी खानी
तिमी धाई तिमी साथी हृदयकी रानी ।
लोभ–इर्ष्या कत्ति छैन चाह छैन धेरै
तिमी लक्ष्मी सरस्वती राधा गौरी मेरै ।।

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्