तिमी थियौ र जिन्दगी फुलेको फूलझैं थियो
तिमी गयौ र जिन्दगी दुखेर शूलझैं भयो
उदास क्षुब्ध शोकमा तिमी विना छ जिन्दगी
गरेर हेर एक्सरे मभित्र छौ तिमी तिमी
मसक्क मस्किँदा तिमी खुली बहार आउँथ्योे
उता कतै दुख्यो भने यता चसक्क दुख्दथ्यो
तिमीविना फिका–फिका निरास देख्छु चाँदनी
गरेर हेर एक्सरे मभित्र छौ तिमी तिमी
जता जता थियौ तिमी त्यतै वसन्त फुल्दथ्यो
जलाउँथ्यौ तिमी स्वयम् खुशी र हर्षकोे दियो
तिमी थियौ र साथमा थिएन क्यै कुरा कमी
गरेर हेर एक्सरे मभित्र छौ तिमी तिमी
बस्यौ नसानसा तिमी र रक्तको प्रवाहमा
तिमी प्रतीक बिम्बमा र छन्दको सुगन्धमा
गएँ भन्यौ तथापि छौ सदैव दृश्यमा तिमी
गरेर हेर एक्सरे मभित्र छौ तिमी तिमी
अनन्त राग प्रेमका चराहरु सुसेल्दछन्
छरेर ज्योति प्रीतको हजार दीप जल्दछन्
बदल्छ विश्व प्रेमले र दिन्छ प्रेम रोशनी
गरेर हेर एक्सरे मभित्र छौ तिमी तिमी