मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · गीत/कविता/गजल/मुक्तक · पृ. ४४

गल्ती–खल्तीको !

धनराज गिरी

त्यसो त ऊ मेरो अति मिल्ने साथी हो
दोस्त हो
यार हो
मित्र हो
बाहिर पनि हो
भित्र पनि हो
विचित्र हो
कमिजमा
कोटमा
प्यान्टमा
ज्याकेटमा
उसको अस्तित्व कहाँ छैन र?
ऊ
एक सहयात्री हो
साथ दिने भएर साथी हो
निःसन्देह साथी हो
उसको नाम हो –– खल्ती
पर्याय –– गोजी
पकेट, बगली
गली गली बगली
जसरी
जीवनमा
अति सरल बन्नु
मेरो गल्ती भयो
अति इमानको गीत गाउनु, मेरो भूल भयो
सबैमाथि भरोसा गरेर म अभियुक्त कहलिएँ
अति फेसबुके लती बनेर
लत, कुलत, आदत र गलत भयो
अराजक नाम पाइयो
हो
मेरो खल्तीले पनि एउटा गल्ती गर्यो
खल्तीको गल्ती
मेरो मित्रको अपराध
मात्र एक
एक भूल
एक मिस्टेक
गल्ती, मेरो खल्तीको
सुन्ने हजुर ?
मात्र एक गल्ती
मेरो खल्तीले जहिले पनि रित्तो हुन मात्र जान्यो
रित्तो खल्ती – उत्तरआधुनिक गल्ती !

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्