मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · लेख/आलेख/निबन्ध/समीक्षा/टिप्पणी/संस्मरण/व्यक्तिवृत्त · पृ. ६१

बुद्धिजीवीको गति

पद्मप्रसाद शर्मा

केही समय यता बुद्धिजीवी भन्ने शब्द निकै सुन्न पाइन्छ । बुद्धिजीवी शब्द आफैमा गहन शब्द हो । जो व्यक्तिले आफ्नो बुद्धिबाट आफ्नो जीवननिर्वाह गरेको हुन्छ त्यो व्यक्ति बुद्धिजीवी वा विद्वान् भनेर जान्न सकिन्छ । हरेक वस्तुलाई विश्लेषण गरेर हेर्ने बुझ्ने काम बुद्धिजीवीको हो । आफ्नो बुद्धिले अरुलाई राम्ररी प्रभाव पार्न सक्ने र आफ्नो जीवन आफ्नै बुद्धिबाट धानेको व्यक्ति वास्तवमा बुद्धिजीवी हो । यसलाई ठोस रुपमा भन्नु पर्दा बौद्धिक काम गरेर जीवन चलाउने व्यक्ति नै बुद्धिजीवी हो भनिन्छ । यसका बारेमा योभन्दा लामो छलफल चाहिन्छ जस्तो लाग्दैन ।

हाम्रो समाजका कतिपय मानिसले शारीरिक श्रम गरेर जीवन धानेका हुन्छन् भने अर्को थरीकाले शारीरिक श्रम र बौद्धिक श्रम अर्थात् काम गरेर जीवन धानेका हुन्छन् । झन् अर्कोथरी बौद्धिक काम गरेर मात्र जीवन चलाउने खालका हुन्छन् । केही कदम अलिक पर गएर हेर्ने हो भने अर्का एक थरी मानिसहरु भिक्षा मागेर पनि जीवन धान्ने खालका हुन्छन् । भिक्षा लिनेहरुमध्येमा दुई थरीका मानिसहरु हुने गर्दछन् । एकथरी योगीहरु अर्थात् योग धारण गरेका र घरगृहस्थी त्यागेर हिंडेकाहरुले भिक्षाटन गर्दछन् भने अर्का थरी विभिन्न कारणले शारीरिक कार्य र बौद्धिक कार्य गर्न नसक्ने र बौद्धिक क्षमता पनि नभएकाहरुले भिक्षा मागेर जीवन निर्वाह गर्ने गर्दछन् । अरुसँग भिक्षा लिएर जीवन धान्नेहरु मध्येमा योग धारण गरेका र घरगृहस्थी त्यागेर हिंडेकाहरुको भिक्षाटन स्वाभाविक मानिन्छ । यस्ता व्यक्तिहरु घरघरमा पुगेर अलख जगाएर भिक्षा लिने र जीवन चलाउने गर्दछन् । विभिन्न कारण आर्थिक जोहो गर्न नसकेका र शारीरिक श्रमसमेत गर्न नसकेकाहरुलाई भिक्षा लिने कार्यमा लाग्नुभन्दा पनि उनीहरुको लागि नागरिकको हैसियतले राज्यबाट दिने सुविधा दिनुपर्दछ । उनीहरुको जीवन निर्वाहको लागि केही सुलभ व्यवस्था सरकारबाट मिलाउन सक्नुपर्दछ । योगधारण गरेकाहरु हरेक घरबाट भिक्षा लिने गर्दछन् । उनीहरुमध्ये कतिले योग साधनाका बारेमा पनि जनचेतना फैलाउन सक्छन् । उनीहरु शारीरिक रुपले त्यस्तो दुर्बल देखिदैनन् । जीवन धान्ने उनीहरुको मार्ग त्यही हो । उनीहरुका लागि सरकारले व्यवस्था गरेर पनि हुँदैन जस्तो लाग्दछ । हुन त सबै योगधारण गरेकाहरु भिक्षाटन गर्दैनन् । कतिपय मठ मन्दिरमा बस्ने त्यहीं न्यास ध्यान गर्ने र मठ मन्दिरमा केही कार्यमा समावेश हुने गर्दछन् । हाम्रा कतिपय मठमन्दिरहरुमा नियमित पूजाआजा हुने गर्दछन् । जहाँ नियमित पूजाआजा हुने गर्दछन् त्यस स्थानमा जीवन धान्न त्यति गाह्रो हुँदैन त्यहाँ आयस्रेंतको कुनै न कुनै व्यवस्था रहेको हुन्छ । केही योगीहरु मठ मन्दिरमा बसे पनि भिक्षाटनबाट आफ्नो जीवन गुजारा गर्दछन् । जीवन धान्ने विभिन्न माध्यम रहने हुनाले हाम्रो समाजका धेरै थरीका मानिसहरु देखापर्दछन् । उनीहरु विभिन्न मार्गबाट आफ्नो जीवन चलाउने गर्दछन् ।

आजको हाम्रो विषयवस्तु बुद्धिजीवीहरुको जीवन धान्ने तरिका र उनीहरुका कार्यकलापको बारेमा छलफल गर्ने रहेकाले केही शब्दहरु यसतर्फ कोर्ने जमर्को गरिएको छ । शारीरिक रुपले अशक्त भएकाहरु पनि बौद्धिक काम गर्न सक्ने खालका हुन्छन् । हामीले हाम्रो समाजमा यस्ता व्यक्तिहरुको संख्या केही पाउन सक्छौं । शारीरिक रुपले सबल भएकाहरुमा पनि शारीरिक श्रम गर्नसक्ने र बौद्धिक श्रम गर्नसक्ने खालका हुन्छन् भने शारीरिक रुपले सबल नभएकाहरु क्षमताअनुसार बौद्धिक श्रम मात्र गर्न सक्दछन् । कतिपय आफ्नो जीवन धान्ने आधार पनि नभएका र बौद्धिक क्षमता पनि कम भएकाहरु या त सामान्य शारीरिक श्रममा भर पर्दछन् या त भिक्षाटनमा रहेर जीवन धानेका हुन्छन् । यस्ता खालका व्यक्तिहरु पनि दुई थरीका हुन्छन् एक थरी घर घरमा पुगेर भिक्षा माग्छन् भने अर्कोथरी कुनै निश्चित स्थानमा बसेर गीत संगीत वा अन्य कुनै अनुनयविनयका शब्दहरु प्रयोग गरेर भिक्षाका लागि हात पसारेर बस्ने गरेको देख्न सकिन्छ ।

जसले बौद्धिक श्रम गर्दछ त्यसले शारीरिक श्रम कम गर्दछ । बौद्धिक श्रम गर्नेहरु लेख्ने र बोल्ने गरेर वा कुनै चित्र संकेत आदिका माध्यमबाट आफ्नो जीवन चलाउने गर्दछन् । यस्ता खालका मानिसबाट हाम्रो समाजका व्यक्तिहरु धेरैले धेरै अपेक्षा गरेका हुन्छन् । कतिपय बोल्ने लेख्नेहरुले धेरैको चित्त बुझाएका हुन्छन् भने कतिले खासै चित्त बुझाउन सकेका हुँदैनन् । चित्त बुझाउन सक्नु उनीहरुको महानता हो । यसलाई सारमा भन्दा के भन्न सकिन्छ भने धेरैलाई माया गरेर धेरैको रक्षा गर्न जान्ने मानिस बुद्धिजीवी हो । त्यस्ता व्यक्तिहरु व्यवहारमा कुशल हुन्छन् । बोलीमा नम्रता भएका हुन्छन् । अरुको डाह नगर्ने, आत्मसंयमित हुन्छन् । आफ्नो बुद्धिको प्रयोग कहाँ कसरी गर्ने भन्ने कुरा समयमा बुझेर लेखर वा बोलेर व्यक्त गर्नेहरुले वास्तवमा आफू बुद्धिजीवी भएको प्रमाण दिन सक्छन् । समय चिन्न सक्ने र समयको विश्लेषण गर्न सक्नेहरु वास्तवमा बौद्धिक श्रम गर्ने कोटिमा पर्दछन् ।

हाम्रो समाजमा बौद्धिक कार्य गर्न सक्नेहरुको संख्या अलिक थोरै छ । जसले समय बुझेर जनहित र राज्यहितमा प्रयोग गर्न सक्दछन् उनीहरुलाई वास्तविक बौद्धिकवर्ग मान्न सकिन्छ । बौद्धिक क्षमता भएकाहरुले आफ्नो जीवन चलाउनमा मात्र सीमित रहँदैनन् । उनीहरु त राज्यराज्यको बीचमा सम्बन्ध गाँस्नेदेखि लिएर एकै मुलुकका नागरिकहरुलाई पनि जोडन सक्दछन् । उनीहरुले एकप्रकारको सुविचार दिन सक्छन् । यस्ता सुविचारहरुले धेरैलाई गोलबन्द गर्न सक्दछन् । हुन त आज बौद्धिक हतियार प्रयोग गरेर जन परिचालन गर्नेहरुको संख्या निकै कम छ । यसरी हेर्दा विचारमा कता–कता खिया लागेको जस्तो पाइन्छ । बौद्धिक श्रम गर्नेहरुले नागरिकलाई गोलबन्द गर्न सक्नु पर्ने हो तर यस मामलामा हाम्रा बुद्धिजीवीको क्षमता अलि कम देखिन्छ । यसतर्फ ध्यान बढाउन सक्नुपर्ने थियो । जुन कुरा मुलुकका लागि अति आवश्यक कुरा रहेछ । यसतर्फ ध्यान पुगेन या ध्यान दिइएन । त्यसैले यो अलिक विश्लेषण गर्नुपर्ने विषय बनेको छ ।

बुद्धिजीवीहरुले आफ्नो विचार अरुको हितमा प्रयोग गर्नुपर्दछ । जति शक्ति लगाएर बुद्धिको प्रयोग गरिन्छ त्यतिकै मात्रामा अरुको हित भएको देखा पर्नु पर्दछ । बुद्धिजीवीहरुको अरुको अहितको एउटा मात्र शब्द पनि प्रयोग गर्नु हुँदैन । यदि बुद्धिजीवी भन्नेहरुले कसैको चित्तमा चोट दिए भने त्यो अपराध हुन जान्छ । बुद्धिजीवीहरुका आफ्ना कुनै पनि समस्या हुँदैनन् भन्ने होइन । उनीहरुका पनि तमाम समस्या हुन सक्छन् । समस्याबाट आत्तिने, तात्तिने र मात्तिने केही पनि गर्नु हुँदैन । आत्तिने, तात्तिने र मात्तिने कुराले बुद्धिजीवीहरुलाई शोभा दिदैन । आफ्ना समस्याहरुलाई ठीक ढंगले विश्लेषण गर्ने र त्यही अनुरुप समाधान गर्न लगाउने गर्नु बुद्धिजीवीहरुको एउटा राम्रो संकेत पनि हो । बुद्धिजीवीहरु आफू मात्र उचाइमा नभएर आम नागरिकको साथमा देख्न जान्नुपर्दछ । अर्को जुनसुकै व्यक्ति होस् उसको अत्यन्त ठूलो सम्मान गर्न जान्नुपर्दछ । नागरिकभन्दा उचाइमा देख्ने र अरुको सम्मान पनि नजान्नेहरुलाई ढोंगी बुद्धिजीवीको संज्ञा दिने गरिन्छ ।

जसरी किसानले सारालाई ज्यान बचाउने वस्तु उत्पादन गर्छ अनि घरघरमा पुर्याउँछ । त्यसबाट हरेकले आफ्नो पेटको समस्या समाधान गरेको हुन्छ । मजदूरले आफ्नो श्रमले वस्तु उत्पादनदेखि निर्माणसम्म गरेको हुन्छ । उसको सहयोगले किसानले उत्पादन गरेको वस्तुलाई असली माल बनाउनेसम्मको काम भएको छ । मानिसका हरेक आवश्यकताहरु उसले पूरा गर्न सघाएको छ । यी दुबै थरीले व्यवहारलाई धानेका छन् । यस्तै बुद्धिजीवीले सिद्धान्त तयार गर्ने योजना बनाउनेदेखि लिएर सम्पन्न गर्नेसम्मका कार्यलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्नुपर्दछ । उनीहरुले यसको सदुपयोग गर्न सकेनन् वा जानेनन् भने नामको मात्र बुद्धिजीवी बन्न पुगिन्छ । एउटा गाई छ जो ब्याउँदैन । एउटा राम्रो खेत छ जहाँ खेती हुँदैन, एउटा किसान छ जसले कृषि कार्यमा जाँगर लगाउँदैन, एउटा मजदूर छ जसले आफ्ना पाखुरा चलाउन कन्जुस्याइ गर्छ, एउटा शिक्षक छ जसले आफ्नो जागिरलाई काँचो भ्यागुतो जस्तो घिन मानेर खाइरहेको छ । एउटा बुद्धिजीवी छ जसले राज्य र नागरिकको हितमा सही दिशा दिन सकेको छैन । अब भन्नुहोस् यी सबैको के काम छ ? काम हुनका लागि गाई ब्याएको वा दूध दिएको हुनुपर्दछ । किसानले उत्पादनमा जाँगर चलाएको हुनुपर्दछ । मजदूरले आफ्ना पाखुरा बजारेर उत्पादनमा टेवा दिएको हुनुपर्दछ । शिक्षक जसले ऊर्जावान् नागरिक उत्पादनका लागि आफ्नो क्षमता भरपूर प्रयोग गरेको हुनुपर्दछ । यी सबैलाई प्रभाव पार्ने गरी शिक्षण सिकाइ गरेको हुनुपर्दछ । जागिर खाएर काँचो भ्यागुतो ठान्नु हुँदैन । यस्तै बुद्धिजीवीले पनि यी सबैलाई प्रभाव पार्ने गरी कार्य गर्नु आफ्नो कर्तव्य हो भन्ने सम्झनुपर्दछ । बुद्धिजीवीले सबैको लागि हितकर कार्य र नीति तयार पार्न सक्ने भएकाले अरुको भन्दा उसको जिम्मेवारी बढ्ता हुन्छ भन्ने कुरा सम्झनुपर्दछ । यस्तो कुरा ठानिएन वा आफ्नो कर्तव्यबोध नभएकाहरुलाई नामको बुद्धिजीवी उपनाम दिए फरक पर्दैन । उसको गति सधै उचाइतर्फको हुनुपर्दछ, अधोगति होइन ।

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्