मानिसको मन, मुटु, हृदय र मस्तिष्कमा अनेक विचार, भावना, अनुभूति र संवेदनाहरु उत्पन्न भइरहेका हुन्छन् । भनिन्छ नि, प्रकाशको गतिभन्दा पनि तेज गतिमा चाहिने नचाहिने विचारहरु मानव मन–मस्तिष्कमा आउनेजाने गरिरहेका हुन्छन् । त्यसरी आए पनि मुखबाट शब्दका रुपमा बाहिर नआएसम्म जस्तासुकै विचार भए पनि त्यसबारे कसैलाई केही थाहा हुँदैन । अझ कतिपय सन्दर्भमा त अभिव्यक्त नभईकन धेरैजसो विचारहरु ‘आयाराम गयाराम’ भइरहेका हुन्छन्, जसरी उत्पन्न भएका थिए त्यसरी नै विलुप्त पनि भइसकेका हुन्छन् ।
मन–मस्तिष्क, मुटु र हृदयमा उत्पन्न हुने ती सबै विचार, भावना, अनुभूति र संवेदनालाई अभिव्यक्त गर्ने माध्यम भनेको भाषा हो । यही भाषाकै माध्यमबाट त हामीले अरुहरुसँग आप्ुना कुरा साटासाट गर्न सक्छौं । विकासवादी वैज्ञानिकहरुले भन्दै आएका छन्, जीवनको उत्पत्ति भएको लाखौं वर्षपछि पृथ्वीमा मानवको विकास भएको हो । मानवको विकास भएको पनि हजारौं वर्षपछि मात्र भाषाको उत्पत्ति भएको हो । त्यसरी भाषाको क्रमिक विकास भएको पनि हजारौं वर्षपछि मात्र साहित्य उदाएको हो किनभने पहिले त कथ्य भाषा मात्र थियो र त्यसको पनि धेरैपछि मात्र लेख्य भाषा अस्तित्ववान् भएको हो । साहित्य यही लेख्य भाषामा अवतरित हुँदै आएको हो । त्यसकारण भनिन्छ, साहित्य भाषाको सर्वाधिक सटीक दस्तावेज हो । समयको विविध कालखण्डमा प्रयोग हुने र भए गरेका भाषा–भाषिकाहरु त्यही स्वरुपमा साहित्यका पानाहरुमा लिपिबद्ध भएर बसेका छन् । भानुभक्तकालीन भाषा र महाकवि देवकोटाकालीन भाषा औ साहित्यमा रहेको भिन्नता जोसुकैले सहजै अनुभव गर्न सक्दछ । त्यो वास्तवमा केवल भिन्नता नभएर भाषामा भएको विकास हो ।
यसकारण भाषा र साहित्यको निरन्तर, अविरल, अविच्छिन्न, अविभाज्य र अन्तरंग सम्बन्ध छ । भाषाको जति विकास हुन्छ, साहित्य उति समृद्ध हुँदै जान्छ । साहित्यको विस्तार जति हुँदै जान्छ, भाषाको विकास पनि त्यही गति र आकारमा हुँदै जान्छ । भाषाको विकास भनेको भाषामा नयाँ नयाँ शब्द, उखान–टुक्का, गाउँ खाने कथा, र सन्दर्भहरु थपिँदै जानु हो । शब्दहरु थपिँदै गएसँगै भाषाको शब्दकोषको पनि विस्तार हुँदै जानु हो, शब्दकोष मोटाउँदै जानु हो । नेपालीमा धेरै शब्दहरु –खासगरी कानुनी क्षेत्रमा– अरबी, फारसी र अङ्ग्रेजी भाषाबाट लिइएका छन् तर वास्तवमा नेपाली भाषाको समुचित विकास गर्नका लागि नेपालमा बोलिने नेवारी, मैथिली, अवधि, थारु, तामाङ, राई, शेर्पा, मगर, गुरुङ, थकाली, लामा आदिसमेत तमाम भाषा–भाषिकाहरुबाट उपयुक्त शब्दहरु भित्र्याउनु पर्दछ । देशभित्रै बोलिने अन्य भाषाबाट सापटी लिइएका शब्दहरुले नेपाली भाषालाई बढी समृद्ध, सशक्त र बेहतर सम्प्रेषणीय बनाउन ठूलो सहयोग गर्नेछन् । अङ्ग्रेजी भाषा विश्वकै समृद्ध भाषा बन्नुमा त्यसले दुनियाँभरका भाषाहरुबाट अनेक शब्द भित्र्याएको छ, आफूभित्र समाहित गरेको छ । छिमेकी भारतमा उर्दू शब्दहरुले हिन्दी भाषालाई निरन्तर समुन्नत बनाउँदै लगेको मानिन्छ ।
भाषाकै कुरा गर्दा, मानिस ईर्ष्या, राग, द्वेष, रिस, आवेश, मद, मात्सर्य, अहंकार, ढाँट, छल आदि सबै भावनाले भरिएको प्राणी हो । भाषा र अभिव्यक्तिको विकाससँगै मानिसका यी भावनाहरु पनि त सार्वजनिक जीवनमा प्रकटित हुन थाले होलान् नि ! उज्यालोसित अँध्यारोको अस्तित्व भएझैं भाषा र साहित्यमा पनि त दुई पक्षको अस्तित्व सँगसँगै अगाडि बढेको होला नि ! त्यसकारण म कहिलेकाहीं आफैसित प्रश्न गर्ने गर्दछु, “जतिबेला भाषा थिएन, सायद मानिसहरु झुठो बोल्दैन थिए होला । सायद कसैले कसैलाई ढाँट्न–े छल्ने गर्दैन थिए होला किनभने केवल इसाराले मात्र त ढाँट–छल–प्रपञ्चजस्ता व्यवहार हुन सक्दैन थियो होला । उसो भए के ढाँट्ने चलन भाषाले जन्माएको हो त ?”
त्यसो त भाषाको विकाससँगै सुरु–सुरुमा लेख्य स्वरुप थिएन । त्यसकारण खासगरी हिमवत्खण्डमा श्रुतिपरम्पराको विकास भएको थियो र अनेक धार्मिक–साहित्यिक–सांस्कृतिक ग्रन्थहरु त्यही परम्पराका रुपमा एकपछि अर्को गरी अनेक पुस्तासम्म विरासत बनेर जीवन्त रहँदै आएका थिए । ताडपत्र, रुखका बोक्रा, गुफाका भित्ता, चट्टान, शिला आदिमा लेख्ने चलन त धेरै पछि मात्र विकसित भएको हो । छाप्ने चलन अथवा प्रिन्टिङ प्रेसको प्रचलन त अझ धेरैपछि पन्ध्रौं शताब्दी (सन् १४५०) मा जर्मनीमा गुटेनबर्ग प्रेसको आविष्कारपछि मात्र भएको हो । यद्यपि त्यसअघि छाप्ने मेसिनको आविष्कार सर्वप्रथम चीनमा भएको थियो र चीनकै देखासिकी जापान एवं कोरियामा पनि किताब छाप्ने सीमित प्र्रचलन सुरु भएको थियो । चीनको प्रेसमा काठ प्रयोग गरिएको हुन्थ्यो र छाप्नका लागि त्यो असुविधाजनक थियो । तर गुटेनबर्ग प्रेस फलामको थियो र चलाउन पनि सजिलो थियो । त्यसकारण गुटेनबर्ग प्रेसको आविष्कारपछि प्रिन्टिङ प्रेसको प्रचलन छिट्टै फ्रान्स र बेलायत हुँदै सम्पूर्ण युरोप र अन्य देशहरुमा फैलिएको थियो ।
छापाको प्रचलनसँगै भाषाको विकासमा नौलो आयाम थपियो भने साहित्य सिर्जनाले अद्भूत फड्को मार्यो ।
साहित्य के हो ? साहित्य किन लेखिन्छ ? साहित्य कसले लेख्छ ? साहित्य कसले पढ्छ ? साहित्य कसरी लेखिन्छ ? साहित्यको उपयोगिता र उपादेयता के हो ? पहिलो हेराइमा अति सामान्य र ‘घिसे–पिटे’ जस्ता लाग्ने केही प्रश्न । अझ त्यस्ता सोधाइ, जसका बारेमा वर्षौं मात्र होइन, शताब्दियौंदेखि सवाल–जवाफ र प्रशस्त मतान्तर हुँदै आएको छ । साहित्य साहित्यका लागि, साहित्य कलाका लागि, साहित्य जीवनका लागि, साहित्य सर्जकको मनोरथ वा मनोकांक्षा वा स्वान्तः सुखायका लागि, साहित्य पाठकका लागि … आदि आदि … । अज्ञात भूतदेखि चल्दै आएको हुनाले यो सनातनी बहस हो, जसको कहिल्यै एकमतको टुङ्गो लाग्न सकेको छैन, र सायद लाग्दैन पनि ।
तर कुरा साहित्यको मात्र हुँदैन, साहित्यकारहरुको पनि हुन्छ र भाषाको पनि हुन्छ । लेखक–कलाकारहरु अर्थात् शब्द–सारथिहरु जसले अन्य तमाम कुरा छाडेर सरस्वती वन्दना नगरी दिने हो भने (नगरी दिएको भए) भारतका राष्ट्रपिता महात्मा गान्धीले कसरी भन्न पाउँथे– ‘पुस्तक पढ्ने रुचि भएको मानिस संसारको जुनकुनै कुनामा पुगे पनि प्रसन्न रहन सक्छ ।’ अथवा, ब्रिटिश नाटककार जर्ज बर्नार्ड शा कसरी भन्न भ्याउँथे, ‘सिद्धान्तहरुको लडाइँमा पुस्तकहरु नै सबैभन्दा ठूला हतियार हुन् ।’
हुन पनि हो, पढ्ने अथवा अध्ययन गर्ने बानी सर्वाधिक सुन्दर बानी हो किनभने अध्ययन गर्ने बानी छ भने त्यसबाट विचार माझिन्छ र शब्द–प्रयोगमा गहनता आउँदछ । त्यसैले, भनिन्छ नि, अध्ययन गर्ने बानी बसाल्नुपर्दछ जसले गर्दा ठूलाठूला सफलता पाउने सम्भावना त्यत्तिकै ठूला हुँदै गएका हुन्छन् । अध्ययन पनि गर्ने र लेख्ने पनि बानीले भाषा परिष्कृत हुँदै जान्छ । भाषा जति राम्रो हुँदै जान्छ, साहित्य लेखन उत्ति नै सुन्दर हुँदै जान्छ । भाषा र साहित्य एकअर्कासित अन्तरसम्बन्धित छन् यद्यपि भाषामा स्वर, व्यञ्जन, वर्ण, ध्वनि, अक्षर, शब्द र वाक्यहरुको अध्ययन गरिन्छ भने साहित्यमा लेख्य भाषाको अध्ययन हुन्छ । भाषा बोलीचाली र लिखित अर्थात् कथ्य र लेख्य दुबै स्वरुपमा विद्यमान हुन्छ भने साहित्य मूलतः लिखित स्वरुपमा हुन्छ । बेग्लै कुरा के हो भने पछिल्लो समयमा श्रवण–साहित्यको पनि विकास हुँदै गएको छ ।
भाषा अभिव्यक्तिको माध्यम हो, विचार र भावना सम्प्रेषणको संवाहक हो । यही भाषाले नै मानिसलाई पशु–पक्षीभन्दा अलग गर्दछ । मानिसले बोल्दछ । उसले बोलेको उसको अभिव्यक्ति हो । एक मानिसले बोलेको अर्को मानिसले बुभ्ुदछ । यही भाषाले गर्दा मानवले इतिहासदेखि वर्तमानसम्म सबैसबै सम्भव कुरा लेखेर राखेको छ र नित्य नयाँनयाँ पक्षहरुबारे पनि लेख्दै आइरहेको छ । सँगै के पनि हो भने सहजताका लागि भाषा आफ्नै किसिमका नियमले बाँधिएको छ तापनि यो अपरिवर्तनशील अथवा स्थिर भने छैन, हुन सक्दैन पनि । भाषा–अध्ययनको क्षेत्र निकै ठूलो छ तापनि भाषाको निरन्तर विकास भइरहन्छ, केही शब्द प्रयोगबाट क्रमशः हराउँदै जान्छन् र तिनको ठाउँमा नयाँ शब्दहरु प्रयोगमा आउँदै जान्छन् । बेलाबखत त पुराना शब्दहरुको अर्थसमेत परिवर्तन हुँदै गएको हुन्छ । एक तथ्याङ्कअनुसार, सन् २०२० मा विश्वभरका विभिन्न भागमा बोलिने मुख्य भाषाहरु सात हजारभन्दा बढी थिए भने ती भाषाका अरु सयौं–हजारौं भाषिका विद्यमान छन् । नेपालमा मात्र पनि एक सय तीस भाषा बोलिने गरेका छन् ।
भाषा साहित्यको आधार हो । अझ भनौं, भाषाविना साहित्यको अस्तित्व सम्भव छैन । त्यही भाषा जानेर पुस्तक तयार पार्नेहरु लेखक हुन्, अक्षरकर्मी हुन्, कलमजीवी हुन्, सर्जक हुन्, रचनाकार हुन्, साहित्यकार हुन् र अक्षरका सारथि हुन् । उनीहरु भाषा–शिल्पसित खेल्दछन् र नै उम्दा कृतिहरु पाठकसमक्ष प्रस्तुत हुने गर्दछन् ।
पुस्तक भनेका केवल पाठ्य–पुस्तक मात्र होइनन् । माना, नाना र छाना जस्तै अनि शिक्षा, स्वास्थ्य र रोजगारी जस्तै अनि स्वतन्त्र घुमफिर र जीविकोपार्जन जस्तै मनोरन्जन पनि मानिसको मौलिक अधिकार हो । यसको पूर्ण सुरक्षा हुनै पर्छ । प्रकृतिवश, मानिसले केवल ज्ञान आर्जनका लागि मात्र पढ्दैन, ऊ पुस्तकहरुमा मनोरन्जन पनि खोज्दछ जहाँ उसलाई जगरका रौं ठड्याइदिने रोमाञ्च, मीठा–नमीठा कल्पना, विज्ञानका चमत्कार, विस्मित तुल्याउने दुःसाहस, आश्चर्यजनक नवीनता, मथिङ्गल हल्लाउने रहस्य, उदेकलाग्दा जालझेल, अनौठा कूटनीति, घिनलाग्दा षडयन्त्र, जीवनका सुख–दुःख, मिलन र बिछोडका दारुण कथानक, पेट मिच्न बाध्य पार्ने हाँसो, सफलताका प्रेरक गाथा, केही गर्न हुट्हुटी प्रदान गर्ने प्रसङ्ग, नीरस पलहरुलाई यथाशक्य उत्साह र स्फूर्तिका तरङ्गहरु उत्पन्न गर्ने परिच्छेद आदि प्राप्त हुन सकोस् ।
यो सबै आवश्यकता पूरा गर्ने उनै लेखक–साहित्यकार हुन्, उनै गीत–संगीत सिर्जना गर्ने कलमजीवी कलाकारहरु हुन् । कलमकर्मीहरु अध्ययन, अनुभव र कल्पनाको आधारमा नयाँ–नयाँ सिर्जना गर्ने गर्दछन् । त्यसै पनि अनेक किसिमका अनुभव त सबैले गर्दछन् तर ती अनुभवहरुलाई अनुभूतिमा रुपान्तरण गर्न सक्ने सूक्ष्म पर्यवेक्षण दृष्टि केवल एक कलाकारमा मात्र हुन्छ । त्यो सूक्ष्म दृष्टिबिना लेखक–कलाकार बन्न सकिँदैन ।
अध्ययन र लेखनसम्बन्धमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले भनेका थिए, “पढ्नुभन्दा लेख्न गाहारो हुन्छ किनभने पढ्दा उति बौद्धिक सावधानी आवश्यक पर्दैन । लेख्न भने बुद्धिलाई चंख राखेर त्यसको राम्रो संगठन गर्न सक्नु पर्दछ । पढ्दा बुद्धिको चेतना सतहलाई मात्र जागृत राखे पुग्छ– गहिरो अध्ययन गर्न भने यसले पुग्दैन । तर, लेख्दा सतहको अवचेतन अवस्थाले मात्र पुग्दैन । केही न केही गहिरोपन यसका लागि आवश्यक हुन आउँछ । मुख्य कुरा, विचारको संगठन जरुरत पर्छ लेख्दा । किताब पढ्दा अर्काको संगठित विचार पाइन्छ, चम्चाले खाएजस्तो सजिलो हुन्छ । आफैंले लेख्नुपर्दा आदिदेखि अन्त्यसम्म आफैंले मिहिनेत गर्नुपर्छ । ”
लेखन केवल पाठकलाई मनोरन्जन प्रदान गर्ने माध्यम मात्र होइन, यो त स्वयं लेखकको आध्यात्मिक यात्राको पाटो पनि हो । आखिर लेखन भनेको पनि के हो र ? मन–मस्तिष्कमा उठ्ने भाव–तरंगहरुको प्रकटीकरण नै त हो । अलिकति विचारको लेपन र अलिकति कल्पनाको आलम्बन भएपछि बाहिरिने अभिव्यक्तिले एउटा आवरण प्राप्त गर्दछ र त्यसैबाट निर्मित हुन्छ, शब्द–शरीर । सार्थक शब्दहरु मिलेर हुन्छ साहित्य सिर्जना । त्यसमा पनि सिर्जनकर्मी जति समर्पित, इमानदार, कल्पनाशील र विचारवान् हुन्छ, त्यो शब्द–सौष्ठव त्यत्ति नै तिखारिएको र उत्ति नै निखारिएको हुन्छ । तसर्थ पनि मलाई लाग्छ, मानव मनको सर्वश्रेष्ठ अभिव्यक्ति नै साहित्य हो ।
साहित्यले हामीलाई नयाँ संसारमा लैजान्छ, भिन्न जगत्मा पुर्याउँछ । अनौठा अनौठा परिवेश र विस्मयकारी अनुभवहरुले भरिएको दुनियाँमा लैजान्छ । कहिल्यै नसोचेका ठाउँहरु घुमाउँछ र कहिले आफूजस्ता त कहिले विचित्र स्वभाव वा प्रकृति भएका मानिसहरुसित अनायास भेट गराउँछ ।
एकपटक एउटा चिया महफिलमा पुगेको थिएँ । छाप्ने र छपाउनेहरुको जमात भेला भएको थियो । अक्षरसित खेल्नेहरु भेला भएपछि अक्षर वा अक्षर खेलाउनेहरुकै चर्चा उठ्नु स्वाभाविक रहेछ । चिया आउँदा–नआउँदै एकजना स्वनामधन्य वरिष्ठ आक्रोशित अभिव्यक्ति दिन थाले, ‘हाम्रा साहित्यकारहरु खाने बेलामा लोकल ठर्रा खान्छन्, अनि हामीलाई कसैले हेरेन, केही गरेन भन्दै हिँड्छन् । केही गर्न त पहिले आप्ुनो स्वास्थ्यको समुचित ख्याल गर्नु पर्यो नि ! जे पायो त्यही खाइदिनु भएन नि ! अनि जे जति भए–गरिएको छ, त्यसलाई त्यही रुपमा स्वीकार पनि गर्न सक्नु पर्यो नि !’
अर्का महानुभाव कड्किए, ‘एउटा–दुइटा रचना छापिने बित्तिकै आफू धरहरामा चढेको ठान्ने तर अरु कसैलाई देख्दै नदेख्ने आत्मश्लाघाको मनोरोगले ग्रस्त छन् हाम्रा धेरै साहित्यकार । ’ उनले पनि नाम भने लिन चाहेनन् ।
कुराकानीले ‘महफिल गफ’ को स्वरुप लिँदै गयो । पीपलबोटे जमघटका प्रसङ्ग चल्न थाले । पहिले भलाकुसारी अनि लेख–रचना पाठ र त्यसपछि कोही चियापानतिर, कोही नयाँ सडकका अँध्यारा गल्लीमा सञ्चालित मदिरालयतिर र अलि पैसा हुनेहरु गतिलो रेस्टुरेन्टतिर ह्वीस्कीको चुस्कीमा रमाउन पुग्ने साहित्यकारहरुको चर्चा कहिल्यै सेलाउन पाएन ।
अझै पनि अनेक नामी लेखक कलाकारहरु त्यो पीपलबोटे विरासतको बिँडो थामिरहेकै छन् । पछिल्लो समय त्यस्तो अर्को एक थलो पशुपतिनजिक पिङ्गलास्थानस्थित ‘कार्की किचेन’ रेस्टुरेन्ट थियो जहाँ महिनाको पहिलो बिहीबार साँझ मदिरामय साहित्यिक जमघट हुने गरेको थियो ।
अर्को भनाइ आयो– ‘स्तरहीन लेख्नुभन्दा लेख्दै नलेख्नु राम्रो । औसतभन्दा माथि उठेर लेख्नुस्, स्तरीय लेख्ने प्रयास गर्नुस्, तपाईंको रचना छापिइहाल्छ नि । सम्मान पनि सोहीअनुसार प्राप्त हुँदै जान्छ । सिर्जना शक्तिको सम्मान त हुन्छ, हुन्छ । अनि त कसैले केही गरिदिएन, यो वा त्यो पाइएन, भएन आदि भनेर गुनासो गर्नै पर्दैन. . । ’
नेपाली समाज शक्तिपूजक सामन्ती संस्कृतिले जेलिँदै आएको छ । यो समाजमा लेखक–कलाकारहरुलाई राज्यस्तरबाट हुने सहयोग र सम्मान देश, काल औ परिस्थितिबाट अत्यधिक प्रभावित हुँदै आएको छ । वि.सं २०४६ सम्म पञ्चायतपक्षीय (सत्ता–भितर) र पञ्चायतविरोधी (सत्ता–इतर) गरी सपाट विभाजन थियो । त्यसपछिको डेढ दशक काङ्ग्रेसी र वामपन्थी गरेर नयाँ विभाजनले ठाउँ पायो । जनआन्दोलन–२ पछि राजतन्त्रको समाप्ति भएर मुलुक राजनीतिक रुपले संघीय गणतन्त्रमा रुपान्तरित भए यता उक्त साहित्यिक विभाजन सुरुसुरुमा त क्रमशः मत्थर हुँदै जान थालेको आभास हुँदै थियो तर छिट्टै आस्था र वैचारिकतालाई नभएर योग्यतालाई आधार मान्ने अवस्था क्रमशः टुट्दै गएको दुःखद अनुभूति पनि चाँडै नै हुन थाल्यो । राजनीति र वैचारिकताले सुरसाको मुख बाएर राज्यका सबै क्षेत्रलाई निल्दै गएको दारुण एवं अवाञ्छित अवस्था टुलुटुलु हेर्नुपर्ने विवशता सर्वत्र उपस्थित भयो र भइरहेकै छ । अनेकानेक प्रसङ्गहरु छन् जसले यो अवस्थालाई पुष्टि गर्छन् ।
ईर्ष्या, राग र द्वेषका साथै राजनीतिक एवं सामाजिक कारणहरुले गर्दा समेत बेलाबखत भाषा, साहित्य र साहित्यकारले अनाहक दुःख पाएका छन् । अवाञ्छित सास्ती खेप्नुपरेको छ । अनेक किसिमका स्वार्थले घेरिँदा वा कसैको प्रभावमा परेपछि साहित्यकारको भाषा फेरिन्छ, त्यो यथार्थ भाषा रहँदैन किनभने स्वार्थले सबै किसिम र सबै रंगका भाषाहरु बोल्दछ । तसर्थ सच्चा लेखक उही हो जसले कसैको प्रभावमा नपरी आफ्नो हृदयको आवाजमा लेख्दछ, मन–मुटुको स्पन्दनमा सिर्जना गर्दछ ।
आप्ुनो लेखनले गर्दा सास्ती र प्रताडना खेप्नुपरेका साहित्यकारहरुको चर्चा उठ्दा केही खास नाम सहसा मन–मस्तिष्कमा आउने गर्दछन् । यो सूचीमा सर्वप्रथम नाम सुब्बा कृष्णलाल अधिकारीको आउँदछ ।
उहिल्यै राणाकालमा नै ‘मकैको खेती’ नामक किताब लेखेको र त्यसमा राणाशासकका विरुद्धमा प्रयोग गर्न सकिने एकाध पंक्ति उल्लेख भएको आरोपमा यी अग्रज लेखक थुनुवामा परेका थिए र जेलबन्दी रहेकै अवस्थामा उनको निधन भएको थियो । विडम्बना त के भने लेखक अधिकारीको कोही व्यक्ति–विशेषप्रति लक्ष्यित त्यस्तो खास कुनै आशय नै थिएन, उनले त मकैमा लाग्ने वा लाग्न सक्ने विभिन्न कीराबारे उल्लेख मात्र गरेका थिए तर एकथरी चाटुकार एवं कुरौटेहरुले उनका विरुद्ध राणाशासकको कान भर्ने काम गरेका थिए र निर्दोष सुब्बा कृष्णलालले षडयन्त्रको सिकार हुनुपरेको थियो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका अद्भुत प्रतिभा हुन् । तर उनी बाँचेको समय र एक हदसम्म उनको जीवन नै पनि उस्तै अद्भुत व्यङ्ग्य हो । उनले कहिले कलेज पढाए, कहिले ट्युसन पढाए, कहिले भाषा समितिको जागिरे भए, कहिले नेपाली काङ्ग्रेसको मुखपत्र निकाल्न बनारस हान्निए, कहिले सांसद त कहिले मन्त्री पनि भए र पनि उनको लेखन भने उनी बाँचुञ्जेल निर्बाध चलिरह्यो । अनेक रचनाहरु पढ्न पाइन्छन् जसमा स्पष्ट लेखिएको हुन्छ– महाकविका समकालीन र वरिष्ठ भनिएका अधिकांश साहित्यकारहरु उनको भयंकर ईर्ष्या गर्थे, उनलाई होच्याउने असफल प्रयास गरिरहन्थे । उनको विरुद्धमा राजाका कान भर्थे, यसैले गर्दा उनले रुसको तासकन्दमा भएको अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा भाग लिएर फर्केपछि लगातार एक वर्षसम्म एकेडेमीबाट तलब नै पाएका थिएनन् ! उनलाई ‘कम्युनिस्ट भएको’ हास्यास्पद आरोप लगाइएको थियो ! आर्थिक अवस्थाले फिटिफिटी भएको यही अवधिमा उनको क्यान्सर रोग अत्यधिक बल्झन पुगेको थियो । त्यसबीचमा देवकोटाले बेलाबखत राज्यबाट सहयोग पाए तर त्यो उनी जीवित छँदासम्म पर्याप्त थिएन । उनको कारुणिक मृत्युपछि सरकारले उनको ऋण तिरिदिनुका साथै उनका सन्तानलाई राज्यको तर्फबाट पढाउने व्यवस्था भने गरेको थियो ।
एक अर्को प्रसङ्ग पनि छ । ‘जनकवि जुरेली’ भनेर पुकारिने तनहुँका गोकुलप्रसाद जोशीका ‘सिमानाको दीप’ खण्डकाव्य, ‘बाँच र बाँच्न देऊ’ लामो कविता र ‘नेपालको भविष्य’ गीति–सङ्ग्रह प्रकाशित छन् । उनका कतिपय कृति अप्रकाशित र छरपस्ट रहेको मानिन्छ । केवल ३१ वर्ष मात्र बाँचेका यी कविको जीवन दुःख, कष्ट र अभावबीच बितेको थियो । सात–आठ वर्षको उमेरदेखि नै मेला–पर्म जाने गरेका र तेह्र वर्षको कलिलो उमेरमै भारत मुग्लानिएका जोशी धेरै हण्डर खाएपश्चात् आठ वर्षपछि विसं २००८ मा नेपाल फिरेका थिए । राणातन्त्र ढलेको संक्रमणकालीन नेपालमा पनि उनको जीवनले अस्त–व्यस्तता, अनिश्चितता र अभाव मात्र अनुभव गर्यो । यसरी नै भौंतारिएर हिँड्दा असार २०१८ मा घैलडुब्बा, झापामा उनको मृत्यु भएपछि स्थानीय आदर्श विद्या मन्दिरका शिक्षक र विद्यार्थी मिलेर उनको दाह संस्कार गरेका थिए । उनको मृत्युको समाचार उनकी आमाले एक वर्षपछि मात्र पाएकी थिइन् र त्यसै बेला उनका जेठा बाबुका छोराले उनको किरिया गरेका थिए । मुलुकका अब्बल व्यङ्ग्य–लेखक भैरव अर्याललाई स्वर दब्दै जाने घाँटीको रोग थियो । त्यसको उपचार गर्न उनलाई सरकारी खर्चमा नयाँ दिल्ली पुर्याइएको थियो । तर कुन्नि कुन अवसादको प्रभावमा परेर उनले युवावस्थामै गोकर्णको खोंचमा फाल हानेर आप्ुनो जीवन आफैंले विसर्जन गरेका थिए । उनी जनस्तरबाट ठूलो मान–सम्मान पाइरहने साहित्यकार हुन् ।
मदन पुरस्कार जित्ने पहिलो नारी साहित्यकार पारिजातले समय–समयमा सरकारी सहयोग नपाएको होइन (अझ उनलाई त जनस्तरबाटै निरन्तर सहयोग भइरहन्थ्यो) । पछि उपचारनिम्ति उनलाई विमानबाट दिल्ली लैजाने सरकारी प्रयास हुँदा उनको नागरिकता आवश्यक भयो । तर उनले नेपाली नागरिकता लिन अस्वीकार गरिन् । फलतः उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । उनको सम्पूर्ण उपचार खर्च राज्यले ब्यहोरेको थियो ।
सरकारी सहायता नलिईकन आप्ुनो तवरबाटै उपचार गराउने साहित्यकार जगदीश घिमिरे हुन् । कुनै बेला बेलायती गैरसरकारी संस्थामा काम गर्दा उनी नेपालमै सम्भवतः सबैभन्दा बढी तलब खाने व्यक्ति थिए, त्यो बेला उनी साहित्य परिदृश्यबाट अदृश्यजस्तै थिए । अकस्मात् ‘माइलोमा क्यान्सर’ ले समातेपछि उनले काम गरेको गैससमा रहेको स्वास्थ्य बीमाले उनको महँगो उपचार थेग्यो । त्यही दौरानमा आप्ुनो आत्मकथा ‘अन्तर्मनको यात्रा’ लेखेर त्यसै कृतिका लागि मदन पुरस्कार पाएपछि भने घिमिरे विशिष्ट रुपले दृश्यमान भए । धूलो लागेका उनका पुराना किताबहरुले नयाँ जुनी पाए्, नयाँ कलेवर र नयाँ संस्करणको रुपमा । उनका पाठकको संख्या पनि राम्रै गरी बढ्न पुग्यो ।
गृहमन्त्रालय अन्तर्गत छ– आर्थिक सहायता तथा चन्दा पुरस्कार (आसचपु) । यो प्रायः राजनीति–पीडित उद्धार कोष हो । प्रधानमन्त्री कार्यालय र शिक्षा तथा संस्कृति मन्त्रालयबाट पनि बर्सेनी बेलाबेलामा लेखक–कलाकारहरुलाई राहतस्वरुप सहयोग राशि प्राप्त हुने गर्छ । यसमा उनीहरुको वरिष्ठता, सम्बन्ध र पहुँचले धेरै काम गर्छ । यहाँनिर, सञ्चार मन्त्रालयले नियमित प्रदान गर्ने ‘लोककल्याणकारी विज्ञापन’ पनि बिर्सनु हुँदैन ।
साहित्य र साहित्यकारसित जोडिएको अर्को संस्था साझा प्रकाशनले विशेष आर्थिक सहयोग गरेको देखिँदैन । यो संस्थाले कृति छापिदिने, छापेबापत लेखकलाई १५ देखि २० प्रतिशत रोयल्टी दिने र त्यही रोयल्टीकै २० प्रतिशत रकमबाट साझा प्रकाशनको सेयरहोल्डर बनाउने गरेको छ । साथै, छापिएका कृतिमध्ये सर्वश्रेष्ठ ठहर भएकालाई हरेक वर्ष ‘साझा पुरस्कार’ (हाल पुरस्कार राशि रु.एक लाख) प्रदान गर्दछ ।
राज्य र साहित्यकारबीचको परिभाषित–अपरिभाषित आर्थिक सम्बन्धलाई उजागर गर्ने प्रसङ्गहरु अरु पनि छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिलाई राज्यमन्त्री सरह, उपकुलपतिलाई सहायक मन्त्री सरह र सदस्यहरुलाई मुख्य सचिव सरहको सुविधा प्राप्त छ । लामो समयदेखि साहित्य र कला क्षेत्रमा योगदान पुर्याएको आधारमा कतिपय साहित्यकार नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्यको रुपमा सम्मानित छन् । नेप्रप्रका आजीवन सदस्यहरुले बहालवाला सदस्यले पाउने तलबमानको तीन भागको दुई भाग पाउँछन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानअन्तर्गत छ– राष्ट्रिय प्रतिभा उपचार कोष । यो विसं. २०६१ मा स्थापना भएको हो । यो कोषबाट साहित्यकार–कलाकारहरुले आवश्यक परेको बेला औपचारिक निवेदनसहित माग गरेमा आर्थिक सहयोग प्राप्त गर्न सक्छन् । त्यसो त आलोचकहरुको भनाइमा, यो उपचार कोषबाट सोर्स–फोर्स राम्रो भएकालाई धेरै रकम र पहुँच नभएकालाई थोरै मात्र कोष उपलब्ध हुन्छ । यो त भुक्तभोगीहरुलाई नै चेतना भया.. । अर्का एकथरी साहित्यकार छन् जो त्यसरी निवेदन हालेर आर्थिक सहयोग माग्नुलाई आप्ुनो स्वाभिमानसित जोडेर हेर्छन् र आफूले कदापि त्यसो गर्न नसक्ने बताउँछन् । अँ, राज्य स्वयं अग्रसर भई आर्थिक सहयोग गर्छ भने त्यो चाहिँ मान्य हुने उनीहरुको जिकिर छ ।
विभिन्न व्यक्तित्व मात्र होइन, प्रज्ञा–प्रतिष्ठानबाटै वर्गीकरण गरिएको आधारमा विभिन्न साहित्यिक पत्रिकाहरुले पनि आर्थिक सहयोग पाउँछन् । त्यसका लागि एउटा बेग्लै ‘साहित्यिक पत्रिका सहयोग कोष’ नै छ । नियमित प्रकाशन भइरहेका साहित्यिक पत्रिकालाई तिनीहरुको पृष्ठ–संख्या र स्तर हेरी नेप्रप्रको वर्गीकरणअन्तर्गत ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा राखेर निश्चित रकम उपलब्ध गराइन्छ । अन्य कतिपय क्षेत्रीय र स्थानीय साहित्यिक पत्रिकालाई प्रोत्साहन राशि पनि प्रदान गरिन्छ ।
यी पंक्तिहरुमा नसमेटिएका अरु पनि यस्ता आर्थिक पक्ष हुन सक्छन् । पछिल्लो समयमा सातवटै प्रदेशमा प्रादेशिक स्तरबाटै पनि सम्बन्धित प्रदेशवासी साहित्यकार–कलाकारलाई आर्थिक पुरस्कारसहित सम्मान गर्ने प्रचलन सुरु भएको छ । यस किसिमको सरकारी स्तरभन्दा पृथक् गैरसरकारी स्तरबाट साहित्यकारलाई आर्थिक सहायता वा प्रोत्साहन हुने दिइने प्रसङ्ग उस्तो सुन्नमा आएको छैन तथापि केही हजारदेखि लाखौं रुपैयाँसम्मका अनेक साना–ठूला साहित्यिक पुरस्कार भने मदन पुरस्कार गुठी, खेमकला–हरिशरण पुरस्कार गुठी, नई प्रकाशन, शंकर लामिछाने पुरस्कार गुठी, उत्तम–शान्ति पुरस्कार गुठी, हेम–सरिता पाठक फाउन्डेसन आदिआदि समेत धेरै निजी संघ–संस्थाले बर्सेनी दिने गरेका छन् । यो क्रम राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरमा नै बढ्दो रुपमा देखिँदो छ । भनिन्छ, कुनै पनि देशको अवस्था कस्तो छ भनेर जान्न त्यस देशको समकालीन साहित्य पढे हुन्छ किनभने, भनिन्छ नि, साहित्य समाजको ऐना हो । त्यसकारण साहित्यकार देशको बौद्धिकवर्ग पनि हो, बौद्धिक प्रतिनिधि पनि हो । अस्वस्थ साहित्यकारले स्वस्थ साहित्यको सिर्जना गर्न कसरी सक्छ ?
भारतमा हिन्दी साहित्यका ‘उपन्यास सम्राट्’ भनिने मुन्शी प्रेमचन्द भन्ने गर्दथे, “रचना जीवनको अनुवाद हुने गर्दछ, विचारधाराको होइन । लेख्न त तिनीहरुले पो लेख्छन् जसभित्र कुनै पीडा छ, अनुराग छ, लगन छ, विचार छ । ” हुन पनि हो– मानव र मानव समाजको अध्ययन नगरी राम्रो रचनाको सिर्जना हुन सक्दैन । समाजबारे नलेखी साहित्य समाजको ऐना पनि हुन सक्दैन । तसर्थ, साहित्यकार अर्थात् यी अक्षरका खेलाडी, यी कलमजीवी र यी बुद्धिजीवीहरुको संरक्षणमा सम्बन्धित पक्षहरुले पर्याप्त ध्यान दिए पो झन्–झन् उर्वर एवं उम्दा सिर्जनाहरु पाठकसमक्ष आउन सक्छन् ।
तर विडम्बना के छ भने साहित्य र सत्ता इतिहासदेखि नै अक्सर दुई धुरीमा रहँदै आएका छन् । सत्ताको उन्माद र सिर्जनाको अनुरागबीच मेल भएको सितिमिति देखिँदैन ।