मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · गीत/कविता/गजल/मुक्तक · पृ. ८८

बस्तीविकास

शकुन्तला पौडेल

जथाभावी बस्तीविकास, उर्वर भूमि नाश
आज भोलि यसैलाई, भन्छन् कि विकास ?
विकास गर्दा दूरगामी, सोच राख्दा बेस
लथालिङ्ग हुने छैन, कहिले पनि देश

खेतीयोग्य जमीनजग्गा, पारी टुक्रा–टुक्रा
जता हेर्‍यो महल अनि, साना ठूला झुप्रा
महलमा बसे पनि, खानु पर्छ भात
यस्ता कुरा मानिसले, विचार गरोस् आज

मानिसलाई अत्यावश्यक, गास बास कपास
शिक्षा स्वास्थ्य रोजगारी र महगाइको निकास
बस्तीविकास निर्माण गर्ने, सुनिश्चितता तोकौं
अन्नबाली उत्पादनको, जमीनलाई जोतौं

नचाँहिदो सिको छोडौं, राम्रो काम सिकौं
दिगो विकास सुनिश्चित, योजनालाई रोजौं
जथाभावी भवन निर्माण, नक्सा दिंदा सोचौं
बनाएका घर भत्काउँदा, जवाफदेही बनौं

जनताले दुःख गरी, बनाएको घर
सरकारले बाटो बनाई, सार्यो पर–पर
जो–जसका जमीन थिए, सरे पर–पर
नहुनेका जमिन बाँकी, भए बिना घर

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्