मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · गीत/कविता/गजल/मुक्तक · पृ. ८०

बा ! मैले भोट बेचें

हरिप्रसाद पन्थी

बा ! मैले यसपालि पनि भोट बेचें,
पाँच वर्षपछि आए हूलका हूल मान्छेहरु
कसैले धारे हात लगाए,
कसैले मुड्की देखाए,
देखाए गुलिया चिल्ला र चिप्ला सपनाहरु
मुख रसायो बा !
घुटुक्क निलें थुक,
उनीहरु त बनिया रहेछन्
मोल मोलाइमा उत्रिए ।
मेरो मूल्य तोके एक छाक मासु–भात,
घाइते बनाए मेरो स्वाभिमानलाई
मसँग सुनचाँदी, हीरा, मोती
मणिमाणिक्य केही थिएन बा ! बेच्नलाई,
न त जग्गाजमिन छ, न त बास नै,
भेंडा बाख्रा गाई भैंसी हाँस कुखुरा
अँहँ केही थिएनन् बेच्नलाई
थियो त केवल
यो शरीर र एकथान भोट ।
यसपालि फरक भएछ व्यापार शैली
त्यसैले संस्थागत रुपमै बेचिदिएँ बा !
मैले भोट ।
कतै आमासमूह बासमूह र युवासमूह
बनाएर बेचें
कतै भारीका भारीमा बेचें
ब्राण्डेडमा बेचें कतै
कतै लोकल ठर्रामा !!
कतै तेलमा बेचें कतै जालझेलमा
कतै हत्कडी र जेलमा पनि
बेचें बा ! मैले भोट
कतै सिंहासानमा त कतै रछ्यानमा
पुग्यो बा ! मेरो भोट,
घन्किदै छ कतै जिन्दावाद
र कतै मुर्दावादमा
मेरो भोटले खोलामा पुल,
स्कुल, अस्पताल र गाउँमा उज्यालो
पुर््याउँछ वा पुर्याउँदैन शंका लाग्छ बा !
एक्लिएका वृद्ध बाआमाको लौरो
अबोध र निश्चल बालनयनको
सपना पूरा होला र खै बा !
जे भए नि होस्
तर
भोट चाहिं मैले बेचें बा !
यसपालि पनि ।

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्