मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · लेख/आलेख/निबन्ध/समीक्षा/टिप्पणी/संस्मरण/व्यक्तिवृत्त · पृ. ९१

अश्वत्थामा गीतिनाटक : समीक्षात्मक सिंहावलोकन

भुवन अर्याल

१. पृष्ठभूमि

गीतिनाटक नाटककै एक भेद हो । यसको शाब्दिक अर्थ गीतप्रधान नाटक भन्ने हुन्छ । अंग्रेजी भाषामा गीतिनाटकका समानार्थी शब्द मेलोड्रमा, ख्याले र अपेरा रहेका छन् । यीमध्ये नेपाली साहित्यमा प्रचलित गीतिनाटक मेलोड्रमाको निकट देखिन आउँछ । मेलोड्रमा साङ्गीतिक पृष्ठभूमिमा प्रस्तुत गरिने नाटक हो । यसमा संवादहरु बोलीकै रुपमा प्रस्तुत गरिने हुँदा गीतितत्त्वको अभाव हुन्छ । पश्चिमी साहित्यमा मेलोड्रमा र अपेरालाई एउटै अर्थमा प्रयोग गर्ने चलन रहेको देखिन्छ । ख्याले चाँहि नृत्य तथा संगीत प्रधान रचना हो । अपेराले संगीतबद्ध गाइने नाटकलाई जनाउँछ । अपेरामा गीत, नाटक र गायनको अन्योन्याश्रित सम्मिश्रण हुन्छ । नेपालीमा रचना गरिएका गीतिनाटक मेलोड्रमा र अपेराका निकट देखापरे पनि मञ्चीय पक्षबाट हेर्दा यसले अपेराकै विशेषतालाई बढी पछ्याएको देखिन्छ ।

पूर्वीय साहित्यमा गीतिनाटक लेखनको परम्परा देखिदैन । संस्कृत साहित्यको प्रारम्भिक कालमा गीतिनाटक लेखिएको देखिन्न । यसैले होला गीतिनाटक सम्बन्धी परिभाषा र दृष्टिकोण खासै प्रस्तुत भएका देखिदैनन् । इस्वीको सोह्रौं र सत्रौं शताब्दीतिर संस्कृतमा ‘कृष्ण नाटक’ र गोविन्द नाटकको रचना भएको देखिन्छ । यी दुबै नाटक गीतिनाटकको निकट देखिन्छन् । त्यसपछि संस्कृत साहित्यमा फाट्टफुट्ट मात्र गीतिनाटक रचना भएका देखिन्छन् । संस्कृत साहित्यका गीतिनाटकले नेपाली गीतिनाटकको परम्परामा खासै प्रभावित पार्न सकेका छैनन् । आदर्श बन्न सकेका छैनन् । यसैले नेपाली साहित्यमा गीतिनाटक लेखनको परम्परा अङ्ग्रेजी साहित्यकै परम्पराबाट अगाडि बढेको अनुभव हुन्छ ।

नीतिनाटकको ऐतिहासिक परम्परा हेर्दै जाने हो भने १६ औं शताब्दीसम्म पुग्न सकिन्छ । प्राचीन ग्रीसेेली मान्यतालाई पछ्याएर १६ औं शताब्दीमा गीतिनाटक परम्पराको थालनी भएको मानिन्छ । इटालेली कवि टर्क्युटो टासोको लयात्मक महाकाव्य ‘मुक्त जेरुसेलम’ बाट पनि पाश्चात्य गीतिनाटक परम्परा प्रभावित भएको देखिन्छ । विश्वसाहित्यमै प्रथम मञ्चीय गीतिनाटक ओट्टा थियो रिनुसिनीको ‘संगीत बेपत्ता’ हो । रिनुसिनीको दोस्रो संगीतनाटक युरिडिस सन् १६०० मा इटलीको सिटी दरबारमा मञ्चन भएको थियो । त्यस्तै पोन्टले सन् १७८७ मा ‘पिगारोको विवाह’ लेखेका थिए। यसरी विश्व साहित्यकै इतिहासमा गीतिनाटकको जग हाल्ने व्यक्तित्व रिनुसिनी र पोन्ट नै हुन् । यी दुबैले हालेको जगबाट विश्व साहित्यमा नै नीतिनाटक परम्परा समृद्ध हुँदै आएको देखिन्छ ।

२. परिचय

गेयात्मकता तथा संगीततत्त्व प्रमुख भई नाट्यतत्त्व सर्वत्र सक्रिय हुने दृश्यश्रव्य काव्य नै गीतिनाटक हो । यो नाटकवर्गको विधा हो । यसको परिचय र परिभाषा सन्दर्भमा पूर्वीय आचार्यहरु मौन देखिन्छन् । विशेषतः यो विधाको प्रारम्भ पश्चिमी साहित्यबाट भएकोले पश्चिमी विद्वान् तथा ग्रन्थहरु यसको परिभाषाका सन्दर्भमा सक्रिय देखिन्छन् । यसैले पश्चिमी साहित्यका विद्वान् र ग्रन्थहरुको सापेक्षतामा गीतिनाटकको परिचय कोट्याउने प्रयास गरिएको छ । गीतिनाटकका सन्दर्भमा इन्साइक्लोपेडियामा भनिएको छ बीच–बीचमा वाद्यमण्डलीसहित मञ्चन गरिने संगीतबद्ध र बोलीमा आधारित काव्यलाई गीतिकाव्य भनिन्छ । त्यस्तै गीतिनाटकको परिभाषा सन्दर्भमा डोनाल्ड जेइ ग्राउट र क्लाउड भीपालिस्काद्वय भन्दछन् – दुई वा सोभन्दा बढी दृश्यमा रहेको नाटकीय र रङ्गमञ्चीय सिर्जनालाई गीतिनाटक भनिन्छ । यसको परिचय र परिभाषा सन्दर्भमा समीक्षक तथा गीतकार कृष्णहरि बराल भन्दछन् – गीतको आयाम लम्बिएर द्वन्द्वको प्रधानता भई संवादात्मक रुपमा प्रस्तुत हुँदा यो गीतिनाटक बन्दछ । त्यस्तै गीतिनाटककार माधव घिमिरेको भनाइ छ ः– यो गीतद्वारा प्रस्तुत नाटक वा नाटकद्वारा प्रस्तुत गीत हो । यसमा नृत्य पनि रहन्छ ।

गीतिनाटकका सन्दर्भमा यी सबै विचारहरु समीकरण गर्दा गीतिनाटकको परिचयलाई निम्न बुँदाहरुका आधारमा चिनाउन सकिन्छ ः–

पद्यबद्ध दृश्यश्रव्य काव्य नै गीतिनाटक हो ।

नाट्यतत्त्व सक्रिय रहनु, सम्वाद र अभिनयको माध्यमबाट कथानक अगाडि बढ्नु यसको विशेषता हो ।

भावप्रधान र अन्तर्द्वन्द्वप्रमुख हुनु पनि यसको विशेषता हो ।

गेयात्मकता तथा संगीततत्त्वले यसलाई कोमल विधाका रुपमा स्थापित गर्दछ । गीत, नाट्य र संगीतको सन्तुलित संयोजनले यसलाई सामान्य नाटकबाट भिन्न बनाएको हुन्छ।

अतः गीतिनाटक पश्चिमी साहित्यमा जन्मेर क्रमशः नेपाली साहित्यमा प्रवेश गरेको विधा हो । यो विधा गेयात्मक, संगीतात्मक, भावनात्मक र द्वन्द्वप्रधान समेत हुन्छ । यसमा कथानक, पात्र, संवाद, गीत, द्वन्द्व अभिनय, परिवेश र उद्देश्यजस्ता तत्त्वहरु समावेश हुन्छन् ।

३. नेपाली गीतिनाटक परम्परामा अश्वत्थामा गीतिनाटक

पश्चिमी साहित्य १७ औं शताब्दीको आरम्भतिरैबाट परिपक्व बनिसकेको गीतिनाटकको लहर नेपाली साहित्यमा २० औं शताब्दीको मध्यतिरबाट अङ्कुरण हुन थालेको देखिन्छ । हुन त नेपाली कविताको प्राथमिक कालमा श्रुतिपरम्परामा कतिपय गीतिनाटक अस्तित्वमा आए तापनि लिखित रुपमा गीतिनाटकको शुरुवात माध्यमिक कालमा मात्र भएको देखिन्छ । शृङ्गारिक धाराका प्रवर्तक र केन्द्रीय प्रतिभा मोतीराम भट्टले लेखेको शाकुन्तल (१९४४–१९४८) गीतिनाटकलाई नेपाली गीतिनाटकको इतिहासको जग थाप्ने कृतिका रुपमा लिन सकिन्छ । यो पूर्णतः नाट्य विधा भए तापनि बीच–बीचमा गीत तथा कविताको प्रयोग भएकाले यसलाई गीतिनाटकको अगुवाकृति मानिन्छ । मोतीराम भट्टकै प्रियदर्शिका (लेखन १९४८ प्रकाशन २०१६) स्पष्ट रुपमा नाट्यकाव्यको प्रारम्भिक प्रतिनिधि ग्रन्थ हो । मोतीराम भट्टपछि शम्भुप्रसाद ढुङ्गेल, पूर्णानन्द उपाध्याय, शिवनिधि जोशीको नेपाली गीतिनाटकको इतिहासमा उल्लेखनीय योगदान देखिन्छ ।

नेपाली नाटकको इतिहासमा आधुनिक कालका आरम्भकर्ता बालकृष्ण सम हुन् । उनको पहिलो आधुनिक नाटक मुटुको व्यथामा अनुष्टुप् छन्दको प्रयोग गरिएको छ । उनले ध्रुव, प्रह्लाद, मुकुन्द इन्दिरा आदि पद्य शैलीमा नै रचना गरेका छन् । उनका नालापानी, रणदुल्लभजस्ता एकाङ्कीमा गीतितत्त्वको प्रयोग भएको छ । समका नाटक र एकाङ्कीले नेपाली गीतिनाटकको इतिहासमा महत्त्वपूर्ण सहयोग र उत्थान गरेको देखिन्छ । त्यस्तै लक्ष्मीप्रसाद देवकोटाको ‘कृषिवाला’ नेपाली गीतिनाट्य साहित्यको अर्को महत्त्वपूर्ण कृति हो । यसैबाट स्पष्ट रुपमा गीतिनाटक लेखनपरम्पराको आरम्भ भएको पाइन्छ । देवकोटाकै मुनामदन र कुञ्जिनी खण्डकाव्यसमेत गीतिनाटकका रुपमा मञ्चन हुनाका साथै पर्दामा समेत देखाइसकिएका छन् । सिद्धिचरण श्रेष्ठद्वारा रचित बालीबध (२०२१) को पनि नेपाली गीतिकाव्यका इतिहासमा आफ्नै विशिष्ट स्थान छ । यिनै पृष्ठभूमिबाट नेपाली गीतिनाटकको उत्थान भएको देखिन्छ । नेपाली गीतिनाटकका इतिहासमा माधव घिमिरेले जुन उचाइ प्रदान गरे सो उचाइ हालसम्म अन्य स्रष्टाबाट कत्ति पनि हुन सकेको देखिदैंन । माधव घिमिरेले शकुन्तला, मालती–मङ्गले, विषकन्या, अश्वत्थामा हिमालवारि–हिमालपारि जस्ता उत्कृष्ट गीतिनाटक रचना गरेर नेपाली गीतिनाटकको इतिहासमा अविजेय प्रतिभा बन्न पुगेका छन् । नेपाली साहित्यको इतिहासमा गीतिनाटकको विधागत स्वत्व वा गरिमालाई स्थापित गरेका छन् ।

वि.सं. २०३८ सालमा शकुन्तला गीतिनाटकबाट गीतिनाटकको इतिहासमा उदाएका माधव घिमिरेले सातवटा गीतिनाटक रचना गरेका छन् । उनको गीतिनाटक यात्रालाई मूलतः तीन चरणमा राखेर अध्ययन गरिन्छ भने उनको अश्वत्थामा नाटक गीति नाट्य यात्राको द्वितीय चरण अर्थात् (वि.सं. २०३९–२०५४) भित्र रचना भएको हो । यो चरण घिमिरेका गीतिनाटकको इतिहासमै अत्यन्त उर्वर चरण मानिन्छ । यस चरणमा घिमिरेका मालती–मङ्गले, विषकन्या, अश्वत्थामा, हिमालवारि हिमालपारि, गरी चारवटा गीतिनाटक प्रकाशित छन् । यस चरणमा घिमिरे गीतिनाटकका इतिहासमा संख्यात्मकता र गुणात्मकता दुबै पक्ष समेट्न सफल देखिन्छन् ।

माधव घिमिरेको अश्वत्थामा गीतिनाटक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट वि.सं.२०५३ सालमा प्रकाशित भएको हो । गीतिनाटकमै उल्लेख भएअनुसार यसको लेखनकार्य वि.सं. २०५१ सालमा भएको हो । भानुभक्त पोखेल ्र ले दिएको जानकारी हेर्ने हो भने यसको लेखनकार्य वि.सं. २०४७/०४८ तिरबाटै भएको मानिन्छ । नेपाली साहित्यमा वि.सं. २०५३ सालमा प्रकाशित पुस्तकहरुमध्ये सर्वोत्कृष्ट रचना ठहरिएकाले यस नाटकलाई नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट नोबेल पुरस्कार समिति स्विडेनमा पठाइएको हो तर यसको मञ्चन भने भएन । यसबाट नेपाली गीतिनाटकको इतिहासमा अश्वत्थामा नाटक एक सर्वोत्कृष्ट गीतिनाटक भएको यथार्थ प्रमाणित हुन आउँछ ।

४. अश्वत्थामा नीतिनाटकको कथास्रोत

अश्वत्थामा गीतिनाटकको मूल कथानक महाभारतको पौराणिक कथावस्तुमा आधारित छ । अश्वत्थामा द्रोणाचार्य र कृपीका पुत्र थिए । द्रोणार्चायले भगवान् शिवजीलाई प्रसन्न बनाएर आफ्नो अंशस्वरुप चिरञ्जीवी पुत्रको वरदान दिनु भएको थियो । अश्वत्थामा जन्मँदा घोडाजस्तै आवाज निकालेको थियो । उसले जन्मदा नै माथमा मणि लिएर जन्मेको थियो । ऊ अत्यन्त बलवान् थियो । उसले शिवजीबाट प्राप्त गरेको आशीर्वाद स्वरुप प्राप्त गरेको मणिका कारण दैत्य, दानव तथा अन्य कुनै शक्तिले उसलाई परास्त गर्न सक्दैनथे । अश्वत्थामा जन्मेपछि सम्पन्न द्रोणाचार्यको सम्पत्ति क्षय हुँदै गयो । द्रोणचार्य गरिब हुँदै गए । पाण्डवहरुका गुरु द्रोणाचार्यले अश्वत्थामालाई सम्पूर्ण धनुर्विद्या सिकाएका थिए । कौरव र पाण्डवको युद्धमा कौरव पक्षबाट लडेका द्रोणाचार्य र अश्वत्थामाले पाण्डव पक्षलाई हराउने निश्चित भैसकेको थियो । असत्यवादी कौरवहरुलाई हराउनका लागि भगवान् कृष्णले एउटा जाल रचेर युधिष्ठिरको मुखबाट अश्वत्थामा मरेको हल्ला फैलाउने चलाखी गरे तर सत्यवादी युधिष्ठिर असत्य बोल्न जान्दैनथे । अवन्ती राज्यको मत्त, बलवान् हात्ती अश्वत्थामा प्रद्युम्नले मारेको खबर युधिष्ठिरले सुनाउँदै थिए । पहिले अश्वत्थामा मर्‍यो भने, द्रोणाचार्य अचम्मित हुँदै प्रश्न गरे । युधिष्ठिर सत्य कुरा भन्दै थिए हो अश्वत्थामालाई प्रद्युम्नले मारे तर अवन्ती देशको अश्वत्थामा हात्ती ‘भन्न नपाउँदै कृष्णले पुनः चलाखी गरेर त्यसपछिको वाक्य सुन्ने बेलामा जोडले पाञ्चजन्य शन्न बजाइदिए । द्रोणले हात्ती भन्ने बुझ्नै पाएनन् । उनी पुत्रशोकले भूइँमा घोप्टो परेर रुन थाले । त्यसै अवसरमा द्रोणाचार्य पनि मारिए । आफ्ना पिताको मृत्युपछि अश्वत्थामा पागल जस्तै बन्यो । पाण्डववंशकै विनाश गर्ने अभियानमा लाग्यो । युद्धका नियम विपरीत जथाभावी मार्न थाल्यो । सर्वविनाश गर्ने नारायणअस्त्र प्रयोग गर्न थाल्यो । यहाँ पनि कृष्णले पाण्डव पक्षका सबैलाई रथबाट उत्रेर नारायण अस्त्रको शरणमा परे मात्र बाँच्न सकिने उपाय दिए । नारायण अस्त्र विफल भयो । पिताका मृत्युले पागल भैसकेको अश्वत्थामाले पाण्डवको वंशै विनाश गर्ने दाउमा उत्तराका गर्भमा रहेको शिशुमाथि प्रहार गर्यो । त्यहाँ पनि कृष्णले बचाए । जताततै षड्यन्त्र विफल भएपछि आजित बनेका अश्वत्थामालाई मार्नुपर्छ भनेर कृष्णले अर्जुनलाई कर गरे तर अर्जुनले गुरु पुत्रलाई नमारी उसका माथको मणि झिकिदिएर राज्यबाट निकाला गरिदिए । चिरञ्जीवी अश्वत्थामा माथको मणि झिकेर परेको घाउ निधारमा बोकेर भौतारिन थाल्यो । अझै पनि अश्वत्थामा जीवित छ । कलियुगको अन्त्यसम्म अश्वत्थामा जीवितै रहन्छ भन्ने भनाइ छ । भारतीय कतिपय स्थानमा अश्वत्थामा भौतारिएको छ । शिव मन्दिरमा पूजा गर्न मध्यरातमा आउँछ भन्ने भनाइ छ । शिवपुराणमा पनि अश्वत्थामा अझै जीवित भएको कुरा उल्लेख छ । महाभारतको यही खलपात्रलाई आधार बनाएर माधव घिमिरेले गीतिनाटकको कथानक संयोजन गरेका छन् ।

५. अश्वत्थामा गीतिनाटकको कथावस्तु

महाभारतमा उल्लेख गरिएका त्यही खलपात्र अश्वत्थामाको कथावस्तुलाई गीतिनाटककार माधव घिमिरेले सात अङ्क र बयालीस गीतहरुमा यसको पूर्ण स्वरुप तयार गरेका छन् । महाभारतको जस्तो विध्वंसकारी, आवेशयुक्त युद्धनियम भङ्ग गर्ने षड्यन्त्रकारी व्यक्तित्वका रुपमा घिमिरेले चित्रण गरेका छैनन् । मस्तकको मणि खोसिएर छलछामको युद्ध गर्दागर्दै आजित बनेको अश्वत्थामालाई विभिन्न सात अङ्कमा यसरी प्रस्तुत गरेका छन् । यस गीतिनाटकको प्रथम अङ्क अश्वत्थामा आफूले अतीतमा गरेका युद्धसम्बन्धी अपराधहरु स्वीकार गर्दै पश्चात्तापले छटपटाउँदै शान्तिको खोजीमा हिमाली क्षेत्रको गोसाइँ कुण्डमा आइपुगेको छ । लडाइँमा गएको छोरो फर्कने बाटो हेर्दै बसेका वृद्ध पितासमक्ष पुग्दछ । उनले अश्वत्थामालाई चिन्दैनन् तर अश्वत्थामाले चिनेर अभिवादन गर्दछ । वृद्ध पिताले वर्तमान युद्धका बारेमा जिज्ञासा राख्दछन् । अश्वत्थामा पनि महायुद्धको पीडा बोकेर त्यहाँबाट छिट्टै प्रस्थान गर्दछ । अश्वत्थामा हिडेपछि वृद्ध पिताले उसलाई कुनै योगी, सुनझाँक्री वा युद्ध नहारेरै हारेको अमरसिंहमध्ये कोही होला भन्ने अनुमान गर्दछन् ।

यस गीतिनाटकको दोस्रो अङ्कमा बराहपोखरीनिरको नमेरु वृक्षको फेदको शिलाखण्डमा युद्धमा वीरगति प्राप्त गरेका वीरहरुको स्मरणमा गाउँलेहरुले पाको वायुको पूजा गर्न लागेको ठाउँमा अश्वत्थामा आइपुग्दछ । वीरपूजा सकेपछि पूजाको नियम उल्लङ्घन भएकोले अश्वत्थामा प्रकट हुन्छ । उसलाई देखेर लोभारे ठिटो काम्न थाल्दछ । अश्वत्थामा आफू काँचो वायु बन्न परेकोमा दुःख प्रकट गर्दै लोभारेतिर जान्छ । लोभारेले अश्वत्थामाको परिचय माग्दै उसकै कारणले आफूमा कम्प छुटेको बताउँछ । कि अश्वत्थामालाई मार्ने कि आफू मर्ने कुरा लोभारेले बताउँछ । गाउँलेहरुले वीरलाई जिस्काएकाले भूतप्रेत निस्कने हुँदा सबैलाई आफ्ना जिउको सम्भार गर्न लगाउँछन् । अश्वत्थामा पनि मञ्चबाट बाहिर निस्कन्छ ।

तेस्रो अङ्कमा अश्वत्थामा नफुलेको अशोक वृक्ष र फुलेको सिउँडीका वृक्षका छेउमा पुगी आफूलाई सिउँडीसँग तुलना गर्दछ । त्यसै बखत गर्भवती महिला आएर अशोक वृक्षमा पानी हाल्छे । त्यसैलाई छाँद हालेर रुन थाल्दछे । त्यसै बखत अश्वत्थामा वनभित्र लहराको झ्याङमा देखा पर्दछ । गाउँले नारी र पुरुषले उसको परिचय माग्दै अशोक नफुल्नु र गर्भवतीको गर्भस्थ शिशु नचल्नुको कारण सोध्दछन् । गर्भवतीले गर्भस्थ शिशुको रक्षा गर्न आग्रह गर्दा अश्वत्थामा आफू बालहत्यारा भएको बताउँछ । त्यसै बखत कतैबाट बालक रोएको आवाज सुनेपछि अश्वत्थामाको तालुको घाउ छड्कन थाल्दछ । ऊ घाउ अठ्याउँदै त्यहाँबाट भाग्दछ ।

चौथो अङ्कमा पधेर्नीहरुले धारामा पानी भर्दै गरेको ठाउँमा अश्वत्थामा आइपुग्दछ । त्यहाँ अश्वत्थामाले आफ्नो पीडा व्यक्त गर्दछ । पधेर्नीहरुले उसलाई धाराबाट बगिरहेको पानी पिउन आग्रह गर्दछन् तर अश्वत्थामाले युद्धमा धेरैजना निहत्था मारेको हुँदा हातभरि रगत लागेकोले रक्ताम्य हातले पानी पिउन नसक्ने कुरा बताउँछ । उसले आफूले पहिले बाणले हानेर घाइते बनाएका वीरहरु पानी–पानी भनेर कराइरहेका र आफू अहिले तिनै घाइते सैनिकहरुझैं बनेर हिडेको बताउँछ । पधेर्नीहरुले आफ्नै हातले अश्वत्थामालाई पानी पिलाउँछन् । पिलाउँदै गर्दा अश्वत्थामाका टाउकामा गहिरो ठूलो घाउ देख्दछन् । उनीहरुलाई दया लागेर आफ्ना शिरको सिन्दूर पुछेर उक्त घाउमा लगाइदिन्छन् । अश्वत्थामाले आफूले धेरै निरपराध नारीहरुको सिउँदो पुछिदिने अपराधी भएकोले उनीहरुका सिन्दूरले घाउ नभर्न अनुरोध गर्दछ तर पधेर्नीहरुले कुनै पनि व्यक्ति सधैभरि अपराधी नबन्ने बताउँदै उसको घाउमा सिन्दूरले उपचार गर्दछन् । अश्वत्थामा उनीहरु प्रति कृतज्ञ हुँदै त्यहाँबाट बाहिरिन्छ ।

पाँचौ अङ्कमा अश्वत्थामा अँध्यारो पाताल गुफाभित्र पुग्दछ । त्यहाँ युद्धका अस्त्रहरु एक अर्काप्रति प्रहार भैरहेको, रुवाबासी र चित्कारका आवाजहरु सुन्छ । अश्वत्थामाले बच्चा च्यापेर भाग्दै गरेकी आमाको आग्नेय अस्त्रले आधा शरीर टुक्र्याइदिएपछि पनि बच्चाले दूध चुस्दै गरेको दृश्य देख्दछ । ऊ भयले आत्तिएर आँखा चिम्लन्छ । अश्वत्थामाले मर्नेका जिउको पीडा मार्नेका जिउमा सर्ने कुरा बताउँछन् । सैनिकहरुले पनि अरुलाई नाश गर्न खोजेको आफ्नै विनाश हुने बताउँछन् । अश्वत्थामा झस्कन्छ ।

छैटौ अङ्कमा पाताल गुफामा युद्ध, हत्या हिंसाका बीभत्स दृश्य देखेको अश्वत्थामा गुफाको एक किनारामा शून्य मन लिएर टोलाइरहन्छ । नेपथ्यमा अनौठो ध्वनि सुनिन्छ । विचित्रका मानिसहरु देखिन्छन् । ती सबै आपसमा हेराहेर गरेर डराउँदै चूप लाग्दछन् । अँध्यारोमा सर्वत्र विधवाहरु विलाप गर्दै आफ्नो प्रियतमहरुको खोजीमा भौतारिन्छन् । युद्धमा घाइते बनी अपाङ्ग भएका युवाहरु बैसाखी टेकी मञ्चमा आउँदै बाँच्न पाएकोमा खुशी मनाउँछन् । त्यहाँ पागल, हतास, भयभीत मानिसहरु रिसाउँदै, अगुल्टाले, ढुङ्गाले हानाहान गर्दै हिड्छन् । अन्य सद्दे मानिसहरु पनि पागल बन्न पुग्दछन् । अश्वत्थामा पनि यी सबै दृश्य हेरेर अब सुन्दर सृष्टि कदापि देख्न नपाइने हो कि भन्ने चिन्ता प्रकट गर्दछ ।

सातौ अङ्कमा कवि र अश्वत्थामाको संवाद भएको देखाइएको छ । अश्वत्थामाले आफ्ना जन्मदेखिको सम्पूर्ण विवरण कविलाई दिन्छ । अश्वत्थामाले आफ्ना कुकर्मप्रति पश्चात्ताप गरेकोमा कवि प्रसन्न हुन्छन् । अश्वत्थामाको पीडा संसारसम्म पुर्याउने भाषाको खोजीमा जुट्दछन् । कलाले छोएमा काँडा पनि फूल बन्ने कुरा बताउँदै अश्वत्थामा आफ्नो कथा सारङ्गीमा गाउँदै आफ्नो कथा सबैतिर पुर्याइदिन अनुरोध गर्दछ । आफू युद्धअपराधी भएको पुनः स्वीकार गर्दै कविलाई मृत्युपूर्व नै मृत्युबोध गरी अमरता रच्नुपर्ने तथा युद्धको पूर्वानुभूति गर्नुपर्ने सन्देश संप्रेषण गर्न पनि अनुरोध गर्दछ । कविले सारङ्गीमा सधै रोइरहने र संसारमा युद्ध भइन्जेल आइरहने बताएर अश्वत्थामा कविमै एकाकार भई विलय हुन्छ ।

महाभारतमा युद्धका नियम तोड्दै जथाभावी रणसंग्राम मच्याउने पात्र अश्वत्थामाको जन्म, बाल्यकाल, शिक्षादीक्षा, बाबुसँगै भोगेका मानअपमान, युद्धका नियम तोडेर पागल जस्तै बनी जथाभावी मानिसहरु मार्दै अनि पाण्डवको वंश नै विनाश गर्ने लक्ष्यका साथ अगाडि बढेको अश्वत्थामालाई पुनः कृष्णकै जुक्तिद्वारा माथको मणि निकालेर शक्तिहीन छोडेपछि विकास भएको कथानकलाई गीतिनाटकारले टिपेर सात अङ्कमा गीतिकाव्यको स्वरुप दिएका छन् । महाभारतको मूल कथानकलाई मौलिक स्वरुप दिएर रचना गरिएको यस गीतिनाटकको माध्यमबाट वर्तमान युद्धजनीन परिवेश र युद्धप्रेमी व्यक्तिको मनोदशालाई चित्रण गर्ने प्रयास गरिएको देखिन्छ । पौराणिक तथा लोक मिथकलाई पुनर्व्याख्या गरी वर्तमान सन्दर्भसँग जोडेर गीतिनाटकलाई उत्कृष्ट रुप दिने प्रयास गरिएको छ ।

६. पात्रयोजना

युद्धको विषयवस्तुलाई आधार बनाएर संरचना गरिएको यस गीतिनाटकमा नाटककारले निम्नानुसार पात्रहरुको संयोजन गरेका छन् ः

(क) अतिमानवीय पात्र ः– यस गीतिनाटकमा अति मानवीय पात्रका रुपमा अश्वत्थामालाई प्रस्तुत गरिएको छ ।

(ख) मानवीय पात्रहरु ः– वृद्ध, पिता, ग्रामवासी, लोभारे, दोजिया, सर्वेसर्वा, सैनिक, आमा, बालक, पागल, अपाङ्ग, कवि आदि ।

गीतिनाटकमा रहेको स्थितिका आधारमा निम्नानुसार पात्रहरुको संयोजन गरिएको छः

(ग) प्रत्यक्ष पात्र ः– अश्वत्थामा, सर्वेसर्वा, वृद्धपिता, दोजिया, पधेर्नी, ग्रामवासी, ग्रामपुरुष, ग्रामनारी, लोभारे ठिटो, सैनिक, कवि आदि ।

(घ) अप्रत्यक्ष पात्रहरु ः– विधवाहरु, युद्धमा घाइते वीरहरु, आमा, पाको वायु अङ्गरक्षक आदि रहेका छन् ।

त्यसैगरी गीतिनाटकमा खेलेको भूमिकाका आधारमा यस नाटकमा मुख्य र सहायक गरी दुई प्रकारका पात्रहरु रहेका छन् ।

नाटकमा मुख्य पात्रका रुपमा अश्वत्थामा रहेको छ भने कवि, सर्वेसर्वा सहायक पात्रहरु हुन् । अन्य पात्रहरु वृद्धपिता पधेर्नीहरु, दोजिया, लोभारे, ठिटो आदि रहेका छन् ।

नाटककारले महाभारतको छलछाम, षड्यन्त्र आदिद्वारा निहत्था तमाम व्यक्तिहरुको हत्या गर्नुका साथै पाण्डवहरुकै वंशविनाश गर्न खोज्ने, उत्तराका गर्भमा रहेको शिशुको समेत नारायण अस्त्रले नष्ट गर्न तत्पर अश्वत्थामालाई उपस्थित गराएर युद्धपश्चात् पश्चात्तापको रापले पिल्सिएर शान्तिको खोजी गर्दै भट्किएको पात्रका रुपमा चित्रण गरेका छन् । शक्तिको दुरुपयोग गर्दै कुकर्ममा क्रियाशील अश्वत्थामा आफ्नै कुकर्मले माथको मणिसमेत गुमाएर विक्षिप्त बन्दै हिडेको पात्रका रुपमा यहाँ चित्रण गरिएको छ । समुद्रमन्थन गर्दा निस्केको कालकुट विष निलेर त्यसको पीडाबाट बच्न महादेव गोसाइँकुण्डतर्फ गएजस्तै अश्वत्थामा पनि अरुप्रति गरेको अन्याय, अत्याचार, दमनशोषण, छालछाम, हत्या हिंसाको पीडाबाट विक्षिप्त जस्तै बनेर गोसाइँकुण्डतर्फ गए पनि विष पिएका महादेवले बरु गोसाइँकुण्डमा गएर शान्ति पाएका थिए तर अश्वत्थामाले भने त्यहाँ गएर पनि शान्ति पाउन नसकी भौतारिएको अवस्था प्रस्तुत गर्दै निहत्था मानिसहरुप्रति गरिएको हत्या, हिंसा छलछाम आदि विषभन्दा पनि कडा हुने तथ्य प्रस्तुत गर्न नाटककारले अश्वत्थामा पात्रको चयन गरेका छन् । पौराणिक कथनअनुसार शिवजीबाट अमर हुने वरदान पाएको अश्वत्थामाले यदि आफ्ना शक्ति र क्षमताको सही सदुपयोग गरेको भए दीर्घजीवी सुखी र सन्तुष्टसमेत हुन्थ्यो होला तर त्यसो नहुँदा आत्मा भड्काएर पिशाचजस्तै बनेको दुःखद अवस्था गीतिनाटकमा चित्रण गरिएको छ भने अश्वत्थामाले अझै पनि भारतको उत्तरप्रदेशका नदीहरुका किनारमा शिव मन्दिरमा स्नान गर्दैर् पूजा गर्दै हिड्ने जनविश्वास राखिन्छ । न्याय, शान्ति, मेलमिलाप, शान्तिको मार्ग त्यागेर अन्याय, अत्याचार, हिंसा र छलछामको बाटो रोज्नेहरुले अश्वत्थामाकै नियति भोग्नुपर्ने आदर्शभाव पनि यहाँ प्रस्तुत गर्नका लागि गीतिनाटककारले अश्वत्थामाको चयन गरेका छन् ।

यस गीतिनाटकमा खलपात्रका रुपमा सर्वेसर्वालाई उपस्थित गराइएको छ । ऊ यस नाटकको सहायक पात्र पनि हो । नाटककारद्वारा उसलाई शक्तिसम्पन्न राष्ट्रको प्रतिनिधिका रुपमा चित्रण गरिएको छ । युद्धमा मारिएका मानिसहरुको दर्दनाक अवस्थालाई पनि सर्वेसर्वाले खुशी हुँदै हेरेको छ । यस गीतिनाटकमा सर्वेसर्वा छोटो र महत्त्वपूर्ण भूमिकामा प्रस्तुत भएको छ । उसको प्रत्यक्ष उपस्थिति पाँचौं अङ्कको तेस्रो र छैठौं गीतमा मात्र रहेको छ । आफ्ना सैनिकहरुलाई कडा निर्देशनले युद्ध गर्न बाध्य बनाएको छ । यस गीतिनाटकको बाह्य द्वन्द्व उसकै माध्यमबाट प्रस्तुत भएको छ । सर्वेसर्वाले कैयौं मानिसहरुको हत्या गराएर भए पनि आफू सत्तामा पुग्ने, शासक बन्ने सोच बनाउने सर्वेसर्वा स्वार्थी र निर्दयी सोच भएको मानिस पनि हो । ऊ निर्दयी स्वार्थी भएको तथ्य प्रस्तुत पद्यांशबाट बुझ्न सकिन्छ ः–पुतलीहरुले घेरी निभ्ने बत्ती म होइन ज्यूँदो ज्वालामुखी हुँ म ज्वाजल्यमान जीवन संसारै भष्म पार्ने हुँ बरु आफैं फुटेर हो । जसरी भए पनि आफू शक्तिशाली बन्न चाहने शस्त्रअस्त्र निर्माण गर्ने राष्ट्रको प्रतिनिधि एवं युद्धको प्रतीकका रुपमा सर्वेसर्वाको चित्रण गरिएको छ । ऊ एउटा असल पात्र पनि हो । उसलाई स्थिर, मञ्चीय, बद्ध पात्र पनि मान्न सकिन्छ । गीतिनाट्यकारले सर्वेसर्वालाई महाभारतको पात्र दुर्योधनकै समकक्षी पात्रका रुपमा चित्रण गरेको पाइन्छ भने समसामयिक राजनीतिक सन्दर्भलाई हेर्ने हो भने सर्वेसर्वा युद्ध, हत्याहिंसा, आतङ्क मच्याएर जालझेल षड्यन्त्र गरी आफ्नो वर्चस्व जमाउन खोज्ने देशका प्रतिनिधि पात्रका रुपमा लिन सकिन्छ ।

गीतिनाटकमा कविले कविलाई आफ्ना सन्देश प्रवाह गर्ने पात्रका रुपमा चयन गरेका छन् । कविले नाटकको सातौं अङ्कमा ‘कवि’ पात्रको प्रयोग गरेका छन् । युद्ध विक्षिप्त पात्र अश्वत्थामालगायत सबैको पीडा वा अन्तर्वेदना बुझ्न सक्ने, भविष्यलाई नियाल्न सक्ने पात्रका रुपमा लिइएको छ । अश्वत्थामाको अनुहार हेरेर उसको अन्तर्पीडा बुझ्न सफल कवि चिन्तनशील, भावुक एवं बौद्धिक पात्र पनि हो । युद्ध, हत्या, हिंसाको पीडालाई अत्यन्त मार्मिक रुपमा भावुक भएर प्रस्तुत गरेका छन् ः नबुझेरै पनि पीडा त्यसै व्याकुल हुन्छु म । हर्न सक्दिन त्यो पीडा सारङ्गीसित रुन्छु म ।।

नाट्यकारले प्रस्तुत नाटकमा अश्वत्थामा, सर्वेसर्वा, कविवाहेक अन्य धेरै प्रकृतिका पात्रहरु पनि संयोजन गरेका छन् ।

शान्तिकामी चरित्र भएका वृद्धपिता युद्धले तहसनहस पारेको दुनियाँ देख्दा चिन्तित हुन्छन् । लडाइमा गएको आफ्नो छोरा फर्केर आउने आसमा बसेका वृद्धपिताले अश्वत्थामालाई आफ्नो छोरो भनेर चिन्न सक्दैनन् तर अश्वत्थामाले चिन्दछ । उनले अश्वत्थामालाई आफ्नो छोरोजस्तै ठानेर चिरञ्जीवी बन्ने आशीर्वाद दिन्छन् ।

सर्वेसर्वाको इशारामा चल्नु परेको पराधीन पात्रका रुपमा यस नाटकमा सैनिकलाई उपस्थित गराइएको छ । विजयी पक्षको सैनिक भएर पनि विजयोत्सव मनाउन नगई जनतासँग सम्मिलित हुने सैनिक मानवताले युक्त पात्र हो । बच्चा काखमा लिएर हिडेकी आमालाई अश्वत्थामाले आग्नेय अस्त्रले क्षतविक्षत पारेपछि पनि बच्चाले दुःख मानेको दृश्य देख्दा सैनिक आँखा चिम्लेर भावविह्वल बन्दछ ।

यस गीतिनाटकमा दोजिया महिलाको पनि चित्रण गरिएको छ । एकाङ्कीमा दोजिया आएर अशोकको वृक्षमा पानी हाल्न थाल्छे अनि छाद हालेर रुन थाल्दछे । आफ्ना गर्भस्थ शिशुको रक्षा गर्न आग्रह गर्दछे । दोजियालाई नाटककारले उत्तराको सापेक्षतामा उपस्थित गराउन खोजेको अनुभव हुन्छ । दोजियासँग अश्वत्थामाले आफू बालहत्यारा भएको स्वीकार गर्नुले पनि यसको पुष्टि हुन्छ ।

दयालु, सहयोगी र क्षमाशील चरित्र भएका पात्रहरुको रुपमा पधेर्नीहरुलाई उपस्थित गराइएको छ । आफ्ना शिरको सिन्दूरद्वारा अश्वत्थामका माथका घाउको उपचार गर्नु, हातमा हत्या हिंसाको रगत लतपतिएकोले पानी खान नसकेको पानी पिलाएर अपराध गर्ने मानिस सधै अपराधी रहिरहदैन, अपराध स्वीकार गरेपछि मानिसलाई माफी दिनुपर्दछ भन्ने धारणा पधेर्नीहरुमा पाउन सकिन्छ ।

ग्रामवासी, ग्रामनारी, ग्रामपुरुषहरु आदि सबै युद्धविरोधी पात्रहरुका रुपमा यस नाटकमा चित्रण गरिएको छ । युद्धको परिणाम नकारात्मक हुने यथार्थ अपाङ्ग युवकहरु, पागलहरु, विधवा युवतीहरु युद्धमा वीरगति प्राप्त गरेका वीरहरु, आफ्नो र बच्चाको प्राणरक्षा गर्दागर्दै मर्न पुगेकी आमा र आफ्नी आमाको आग्नेयास्त्रले टुक्राइएको शरीरमा पनि स्तनपान गर्दै गरेको बच्चा आदिका माध्यमबाट प्रस्तुत गरिएको छ ।

यसरी यस गीतिनाटकमा नाटककारले आफ्नो उद्देश्य परिपूर्ति गर्दै युद्ध विरोधी आदर्शवादी सन्देश प्रवाहका लागि विभिन्न थरीका पात्रहरुको संयोजन गरेका छन् ।

७. सन्देश

नाटककार माधव घिमिरेले यस गीतिनाटकको माध्यमबाट युद्ध, हत्या, हिंसा, बेइमानी, अमानवीय व्यवहार एवं छलकपट परिणामहरु सधै नकारात्मक हुन्छन् । अश्वत्थामा जस्ता युद्धको वितण्डा मच्चाउनेहरुले अन्ततोगत्वा शान्तिकै शरण लिनुपर्दछ भन्ने तथ्य देखाउनको लागि अश्वत्थामा पात्रको चयन गरेका छन् । अश्वत्थामाले पीडा भोगेर विक्षिप्त बनेजस्तै अन्य युद्धप्रेमीहरुले पनि यस्तै पीडा नभोगी सुखै छैन भन्ने तथ्य देखाउने उद्देश्य पनि प्रस्तुत गीतिनाटकको देखिन्छ । आमाको दूध चुसिरहेका बेला आग्नेयास्त्रले आमालाई टुक्रा पारिदिंदा पनि बालकले दूध चुसिरहेको सन्दर्भ निकै मार्मिक छ । अझ त्यस दृश्यलाई देख्दा सर्वेसर्वा अट्टाहास गर्दै विजयोत्सव मनाउनु, सैनिक यही दृश्य हेर्न नसक्ने अवस्थामा जानु अनि युद्धमा विजय प्राप्त गरेर पनि पराजित जनताकै पक्षमा जानु, सीमित व्यक्तिहरु मात्र युद्धको पक्षमा रहनु तर धेरै जनतामा शान्तिको चाहना रहनु आदि प्रसङ्गको माध्यमबाट मानवता, शान्ति सद्भाव दया, माया, प्रेम, सहानुभूतिको स्थापनाका लागि नाट्यकारले आग्रह गरेका छन् । युद्ध, हत्या, हिंसा र छलछामको मार्ग रोज्नेहरु अश्वत्थामाकै नियति भोग्न बाध्य हुन्छन् भन्ने तथ्य उजागर गर्नु पनि प्रस्तुत गीतिनाटकको मूल उद्देश्य देखिन्छ ।

महाभारतमा युद्ध नियम भङ्ग गर्ने आततायी अश्वत्थामालाई उसका माथको मणि झिकेर श्रीहीन बनाएर छोडिएको छ । त्यसपछिको प्रसङ्ग छैन । नाटककारले प्रस्तुत नाटकमा भारतका उत्तर प्रदेश, बङ्गाल क्षेत्रमा प्रचलित लोकोक्तिमा अश्वत्थामा अझै पछि जीवित छ । रातको बाह्र बजेपछि नदीमा नुहाएर आएर शिव मन्दिरमा पहिले पूजा गर्छ भन्ने गरिन्छ । नाटककार घिमिरेले भारत क्षेत्रमा होइन नेपालकै गोसाइँकुण्ड जहाँ भगवान् शिवजी कालकूट विषपान गरेपछि त्यसको पीडा शमन गर्न गोसाइँकुण्डमा बसे जस्तै युद्धबाट प्रताडित एवं पीडित अश्वत्थामा गोसाईकुण्डतर्फ त गएको छ तर त्यहाँ पनि शान्ति प्राप्त गर्न नसक्दा पुनः भौतारिंदै पातालतर्फ लागेको छ । छलकपट, हत्या, हिंसा, बेइमानीरुपी विगत कालकूट विषभन्दा पनि अझ कडा हुन्छ भन्ने देखाउनु पनि यस गीतिनाटकको मूल उद्देश्य देखिन्छ ।

नाटककारले आफ्ना सन्देश प्रवाह गर्ने पात्रका रुपमा नाटकको सातौं अङ्कमा कविलाई उपस्थित गराएका छन् ।

शान्ति, मानवता र साधुजनको रक्षा गरी दुर्जनको विनाश गर्न महाभारतमा कृष्णले सत्यवादी पाण्डवहरुको पक्ष लिएर अमर अश्वत्थामालाई समेत श्रीहीन बनाएर युद्धको परिणति यस्तै हुन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि प्रस्तुत गीतिनाटकको रचना गरेको देखिन्छ ।

उपसंहार

गेयात्मकता तथा संगीततत्त्व प्रमुख भई नाट्यतत्त्व सर्वत्र सक्रिय हुने दृश्य काव्य नै गीतिनाटक हो । यसको प्रारम्भ पश्चिमी साहित्यबाट भएको मानिन्छ । नेपाली साहित्यमा मोतीराम भट्टले ‘शाकुन्तल’ लेखेर सुरु गरेको गीतिनाटकको जगबाट माधव घिमिरेसम्म आइपुग्दा यसले पूर्णता प्राप्त गरेको पाउन सकिन्छ । घिमिरे नै हालसम्मका सर्वोत्कृष्ट गीतिनाटक स्रष्टाका रुपमा स्थापित छन् ।

अश्वत्थामा गीतिनाटक महाभारतको कथावस्तुमा मौलिकता दिएर रचना गरिएको गीतिनाटक हो । मानवतावादी, शान्तिप्रेमी, सत्य र अहिंसाका पक्षपाती माधव घिमिरेले युद्ध, हत्या, हिंसा आतङ्क मच्याउने आततायी अश्वत्थामाको विक्षिप्त स्थिति देखाएर गोइँकुण्डमा कालकूट विष निलेका महादेवले त शान्ति पाएका थिए भने त्यो पवित्र ठाउँमा जाँदासमेत शान्ति प्राप्त गर्न नसकेर पृथ्वी र पाताललोकतिर समेत भौंतारिएर पनि शान्ति पाउन नसकेको अवस्था देखाउँदै सत्य, मानवता, शान्ति, दया, माया, प्रेम र विश्वबन्धुत्वको भावना सञ्चरण गर्न खोजेको देखिन्छ ।

सन्दर्भ–ग्रन्थ–सूची

१.

घिमिरे, माधवप्रसाद (२०५३) अश्वत्थामा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौं ।

२.

शर्मा, विन्दु (२०६२) गीतिनाट्य परम्परामा राष्ट्रकवि माधव घिमिरे, काठमाडौं अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन ।

३.

प्रधान कृष्णचन्द्रसिंह (२०४४) साझा समालोचना, ललितपुर साझा प्रकाशन ।

४.

ओझा, रामनाथ नेपाली (२०७७/२०७८) कविताकाव्य, करुणाधर पब्लिकेशन प्रा.लि. काठमाडौं ।

५.

शर्मा, मोहनराज र दयाराम श्रेष्ठ (२०४६) नेपाली साहित्यको संक्षिप्त इतिहास, ललितपुर साझा प्रकाशन ।

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्