(९६ वर्ष पार गरिसकेकी तिरसु पुन रोल्पा जिल्लाको दीर्घजीवी महिलाहरुमध्ये एक हुनुहुन्छ । उहाँ एकदमै स्वस्थ र सचेत हुनुहुन्छ । हिंड्न, डुल्न, खान, बस्न उहाँलाई अहिलेसम्म कुनै समस्या छैन । उहाँका अनुभवहरुको बारेमा शशि पन्थीले सोधेका प्रश्नको उत्तर उहाँका साहिंला सुपुत्र नौलसिंह पुनको सहयोगमा यहाँ प्रस्तुत गरिएको छ ।)
१.
तिरसु पुन जंकोट, रोल्पा
तपाईंको परिचय दिनुहुन्छ कि ?
मेरो नाम तीरसु पुन हो । मेरो बुबाको नाम चन्द्रबहादुर घर्तीमगर र आमाको नाम जुटिका हो । मेरो जन्म वि.स. १९८३ साउन २० गते जंकोट रोल्पामा भएको हो ।
२.
तपाईंले बाल्यकाल कसरी बिताउनुभयो ?
मेरो बाबा आमा खेतीपाती र पशुपालन गरेर गाँउठाउँमा पुग्दो परिवार थियो । खान लाउन खासै समस्या थिएन । कान्छी छोरी भएकोले मिठो खाने, चयन काट्ने गरियो । पढ्नेहरु जैसेलो पढ्थे , दाइ र भाइ जैसेलो पढ्थे । मैले पढ्न पाइनँ, चलन पनि थिएन ।
३.
तपाईंको तरुण अवस्था कस्तो थियो ? विवाह कसरी भयो ?
मेलापात जाने, घरको काम गर्ने, चाडपर्वको अवसर पारेर मेलाहरु भर्न साथीहरुसँग जाने गरिन्थ्यो । एउटा गाउँका तन्नेरीहरुलाई हाम्रो गाउँको मेला भर्न आउँदा हाम्रो समूहका तरुनीहरुले राँगो, बोका काटेर, रोटी झानेर, खाना ख्वाएर सत्कार गर्ने गर्थ्यौं । जाँड, रक्सीले पनि सत्कार गरिन्थ्यो । हामीहरु अर्को गाउँको मेला भर्न जाँदा, स्थानीय तन्नेरीहरुले पनि राँगो, बोका काटेर, रोटी झानेर हामीलाई पाहुना मान्थे भने हाम्रा दाइ भाइहरुलाई जाँड र रक्सी दिएर स्वागत गरिन्थ्यो ।
पुराना गानाहरु साइँला वरै गीत, फाङ्क गीत गाएर उज्यालो पारिन्थ्यो । यसरी केटा र केटीहरु बीच मन परायो भने केटा पक्षले केटी पक्षलाई चाँदीको मोहर झोलीमा राखेर लुकाएर “साही” दिने चलन हुन्थ्यो । मेरो विवाह, मेरै आमाले पनि मन पराएको र मेरो बुढाको मावली बाले मलाई मन पराएपछि बढौरीहरुको सल्लाहअनुसार मेरो गाडोमा त्यो बेलाको तीन रुपैयाँको मोहर झोलीमा राखेर हाम्रो थकानअनुसार साँझपख तन्नेरीहरु आएपछि रातभरि साइँला वरै गाना आपसमा गायौं । उज्यालो भएपछि तन्नेरीहरुलाई बिदाइ गर्दा मेरो बुढाले तिम्रो गाडो घर गएर हेर्नु है भनेका थिए । पछि गाडो छाम्दा “साहि” भेतियो मन पनि पर्यो र चलनअनुसार विवाह भयो ।
४.
तपाईंका सन्तानहरु के–कति छन् ?
मेरा सन्तानहरु ७ जना छन् । ४ जना छोराहरु र ३ वटी छोरीहरु छन् । छोरीहरु बिहे भएर आ–आफ्नो घर गए । जेठा छोरा आर्मीमा छन् । महिलो र कान्छो छोरो वैदेशिक रोजगारीमा छन् । साहिंला छोराले यहीं बसेर पढाउने र समाजसेवाको काम गर्छन् ।
५.
तपाईंको पालामा नूनतेलको किनमेल कहाँ गर्नुहुन्थ्यो ?
कोइलावास गएर नून किनेर चोयाको धोक्रोमा मालुको पातको फेरो बनाएर लिइन्थ्यो । बटौली गएर पनि नून लिइयो । एक बेला नून नपाएर धेरै गाउँलेहरुले मुस्या भटमास (रातो रङ्गको सानो दाना भएको भटमास जुन हल्का नुनिलो हुन्छ ) भुटेर खानासँग खाए । हाम्रो बुबा उत्तर भोट गएर भोटे नून लिएपछि बल्ल खान पाइयो । भुटूनको रुपमा चिउरीको तेल खान्थ्यौं । गाई भैंसीको घ्यू खान्थ्यौं ।
६.
तपाईंको पालामा मासु र अन्नको मूल्य कति थियो ?
मैले जानेबुझेसम्म एक धार्नी राँगोमासुको मूल्य एक सुकी थियो । हाम्रो आमाले दशैंमा पाँच रुपैयाँको बीस धार्नी राँगोमासु किन्नहुन्थ्यो । बाबाले राँगोमासु नखाने भएकोले एक मोहर धार्नी बाख्राको मासु खानुहुन्थ्यो । मकै, गहुँ एक सुकामा एक पाठी (४ माना) आउँथ्यो ।
७.
आङ्मा लगाउने कपडा कसरी लगाउनुहुन्थ्योे, कहाँबाट ल्याउनुहुन्थ्यो ?
भाङ्ग्रो र अल्लो (पुवा) को रेसा टाकुमा काटेर तानमा बुनेर आङ ढाक्थ्यौं । केही कपडा कोइलावासबाट खरिद गरेर हाम्रो गाउँका किरकिर डमाई, चञ्चल डमाई, ज्याङत्यनी र चञ्चलाहरुले सियो र धागोले गोजिवाला चोलो, गुन्यू र गाडो बनाउन लगाएर लगाउँथ्यौं । अहिलेको जस्तो कल–मेशिन थिएन ।
८.
तपाईंको बेलामा रोल्पा जिल्ला प्यूठान जिल्लामा थियो ? थिएन र ?
मेरो समयमा रोल्पा प्यूठान जिल्ला थियो । जग्गाको तिरो उठाउन प्यूठानबाट डोरहरु आउँथे । तिलंगा सिपाहीहरु कालो कपडा लगाएर गाउँमा आउँथे, हामीले सबै घरबाट एक /एक माना आटो उठाएर ख्वाउँथ्यौं । किनकि त्यो बेलामा चामल पाइँदैनथ्यो । रोल्पा जिल्ला त पछि २०१८ सालमा स्थापना भयो ।
९.
तपाईंको बेलामा जंकोटमा खानेपानीको धेरै समस्या थियो रे, हो ? बताइदिनुस् त कस्तो समस्या थियो ?
बस्नलाई अग्लो र सुरक्षित भएकोले दारेजैतम राजाले पनि जङबाङमा अड्डा बनाएर बसे रे । मैले जाने बुझेसम्म जंकोटमा खानेपानी दारेजैतम राजाले बनाएको राजा पँधेराबाट पानी ल्याउँथ्यौं । त्यतिले नपुगेर मध्यरातिमा उठेर भालेको डाँकोसँगै पानी खोज्न रल्याबैस, बिज्यारेई, संल्क्वाङसम्म २/३ घण्टा लगाएर पुग्थ्यौं । धेरै जनाले पानी भरेर, हामीहरु धमिलो पानी गाग्रोमा भरेर घर ल्याउँथ्यौं । जंकोट गाउँमा पानी तेल जस्तै महङ्गो थियो । अहिले त धाराको पानी गाउँलेले पिउँछन् मेरै सभापति मामा हेमसिंहले पाइपबाट पानी ल्याइदिनुभयो ।
१०. राति घरमा के बालेर उज्यालो बनाउनुहुन्थ्यो ?
अहिलेको जस्तो मट्टीतेल, बिजुलीबत्ती थिएन । सल्लाको झर्केलो, भिमलको दाला, चिउरी कोलमा पेल्दा, चिउरी पिना चलाउन प्रयोग गरिएको कपडालाई चिरेर बाटेर दियालो बनाई रातमा उज्यालो बनाइन्थ्यो ।
११. तपाईंको समयमा कपडा धुने, नुहाउने कसरी गर्नुहुन्थ्यो, साबुन थियो ?
घरमै बुनिएको अल्लो र भाङ्ग्रोको कपडा ज्यादा प्रयोग गर्थ्यौं । कोइलावासबाट ल्याएका कपडाहरु चूल्होको खरानी मिसाएर ताउलोमा पकाएर पानीले धुन्थ्यौं । शरीर नुहाउँदा कपालमा मैलो फाल्न बिही, चयील प्रयोग गर्थ्यौं । लाटो जमाना थियो, साबुन थिएन । हामी नाङ्गो खुट्टा कोइलावास आउजाउ गर्थ्यौं ।
१२. तपाईंको बैंसमा के–कस्ता गहनाहरु लगाउनुहुन्थ्यो ?
मेरो बैंसमा हुनेखाने महिलाहरुले कानमा सुनको गोखर (चेप्टा), नाकमा फुली, बुलाकी, नथिया, हातमा चाँदीको काँडे बाला, चुरी, औलामा मुन्द्री, घाँटीमा चाँदीकै लहरे सिक्री, जोर खगालो, चवानी माला, कम्पनी माला (हम्याल) र थुम्रा लगाउँथ्यौं । नहुनेहरु पिट्टलको चेप्टा लगाउने गर्थे ।
१३. अन्तमा केही मनमा लागेका कुराहरु राख्नुहोस् ।
सबै भनिसकें । उहिलेउहिले हाम्रो बैंसमा वल्लोपल्लो गाउँका धापाहरु (तन्नेरीहरु)सँग थकान राखेर साँझपख ठूला मान्छेहरु भएको घरमा जम्मा भएर फाङ्क गीत, साइला वरै गीत दोहोरो गाएर उज्यालो बनाइन्थ्यो । गीतकै माध्यमबाट मायाप्रेम गरेर विवाह हुन्थ्यो । चाडपर्वमा मेला जाने र त्यहाँ पनि केटा र केटीहरुको बीचमा दोहोरी गीत गाएर रमाइलो गर्थ्यौं । अहिलेको जस्तो टि.भि., रेडियो, फिलिम, फोनको जमाना थिएन ।