चरित्र स्वार्थी किन पार्नु व्यर्थै
कुभावनाको सब जाल उस्तै
दौडेर प्यासी मन त्यो बनाई
छेक्यो उज्यालो तब मेघ आई
अनेक बाधासित लड्छु भन्थ्यौ
आदर्श वाणी जनमाझ छर्थ्यौ
स्वार्थी बनायो नव–राज पाई
बिर्सेर बढ्दा सब त्यागलाई
आमा म तिम्री अझ दुःखमा छु
कुकर्म देखी कसरी म हासूँ
लुछिन्छ चौटा तन भित्रभित्र
उदाङ्ग पार्दै सब त्यो चरित्र
हिंसा बढाई जग यो लछार्छौ
ज्यूँदै जलाई किन भस्म पार्छौ
सङ्कीर्णतामा कति भासिएको
कर्तव्य बिर्सी किन नासिएको
चैतन्य तिम्रो छ कि छैन आज
छ जङ्गली त्यो किन राजकाज
कुभाव बढ्दा मन तुष्ट हुन्न
संसार तर्ने पथश्रेष्ठ छुन्न
← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्
हाम्रो पुरुषार्थ अंक ९६ · गीत/कविता/गजल/मुक्तक · पृ. ५०
आमाको सन्देश
डा. सीता सुवेदी पन्थी