किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो पुरुषार्थ अंक ९६


हाम्रो पुरुषार्थ अंक ९६
  त्रैमासिक

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

हिंजो रेल थिएन, विमान थिएन, मिसाइल थिएन, परमाणु बम पनि थिएन, बिजुली बत्ती थिएन, रेडियो थिएन, कम्प्युटर थिएन र थिएनन् मोबाइल फोनहरु पनि । तर हिंजो पनि यो पृथ्वी थियो, यसैगरी पसारिएको अनन्त आकाश थियो । यस्तै नै सूर्य, चन्द्र र ग्रह–नक्षत्रहरु थिए ब्रह्माण्डमा । हो हिंजो पनि थियो प्रकृति, मान्छे थियो र जीवन पनि थियो ।

हामीले पाएका कुराहरु घोकिरहेछौं । मख्ख परिरहेछौं प्राप्तिमा । चख्ख परिरहेछौं विज्ञानको चकाचौंधमा । रमाइरहेछौं–खान, पान र यानमा । तर हामीले गुमाएका कुराको स्मरण गर्न पनि भ्याएका छैनौं । हामीले प्रकृतिका अनमोल वरदानहरु गुमाएका छौं । केवल हामीले, मान्छेले । मान्छेबाहेक कसैले बिगारेको छैन – जललाई, वायुलाई, पृथ्वीलाई, तेजलाई र आकाशलाई ।

हो हामीले पढेका छौं – हिरोसिमा र नागासाकीका व्यथाहरु । बुद्धकै देशमा पनि भोग्यौं हामीले बम र बन्दूकका त्रासदीहरु । आफ्नै तपस्याबाट प्राप्त वरदान–अर्थात् विज्ञान, त्यसैबाट भस्म हुँदैछौं हामी भस्मासुरहरु, कृतघ्न धुन्धुकारीहरु । हामी प्रकृतिलाई घोडा बनाएर दमाल्न उद्धत छौं तर हामी प्रकृति होइनौं, प्रत्यय हौं । हामी जति माथि उडे पनि बाफ बनेर, अन्ततः थोपा बनेर झर्नुपर्छ यही धरतीमा ।

विकसित हौं भन्ने देशहरुमा उडेका धुवाँहरु हाम्रो हिमाल पगाल्न आउँछन् । हामी विज्ञान र विकासको उपलब्धिबाट वञ्चित छौं तर पनि प्रदूषणको भार बेहोर्न अभिशप्त छौं । किन हामीले निर्दोष पशुपंक्षीहरु, मान्छेहरु सबैको जीवनाधार प्रकृतिलाई गिजोलिरहेछौं ? हुनसक्छ कुनै दिन मान्छे आफ्नै आविष्कारबाट लोप हुनेछ डाइनोसरझैं ।

हाम्रा वेदहरुले जल, थल, नभ, वायु, वनस्पति सर्वत्र शान्तिको चाह गरेका छन् । सर्वत्र स्वच्छताको कामना गरेका छन् । हो ज्ञान–विज्ञानको सदुपयोग गरौं । जल, थल, वायु र आकाशलाई स्वच्छ राखौं । यस पृथ्वीमा मान्छे एवं सकल प्राणीहरुको सृष्टि, स्थिति र प्रलय त्यसरी नै चलोस् जसरी चल्दै आएको छ । उन्नति खोज्दै ओरालो नझरौं ।

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya