मुख्य सामग्रीमा जानुहोस्

हाम्रो पुरुषार्थ अंक १११ · गीत/कविता/गजल/मुक्तक · पृ. ११९

जेब्राक्रस

सरु सुधा

जो
पुग्न सक्छन् गन्तव्यमा
समयभन्दा पहिले
मिहिनेतभन्दा छिटो
सङ्घर्षभन्दा अगाडि

उनीहरु
अधिकारको चस्मा लगाउँछन्
जसबाट देख्न सकिँदैन कर्तव्यको प्रतिच्छाया

देख्दैनन् कमिलाहरु
भुसुनाहरु
झुपडीहरु
हिलो र धुलोको सुगन्ध

देख्छन् केवल हात्तीहरु
घोडाहरु
महलहरु
सिङ्गमरमर र ग्रेनाइटको चमक

उनीहरु
पर्खनुको महानता बुझ्दैनन्
जिउँछन् पर्खाउनुको आनन्दमा
दिनुको पवित्रता थाहा छैन
पिउँछन् लिनुको मज्जा
भोकको मिठास थाहा छैन
याँक्छन् अपचको डकार

चिन्दैनन्
तिर्खाको स्वाद
जाडोका पसिना
गर्मीको सिरेटो
दुःखको सुवास
अभावको गरिमा

त्यसैले त
रोकिन सक्दैनन् उनीहरु
उन्नतिको सडकमा कोरिएको
मानवताको जेब्राक्रसमा एकैछिन ।
रेसुङ्गा नगरपालिका–७, तम्घास, गुल्मी ।