मुख्य सामग्रीमा जानुहोस्

हाम्रो पुरुषार्थ अंक १११ · लेख/आलेख/निबन्ध/समीक्षा/टिप्पणी/संस्मरण/व्यक्तिवृत्त · पृ. २६

यात्रा, अन्वेषण र विचारको शब्दचित्र : अक्षत अन्टार्कटिका

गोपी मैनाली

यात्रा गर्ने चाहना आआ नै हुन्छन् । यात्राको गन्तव्य चयन पनि व्यक्तिको अभिमुखीकरण र सोचअनुसार हुन्छ । यात्राको तयारी गर्ने तरिका पनि मानिसपिच्छे फरक हुन्छ । जीवा लामिछाने कुनै स्थानको यात्रा गर्ने योजना बनाउँछन्, मनभित्रको यात्रा सकेर गन्तव्यको यात्रा गर्छन् । इन्ड अफ दी वर्ल्ड अन्टार्कटिकाको यात्रा एउटा कल्पना, खुल्दुली र सावधान रणनीतिका साथ गरिएको छ । यो दुःख भुल्न र सुख प्राप्तिका लागि गरिएको यात्रा होइन; यात्राको एउटा बताउन नसकिने अभीष्ट छ, साहसिक, खोजपूर्ण र मानबपदचाप कम परेको, कोलाहलभन्दा पर, शासन र शक्तिले चोखे नलगाएको, स्वार्थको क्रिडास्थल नबनेको, मौन स्वेत शान्त, पृथ्वीका सबै चराचरको साझा वक्षस्थलमा यात्रा गर्ने र त्यसको अद्भुत अनुभव साझा गर्ने अभीष्टसाथ गरिएको यात्रा हो । मौनालप भनिएको उनको अन्तरलापले यस्तै सङ्केत गर्छ ।

यात्रा अनुभव लेख्नु ठूलो कुरा हो । यात्राका स्थान, घटना, अवस्थिति, स्वरुप, सौन्दर्य, विकटता, खतराहरुलाई शब्द अक्षरमा बताउनु ठूलो कुरा हो । मुकुन्दशरण उपाध्यायले भनेझै ‘देखेको पोखराभन्दा लेखेको पोखरा मीठो’ । कतिपय यात्राहरु गरेपछि सकिन्छन्, गर्नु अघिका मनोस्वादमा सार्‍है मीठा हुन्छन् । दृश्यको स्पर्शभन्दा भाव र कल्पनाको स्पर्श अर्थवान् हुन्छ । त्यसैले नियात्राकार पहिला भाव स्पर्शमा छन् र पछि शब्दविम्बमा । त्यो लेखाइले त्यहाँ भौतिक रुपमा पुग्न नसक्ने कत्तिका लागि जानकारी दिनु, अक्षरका माध्यमबाट त्यहा पुर्‍याउनु, घुमाउनु; रोमाञ्चक, खुल्दुली, डर, ज्ञास, खुसी, दुःख सबै आफै बताएर पाठकलाई समानुभूतिमा पुर्‍याउनु यात्रा साहित्य सर्जकको गुण हो, यसो गर्न नसके यात्रा भए पनि यात्रा साहित्य जन्मन सक्दैन, जन्मे पनि अभिष्टमा पुग्दैन । धेरैजसो यात्राकारहरु स्थान उठाउँछन्, दृश्य उठाउछन्, अनुभूति र संवेग उठाउन सक्दैनन् । जीवा लामिछाने भने यस्ता थोरै नियात्राकारमा पर्दछन् जसले नियात्रा पढ्दा पाठकलाई सादृश्यिक सापेक्ष्यता र संवेग सहानुभूतिमा पुर्‍याउने सामर्थ्य राख्दछ, जस्तो कि उनले स्नोप्लन्जिङ गर्न लाग्दा स्वयम् पाठक त्यही खतरा मोलिरहेको अनुभूति गर्दछ । यसका लागि उनको यात्रा मात्र पर्याप्त थिएन, यात्रा र गन्तव्यका विषयमा अग्रजानकारी, अध्ययन, अनुमान, यत्रापछिका उब्जेका प्रतिक्रिया पनि उत्तिकै पृष्ठकारक बनेका छन् । यात्रापछि यात्रा वर्णन लेख्छु भन्ने मानसिक तयारी पनि थियो । त्यसैले अनुमान, अनुभूति र बुझाइ राखेर अक्षत अन्टार्कटिका सिर्जना भएको छ ।

अन्टार्कटिका यात्राका साहसिक घटनाहरु रोचक ढंगले पस्किएको छ । एउटा प्रसंग सबैभन्दा घतलाग्दो रुपमा प्रस्तुत छ, पोलर प्लन्ज (घ्रुवीय स्नान) । वन्स इन अ लाइफ टाइम इभेन्ट भनिएकोले त्यो अद्भुत अनुभव लिनु नियात्राकार जवर्दस्त साहस निकाल्छन् । डराएका पनि छन् । डराएरै होला प्लन्ज गरिसकेका मानिसहरुको अनुभूति गुगल गरेर लिन्छन् । फ्रष्टबाइटको प्रभाव बुझ््छन् । प्रशिक्षकका निर्देशनमा लीन हुन्छन् । प्लन्जरको संख्या घट्दै गएपछि, आ नो पालो नजिकिदै गर्दा झनै डराउँदै जान्छन् । प्लन्ज गरेर आएका साथीलाई सोध्छन् र डर हटाउन खोज्छन् । तलवितल परिहाले पनि ऐया आत्था गर्ने समय नै हुँदैन–द्विविधा हटाउन खोज्छन्, मन दर्‍हो हुनेगरी कस्न खोज्छन् । ब्रान्डनले स्वीकृति दिएपछि मनभित्रका सबै अन्तर्द्वन्द्वलाई पन्छाएर झ्वाम्म हाम फाल्छन् । प्लन्जको अद्भुत अनुभव हुन्छ । त्यो अद्वितीय अनुभवले नियात्राकारलाई सबैभन्दा रोमाञ्चित गराउँछ । साहसिक रोमाञ्च ! यो अनुभूतिलाई नियात्राकारले सविस्तार बताएका छन् । बढी नै महत्त्व दिएका छन् ।

साहसिक यात्रा गर्नेहरु समुद्रमा उच्च एड्रेनालाइन, पानीमुनि र पानी सतहका खेलहरु खेलेर रोमाञ्चित हुन्छन् । स्कुपा ड्राइभिङ, काइटसर्फिङ, प्यारासेलिङ, कोष्टारिङ, जेटस्कीइङ, लाइबोर्डिङ्, फ्रिड्राइभिङ, सीकायकिङ, विङ्फोल्डिङ गरेर अनुभव बटुल्छन् । समुद्रमा रमाउनेहरुका लागि यी खेलहरु सार्‍है साहिसिक मनोरञ्जनमा पर्छन् । समुद्री मुलुकबाट नेपालजस्ता हिमाल पहाडमा आउनेहरु शिखर/पर्वत आरोहण, बन्जी जम्प, स्काइ ड्राइभ, प्याराग्लाइडिङलगायतका स्पोर्ट एभिएशनमा घत लाग्ला । सँधैभरि गर्न नसकिएका खेलहरु प्यारा हुन्छन्, नगएको ठाउँ राम्रो लाग्छ । संसारका धेरै स्थान र यात्रा घटनाका अनुभव सँगालेका नियात्राकार स्नो प्लन्ज गरेर आफू पनि रमाए, अरुलाई पनि रमाइलो बनाए । रमेश विकलले सात सूर्य एक फन्को र नीलगिरिको छायाँमा संस्कृति, भूगोल, धर्म र पुरातत्त्व बताएका थिए, जीवा लामछिानेले जैविक विविधता, मौन प्रकृति, सेतो पृथ्वी र पेन्गुइन, सीलहरुको वर्णन गरे । वर्णन त आखिर वर्णन नै हो, केले मन छुन्छ र कसरी बताउने भन्ने विषय चाहिँ प्रधान हो ।

जीवा लामिछानेको साविती छ – ‘म अलि फरक, नौलो र असामान्य ठाउँ नै घुम्न रुचाउँछु ।’ यो उनको मात्र होइन आम पर्यटकको चाहना हो । यस्तै चाहनाले फा सियन, ह्वेन साङ, मन्जुश्री, इचीङ, मार्कोपोलो, भास्कोडिगामा, जेम्स कुक, टुकेवेली, कोलम्बसहरुले सम्बन्ध, सभ्यता, संस्कृति र शासन प्रणालीलाई परिस्कृत बनाएका थिए । नयाँ स्वाद, नयाँ जानकारी र नयाँ अनुभूतिको चाहचेतले मानिसलाई यात्री बनाएको हो । यात्राले मानिसलाई गतिशील बनाएको हो । नियात्राकारको भनाइ सापट लिदा ‘एक ठाउँबाट अर्को ठाउँको दौड नै मान्छेको इतिहास हो’। यात्रा मानिसको गतिशीलता हो, संस्कृतिको अन्तरघुलन र सभ्यता विकासको आधार हो । यात्राले मानिस जानकार, साहसी, संयमी र परिस्कारी बनाउँछ । यात्राले उद्दाम रहरहरु पनि सिर्जना गरेर प्रगतिमा डोेर्‍याउँछ । जीवा लामिछाने अलि साहसिक यात्रामा रमाउँछन् । सी ह्वाट अदर्स डोन्ट शायद उनको अन्तरचेतमा छ । त्यो नै अन्टार्कटिका यात्राको वास्तविक थीम (आदर्श अभीष्ट) थियो । यात्रा पर्यटनलाई प्राचीन समयदेखि जोड्छन् पनि । उनले यात्रा पर्यटन भने पनि उनी आफैचाही अन्वेषण यात्रा, संस्कृति यात्रा र प्रकृति यात्रा गर्दछन् । अतीतको यात्रा गर्छन्, इतिहास, भूगोल र अन्वेषणमूलक वृत्तचित्रको यात्रा गरेपछि मात्र गन्तव्यको यात्रा थाल्छन् ।

अक्षत अन्टार्कटिकाले नियात्राका साथ खोजी र अन्वेषणको पोया खोल्छ । नियात्राअघि नियात्राकार मार्कोपोलो र जेम्स कूक पढ्छन् । पढ्न त इतिहास वा अतीतलाई पढेका हुन्, तर खोजकर्ता यात्रीसँग अन्तरमनको संवाद गर्दछन् । त्यो खोजले, त्यो जोखिमयुक्त यात्राले भविष्यको व्यापार, बजार, कलकारखाना, अर्थतन्त्र र उद्योगको आधार दिएको छ । अझ भनौं सभ्यता र संस्कृतिको क्षितिज उघारेको छ । मानवीय गतिशीलताको साहसिला यात्रा नभएको भए संसार आजको ग्यालेटिक अन्वेषणमा कहाँ पुग्थ्यो र ? मार्कोपालोसंगको संवादमा उनले दिएका उत्तर साहसिक यात्राको अभीष्टको आधार त हो नै, त्योभन्दा बढी कैयन अन्वेषणको सूक्ष्म संकेत हो ।

नियात्राकारको अतीत यात्राले पाठकलाई बताइदिन्छ कि १६१३ देखि १७८५ सम्मको अवधि ग्राण्ड टुर एरा थियो । मार्कोपोलोले सिल्करोड हुँदै २४ बर्षे यात्रामा चीनी सभ्यताका तथ्य–रहस्यहरु बाँकी विश्वलाई बाँडेका थिए । जेम्स कुकले न्यूजिल्याण्ड र अष्ट्रेलियाको चित्राङ्कन गरी बेलायती शासन विस्तारलाई सहज बनाए, अन्टार्कटिका वृत्त काटे, हवाई टापु पुगे । खोज यात्राकै क्रममा आ नो जहाज मर्मत गर्न लाग्दा कुकको हत्या भएको थियो । यो इतिहास पढ्दा खोजयात्रा कति जोखिमपूर्ण र भयानक थियो भन्ने अनुमान गर्न सकिन्छ । अझ कति जोखिमका कुरा, विपद् र क्षतिका कुराको रहस्य खोलिन बाँकी नै होलान् । उनले चिनीया खोजकर्ता झेङ ही, अन्य यात्रीहरु क्रिष्ठोफर कोलम्वस, भास्को डि गामाका प्रसंग उठाएर यात्रीहरुलाई पढ्न, अतीत बुझ्न र नियात्राकारलाई गहन बन्न, सुसूचित हुन आग्रह गरेका छन् । यो आग्रह पाठकलाई मात्र होइन, नियात्रा साहित्य लेखक भन्नेहरुलाई गहिरिएर, खोजेर सत्यतथ्य उघार्न परोक्ष चुनौती दिएका छन् । स्थानलाई सामान्य अवलोकन गरेर लेखिएर मात्र नियात्रा अन्तर्यमा भिज्न सक्दैन । उनले अन्टार्कटिकाका सम्बन्धमा अनेकन अध्ययन गरेर मात्र अक्षत अन्टार्कटिका लेखेका छन् । अमेरिकी ह्वेल व्यापारी नथानियल वी पाल्माले १८२०मा यसलाई पत्ता लगाएका रहेछन् (भनाइमा बहस छ), त्यहाँ पदचाप राख्ने पहिलो नेपाली भूवनसिंह विश्वकर्मा (बाग्लुङका भारतीय गोर्खा सैनिक) लाई खुसीका साथ प्रस्तुत गरेका छन् । को महिला पहिला त्यहाँ पुगिन्, त्यस भेगमा जन्मने पहिलो व्यक्ति को थिए भन्ने अन्वेषण गरिएकाले अक्षत अर्न्टाकटिका खोजको कृति जस्तो देखिएको छ । तर ‘हजारौं पानी जहाज डुवेपछि र हजारौँ नाविकको मृत्युपछि पृथ्वीको सबैभन्दा दक्षिणी भूभागबारे संसारलाई थाहा भएको थियो’ । यी सत्य पत्ता नलागेसम्म अन्टार्कटिका रहस्य,जिज्ञासा, डर, विश्वास र शंकाको अद्भुत युजनको रुपमा हुर्किरह्यो । नियात्राले अन्टार्कटिकाका विषयमा धेरै रहस्य खोलिदिएको छ, जिज्ञासा उघारिदिएको छ ।

नियात्राकार आ नो गन्तव्यको यति प्रशंसा गर्छन् कि त्यसो गर्न आफूसंग शब्द नपुग्दा अरुको शब्द प्रशस्तिलाई साथ लिन्छन् । इन द वाइल्डका लेखक क्राकाबरको भनाइसंग सहमत हुँदै अन्टर्कटिका लागि अद्भुत, विचित्र, अकल्पनीय, अतिसुन्दर, व्याख्यातीत, जादुमयी, मनमोहक चित्ताकर्षक भनेर प्रशंसा गरेपछि पाठकहरु त्यहाँ पुग्न कति लोभिन्छन् होला ? पुग्न नसक्नेका लागि यही पुस्तक पढेर आनन्दित हुनुको विकल्पबाहेक के रह्यो र ? त्यति प्रशंसाले पनि लेखकको धित मर्दैन र भन्छन् ‘अन्टार्कटिकालाई स्पर्श गरिसकेपछि थाहा हुन्छ त्यहाँको समग्र विविधतालाई कुनै शब्दमा समेट्न सकिदैन ।’ यति भनेर पनि अघाउँदैनन् र एण्ड्रु जेन्टनको शब्द लिएर भन्छन् ‘अन्टार्कटिका संगीत हुन्थ्यो भने त्यो शायद मोजार्ट हुन्थ्यो । कला भएको भए माइकल एजेलो र साहित्य भएको भए शेक्सपियर हुन्थ्यो ।’ पाठकहरु कल्पनामा थप्दा हुन्, उचाइ भएको सगरमाथा हुन्थ्यो, प्राचीन ज्ञानभूमि भएको भए हिमवत्खण्ड हुन्थो आदि । तर त्यहाँ पुगेपछि नियात्राकारलाई त्योभन्दा माथिल्लो सिर्जना लाग्यो । तब न पाठकले अक्षत अन्टार्कटिका पाए । प्रत्येक नियात्राकार आ ना गन्तव्यको स्पर्शमा यसरी नै फुर्नुपर्छ, गहिरिनुपर्छ, रमिनुपर्छ, मुक्त हुनुपर्छ । यो नियात्राकारहरुका लागि मौन चुनौती नै हो । यस्ता काव्यिक चुनौतीले सिर्जनात्मक तनाव दिएर सिर्जनालाई आविष्कारको कोटिमा पुर्‍याइदिन्छ ।

अक्षत अन्टार्कटिका पढेपछि धेरैलाई थाहा हुन्छ अन्टार्कटिका पृथ्वीको साझा भाग हो । भूगोलहरुमा शासकहरुको लोभदृष्टि किन नपरेको होला ? किन यो भूमि शासकीय रुपमा अक्षत रह्यो होला ? आजभोलि अन्तरिक्ष उपनिवेशको यात्रा शुरु भैसक्यो । १९५९ को सन्धिअनुसार यो महादेश पूरै नै विज्ञानसम्बन्धी शोध अध्ययनका लागि साझा घर हो । यहाँ बसेर वैज्ञानिकहरु भौगर्भिक–टेक्नोटिक, मायोमेडिकल, जुलोकीकल, कस्मिक, ग्लासियोलोजिकल अध्ययन गरिरहेका छन् । खोज अन्वेषणमा चााख राख्ने यात्रुहरुका लागि त्यहाँको यात्रा सर्वाधिक विशिष्ट हुन्छ । तर अन्टार्कटिकाको महत्त्वका लागि निर्वाध पर्यटक यात्रा गराउनु ठीक नभएको चिन्ता पनि नियात्राकारमा छ । ह्वेल, सिलहरुको विनाशमा उनीहरु भएर नियात्राकार बोल्छन् ‘मीट अस, डन्ट इट अस’ (हामीलाई भेट तर हामीलाई नमेट) ।

अन्टार्कटिकाका स्वरुप र रहस्यलाई शब्दशिल्पमा भावना मिसाएर नियात्राकार भन्छन् ‘अन्टार्कटिका यस्तो ठाउँ हो, जहाँ समय र स्थानको अर्थ छैन । कुनै पनि टायम जोनबाट यो माथि छ । यो साझा संसार हो । यहाँ जीवनको हरेक पल अदृश्य र विशाल छ ।’ ‘अँध्यारोको बेला त्यहाँको आकाशमा रंगका प्रकाशको संयोजनले अरोरा देखिन्थ्यो ।’ अन्टार्कटिकालाई बताउन शब्द शक्तिको, शिल्प सौन्दर्यको जति जोहो गरे पनि अझै अपुग भएजसरी वर्णनले पाठकलाई स्वयम् विवेचित–दृश्यित हुने स्पेश कृतिले दिएको छ ।

नियात्राकारमा प्रकृति र यात्रालाई वर्णन गर्ने छुट्टै शैली छ । ब्राण्डनले भने झै पेन्गुइनलाई आदर्श प्राणीका रुपमा चित्रिण गर्दछन् । उनीहरु विस्तारै हिड्छन्, यात्रामा उनीहरुलाई कुनै हतारो छैन, हतारिनु पनि हुन्न, पुग्ने हतारोले यात्रा छुट्न सक्छ । तर प्रयास भने निरन्तर चाहिन्छ । शायद पेन्गुइनको आदर्शले दिएको शिक्षा यही होला ।

अन्टार्कटिका वर्णनमा दुई जीवको अलि खुलेर उल्लेख गरिएको छ । यी दुई जीवको सुन्दर वर्णनले जीव विज्ञान र जीवन चक्रका नखुलेका रहस्यहरु उद्घाटित भएर पाठक रोमाञ्चित हुन्छन् । यी दुईको चरित्र चित्रणमा धेरै असमानता छ, समानता केवल दुवै जीव ढिला छन् । त्यसैले प्रकृतिले पनि त्यहाँको सर्भाइभलका लागि यिनैलाई रोजेको होला । अरु धरै कुराहरु फरक छन् । पेन्गुइनलाई प्रेम गर्न एउटी पोथी भए पुग्छ, सिललई धेरै पोथीसंगको संसर्ग चाहिन्छ । सिल पुन्गुइनलाई आहार बनाउँछ, विचारा पेन्गुइन त्यसो किन गर्नसक्थ्यो ? पोथी पेन्गुइनले अण्डा पारेपछि त्यसलाई न्यानो र सुरक्षित पार्ने जिम्मेवारी भाले पेन्गुइनको हो । पोथीको अनुस्थितिमा भालेहरु अण्ड कोरल्ने गर्छन् । मिलीजुली मातृव्यहार थोरै जीवहरुमा पाइन्छ, अन्टर्कटिकाको जटिल प्रकृतिले यस्तो व्यवहार मागेको होला । जटिल प्रकृतिमा पनि पेन्गुइन असुरक्षित छ, उनीहरुको शत्रु स्कुवाबाट बच्न पेन्गुइनहरु अल्पनिद्रामा रहन्छन् । वास्तवमा जीवन संघर्ष, बाँचुनको संघर्ष, जीवन चक्रका कठिन परिस्थितिहरु अन्टार्कटिकामा पनि छिपेर रहेको छ । मानव पदचाप परेपछि, ह्वेलको व्यापारपछि मानिस नै खतरा बनेर देखिएका छन् । ह्युमन फुटप्रिन्टले जीवहरु अतिक्रमित छन् । सर्वश्रेष्ठ भैकन पनि मानिसले त्यो श्रेष्ठता कायम गर्न सकेको छैन, सबैभन्दा खतरनाक/संहारक जीव नै मानिस बनेको छ । प्रकृति, पर्यावरण, पारिस्थितिक प्रणालीप्रति अक्षत अन्टार्कटिकाको चिन्ता छ । जे जति अक्षत रह्यो त्यति नै स्वच्छ र पवित्र रहने । तर मानव दृष्टि नपरे त्यो स्वच्छताको स्वाद कसले लिने ? यो मौन प्रश्न उठाएर यात्रामा संयमित सावधानी अपनाउन नियात्राकार लामिछानेले संकेत गरेका छन् । र सन्देश दिन्छन्, विश्वास गर्नुहोस, सबैभन्दा खराव अनुभव पनि लामो समयपछि सबैभन्दा राम्रो संझना बनिदिन्छ । यात्रा भनेको नयाँ ठाउँ हेर्नु मात्र होइन, नयाँ परिवेश र नयाँ विचारहरुको खोजी गर्नु पनि हो । हरेक देशमा यस्ता ठाउँ छन्, जसले तपाईलाई शब्दहीन बनाइदिन्छ । त्यो नै यात्राको सौन्दर्य हो ।

ब्यारी लोपेजको आर्कटिक ड्रिम र जीवा लामिछनेको अक्षत अन्टार्कटिकाले एकै प्रकारको रहस्य, कौतुहल र साहस दिन्छ । पहिलोले सुदूर उत्तरका बहुआयामिक आश्चर्यको अन्वेषण गर्दछ; अनौठा रुपमा स्तब्ध वनहरु, मनमोहक अरोरा बोरेलिस, जमेका समुद्रहरुलाई देखाउछ । दोस्रोले सुदूर दक्षिणको अर्न्टाकटिका, त्यहाँको मौन आकाश, सेतै जमेको समुद्र, समयहीन सुन्दरता र प्रकाश संयोजनले सिर्जना गरेका रंग अरोरा देखाउँछ । लोपेज आर्कटिक यात्रामा जानु अघिका सपना, अनुमान र त्यहाँको साहसिक भ्रमणको चित्रात्मक लेखा प्रस्तुत गर्दछन् । लामिछाने पनि यात्राअगिका कल्पना, यात्राको व्यग्र चाह, रहस्य र यात्रापछि वास्तविकता र साहसिक अनुभवलाई विचार लेपका साथ प्रस्तुत गरेका छन् । लामिछाने र लापेज प्रकृति र भावनालाई समागम गरेर दृश्य टिप्छन् र पाठकलाई अद्भूत रोमञ्चमा पुर्‍याउँछन् । दुबैका अनुभवहरु अद्भुत छन्, दुबैका यात्रा अनौठा छन् ।

यी दुबै यात्राको वर्णन सिल्भा लेभी र टोनी हागेनका नेपाल भ्रमण जस्तै कथा हुन्, फरक कति भने लामिछाने र लोपेज अनुभव, कल्पना र तथ्यको रोमाञ्चक प्रस्तुति गर्दछन्, तर लेभी र हागेन तथ्यलाई भाव नमिसाई एउटा सिलसिलमा प्रस्तुत गर्दछन् । नियात्रा भन्दैमा यसले न मार्क ट्वीनको ‘हक्कलवरी फिन’ जसरी आख्यानीकरण पाउनुहुन्छ न एजिबेथ गिल्वर्टको ‘इट, प्रे लभ ः वन ओमन्स सर्च फर एभ्रिथिङ’ जस्तो आत्मकथात्मकतामा मात्र रमाउनुहुन्छ । न अलेक्सी डे टुकेभेलीको ‘डेमोक्रसी इन अमेरिका’ जस्तो वैचारिक विश्लेणमा नै पोतिनुहुन्छ भन्ने सावधानी लामिछनेले अक्षत अन्टार्कटिकामा राखेका छन् । विधामा स्रष्टा धेरै कुराबाट बचेर त्यही विधाको पवित्रता कायम गर्नुपर्छ । बरु तेञ्जिङ शेर्पा र एडमण्ड हिलारीको सगरमाथा आरोहण र नील आर्मस्ट्रङको चन्द्र अन्वेषणका साहसिक कथालाई जसरी साहित्यिक शब्दशिल्पमा देखाइएको छ । नियात्रामा दृश्य मात्र होइन, दृष्टि पनि छ, साहस मात्र होइन साहित्य पनि छ, शब्दभित्र स्वर र सौन्दर्य पनि छ । फेरि पनि भुल्न नहुने कुरा यो यात्रा मात्र होइन अन्वेषण पनि हो । यसले ज्ञानको भोक, अन्वेषणको कौतुहल र स्थानको चिनारी एकसाथ दिएको छ (२ुबष्लबष्नियउष्)

–मैनाली निवास, शङ्खमूल साउने सक्रान्ति, २०८३

किरण पुस्तकालय तम्घास, गुल्मीलाई आ ना गाउँपालिका र नगरपालिकाबाट प्रकाशित सबै प्रकारका राजपत्र, योजना पुस्तिका, पाठ्यक्रम तथा पाठ्यपुस्तक र अन्य प्रकाशनहरु उपलब्ध गराइदिई सहयोग गर्नुहुन अनुरोध छ ।

किरण पुस्तकालय तम्घास, गुल्मी ।