बडा मनोयोगले बुद्धिवर्कत खियाएर पढ्नुपर्ने औपन्यासिक कृति रहेछ –डा. हरिराज भट्टराईको = सन्त प्रेमी (२०८३) । यो किरण पुस्तकालय तम्घास गुल्मीको प्रकाशकत्वमा आएको अनुपम खजना रहेछ । यो सम्पुटबाट थालनी भएर २१ अध्यायमा बुनिएको आख्यानको विशाल कृति हो । आख्यानकार डा. भट्टराईले साहित्य समाजको दर्पण हो भन्ने तथ्यलाई आ ना विश्लेषणात्मक भावना र विचारलाई अर्पण गरेर साबित गरिदिएका छन् । आख्यानमा पनि राजनीति , इतिहास ,भूगोल ,समाजशास्त्र , संस्कृति , दर्शन आदिको विश्लेषणात्मक समीक्षा गरेर ज्ञान र सन्देश दुवै प्रवाहित गरिएको यो उत्कृष्टतम कृति रहेछ । अक्षर र अनुभूतिसंग खेल्न खप्पिस भैसकेका डा. भट्टराईको बृहद् ज्ञान र कल्पनाको कलात्मक संश्लेषणको छटा यसमा देख्नबुझ्न सकिन्छ । हल्ला सुनेर होइन विवेकको बत्ती बालेर तथ्यसत्य साक्षात्कार भई स्वर्णिम जिन्दगी बाँच्न सकिन्छ र युगबोध गर्न सकिन्छ भन्ने यस कृतिले स्पष्ट पारेको छ ।
कृतिभित्र सामयिक राजनीतिको घनीभूत विश्लेषण छ । राजनैतिक आयामलाई यति गहिराइसंग विश्लेषण गरिएको कृति बिरलै भेटिएलान् । राजनैतिक परिपाटी दल र तिनका नेताका चरित्रको सूक्ष्म विश्लेषणले हाम्रो मनमस्तिष्कलाई झकझोर पारिदिन्छ । राजनीतिमा हुने गरेका प्रपञ्च र वञ्चनाले हामी कति निरीह बन्न पुगेका रहेछौं आ नो धरातल सम्झेपछि हामी आफै झस्किन पुग्छौं ।
राजनीतिलगायत सामाजिक विकृतिविसंगतिका यावत् विषयहरु यसमा वर्णित छन् । कृति पढ्दा लाग्छ आख्यानकारमा ज्ञान र अनुभवको अथाह सागर छ । त्यो ज्ञान र अनुभवको अथाह भण्डार छ । त्यो ज्ञान र अनुभव विभिन्न पात्रसंगको संवादबाट अभिव्यक्त भएको छ । समाजका विविधपक्ष स्वरुप शैली आदिमा भएका यावत् विकृतिहरुप्रति प्रकाश पारिएको देखिन्छ । यसमा यौनका सन्दर्भ प्रसंगहरु पनि प्रशस्त आएका छन् । संस्कृतनिष्ठ विशिष्ट शब्दको प्रयोग गरेर यौनका अनेक भाव र मुद्राहरुको चित्रण गरिएको छ । यौनविषयक अनेक जानकारी भेटिन्छन् । यौन पनि शिष्ट शालीन र मर्यादायुक्त शैलीमा अति घनीभूत रुपमा चित्रण गरिएको छ । त्यसको अभिव्यक्ति छटा प्रयुक्त शब्दावलि र उक्ति वैदग्ध्यले पनि हामीलाई चकित पार्दछ ।
सन्त प्रेमी भट्टराईको बाह्रौं कृतिहरुमा आठौं आख्यानात्मक कृतिमध्येको यो एक रहेछ । साहित्यमा उत्कृष्टस्तरका एक दर्जन कृति आउनु सामान्य कुरा होइन ।
त्यसमा पनि आख्यानयुक्त आठ कृतिले आख्यान स्रष्टाको विशिष्टता बोध गराउँछ । यसले नेपाली आख्यान साहित्यमा विशिष्ट स्थान रहेको बुझ्न सकिन्छ । नेपाली राजनीति प्रयोगको रुपमा रहेको र देश प्रयोगशाला भएका गूढरहस्यहरु पनि यसमा वर्णित छन् । सिद्धान्तका नाममा भएगरेका आडम्बरमय वृत्तिलाई पनि निरपेक्ष ढङ्गबाट विश्लेषण गरिएको छ । व्यवस्था बुझ्न दल र नेताका गतिविधि र चरित्र बुझ्न यो निकै उपयोगी हुने देखिन्छ । यसमा पुस्तकालयका उपयोगिता र महत्त्वका प्रसङ्ग पनि आएका छन् । यसमा पुस्तकालयलाई सच्चा गुरु पुस्तकलाई असल मित्रको रुपमा पनि हेरिएको छ । नेपालमा के कस्ता पुस्तकालय के कति महत्त्वका छन् को कति पुस्तकप्रेमी छन् तिनको परिचयात्मक जानकारी पनि औपन्यासिक वर्णनका क्रममा बुझ्न सकिन्छ । उर्ध्वचेता सन्तको चरित्रमा केन्द्रित रहेको यस उपन्यासको परिवेश हिमाली संस्कृति रहेको छ ।
उपन्यास पढ्दै जाँदा आख्यानकार प्रजातन्त्रप्रेमी देखिन्छन् । तर राजनैतिक परिदृश्यमा देखा परेका प्रमुख पात्रका दोष गुणलाई निरपेक्ष ढङ्गले विश्लेषण गरेका छन् । उनका तर्क र विश्लेषणमा यति सत्यता र सटीकता छ त्यसमा खण्डन गर्न सकिने स्थिति नै छैन । उनका कथ्यलाई मौन रुपमा बुझ्दै र सहमति जनाउँदै जानुपर्ने स्थिति हुन्छ । उनी तटस्थ भै ब्रह्मविवेकले ठम्याएर प्रस्तुत भएका तथ्यसत्यहरु उजागर भएकाले कृतिको गुरुत्व र गरिमामा अभिवृद्धि भएको मान्न सकिन्छ । आख्यानका माध्यमबाट युगबोधी परिदृश्य छर्लङ्गसंग आएकाले कृतिमा निहित धनात्मक पक्षबाट पाठक अत्यन्त लाभान्वित हुन पुग्दछ र आख्यानकारप्रति अनुगृहीत बन्न पुग्दछ । एक सच्चा र उत्कृष्ट आख्यानकारको रुपमा उनको जति प्रशंसा गरे पनि कमै होला भन्ने लाग्दछ । आख्यानात्मक आस्वादनभन्दा पनि विचारविश्लेषणको तिख्खर स्वाद, स्वैरकल्पनाको अद्भुत प्रस्तुतिले अनौठो संसारसंग साक्षात्कार गराउँछन् । यसले पाठकीय अनुभवको क्षितिज समृद्ध हुन पुगेको अनुभव गर्न सकिन्छ ।
नेपालको राजनैतिक अवस्था र परिवर्तनको कारण बुझ्न यसै कृतिको नवौं अध्याय कन्दराकक्ष महत्त्वपूर्ण रहेको बुझ्न सकिन्छ । राजनीतिमा लागेकाहरु राष्ट्रसेवक हुनुको सट्टा व्यापारी भए । चुनावी भर्याङ चढेर सत्तामा आए सिद्धान्त विचार र आदर्श मार्ग छोडी गठबन्धन गरेर आलोपालो आ नै स्वार्थ र लाभमा केन्द्रित भए । तिनले देश र जनताको भविष्य हेरेनन् । तिनले राजनैतिक खुपियासंग साँठगाँठ गरेर नदीनाला बेचे, कलकारखाना बेचे, साँधसिमाना मिच्दा चुप लागे, खानी बेचे, स्रोतसाधन बेचे, इमान, नैतिकता र स्वाभिमान बेचे, राजनैतिक अपचलन गरे, सांस्कृतिक विचलन गरे । यिनै बेथिति विसंगति र विकृतिका विरुद्ध नेपाली युवा जागृत भए, गाउँगाउँबाट उठे, बस्तीबस्तीबाट उठे, रास्ट्रिय स्वाभिमान र अस्तित्वका खातिर यो परिवर्तन भयो । युवा नेतृत्व उभ्रेर आयो । बालेन सुदनहरु सत्तामा देखिनु यही प्रयोजन हो भन्दै तर्क र विश्लेषणले त्यसको औचित्य पुष्टि गरेका छन् । प्रकान्तरबाट सन्त प्रेमी र सिद्ध योगीहरुले यो राष्ट्रको गरिमा बचाएको कुरा पनि यसमा उल्लेख गरेका छन् । उपन्यास पढ्दा भ्रम र छलहरुबाट हाम्रो होश खुलाउने काम गरेको छ । उत्तिष्ठत जाग्रत प्राप्यवरान्निबोधतः को उक्ति चरितार्थ पारेको छ । चिन्तन, विचार, खोजले समृद्ध आख्यानकारका रुपमा डा. भट्टराई धन्य छन् ।
कृतिभित्र लेखक राजावादी देखिएका छन् । राजालाई साझा राष्ट्रिय एकताका प्रतीक मान्दै उनी भन्छन् – राजालाई एकताको प्रतीक मानौं , हाम्रो छाता ठानौं र संस्कृति र स्वस्थ परम्पराको रक्षक मानौं । देशको अव्यवस्था र अराजकतालाई हेरेर उनको यो निजी दृष्टिकोण मुखरित भएको देखिन्छ । उनको यो विचारप्रति पाठक वर्ग वा समीक्षक सहमत हुनै पर्छ भन्ने छैन । राजाकै कारण प्रजातन्त्रमा आघात पुगेको इतिहास साक्षी छ । राजसंस्था खर्चिलो पनि छ । जतिबेला माध्यमिक शिक्षकको तलब तीनचारसय हुन्थ्यो त्यतिबेला राजपरिवारका सदस्यको तलब तीन लाख थियो । त्यस्तै भाइभारदारहरुको पनि ठूलो तलब थियो । त्यो सेतो हात्ती पालेझैँ हो भन्ने सबैले महसुस पनि गरेका थिए । राजाकै आडमा भाइभारदारहरुले अनेक कुकृत्य गरेका पनि अनेक दृष्टान्त छन् । कानुनी राजको सर्वोपरिता नै अहिलेको आवश्यकता हो । शाहराज हुँदैमा सबै विधिसम्मत हुन्छन् भन्ने छैन । हुन त शाहराजभन्दा नेताराज वा गणराजमा भ्रष्टाचार अधिक मौलाएको अवस्था छ
अहिलेको युगमा विधिसम्मत शासकीय व्यवस्था नै श्रेयस्कर छ । राष्ट्रिय एकताको निम्ति राजसंस्था अति नै आवश्यक देखिएमा अस्वीकार्य गर्नुपर्छ भन्ने पनि होइन । जे होस् आख्यानकारले उब्जाएका विधिसम्मत तर्कहरु उल्लेखनीय र मननीय रहेका छन् ।
अन्तमा दुई मुक्तकले यसको कथ्य वा उद्देश्यमाथि प्रकाश पार्दछन् जस्तै ः
उत्तर दक्षिणतिरका खुपियाका खुबै आसमा छन् पुनर्मुषिको भव भएका बाघ हुने प्रयासमा छन् बडा होसियारसंग कदम चाल ए बाले सरकार जनता तेरै इमान र नैतिकताको विश्वासमा छन् ।।
उधिन्दै गरेका विशाल खानी पनि बेच्न सक्छन् हिमाली क्षेत्रका कञ्चन पानी पनि बेच्न सक्छन् व्यापारीहरुका हातमा सत्ता सुम्पिदै गएपछि समस्त युवावर्गका जवानी पनि बेच्न सक्छन् ।।
उपन्यासमा वर्णनको उत्कृष्टता छ । प्रस्तुतिको कलात्मक स संश्लिष्टता छ । प्रकृति, परिवेश, संस्कृति र सामयिक युगकथनमा बौद्धिकता र विद्वत्ता छ । विषयमा विविधता छ । शैली संकथनमा पनि सुसंस्कृतता छ । विषयगत ज्ञान, गहन अध्ययन र अनुभवको पृष्ठभूमिबाट औपन्यासिक सृजना गरिएको स्पष्ट हुन्छ । तर विषयलाई सरस आस्वाद्य तुल्याउन यौन प्रसङ्गहरु पनि समाविष्ट छन् । विषय आफैमा ऊर्जाप्रद, प्रेरणाप्रद र ज्ञानप्रद पनि छ तर पढ्दा उत्कट उत्सुकता सृजित हुँदैन । कारण के होला विचारणीय छ । परिवेश र संवादको अतिशय वर्णनले उत्सुकता जीवन्त राख्ने मूलतन्तु छुटेजस्तो लाग्छ । पाठकले त्यो पक्रिन सकेको हुँदैन । मानूँ वाद्यवादनको एकतन्तु छुटेको छ । स्वैरकल्पना पनि अधिक भित्रिएको छ । आख्यान द्वन्द्व र तर्कको उहापोहभन्दा अक्षर र अनुभूतिसंग अधिक खेल्ने प्रवृत्तिले कौतूहल पक्ष बढी ऋणात्मक हुन पुगेको छ । जे होस् विचारप्रधान यो उपन्यासको उत्कृष्ट कलात्मक प्रस्तुतिलाई मान्नै पर्ने स्थिति आउँछ, अस्तु
किरण पुस्तकालय र हाम्रो पुरुषार्थको आजीवन सदस्य र ग्राहक बन्न चाहने व्यक्तिहरुले क्रमशः रु. १०,०००/– र रु. ५,०००/– गरी जम्मा रु. १५ हजार रा. वा. बैंक गुल्मीमा रहेको किरण पुस्तकालयको
च.हि.नं. ः ३०१०१००३४२७८७००१ खातामा पठाई पुस्तकालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
किरण पुस्तकालय गुल्मी