मुख्य सामग्रीमा जानुहोस्

हाम्रो पुरुषार्थ अंक १११ · लेख/आलेख/निबन्ध/समीक्षा/टिप्पणी/संस्मरण/व्यक्तिवृत्त · पृ. २१

हाम्रो पुरुषार्थ : तिम्रो पुरुषार्थ

प्रा. डा. नारायणप्रसाद खनाल

आधा वर्षपछि आज सन् २०२६ को पहिलो दिन ‘हाम्रो पुरूषार्थ’ त्रैमासिकको वैशाख–असार अङ्क २०८२ शशि पन्थीको सौजन्यमा प्रा. कपिल अज्ञात हस्ते दौहित्र अमभोज अधिकारीसँग सुरक्षित गरिएका प्रति पढ्न पाउँदा यो आधा वर्षको नेपाली पत्र–पत्रिका पठनको रिक्तता पूर्ण भएको अनुभव भएको छ । किरण पुस्तकालय तम्घास गुल्मीको मुखपत्रका रुपमा सम्पूर्णाङ्क १०६ सम्म आइपुग्दा यसले जन्माएका लेखक–विद्वान् र पाठक यी ५२ वर्षमा करोडभन्दा बढी नै पुगेको हुनुपर्छ, त्यसमध्ये एक म पनि हुँ । मेरो पाताल प्रवासको अनध्यायको उपवास तोड्न सफल यस अङ्कका सम्पादक, सह–सम्पादक, सहयोगी मण्डल, लेआउट–मुद्रणकर्ता, प्रकाशक, लेखक–स्रष्टाहरुप्रति एकमुष्ट धन्यवाद ज्ञापन गर्दछु ।

पहिलो नजर सम्पादकीयको ‘राजनीति र साहित्य’ मा पर्छ, जसमा ‘राजनीति वर्तमान मात्र हो । साहित्य त भविष्य पनि बन्छ’ जस्ता भावुकताकासाथै यथार्थता व्यक्त भएका छन् । यो पनि अन्तर्वार्ता, भेटघाट, अनुभव र अनुभूति, पुस्तकालय परिचय, किरण पुस्तकालयको पातो, नौलो सृष्टिःसानो दृष्टि, यताउताबाट, पाठक–प्रतिक्रिया, आजीवन र विशिष्ट सदस्यको परिचय र आजीवन ग्राहकको नामावली जस्तै स्थायी स्तम्भ नै हो । यस पटक मच्छेश्वर सापकोटाको अन्तर्वार्ता र बुद्धिकुमारी शेरचनका अनुभूतिले नयाँ स्वाद थपेको अनुभव हुन्छ । कविता, मुक्तक, गजलअन्तर्गत मानमारका टेकनारायण ‘कौशिक’ रिमालको ‘सप्तशूल’ अनुष्टुप् नै विशेष उल्लेख्य लाग्यो, अरु स्थापित स्रष्टाका रचना पनि स्वादिला छन् । लेख–प्रकाशक र क्रेताको मथिङ्गल हल्लने लघुकथाकार लीलाराज दाहालको ‘वार्ता’ र अरुणबहादुर खत्री ‘नदी’को बालक अनमोलले कुकुरसँग गरेको मित्रता, टोकाइ र कुकुरले गरेको पश्चात्तापपछिको मित्रता अङ्कित ‘कुकुर पछुतायो’ यी दुवै कथा केही कमजोरी रहे पनि स्तुत्य छन् ।

यसअघि हाम्रो पुरूषार्थको १०५ औं अङ्कलाई ‘भारतीय नेपाली साहित्य र साहित्यकार विशेषाङ्क, प्रकाशन भएको र त्यस अङ्कको काठमाडौं, गुल्मी, बुटवल, दाङ र पाल्पामा एकसाथ लोकार्पण गरिएका, लेखहरु शब्दाङ्कुर, साहित्यपोष्ट, अनुगमन म्यागजिन, नवजागृति बुलेटिन, रेडियो रेसुङ्गा र बुटवल टुडेबाट साभार गरिएका समाचार र नारायण शर्मा फुयाँलको पाठक–प्रतिक्रियासमेतका लेखबाट व्यापक जानकारी उपलब्ध भएको तथ्य उल्लेखनीय रहेको अवगत गर्नु जरुरी छ । प्रस्तुत सन्दर्भमा लेखिएका आधिकारिक विद्वान््त्रयमध्ये प्रा.डा. तुलसी भट्टराईको ‘हाम्रो पुरूषार्थ ः अजर अमर छ’, दिव्य गिरीको हाम्रो पुरूषार्थको पुरूषार्थ, प्राडा गोविन्दराज भट्टराईको ‘हाम्रो पुरूषार्थको उत्सव काठमाडौंमा’ र शरद प्रधानको ‘हाम्रो पुरूषार्थ ः भारतीय नेपाली साहित्यलाई चिनाउने आँझी झ्याल’ लेखले १०५ औं अङ्कका वैशिष्ट्य राम्ररी नियालेका छन् । लाग्छ उदय ठाकुर, डा. सृजना शर्मा, डा. व्यञ्जना शर्मा, ऋषि राई र प्रा.डा. अञ्जना वस्ती भट्टराईका लेख पनि १०५ औं अङ्कका सामग्री हुन्, जो त्यसमा नअटाएर यस अङ्कमा छापिएका छन् । किन्तु पृ. १४० मा सचिवका तर्फबाट १०५ अङ्क बारेको जानकारीकासाथै ११० अङ्क रेसुङ्गा विशेषाङ्क हुने र तत्सम्बद्ध जानकारी पनि दिइएको छ । यसपछिका उल्लेख्य सामग्री भनेका ‘महाकविको लक्ष्मी निबन्ध–सङ्ग्रह’ को पुनर्पठन अनुभव र ‘देवकोटाको आध्यात्मिक चेत’ नामका दुई लेख हुन्, जो क्रमशः जयदेव गौतम र कृष्ण ज्ञवालीद्वारा लेखिएका हुन् । जयदेवजीको गुणग्राहितालाई महान् ठान्छु किनकि देवकोटा जस्ता महान्् व्यक्तित्वको कृति नेपालको आधिकारिक कृति प्रकाशक साझाले छापेको २०५७ को पन्ध्रौं संस्करणमा कति त्रुटिहरु छन्, २००२ देखिका तमाम संस्करणदेखि हुँदै आएको त्रुटि निराकरण साझाले गर्न सकेको छैन, यसतर्फ गौतमजीको दृष्टि पुगेन, स्वाभाविक पनि हो, किनकि गुणग्राहिता नै यस लेखको अभीष्ट थियो, बस् यी दुवैका दुवै लेख यस पत्रिकाका लायक छन्, विद्वत्ताले परिपूर्ण छन् । प्रा.डा. मनबहादुर क्षेत्रीजीको ‘साहित्य सम्राट् र ‘बौलाहा’ काव्यसङ्ग्रह एक चर्चा कुँवर देशभक्त सिंहको उपाधि, सृजना, वाङ्मय समाज गठन आदि अनेकता सूचक लेख हो । गिनिज बुक अफ वर्ड रेकर्डसमा नाम लेखाउने व्यक्तिलाई उजागर गरिएको हुँदा पठनीय छ लेख । अटिजम पाठशालाका संस्थापक विष्णुप्रसाद भण्डारीले धेरै जनालाई थाहा हुन नसकेका ‘अटिजम यात्रा’ मा घुमाएर महत्त्वपूर्ण जानकारी दिएकोमा धन्यवाद, नेपाली साहित्यका विशेषतः कविता क्षेत्रमा खिच्रिङमिच्रिङ सामग्री आउन थालेको धेरै भयो, अनेक नाम दिइएका यस्ता ससाना उद्गारका उद्भावकहरु धेरै छन्, आफूलाई स्वनामधन्य बनाएको स्वीकार गर्नैपर्छ । एक ठाउँमा ध्वनि सिद्धान्तका प्रतिपादक आनन्दवर्धनले काव्यको आन्तरिक तत्त्व पहिल्याउन नसकेका पण्डितहरुले काव्यको सिद्धान्त वा आत्मा अलङ्कार हो अथवा रीति हो भनेका हुन् भन्दै बडो आक्षेप लगाएका छन् तर म चाहिँ उहाँहरुलाई कविता लेख्न नसकेर वा कविताको संरचना थाहा नपाएर त्यसो गरेका हुन् भन्दिन किनकि जब एउटै शब्द काव्य हुन सक्छ भने गुल्मेली कविले उद्भावन गरेको गुलेली किन कविता नहुने ? रोहितप्रसाद ज्ञवालीको प्रयास सार्थक रहोस् । परिचय वा भूमिका र उपसंहार नरहे पनि पहिलो र अन्तिम अनुच्छेदलाई यी दुई अंशको परिपूरक मान्दा तेह्र खण्डमा रचित छापा माध्यमको वर्तमान अवस्था ः समस्या र समाधान’ शीर्षकको रमेशकुमार बोहराद्वारा लिखित लेख लेखन सर्जन र प्रकाशन आदि कार्यमा निरतवर्गका निम्ति अनमोल सन्देश र चुनौती दुवैले परिपूर्ण लेख हो, विद्युतीय सञ्चारबाट पैदा भएका नवीनतम मूल्यले प्राचीन मान्यता ध्वस्त हुनुहुँदैन भन्ने अवधारणा यसको खास अभिप्रेय विषय हो । यस अङ्कमा समाविष्ट कृति–समीक्षापरक लेख ‘चर्किएका घाउ बिर्सिएका पल’ प्राध्यापक कपिल अज्ञातद्वारा लेखिएको हो । यसलाई दुई फ्याक गरेर हेर्न सकिन्छ–पहिलो हो निबन्धकार प्रा.डा. नारायणप्रसाद खनाललाई चिनाउन लेखिएको फ्याक र अर्को हो खास कृतिको विवेचना २०५३ साल वैशाख एक गतेदेखि ऐजन चैत मसान्तसम्म लगातार दिन नबिराई लेखिएका ३६६ निबन्धको समष्टिगत व्याख्या–विश्लेषण गरिएको यो फ्याक लेख हाम्रो पुरूषार्थ १०६ का अन्य लेखभन्दा फरक ढङ्गबाट समीक्षित छ भने एक जना स्रष्टालाई एक जना द्रष्टाले राम्ररी नियाल्नमा कुनै कसुर नराखेको देखिन्छ ।

यस अङ्कमा सृजना–समीक्षा अनेक प्रकारका सामग्री समयसापेक्ष भएर प्रस्तुत भएका छन् तर नेपालमा नाथयोग जस्तो उत्कृष्ट अनुसन्धानात्मक लेख लेखर प्राडा कृष्णचन्द्र शर्माले जुन नाथ परम्परालाई उधिनपत्ताल गरेर देखाएका छन्, त्यो नेपालको जुनसुकै देश–काल–परिस्थितिमा पनि उपयोगी हुन्छ । नेपालमा कसैले नाथलाई पनि दशनामीमध्ये एक मान्छन् तर शङ्कराचार्यको अद्वैत वेदान्तवादी मतका अनुयायी र शृङ्गेरी, जगन्नाथ, द्वारका र ज्योति मठ वा बदरिकाश्रम जस्ता दक्षिण, पूर्व, पश्चिम र उत्तरमठमध्ये कुनै एकका शिष्यत्वमा रहने गिरि, पुरी, भारती, वन, अरण्य, पर्वत, सागर, तीर्थ, आश्रम र सरस्वती दशनामी सन्यासी हुन् तर नाथहरु त्यो भन्दा फरक त नहुनु पर्ने हो । प्रस्तुत लेखमा नवनाथहरु अणिमादि अष्टसिद्धि र पद्मादि नवनिधिका साधक हुन् भन्दै यिनीहरुको राष्ट्रिय–अन्तर्राष्ट्रिय शोधग्रन्थ र तिनीहरुसँग सम्बद्ध गोरक्षनाथीय परम्परामा प्रसिद्ध पूर्वीय ग्रन्थहरुको अध्ययन र अनुसन्धानका आधारमा अत्यन्त परिश्रमका साथ गरिएको लघु परियोजनाको प्रतिवेदन जस्तै बनेको छ । नाथ सम्प्रदायका सर्वश्रेष्ठ व्याख्याता तथा भारतका ठुलठुला नाथ समाम्नायहरुले मानेका वरिष्ठ विद्वान् योगी नरहरिनाथ हुन् तर मैले पितृवचनबाट थाहा पाएका जेठा मत्स्येन्द्रनाथ, यिनका शिष्य गोरखनाथ, यिनका शिष्य चन्दननाथ, यिनका शिष्य उलन्त भैरवनाथ र तिनका शिष्य रतननाथ हुन्, यो कति प्रामाणिक छ, त्यो म भन्न सक्तिन तर योग साधना, आध्यात्मिक अभ्यास र हठयोगका उपदेशक र तपस्वी हुन् यी सबै नाथहरु । पत्रिकाको ज्यादै आकर्षक, उपयोगी, ज्ञानमूलक र नेपालमा नाथ परम्पराको अध्ययनार्थीका लागि हस्तामलक बनेको यस लेखका लेखकप्रति आभार प्रकट गर्नु हाम्रो पुरूषार्थका पाठकको परम कर्तव्य हुन जान्छ ।

अन्तमा अकिञ्चनद्वारा चिरफार गरिएका ‘पूर्वविद्यार्थी स्मारिका–२०८०’, हरिराज भट्टराईको कथा–संग्रह ‘रातको प्रधानमन्त्री (२०८?), हरिप्रसाद ज्ञवालीको ‘विविध विधासंहति (२०८?), प्राज्ञ डा. तुलसी भट्टराईको पत्रात्मक निबन्ध संग्रह ‘चिठी–पत्र’ (२०८?), पितृवियोगमा परेकी छोरी प्रीति आत्रेयको शोककाव्य ‘लाटो साथी’ (२०८?), ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘रुरुक्षेत्र’ (२०८१), नारायणप्रसाद ज्ञवालीको नियात्रा–संग्रह ‘आँखामा कैलाश ः अञ्जुलीमा मानस’ (२०८१) र लव जोशीको ‘शीत काव्य’ २०८१ जस्ता साहित्यिक कृति (सचित्र) र कृतिकार हुन् ।

‘हाम्रो पुरूषार्थ’ १०६ मात्र होइन, अरुअरु अङ्क कसरी कुन आर्थिक स्रोतबाट प्रकाशित हुन्छन् ? विज्ञापन एउटा स्रोत हो । यस अङ्कमा खासै विज्ञापन देखिएन । रंगीन कभर १६२ पृष्ठ कागज ७० ग्राम, डिमाइ साइज, आइएसएस अंकित यस अङ्कमा ३० वटा लेख रचना छापिएका छन् भने १० वटा शीर्षकमा स्थानीय स्तम्भ छापिएका छन् । केही विदेश र स्वदेशका प्रतिनिधिको नामठेगाना अंकित तथा आफ्नै विज्ञापन तर आययोग्य विज्ञापन जम्मा दुईवटा हुनुले हामी बुझिन्छ यो बाउन्न वर्षे जवान अब आत्मनिर्भरताको मैदानमा उत्रिसकेको छ । प्रायः हेरकवर्ष विशेषाङ्कहरुको व्यवस्था गर्नु, लेखक–द्रष्टासितको संवाद र खास खास विषय सम्बद्ध लेखकसँगको लेख–रचना प्राप्ति, लेखकलाई प्रकाशित सामग्री उपलब्ध गराउनु आदिको जुन सम्पादकीय–प्रकाशकीय भूमिका छ त्यो अत्यन्त सबल, सशक्त र सक्रिय रहेको देखिन्छ । यसको नेतृत्व स्वयं संस्थापकले गरिएको हुनाले हार्दिक रुपमा समर्पण हुन सकेकाले नै हाम्रो पुरूषार्थले तरुणिमालाई कायम राख्न सकेको अनुभव हुन्छ । खासगरी स्वदेश र विदेशका विभिन्न स्थानका निवासी साहित्यकार, साहित्यप्रिय, साहित्यसेवीहरुको अथक योगदानको फलस्वरुप ‘हाम्रो पुरूषार्थ’ले एक ऐतिहासिक दिग्विजय गर्दै आइरहेको छ र यसले आफूलाई दीर्घतम राष्ट्रसेवीको रुपमा प्रस्तुत गरिसकेको छ । भाषा, साहित्य, संस्कृति, समाज र सृजनालाई अमरत्व प्रदान गर्ने सन्दर्भमा सम्पादकहरुको विनम्रता, साहित्यिक पत्रकारिताप्रतिका अभिरुचि र लगावले नेपाली साहित्य भण्डारमा हाम्रो पुरूषार्थले गरेको, गरिरहेको र सुदीर्घकालसम्म यसरी नै जीवित रहने, शान र मानले उच्च छाती र शिर लगाएर चुचुरोमा पुग्ने हिम्मत प्राप्त गर्नेछ साथै नवीनतम ज्ञानका खुराक पस्केर प्रत्येक नागरिकलाई रसपान गराउन तिम्रो पुरूषार्थ सक्षम हुनेछ भन्ने हार्दिक कामनाकासाथ बिदा लिन्छु । जय वाङ्मय । मुकाम ः चन्द्रागिरि –२, कान्तिपुरी