पुष्पदन्ताचार्यकृत
(संस्कृतको विशाल स्तोत्र साहित्य भण्डारमा गन्धर्वराज पुष्पदन्ताचार्यकृत शिव
महिम्न ः स्तोत्रको स्थान सर्वोपरि छ । यसमा भगवान् शिवको निर्गुण–सगुण
दुवै स्वरुपको महिमा गाइएको छ । गहिरो भाव, दार्शनिक बिम्ब र
साहित्यिक छटाले युक्त यो स्तोत्रको भाषिक संरचना भने अलि जटिल छ ।
त्यसैले उसै छन्दमा नेपालीमा यथामति अनुवाद गर्ने प्रयास गरेको छु ।
–अनुवादक)
नबुझ्नेले गर्दा स्तुति हजुरको तुच्छ गनिए
गरेको ब्रह्माले पनि त अब तुच्छै हुनिभए ।
नमान्नू यो आफ्नो मतिसदृश गर्दा अनुचित
यसैले शम्भो ! यो स्तुति पनि त होला नि उचित ।।
(१)
नखाम्नाले जस्को अगम महिमा शब्द मनले
इशारामा चल्छन् श्रुति पनि निषेधादि विधिले ।
गुणातीतात्माको स्तुति नहुन सक्ला पनि तर
गुणत्मामा कस्को मन वचन गर्दैन रहर ? ।
(२)
सुधा जस्तो मीठो श्रुतिवचन रच्ने ति विधिले
रचेको वाणी के हजुरकन गर्ला र चकित ? ।
म ता आफ्नो वाणी गुण हजुरका गायन गरी
पवित्रै होस् ठानी स्तुति हजुरको गर्छु रचित ।।
(३)
त्रयीविद्याव्यापी त्रिगुणबलले भिन्न तनुमा
रहेकै हो सृष्टि स्थिति लय दिने ईश्वरपना ।
त्यसैलाई केही हतमति कुतर्कादिक गरी
आलाप्छन् व्यर्थैमा कटु पनि मिठो झैं गरिगरी ।।
(४)
विधाता के चेष्टा कुन तन उपायादिक लिई
तथा केमा यस्ता भुवनहरु रच्छन् भनिभनी ।
अहो ! त्यो ईशात्माकन पनि कुनै ती हतमति
गरी शंका नाना जगत विच छर्छन् भ्रम पनि ।।
(५)
अजन्मा हुन्छन् के तनुधरहरु यो जगतमा
हजुर्लाई छाडी जगत अरुमा टिक्छ कसमा ? ।
विना ईशात्मा को जगत रचनामा छ निपुण ?
गरी शंका नाना तर अबुझ बन्छन् ति भ्रमित ।।
(६)
त्रयी सांख्यी योगी शिवपथिक वा वैष्णवमती
सबै दाबी गर्छन् निज पथ छ राम्रो भनिभनी
अनौठा बानीका सब सरल–बाङ्गा पथ लिंदै
तिमीमा नै पुग्छन् जल उदधिमा झैं गति लिंदै ।।
(७)
बुढो गोरु खट्वापग परशु छाला अहि अनि
खरानी तिम्रा यी उपकरण छन् खप्पर पनि ।
कटाक्षैले तिम्रा अमर गण भोग्छन् सुख कति
भने के तृष्णाले स्वसुख तिमिमा लिन्छ र गति ? ।।
(८)
कुनै स्थायी भन्छन् जगत यस उल्टो कतिपय
कुनै उल्टो–सुल्टो उभय गुणले युक्त सकल ।
विवादैले यस्तो मन चकित पर्दा पनि पुन ः
मुखाले बन्दै यो स्तुति विमुख भै बस्छु र किन ?
(९)
अहो अग्निज्वाला सम हजुरको स्तम्भतनुमा
हिंडे नाप्छौं भन्दै हरि तल र ब्रह्मा शिखरमा ।
नभेटी फर्केका थकित तिनको त्यो स्तुति सुनी
तिमी निस्क्यौ आफैं शिव ! विनय के हुन्न सफल ।।
(१०)
अनायासै पाई तिन भुवनको राज्य अखिल
जसै व्यर्थै मान्यो भुज सकल आफ्ना दशमुख ।
चढायो पाऊमा सकल शिर कल्पेर कमल
भयो शंभो ! तिम्रै अविचलित भक्ति प्रतिफल ।।
(११)
हजुर्कै सेवाले भुजवन धरी राक्षसवर
गरेथ्यो कैलाशै पनि जब उचाल्ने तरखर ।
हजूरैको पादाङ्गुठ जब दबेथ्यो अचलमा
पुग्यो पातालैमा खल त फँसिहाल्छन् विपदमा ।।
(१२)
थियो देवेन्द्रैको जुन विभव ऐश्वर्य अतुल
त्यसैलाई पारे भुवनपति वाणसुर तल ।
न हो आश्चर्यै यो गिरिशपद–सेवा र विनति
नदेला कस्लाई अतुल फल गर्दा शिरनति ।।
(१३)
तुरुन्तै ब्रह्माण्ड– क्षय–भय हुँदा चिन्तित बनी
दया राखी देवासुरकन पिएथ्यौ विष पनि ।
डढेको त्यो घाँटी पनि शिव ! बन्यो भूषण अब
महात्मा त्राताको विकृति पनि मानिन्न अशुभ ।।
(१४)
भएनन् कैल्यै ती सुर असुरमा काम विफल
बनी फर्कन्थे ती मनविच पसी वाण सफल ।
तिमीलाई हान्दा मदन त रह्यो नाम फगत
मनोग्राही जित्ने तरखर सधै हुन्छ विफल ।।
(१५)
तिमी नाच्दा ठोक्छौं जब पयर पृथ्वी डगमग
भुजा चर्को घुम्दा ग्रहगण नि बन्छन् ति विकल ।
जटाको झारैले अमरपुर विक्षोभित हुने
जगद् रक्षा गर्नै त्रिपुरहरले ताण्डव लिने ! ।।
(१६)
नभोव्यापी तारागण छ जसको फेन सदृश
उनै गङ्गा तिम्रो शिरपतित बन्दा कणसम ।
जसै पृथ्वी ओर्ली वलय सरि बन्दै जलनिधि
जगत् टापू पार्छिन् चरित महिमा दिव्य छ कति ? ।।
(१७)
बनायौ पृथ्वीको रथ विधि बनाईकन रथी
बसाल्यौ चक्कामा विधु पनि सुमेरु धनु गरी ।
बनाएथ्यौ चक्री शर सब समर्थै भइ पनि
अहो कस्तो आडम्बर त्रिपुर हान्नैकन पनि ।।
(१८)
हजारैले गर्थे कमल–बलिले पूजन हरि
नपुग्दा यौटा त्यो निज नयन नैं अर्पण गरी ।
हजुर्को भक्ति त्यो फलित हुनगो चक्र अतुल
उनै चक्री गर्छन् भुवनकन रक्षा अनलस ।।
(१९)
तिमी जागा बस्छौ फल दिन भनी यज्ञ सकिंदा
निभेको यज्ञैले फल कसरि दिन्थ्यो तिमी विना ? ।
तिमीलाई देखी मखफल दिने यज्ञपुरूष
धरी श्रद्धा गर्छन् जनहरु डटी कर्म शुभद ।।
(२०)
प्रजास्वामी दक्ष क्रतुपति थिए कर्मकुशल
ऋषी ऋत्विक्मा थे सदसिज बनेथे सुरगण ।
तिमीले भत्कायौ मखफल दिने हौ तर पनि
अश्रद्धाले गर्दा पनि बनेथ्यो दुख दिनी ।।
(२१)
बनी कामी ब्रह्मा पनि रमण गर्ने मन गरी
मृगीरुपा छोरीकन पनि पछ्याए मृग बनी ।
तिमीले छाडेथ्यौ मृगकन ठूलो वाण जसले
नछोडेको देख्छौं नभ विच अझै सम्म त्यसले ।।
(२२)
सुरुपा भन्ठानी धनुष लिइ हान्ने रतिपति
डढेको तिन्कोझैं निज निकट देखेपछि पनि ।
शिवा आधाअंगी–नयन– विचमा स्त्रीरत तिमी
भए शंभो ! मुग्धा युवतिजन छन् खेद छ त नि !
(२३)
स्मशानैमा खेल्ने सहचर त प्रेतादिक गण
चिता भस्मालेपी मनुज –शिरमाला पहिरन ।
भलै होस् तिम्रो त्यो चरित अरुका लागि भयद
तिमीलाई भज्ने जनकन सदा छौ त वरद !
(२४)
बनी प्राणायामी मन विषयदेखी पर गरी
बनेका रोमाञ्ची प्रमदजलने लोचन भरी ।
स्वयं भित्रै देख्छन् अमृतमय त्यो तत्त्व सुखद
तिमी त्यै हौ शंभो ! मुनिजनहरु निम्ति बरद ! ।।
(२५)
तिमी नै सूर्यात्मा विधु पवन पानी र अनल
तिमी आत्मा पृथ्वी अनि पछि महाकाश पनि त ।
भलै मानून् कोही सकल यिनि छन् तत्त्व अलग
सदा मान्छौं हामी तिमी विन कुनै छैन अलग ।।
(२६)
त्रयी तीनै वृत्ति त्रिभुवन तथा तीन विबुध
अकारादि वर्णत्रय जनित छन् तीन विकृत ।
तिमी छौ चौथोमा ध्वनिमय मसीनो स्वर लिने
अखण्डी वा खण्डीकृत पनि तिमी ओं पथ लिने ।।
(२७)
भवः सर्वः रुद्रः पशुपति तथा उग्र र महान्
तथा भीमेशानद्वय सहित छौ आठ कृतिमान् ।
यिनै प्रत्येकैमा प्रविचरण गर्छन् श्रुति कति
सबैका हौ धाम प्रिय हजुरमा गर्छु प्रणति ।।
(२८)
समीपस्थैलाई नम अनि सुदूरस्थ नमन
अति क्षुद्रैलाई नम अनि महान्लाइ नमन ।
बडा बूढालाइ नम अनि युवालाइ नमन
तिमी आफै नै हौ सब अनि सबैलाई नमन ।।
(२९)
रजगुण लिने पैदा गर्दा भवाय नमोनम ः
तमगुण लिने सारा हर्दा हराय नमोनम ः ।
सतगुण लिने रक्षा गर्दा मृडाय नमोनम ः
गुणरहित हुँदा चिद्रुपात्मा शिवाय नमोनम ः ।।
(३०)
कृशतर मन मेरो क्लेशले बद्ध काहाँ
त्रिगुण रहित तिम्रो नित्य ऐश्वर्य काहाँ ।
तर चकित मलाई भक्ति लाग्दा अपार
हजुरकन चढाएँ वाक्यपुष्पोपहार ।।
(३१)
गिरिसम मसि होओस् घोलिने सिन्धु पात्र
कलम सुतरुशाखा लेखनी भूमि पत्र ।
बसिकन यदि लेखून् शारदा सर्वकाल
तर पनि गुण तिम्रा पूर्ण हुन्नन् अपार ।।
(३२)
असुर सुर सबैले पूज्य ती धूर्जटीको
ग्रथित महिमलीला निर्गुणी ईश्वरैको ।
गिरिशगणहरुमा श्रेष्ठ यो पुष्पदत्त
स्तुति रुचिर बनायो रम्य छानेर छन्द ।।
(३३)
प्रतिदिन नर जो जो सर्वथा शुद्धचित्त
शिवसित मन जोडी स्तोत्र पढ्ला पवित्र ।
बनिकन शिवलोकी रुद्र झैं पूज्य बन्ला
विभव सहित याहाँ आयु सत्कीर्ति मिल्ला ।।
(३४)
शिव झैं न कुनै देव न महिम्नसम स्तुति ।
अघोर झैं न ता मन्त्र गुरु माथि न तत्त्व छ ।।
(३५)
दीक्षा दान तथा ज्ञान तीर्थ यज्ञादि जत्ति छन् ।
महिम्न पाठको सोह्रौं कला पनि न भेट्दछन् ।।
(३६)
कुसुमदशन नामी एक गन्धर्भराज
शशिधर शिवजीको जो थियो मुख्य दास ।
शिव कुपित हुनाले जो बन्यो शक्तिहीन
स्त्तवन अनि बनायो भक्तिले दिव्य रम्य ।।
(३७)
सुरमुनि सबबाटै पुज्य यो मोक्षदायी
स्थिरमन जुन पढ्ला भक्तिले हात जोडी ।
शिव निकट उ पुग्ला गाइँदै कीर्तिगीत
स्तुति अचुक हुनाले पुष्पदन्तप्रणीत ।।
(३८)
छ पुण्यमय संपूर्ण स्तोत्र गन्धर्व भाषित ।
प्वित्र र मनोहारी शिव ईश्वरवर्णित ।।
(३९)
कस्ता के हौ तिमी शंभो ! म त क्यै पनि जान्दिन ।
जस्ता तिमी छौ भगवन् ! त्यस्तैलाइ नमोनम ः ।।
(४०)
जो पुष्पदन्त मुखपङ्कजबाट निस्क्यो
त्यो स्तोत्र भो पशुपति प्रिय पाप झस्क्यो ।
कण्ठस्थ एकमनले जुन पाठ गर्ला
त्यो भक्त भूतपतिको पनि चित्त हर्ला ।।
(४१)
यस्तो यो वाङ्मयी पूजा अर्पन्छु पाउमा भव ।
यसैले हे महादेव ! प्रसन्न हुनुहोस् शिव ! ।।
(४२)
आ ना साना नानी–बाबूहरुलाई
किरण पुस्तकालय
तम्घासमा लिएर गई
पढ्ने बानीको विकास गराउनुहोस् ।