मुख्य सामग्रीमा जानुहोस्

हाम्रो पुरुषार्थ अंक १११ · पृ. iii

हार्दिक श्रद्धाञ्जलि

सम्पादक

वेदले भन्छ – हामी पृथिवीका छोरा हौं । पृथिवी हाम्री आमा हुन् । बादल हाम्रा बा हुन् । यिनै बा–आमाले हाम्रो रक्षा गरुन्, पालनपोषण गरुन् । छोटा र साना अभिप्राय छैनन् यिनमा । मान्छे जति उफ्रे पनि बा–आमाभन्दा अग्ला छैनन्, प्रकृतिभन्दा ठूला छैनन् । बा–आमालाई जिस्काउने काम नगरौं ।

वेदले भन्छ – जल, थल, नभ सर्वत्र शान्ति होस् । खेतीपाती र वनस्पतिमा शान्ति होस् । दूषित नहून् पृथिवी । दूषित नहून् वायु र जल पनि । दूषित न होस् आकाश । दूषित नहून् मान्छेका गिदीहरु पनि । तब बन्नेछ पृथिवी स्वर्गझैं । अर्थात् स्वर्ग झर्नेछ यतै–कतै ।

वेदले भन्छ–सँगसँगै हिडौं । सँगसँगै खाऊँ । सँगसगै काम गरौं । सबै तेजस्वी बनौं । एकले अर्कोप्रति द्वेष नगरौं । साना सन्देश छैनन् यिनमा । विभेद होइन समतातिर लाग्ने सन्देश हुन् यी । वेद पढेर मात्र हुँदैन । वेदका अर्थ बुझ्नुपर्छ, विचार बुझ्नुपर्छ । विचार बुझेर मात्र हुँदैन । विचारलाई आचारमा अनुवाद गर्नुपर्छ ।

हामीले पृथिवीलाई दूषित बनायौं । हामीले आकाश, वायु र जललाई दूषित बनायौं । विकास भनेर दूषित ग्यासहरु बढायौं र पृथिवी, जल र वायुलाई ततायौं । पाषाण युगमा पनि मान्छे बसेको पृथिवीलाई अब मान्छे बस्न नसक्ने बनाउँदै छौं । हिमालहरु पग्लदै छन् । टापुहरु डुब्दैछन् समुद्रमा । विकासको विष पिउन विवश छन् निर्दोष मान्छेहरु ।

हिजो मात्र हिमाल पग्लेर बग्यो । भोटे कोशीमा बाढी उर्लेर आयो । भोटे कोशीको बाढीमा जलसमाधिमा विलीन भए हाम्रा बन्धुबान्धवहरु । हेर्दाहेर्दै माटामा विलीन भए हाम्रा आवास र सम्पत्तिहरु । शोकमा डुब्यौं हामी । पृथिवी दूषित पारे अरु कसैले । विपत्ति हामीले भोग्यौं । अब यस्तो विपत्ति नपरोस् भविष्यमा । हामीले त के गर्न सक्छौं र अरु ! विपत्तिमा दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जलि ।