अघि बढिरहेको समयले कहिलेकाहीँ यस्ता घाउ दिन्छ, जसलाई औषधिले होइन, केवल आँसुले मात्र धोइरहन सकिन्छ । मानिसको जीवनमा सबैभन्दा ठूलो पीडा मृत्यु मात्र होइन; कहिलेकाहीँ बाँचेर पनि सबै कुरा गुमाउनु, आ नै घरमा पराइझैँ हुनु, आ नै मान्छेहरु टाढिँदै जानु, र सम्झनाहरुको भारी बोकेर दिन काट्नु अझ गहिरो पीडा हुन्छ ।
घरको आँगन उही हुन्छ । तुलसीको मठ उही हुन्छ । बिहानको घाम उही गरी ढोकामा आएर बस्छ । तर एउटा स्वर हराएपछि ती सबै वस्तुहरु निर्जीव लाग्न थाल्छन् । एक समय थियो—आँगन हाँसोले भरिन्थ्यो, चियाको बाफसँगै सपनाहरु उड्थे, आमाको पुकारमा घर गुञ्जिन्थ्यो । आज त्यही घरमा मौनताको बाक्लो कुहिरो छ । भित्ताहरु बोल्दैनन्, झ्यालहरु हाँस्दैनन्, र ढोकाले कसैको प्रतीक्षा गर्न छोडिसकेको छ ।
कुनै बेला बाबुको काँधमा बसेर संसार हेर्ने बालक, आज बाबुको तस्बिर अँगालेर रुन बाध्य हुन्छ । कुनै बेला आमाको काखमा निदाउने सन्तान, आज आमाको पुरानो सारी समातेर रातभर आँसु बगाउँछ । समयले शरीरलाई ठूलो बनाइदिन्छ, तर अभावले मनलाई फेरि सानो बच्चा बनाइदिन्छ । त्यतिबेला आँसु लुकाउन सकिँदैन; किनकि सम्झनाको कुनै उमेर हुँदैन ।
सबैभन्दा धेरै दुख त्यतिबेला लाग्छ, जब कसैले अन्तिम पटक “फर्केर आउँछु“ भनेको हुन्छ, तर त्यो फर्किने बाटो सधैँका लागि बन्द भइसकेको हुन्छ । ढोका खुल्लै रहन्छ, आँखा बाटोमै अडिन्छन्, तर पाइला कहिल्यै सुनिँदैनन् । प्रतीक्षाको पनि एउटा आयु हुन्छ, तर मायाको प्रतीक्षा कहिल्यै मर्दैन ।
कतिपय मानिसहरु जीवनभर अरूका लागि बाँच्छन् । आ ना रहरहरु चुपचाप गाडिदिन्छन् । आ ना चाहनाहरुलाई चुल्होको धुवाँसँग उडाइदिन्छन् । तर अन्त्यमा उनीहरुलाई सम्झने फुर्सद कसैसँग हुँदैन । उनीहरुको नाम केवल पुरानो फोटोको पछाडि लेखिएको मिति बन्छ । त्यो मिति हेर्दा मात्र कसैको मन एकछिन थर्थराउँछ, अनि फेरि सबै आ–आ नो व्यस्ततामा फर्किन्छन् ।
मानिस मर्छ भने एउटा शरीर मात्र हराउँदैन; एउटा संसार उजाड हुन्छ । एउटी आमा गुम्दा एउटा आश्रय हराउँछ । एउटा बाबु गुम्दा एउटा भरोसा ढल्छ । एउटा सन्तान गुम्दा एउटा भविष्य नै चिहानमा पुग्छ । एउटा साथी गुम्दा जीवनको एउटा अध्याय चुँडिन्छ । त्यसैले मृत्यु एउटा व्यक्तिको अन्त्य मात्र होइन, असंख्य सम्झनाहरुको अनन्त विलाप पनि हो ।
तर जीवनको सबैभन्दा ठूलो विडम्बना के हो भने संसार कसैको पीडामा रोकिन्न । घडी चलिरहन्छ । सूर्य उदाइरहन्छ । बजार खुलिरहन्छ । मानिसहरु हाँसिरहन्छन् । केवल एउटा मनभित्र भने समय सधैँका लागि रोकिएको हुन्छ । त्यहाँ अझै पनि त्यो अन्तिम भेट, अन्तिम मुस्कान, अन्तिम स्पर्श, अन्तिम बिदाइ बारम्बार दोहोरिइरहेको हुन्छ ।
आँसु कमजोरी होइन । आँसु त प्रेमको सबैभन्दा शुद्ध भाषा हो । जसलाई धेरै माया गरिन्छ, उसको अभावले नै धेरै रुवाउँछ । आँसुले बताउँछ—सम्बन्ध अझै जीवित छ; केवल मानिस टाढिएको हो ।
सायद यही कारणले मानिसले सबै कुरा बिर्सन सक्छ, तर हृदयले आ ना प्रियजनको आवाज कहिल्यै बिर्सँदैन । रातको गहिरो मौनतामा कहिलेकाहीँ लाग्छ—कसैले फेरि नाम बोलायो कि ! ढोका खुल्यो कि! आँगनमा फेरि ती पाइला परे कि! तर त्यो त सम्झनाले खेलेको एउटा निष्ठुर खेल मात्र हुन्छ ।
अन्ततः जीवनले सिकाउने सबैभन्दा कठिन सत्य यही हो—केही भेटहरु जीवनभरका लागि हुन्छन्, तर केही बिछोडहरु अनन्तकालका लागि । र ती बिछोडहरुले मनलाई यति धेरै चिर्छन् कि समयले घाउ सुकाए पनि त्यसको दाग कहिल्यै मेटिँदैन ।
कहिलेकाहीँ रातको एकान्तमा, जब संसार निदाइसकेको हुन्छ, एउटा मन चुपचाप रुँदै भन्छ ः
“यदि एकपटक मात्र फर्केर आउन मिल्ने भए, म संसारका सबै खुसीहरु साटेर पनि त्यो एउटा भेट किन्थेँ । तर समयले कहिल्यै आ ना निर्णय फिर्ता लिँदैन । त्यसैले बाँकी जीवन सम्झनाहरुलाई अँगालेर बाँच्नुबाहेक अर्को कुनै उपाय रहँदैन ।”
शिक्षक – राम मावि राम्दी, पाल्पा