विषय प्रवेश सिकाइ प्रभावकारिता वृद्धिका लागि विज्ञता—चक्र अर्थात् “खोज, प्रमाण र विज्ञता” को आदर्श मन्त्रबाट उत्साहित प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरु सँगसँगै बसेर तीन दिनसम्म मन्थन गर्ने क्रममा शिक्षणसिकाइसम्बन्धी विधि प्रविधिका साथसाथै रेसुंगा तपोभूमिको अवलोकन, यसको महिमा र पौराणिक मिथकबारे सुन्ने जान्ने र आफूलाई सम्मोहित गर्ने बहुमूल्य अनुभव र अनुभूति २०८३ सालको मध्य श्रावणमा प्राप्त भयो । नेपालका गुल्मी, पाल्पा, रुपन्देही, नवलपरासी, कास्की, काठमाडौ, अर्घाखाँची, प्युठान, बागलुङ, स्याङ्जा जिल्लाका ४५ विद्यालयका १०० भन्दा बढी प्रधानाध्यापक एवम् शिक्षकहरु र एक दर्जन बढी विद्यार्थीहरु कार्यक्रमका प्रत्यक्ष सहभागी थियौं । कार्यक्रमको दोस्रो दिन (१५ गते) सिद्धबाबा माध्यमिक विद्यालय, तम्घासले रेसुंगा तपोभूमिको दर्शन गर्ने चाँजोपाँजो मिलाएको रहेछ । बिहानी एवम् दिवा सत्रका शिक्षासम्बन्धी गहकिला सत्रहरु सिध्याएर रेसुंगा जाने कार्यक्रमबाट सहभागी सबै उत्साहित थियौं । पटकपटकको रेसुंगा यात्रा गरिसकेको यस पंक्तिकारलाई सामूहिक यात्राको रमाइलो, प्राकृतिक सौन्दर्यको आनन्दका अतिरिक्त रेसुंगालाई अझ विस्तृत र गहिराइसम्म चिन्न पाउने जिज्ञासाले गर्दा थप आकर्षित क्षण थियो ।
साउन १५ ः खीर खाने दिन
साउन १५ लाई विशेष पर्वको रुपमा मनाउने चलन छ । प्रायः वर्षापछि गाई, भैंसी ब्याउँछन् । कार्यक्रमको अवधिभर सहभागीका लागि खाजा र खाना पकाउने कार्य सिद्धबाबा मा. वि. का होटल व्यवस्थापनमा अध्ययनरत विद्यार्थीहरुले गर्नुभएको थियो । बिहानको खाजामा खीर तयार गरिएको रहेछ । यसले हामी सबैलाई हाम्रो परम्परागत रिवाजको स्मरण गर्ने, ती चालचलनप्रति सकारात्मक भावना विकास गर्ने र तिनीहरुको महत्त्व चर्चा गर्ने वातावरण तयार पारिदियो । मीठो खीर हामीले थपीथपी खायौं । राम्रो मरमसला, पकाइ र स्वादिलो खीर सबैले थपीथपी खायौं । बिहानीले दिनको संकेत गर्दछ भनेजस्तै त्यो दिन विषयवस्तुमा गहिराइमा पुग्ने अभ्यास धेरै भयो । संस्कार, विनयीशीलता, बौद्धिक इमान्दारिताका चर्चा भए । प्राचीन कालका ऋषिमुनिहरु अध्येता, अन्वेषणकर्ता र विद्वान् गुरूहरु हुनुहुन्थ्यो र शृङ्ग ऋषिको तपस्थलमा बसेर ज्ञानको खोजीका विधि, प्रक्रियाका सन्दर्भमा जम्मा भएका थियौं । यस सन्दर्भमा रेसुंगा जानु र यसका बारेमा जानकारी लिनु पनि एउटा सत्र नै थियो ।
रेसुंगा प्रस्थान
जब सिद्धबाबा मा. वि. का बसहरु हामीलाई राखेर नागबेली सडकमा उकालो लाग्दै थिए, सबैका आँखा सुन्दर तम्घास बजारतिर थिए । केही भने पहिलाका दिनहरु सम्झँदै बाख्रेछेंडाको उकालोको कुरा गर्दै हुनुहुन्थ्यो । गर्जुरा (गोरु जुधाउने ठाउँ) मा पुगेर बस रोकिए । रेसुंगामा दाउरा घाँस गरेर थकितहरुले भारी बिसाएर पसीना ओभाउने ठाउँ, दिनभर वनमा चरेर फर्किएका गोरु जुधाएर आनन्द लिने ठाउँ, तम्घासदेखि पार गुल्मीतिर जाने बाटाहरुको वनक्षेत्र प्रवेश गर्ने ठाउँ, जहाँ मानिसहरु धकार मेटेर पर वनभित्रसम्म हेर्दै, साथी पर्खंदै वनक्षेत्रमा प्रवेश गर्दथे, आजकल रेसुंगा पार्कमा परिणत भएको छ ।
रेसुंगा पार्क
रेसुंगा पार्कमा पैदलमार्ग, बगैंचा, बाल उद्यान, खेल उद्यान, दुबो रोपेर सुन्दर भुईं, सुन्दर दृश्यका लागि टावर र साहसिक खेल जिप लाइनको समेत प्रबन्ध छ । पिकनिक खानेका लागि घरहरु पनि रहेछन् । यहाँ बिहानी योग तथा शारीरिक व्यायाम गर्नेहरुको भीड लाग्दो रहेछ । यहाँ फिल्म तथा म्यूजिक भिडियोको छायाङ्कन गर्न पनि उपयुक्त देखियो । यही पार्कमै रमाउन मन थियो । तर रेसुंगाले सेतो टोपी लगाएको थियो । अलि तल भर्खरै वर्षा होला जस्तै अँध्यारिएको थियो । हाम्रो मुख्य उद्देश्य रेसुंगामा पुगेर यसको अवलोकन, दर्शन गर्ने र जानकारी लिने थियो । त्यसैले हामी केही थान तस्वीरहरु मोबाइलमा कैद गर्यौं र बसमा चढ्यौं । बस उकालो लाग्यो । परपरसम्मका पहाडी शृङ्खलाहरु हेर्दै स्थानीय साथीहरुले दिनुभएका जानकारी लिंदै बसमा बस्यौं । शान्तिपुरका पाका शिक्षक श्यामलाल गौतमले भजन सुरू गर्नुभयो । तम्घासकी सरस्वती भण्डारीले पनि थप्नुभयो । हामीले पनि थपरी बजाउँदै गाउँदै साथ दियौं । भजनमा रमाउँदै, वनस्पति, हिम तथा पर्वत शृङ्खलाबारे जानकारी लिंदै एकैछिनमा हामी महापोखरी पुग्यौं । बस त्यहीं रोकियो ।
महापोखरी (सिद्धपोखरी)
हामी सरासर महापोखरीको परिक्रमा गर्दै त्यहाँ रहेका २७ धाराहरु र महापोखरीको जलले शिर सेचन गर्यौं । रेसुंगा तपोभूमिको एउटा मुख्य ठाउँ महापोखरी हो । यहाँ साउन महिनाभर र हरिबोधनी एकादशीमा विशेष तीर्थाटन हुन्छ । यो पोखरी लक्ष्मीनारायणले चार धामका तीर्थहरुको र अयोध्याको सरयु नदी, काशीको भागीरथी नदी, गया, मुक्तिनाथ र कालीगण्डकीको पवित्र जल ल्याई निर्माण गरेकोले यस पोखरीमा स्नान गर्दा सबै पापहरु पखालिने जनविश्वास रहेको छ ।
सिंढीहरु
तम्घासदेखि करिब १५ मिनेट बसपछि महापोखरी क्षेत्रमा सवारी साधन राखेर पैदल सिंढी चढ्नुपर्छ । रेसुंगाधामको मुख्य स्थान लेकको चुलीमा रहेको छ । त्यहाँसम्म पुग्नका लागि १२७० वटा सिंढीहरु निर्माण गरिएका छन् । समुद्र सतहबाट २३४७ मीटर उचाइ रहेको रेसुंगा चुली उच्च पहाडी क्षेत्रमा पाइने विभिन्न वनस्पतिहरुको बीचबाट सिंढी चढ्दै गर्दा दायाँबायाँका वनस्पतिहरुका विशेषता, औषधीय गुणको चर्चा पनि हुन्छ । उकालो सिंढीहरु चढ्दै गर्दा बीचबीचमा शौचालय र विश्रामस्थल रहेका छन् । स्वच्छता कायम छ । सिंढीहरुमा ढुंगा काटेर सिमेन्टले जोडिएका छन् । बीचमा स्टिल रेलिङ्ग र बीचबीचमा वल्लोपल्लो भागमा जान मिल्ने भएकोले हिडाइ सहजै देखिन्छ । रामकुवा
माथि यज्ञशालाभन्दा तल मूल सिंढीको दायाँ करीब ५० मीटरमा राम कुवा रहेको छ । भनिन्छ यो कुवा रामले पानी निकालेर बनाउनुभएको हो । पौराणिक कथनअनुसार राजा दशरथलाई पुत्र लाभका लागि यज्ञ अनुष्ठान गरिदिने ऋषि ऋष्यशृङ्गलाई भेट गर्न भगवान् राम आउनुभयो । ऋषिलाई कुनै अभावको जिज्ञासा राख्नुहुँदा पानीको आवश्यकता रहेको बताउनुभएछ । अनि रामले बाण हानी पानी उत्पन्न गराउनुभयो । अचम्म के छ भने यस कुवामा पानी हिउँद वर्षा बराबर रहन्छ । वर्षामा बढ्ने वा हिउँदमा सुक्ने हुँदैन । अर्को करीब २२५० मीटर उचाइमा पानी पाइनु आफैमा अचम्म छ । त्यसो त रेसुंगा पहाड पानीको ठूलो स्रोत भएको पहाड हो । यसप्रकारको पहाडमा यति धेरै पानीको स्रोत अन्यत्र सायदै होला ।
यज्ञशाला
रेसुंगाधामको मुख्य केन्द्रमध्ये एउटा यज्ञशाला हो । यदुकानन्द स्वामीले यज्ञशाला बनाउनुभएको हो । रेसुंगा चुलीभन्दा केही तल करीब २३०० मीटरको उचाइमा अवस्थित सानो समथर भूभागमा अवस्थित यज्ञशाला प्यागोडा शैलीमा तामाको छाना र सुनको गजुरसहित निर्माण गरिएको छ । यसको बीचमा हवन कुण्ड छ जहाँ अखण्ड धुनी बलिरहेको हुन्छ । आध्यात्मिक शक्तिको विश्वास गरिन्छ । यज्ञशालाको नजिकै तपस्वी पुजारीहरु बस्नुहुन्छ । रेसुंगा संरक्षण समितिको पहलमा अहिले करीब १०० तीर्थालुलाई बासको प्रबन्ध गर्न सकिने गरी आवास पनि निर्माण भएको छ । यहाँ खस्रेटीको धूलो चियापत्तीका रुपमा र खुदो राखेर बनाइएको मीठो चियाले हामी सबैलाई अविस्मरणीय स्वाद दिलायो ।
नागस्थान र सिद्धबाबा मन्दिर
हाम्रो गन्तव्य सिद्धबाबा मन्दिरसम्म थियो । हामीसँग रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेश भुसाल साथैमा हुनुहुन्थ्यो । हामी सिद्धबाबा मन्दिर परिक्रमा गर्ने क्रममा मन्दिरको पछाडि रहेको नाग मूर्तिमा पुग्नासाथ अध्यक्ष भुसालले नागको महत्त्वका बारेमा चर्चा गर्नुभयो । नागको आशीर्वादले रिमुवाका शिक्षक शशि घिमिरेको जीवनमा परेको प्रभाव र आफूले पनि उहाँबाट सुझाव लिएर कार्य गर्दा सफल भएको अनुभव सुनाउनुभयो । बालसिद्ध भगवान्को उत्पत्ति भएको स्थानमा सिद्धबाबा मन्दिर बनाइएको हो । उहाँले सिद्धबाबा मन्दिरमा गरिएको भाकल अवश्य पूरा हुने र मानिसहरुको पूर्ण विश्वास भएकोले रेसुंगा वरपरबाट भक्तजनहरु आउने गरेको बताउनुभयो । पंक्तिकार यहाँका धार्मिक सन्दर्भका कुरा गर्दागर्दै भ्यू टावर जान चाहेन ।
रेसुंगाको विशेष महत्त्व
यज्ञशालामा जम्मा भएर हामीले भजन श्रवण गर्ने, नाच्ने, दर्शन गर्ने गर्दै थियौं । रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेश भुसालले यस रेसुंगाधामको पौराणिक मिथकसहितको वर्णन गर्नुभयो । करीब आधा घण्टा लामो प्रवचनमा उहाँले रेसुंगाको सम्बन्ध भगवान् रामसँग रहेको किम्वदन्ती सुनाउनुभयो । संसारका २७ वटा देवगिरिमध्ये एउटा रेसुंगा रहेको जहाँ विमाण्डक ऋषिका छोरा शृङग ऋषिले तपस्या गर्नुभएको तपोभूमि हो । देवभूमि रहेको वैवर्त पुराणमा उल्लेख गरिएको छ । राजा दशरथका सन्तान थिएनन् । ज्योतिषहरुले राजा दशरथलाई पुत्रेष्टि यज्ञ गर्ने सल्लाह दिए र यसका लागि शृङ्ग ऋषिलाई पुरोहित बनाई यज्ञ गरियो । यो यज्ञ सिद्धिएको अन्तिम दिन पायस पैदा भयो । ऋषिले तीन भागमा बाँडेर दिनुभयो । त्यसपछि राजा दशरथलाई चारवटा पुत्र प्राप्त भए । अर्थात् यस धाममा गरिएको भाकल पूर्ण हुन्छ भन्ने आधार तयार भयो ।
शशिधर स्वामी (अर्घाखाँची, वामरुकका मरासिनी) ले रेसुंगामा आई तपस्या गर्नुभयो । १८ औं शताब्दीका शशिधरले बाणोपनिषद् लेख्नुभयो । (यो पुस्तक किरण पुस्तकालय तम्घासबाट २०३३ सालमा छापिएको हो ।) त्यसबेलामै जोसमनि सम्प्रदाय निर्माण गरी जातभात केही होइन भनेर जातिभेद विरोधी व्याख्या गर्नुभयो । शशिधरका छोरा लक्ष्मीनारायण बाल ब्रह्मचारी पनि रेसुंगामा आई तसस्या गर्नुभयो । शशिधरले गाई, गंगा, गणेश, गीता, गायत्रीको संरक्षण गर्नुपर्छ मूर्ति पुजा गरेर मात्र भगवान् पाइदैन भन्नुभयो । शशिधरले भारतका विभिन्न ठाउँमा पीठहरु निर्माण गर्नुभएको थियो । गढवालका नवौं पुस्ताका पीठाधीश विभिन्न रोगले थलिएका बेला सपनामा शशिधर स्वामी देखेपछि खोज्दै आएर रेसुंगाधाममा एक रात बसेपछि उहाँलाई सबै रोगबाट मुक्ति मिल्यो भन्ने उहाँले जानकारी गराउनु भएको रहेछ ।
रेसुंगाको विस्तारित महत्त्व
रेसुंगा पौराणिक, धार्मिक हिसाबले मात्र महत्त्वपूर्ण होइन । रेसुंगा वनमा गौशाला निर्माण गरिएको छ । त्यहाँ लगभग २०० गाई गोरुको संरक्षण भैरहेको छ । रेसुंगामा २०८० सालमा बनारस, अयोध्या, वृन्दावन, राजस्थानलगायतका विभिन्न भागका सन्तहरु ल्याई सप्ताह सम्पन्न गरिएको छ । यसबाट रेसुंगाको सम्बन्ध अयोध्यामात्र नभै अन्य विभिन्न धामहरुसँग पनि रहेको आभास हुन्छ । वास्तवमा रेसुंगा देवभूमिमात्र होइन सिद्धभूमि हो, तपोभूमि र पुण्यभूमि हो । यसका अतिरिक्त रेसुंगामा पाइने हरेक वनस्पति जडीबुटी हो । यो क्षेत्र धेरै प्रजातिका चरा र वन्य जनावरको वासस्थान पनि हो । अर्थात् यो क्षेत्रलाई धार्मिक पर्यटनका साथै जैविक पर्यावरणीय सम्पदाका रुपमा विकास गरी ती क्षेत्रका अध्ययन अनुसन्धाताका लागि पनि आकर्षण गर्न सकिन्छ । धेरै महत्त्व रहेको रेसुंगाक्षेत्रको अझ व्यापक प्रचारप्रसार गरी धेरै भन्दा धेरै मानव कल्याणका लागि उपयोगी स्थलका रुपमा चिनाउन सबैको सहयोगको आवश्यकता छ । तर व्यावसायिक वा मनोरञ्जनात्मक क्रियाकलापहरुको कुदृष्टिबाट बचाएर पवित्र तीर्थस्थल र जैविक सम्पदाको रुपमा संरक्षण र विस्तार गर्न सम्बन्धित पक्षले चनाखो भैरहनु पर्ने आवश्यकता पनि छ ।
अन्तमा
गुणस्तर शिक्षाको मुख्य अभिलाषा बोकेर गरिएको यस पालाको तम्घासको बसाइमा विज्ञता—चक्रको सिक्रीबाट फुत्त निस्केर रेसुंगा धामको दुई घण्टे विचरणका क्रममा यस भूमिको विहंगम दृष्टिगोचर गर्ने प्रयास भयो । जे जस्तो मिथक एवम् तथ्यहरु ग्रहण गर्न सकियो त्यसले जीवनको दौडाइमा केही समय निकालेर सोंच्न बाध्य पारेको छ । मनमा सोंचाइ परेपछि समाधानको खोजी गर्नुपर्छ । प्रश्नहरु तेर्सिएका छन् । पौराणिक मिथकहरुको पुष्ट्याइँ कसरी गर्ने ? रामकुवाको पानी र शशि घिमिरेको जीवनलाई प्रमाण मान्ने कि ? मैले सुनें कुनै समय राजनीतिमा चुर्लुम्म डुबेका सांसदको उम्मेदवार व्यक्ति पौराणिक मिथकहरुको प्रवक्ता भएर हामीलाई सुनाउनुभयो । यो उहाँको विज्ञताको कदर गर्दै मेरो मनमा पुनः प्रश्न तेर्सिन्छ कि रेसुंगा यात्रा हाम्रा लागि मनोरञ्जनपूर्ण रह्यो कि अर्थपूर्ण ? ती मिथक र संरचनाहरु उट्पट्याङ्ग हुन् कि उत्प्रेरक ? खासमा यस पटकको रेसुंगा यात्रा विज्ञता—चक्रकै एउटा योजक हो भन्ने मैले मानेँ ।