नेपाली आख्यान जगत्मा लेखकले आ नो परिचय गोप्य राखेर ‘यश’ नामको छद्मभेषी चौतारीबाट प्रस्तुत गरेको उपन्यास ‘नीलो गुलाफ’ले सुरुवातमै पाठकको कौतूहललाई निकै माथि पुर्याउँछ । प्रकृतिमा रातो गुलाफले प्रेम र अनुरागको रातो रङ्ग बोक्छ भने सेतो गुलाफले पवित्र मित्रता र समर्पणको सौम्य भाव व्यक्त गर्छ; तर ‘नीलो गुलाफ ?’ जुन गुलाफ यो दृश्य जगत्मा अस्तित्वहीन छ, अप्राप्य छ र केवल कल्पनाको क्षितिजमा मात्रै फुल्न सक्छ, त्यसैलाई शीर्षकको प्रतीक बनाएर रचिएको यो उपन्यास के केवल एउटा असफल प्रेमको चीत्कार मात्र हो, वा अप्राप्य तृष्णाको दार्शनिक दस्तावेज हो ?
उपन्यासको कथा–शिल्पको थालनी नायक नीरको हृदयमा उब्जिएको पहिलो झन्झनाहट र स्मृति–बिम्बहरुबाट हुन्छ । सुरुमा नीरलाई अत्यन्त अन्तर्मुखी, सङ्कोची र आ नै परिधिभित्र गुजुल्टिएको पात्रका रुपमा चिनाइए पनि उसको जीवन–यात्राका उकाली–ओरालीहरुमा उघारिने परिदृश्यहरुले उसको त्यो तथाकथित ‘अन्तर्मुखता’माथि अनेकौँ प्रश्नचिन्ह खडा गरिदिन्छन् । एसइइ (क्भ्भ्) को ट्युसन पढ्दाको त्यो गहुँगोरो अनुहारसँग जुधेको आँखा, +२ मा पढ्दा छिमेकी कोठाका दिदीबहिनीको जोडीसँगको आकस्मिक साक्षात्कार, र स्नातक प्रथम वर्षमा विनयसँग कोठा साझेदार गर्दा विनयकी बहिनी गुलाबसँग सुरु भएको पुस्तक साटासाटको अन्तहीन सिलसिला । यी सबै घटनाक्रमहरुले नीरको जीवनमा प्रेम र आकर्षणको तरङ्ग फैलाउँदै लैजान्छन् ।
फिल्म हेर्न जाने बहानामा विनय, दीप्ति, नीर र गुलाबबीच रचिएको त्यो पूर्वयोजनाबद्ध सरप्राइज, रानीमहलको ऐतिहासिक साक्ष्य साक्षी राखेर विनय र दीप्तिको प्रेम मौलाउँदा, त्यसैको पदचाप पछ्याउँदै नीर र गुलाब पनि एउटा प्रेमिल सम्बन्धको सूत्रमा बाँधिनु उपन्यासको एउटा सुन्दर मोड हो । विनय र दीप्तिको विवाह तय भएपछि नीर आ नी प्रेमिका गुलाबलाई भेट्ने ठूलो उत्साह र आतुरता बोकेर विनयको घर पुग्छ; तर त्यहाँ पुग्दा गुलाब बिरामी परेर जन्ती आउन नसकेको खबरले उसलाई स्तब्ध बनाउँछ । त्यही अनौठो र नौलो वातावरणमा एक्लोपन महसुस गरिरहँदा नीरको भेट विनयका मामा अर्थात् गुलाबका बुबासँग हुन्छ र उनीहरुबीच भलाकुसारीमा समय बित्छ । भोलिपल्ट बेहुलीको घरतर्फ जन्तीको गाडी गुड्दा नीरले हिम्मत जुटाएर गुलाबलाई फोन त गर्छ, तर उताबाट अत्यन्त क्षीण र कमजोर स्वरमा आउन नसक्ने जवाफ आउँदा नीर निराशाको भुमरीमा डुब्छ । कस्तो आश्चर्य र नाटकीय मोड, बेहुलीको घर पुग्दा भने नीरले बेहुलीभन्दा पनि रुपवती भएर आउँदै गरेकी तिनै गुलाबलाई अचानक अगाडि देख्छ ! यसरी विनय र दीप्तिको विवाह सम्पन्न भएपछि कथा पुनः कलेज र कोठा सर्ने दैनिकीको नयाँ लयमा फर्किन्छ ।
उपन्यासकारले कथालाई गति दिने क्रममा ‘ब्याचलर्स’ शीर्षकको कविताबाट नीरले प्रथम स्थान हासिल गर्नु, नाङ्लो रेस्टुरेन्टको केक र मःमको पार्टी, रिया नामकी पात्रको कामुक उपस्थिति र नीरले देखेको सम्भोगात्मक सपना रिया आफैँले पनि देखेको भनी सुनाउनु जस्ता दृश्यहरुमार्फत युवावयको चञ्चलता र शारीरिक आकर्षणलाई सजीव रुपमा उतारेका छन् । भैरव मन्दिरको दर्शन र प्रसादको प्रसङ्ग, एकान्त जङ्गलको चुम्बन, अनि गुलाबको कोठामा रचिएको त्यो नग्न सामीप्य, घरबेटी बजैको ढोकाको किचकिच र खाटमुनि लुक्नुपर्ने विवशता, इन्द्रेणी रिसोर्टको ‘ह्वाइट रुम’मा बिनाकुनै व्यभिचार तन्ना नबिगारी फर्कँदा वेटरले देखाएको अचम्म, अनि पुनः ‘निलो कटेज’को कोठामा बियरको सुवाससँगै साटिएको चरमोत्कर्षको उद्वेग । यी सबै दृश्यहरुले उपन्यासमा आधुनिक प्रेमको शारीरिक र भावनात्मक दोभानलाई उजागर गर्छन् ।
तर, यति धेरै सघन र अति–निकट सम्बन्धका बाबजुद उपन्यासको अन्त्यतिर आइपुग्दा कथाले जुन दुःखान्त मोड लिन्छ, त्यसले पाठकको हृदयलाई नराम्ररी झस्क्याउँछ । अमेरिकाको पी. आर (एच्) भएको केटासँग दाइले बिहे तय गरिदिएपछि बिनाकुनै पूर्वसूचना कोठामा ताल्चा मारेर हराएकी गुलाब, अनि पछि विनयमार्फत आइपुगेको उसको क्षमायाचनायुक्त पत्र—यसले नीरलाई १० दिनसम्म अस्पतालको बिरामी शय्यामा पुर्याइदिन्छ । प्रेममा जित र हार स्वाभाविक भए पनि, जसरी नीलो गुलाफ यो संसारमा प्राकृतिक रुपमा पाइँदैन, त्यसैगरी नीरका लागि गुलाबसँगको वैवाहिक परिणति र समर्पण पनि कहिल्यै हासिल हुन नसक्ने एउटा ‘नीलो गुलाफ’ नै बन्न पुग्छ । यस अर्थमा उपन्यासको शीर्षक चयन र त्यसको साङ्केतिक सार्थकता अत्यन्तै सटीक, कलात्मक र गहिरो प्रतीत हुन्छ ।
तथापि, एउटा गम्भीर समालोचकीय नजरले हेर्दा उपन्यासमा केही प्राविधिक र संरचनात्मक त्रुटिहरु स्पष्ट रुपमा खट्किन्छन् । पहिलो त, लेखकले नीरलाई ‘अन्तर्मुखी’ पात्र भनेर घोषणा गरे पनि कथाभरि उसले प्रदर्शन गरेको कामुक सक्रियता, साथीहरुसँगको उठबस र सुन्दरीहरुसँगको सहज सामीप्यले उसको अन्तर्मुखी चरित्रलाई विरोधाभासपूर्ण बनाइदिएको छ । दोस्रो र सबैभन्दा महत्त्वपूर्ण कमजोरी भनेको ‘समय–खण्ड’ (त्ष्ुभष्लिभ) को असन्तुलन हो । एसइइ (क्भ्भ्) को समयमा चिठीपत्र आदानप्रदान गर्ने युग देखाइएको कथामा स्नातक (द्यबअजभयिच) सम्म पुग्दा मोबाइल बैंकिङ, फेसबुक, म्यासेन्जर र हालसालैका आधुनिक गीतहरुको उपस्थिति देखाइनुले कालखण्डको व्यवस्थापनमा गम्भीर विचलन ल्याएको छ । पुराना र नयाँ प्रविधिको यो अमिल्दो मिश्रणले आख्यानको ऐतिहासिक धरातललाई कतै न कतै कमजोर बनाएको महसुस हुन्छ ।
यी केही प्राविधिक सीमा र समय–संयोजनका त्रुटिहरुका बाबजुद, ‘यश’को ‘नीलो गुलाफ’ले आधुनिक युवापुस्ताको प्रेम, शारीरिक आकर्षण, समर्पण, र सामाजिक–आर्थिक बाध्यताका अगाडि मरणासन्न हुने प्रेमको कारुणिक कथालाई अत्यन्तै बग्दो र मीठो शैलीमा प्रस्तुत गरेको छ । नीरले अन्त्यमा नबोल्ने प्रण गर्दै लेखेको त्यो अन्तिम कविता र उसको बिदाइसँगै सकिने यो आख्यानले पाठकको मनमा एउटा मीठो टिस र अप्राप्य सपनाको नीलो बास्ना भने गहिरोसँग छाडेर जान्छ ।