मुख्य सामग्रीमा जानुहोस्

हाम्रो पुरुषार्थ अंक १११ · लेख/आलेख/निबन्ध/समीक्षा/टिप्पणी/संस्मरण/व्यक्तिवृत्त · पृ. ५०

'कालध्वनि' मुक्तकसङ्ग्रहको समीक्षा

चरित्रा शाह

नेपाली मुक्तक, गजल तथा नियात्रा लेखनको क्षेत्रमा खगेन्द्र गिरि “कोपिला” को नाम अग्रपंक्तिमा आउँछ । यो नाम नेपाली साहित्यकोे क्षेत्रमा कुनै नयाँ नाम होइन । आजको समयसम्म आइपुग्दा उहाँका उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरु (संयुक्त गजल–सङग्रह), व्यग्र चाँदनी, राग वसुन्धरा र अश्रुअर्घ (गजल–सङ्ग्रह), डुबे पनि डुब्दैन घाम, आ नै छाल आ नै किनारा, अस्वीकृत रहर र कालध्वनि (मुक्तक–सङ्ग्रह), लहरलहर गन्दै, अतीत आमन्त्रण, ऋतुदर्शन र महामुनिका पदचापजस्ता चारवटा नियात्रासङ्ग्रह र गजल सञ्चेतना सन्निधि र मधु प्रदक्षिणा दुईवटा समालोचना गरी जम्माजम्मी चौधवटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् । कालध्वनि २०८० साल चैतमा प्रकाशित मुक्तक विधाको कृति हो । यस कृतिमा जम्मा २९९ वटा मुक्तकहरु रहेका छन् भने ८० पृष्ठको बाह्य संरचना रहेको छ ।

यस समीक्षामा मुक्तककार खगेन्द्र गिरि “कोपिला”को मुक्तक–सङ्ग्रह कालध्वनिलाई विश्लेष्य विषयको आधार मानेर शक्ति, सामर्थ्य र सीमाहरुलाई प्रस्तुत गरिएको छ ।

मुक्तक कविता विधाको लघुतम रुप हो । भाव वा विचार, भाषाशैली, लय र संरचना मुक्तकका प्रमुख उपकरणहरु हुन् । यिनै उपकरणहरुको आधारमा कालध्वनिमा सङ्गृहीत मुक्तकहरुको विश्लेषण गरिएको छ ।

प्रस्तुत मुक्तकसङ्ग्रहमा सङ्गृहीत विषयगत विविधता पाइन्छ । नीति छन्, अनुभूति छन् र जीवन जगत्प्रतिका आ नै दृष्टि छन् । परम्परागत विषयलाई नवीन शैलीमा व्यक्त गर्ने आ नै विधि र प्रविधि छ । यो जीवन जगत्, आपसी सम्बन्ध, माया–प्रेम, मन, मटु र भावनालाई हेर्ने मुक्तककारको आ नै दृष्टिकोण रहेको छ र सोही अनुरुपका जीवनसम्बन्धी धारणा व्यक्त गरेको पाइन्छ । त्याग र समर्पणको उत्कर्ष नै प्रेम हो भन्ने कविको ठहर छ जसलाई तलका मुक्तकीय हरफबाट पुष्टि गर्न सकिन्छ ः

के के लिएँ मैले के के दिएँ हिसाबै गरिन्न कस्तो भएँ पहिले कस्तो थिएँ हिसाबै गरिन्न प्रेम र आत्मीयताले हृदय नै भिजिसकेपछि ऊ निहुरियो कि म निहुँरिएँ हिसाबै गरिन्न । (मु.नं.७१ पृ.२४) मुक्तककारभित्रको देशप्रेम, पारिवारिक आत्मीयता, मातृभूमि प्रेम, सांसारिकताप्रति वितृष्णा र आत्मिक आनन्दप्रति आस्थाको भाव पनि मुक्तकमा पोखिएको छ ः

वर्ग र दलभन्दा ठूलो देश हो यो कण्ठ गर्नुहोस् चर्का नारा लाउने स्वर कृपया मन्द गर्नुहोस् आ नै आङ कन्याइ ,छारो उडाइ जग हसाउने भयो हजुर भयो अब त यो खेल बन्द गर्नुहोस् (मु.नं.२९१ पृ.७९)

आफूलाई जित्नेले संसार जित्छ देवकोटा भन्छन् यहाँ अक्षरभन्दा आँसु नै बिक्छ देवकोटा भन्छन् सुन खोज्दै ल्हासातिर जाउँु या नुन खोज्दै काशी जाउँु मुनाको काखमा नै आनन्द मिल्छ देवकोटा भन्छन् (मु.नं. २८, पृ. १३) वर्तमान मानव स्वभावका सङ्कीर्णता, स्वार्थी प्रवृत्ति र मानवता हराएका चरित्रहरुप्रति व्यङ्ग्य भाव व्यक्त गर्दै समाजसुधारको आग्रह ः–पर्दाले छोपेको थियो अब त पूरै देखियो तिर्सना मेटिए पनि रहर अधुरै देखियो गर्न त गर्नुहुन्थ्यो समानताको उद्घोषणा आखिर हजुरको चित्त पनि त साँगुरै देखियो (मु.नं. १३० पृ.३९)

पलायन भएको छ मन मान्छेबाटै यो संसारमा आँसु दिएर हाँसो खोजिरहेछ उपहारमा आ नै सीमा, समस्या र आ नै समाधानको नाउँमा बन्दी भएका छन् मान्छे कुनै न कुनै कारागारमा (मु.नं.१३१ पृ.३९) भ्रष्टहरुले पद प्रतिष्ठा प्राप्त गर्ने, अपराधीहरु पुजिने, फूलमालाले स्वागत गर्ने, सम्मान गर्ने, जनताहरुले नाराबाजी र ढुङ्गामुढा गर्नबाहेक अरु केही नजान्ने भन्दै देशको राजनीतिक दुरवस्थाप्रति पीडाको प्रस्तुति यसरी भएको छ ः—

तरबार फनफनी घुमिरहेछ अचेल कलमको शिरमा भ्रष्टहरु कुर्सीमा पुगे अपराधीहरु मन्दिरमा नारा, ढुङ्गामुडा र गालीभन्दा अरु केही जानेनौँ सके यत्ति लेखिएको रहेछ कि नेपालको तक्दिरमा (मु.नं.२९० पृ.७९) जनप्रतिनिधिहरु सीमित स्वार्थमा बिकेकोमा गुनासो व्यक्त यसरी गरिएको पाइन्छ ः

हाम्रा बुद्धि, दिमाग र गिदीहरु बिके कौडीको मोलमा हाम्रा रीति, थिति र विधिहरु बिके कौडीको मोलमा नयाँ नेपाल बनाउने नारा केवल भित्तामै लेखियो चुनेका हाम्रा प्रतिनिधिहरु बिके कौडीको मोलमा । (मु.नं. २९२ पृ.७९) गर्छु भन्ने केही नगर्ने, दिन्छु भन्ने उल्टै खोसेर लिनेजस्ता अमानवीय प्रवृत्तिलाई यसरी प्रस्तुत गरिएको छ ः— गरिबको आहारा खोसेर लगे निर्धाको सहारा खोसेर लगे उज्यालो ल्याउँछु भन्नेले नै आकाशका जूनतारा खोसेर लगे । (मु.नं. ८४ पृ. २७) अधिकारमात्र खोज्ने कर्तव्य निभाउन नजान्ने मानवीय प्रवृत्तिमाथि यसरी व्यङ्ग्य गरिएको छ ः— खेत आँगन र बाटो सपनालाई हिँडाउने ठाउँ हुन् मन्दिर र विद्यालय मानवता सिकाउने ठाउँ हुन् कति अधिकार ! अधिकार ! ! मात्र भन्नु महोदय ! घर, परिवार अनि देश त कर्तव्य निभाउने ठाउँ हुन् । (मु.नं. ८१ पृ. २७) सम्बन्धमा निकटता ल्याउन व्यवहार र स्नेहमा नवीकरण गरिरहनुपर्छ भन्ने कविको ध्वन्यार्थ रहेको छ ः— खुशीभन्दा पीडाको रङ गाढा भएर मात्रै हु्ँदैन रहरहरुको ज्वारभाटा छाडा भएर मात्रै हुँदैन नवीकरण भइरहनु पर्छ व्यवहार स्नेहको सम्बन्धमा दूरी आउनु टाढा भएर मात्रै हुँदैन । (मु.नं.८० पृ.२६) राजनीतिक व्यवस्था, नेतृत्वको स्वभाव र कतिपय मान्छेका प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै देश विकासको लागि त्याग र समर्पण हुनुपर्छ भन्ने आग्रह पाइन्छ ः—

राजनीति भएको छ आजभोलि केवल छल भेटिएन आजसम्म कुनै समस्याको हल रुप फेरियो कि चित्र मात्रै फेरियो खै कुन्नि सामन्तको झु्प्रो देखेँ सर्वहाराको महल । (मु.न.२२५ पृ.६३)

रोटी माग्दा तपाईँ सिद्धान्तको मन्त्र भन्नुहुन्छ आ नै कुरा साँचो अरूको षड्यन्त्र भन्नुहुन्छ आवश्यकताले यहाँ राणा शासन नै मागिसक्यो तपाइँ भने अझै लोकतन्त्र लोकतन्त्र भन्नुहुन्छ । (मु.नं.२२७ पृ. ६३)

मुक्तककारले प्रेम, जीवन, जगत्, मानवीय स्वभाव र सम्बन्धजस्ता कालातीत र शाश्वत विषयमा कलम चलाइरहदा कतिपय कुराहरुको परम्परित विषयहरु दोहोरिएजस्तो लाग्छ । त्यो स्वाभाविक पनि हो । यही प्रसङ्गमा समालोचक महेश पौड्यालका शब्दहरुलाई सापटी लिदा यी मुक्तकहरुमा विषयको नवीनताभन्दा पनि दृष्टिकोणको नवीनता, उक्तिवैचित्र्य तथा उर्दूमा भनिने अन्दाजेबयाँलाई मूल्याङ्कनको आधार बनाउनुपर्ने देखिन्छ ।

परम्परित विषयवस्तु र सूक्तिहरुलाई नवीन शैलीको प्रयोग गरेर अभिव्यक्तिमा नवीनता ल्याउनु कविको उच्च काव्याभिव्यक्तिकौशल हो । जस्तैः—

कर्मण्येऽवाधिऽकारस्ते मा फलेषु कदाचनमा कर्म गर फलको आशा नगर भनिएको छ भने कर्म गरे पनि फलको भर नहुने अनिश्चितता बोधसँगै निष्काम कर्म योगलाई जीवनको उद्यम भनिएको छ ।

लोकोक्ति वा उखानको पनि सुन्दर र नवीन प्रयोग भएको छ । जस्तै ः दान दिने भिक्षा माग्ने पनि एउटा समय हुन्छ, आश हुने र रहर जाग्ने पनि एउटा समय हुन्छ निरर्थक नै हुन्छ लगन बितेपछिको चुरा पोते अन्न लाग्ने र फल फल्ने पनि एउटा समय हुन्छ । (मु.नं. ११६ पृ. ३५) माथि उद्धृत पङ्क्तिमा ज्ुनसुकै कार्य पनि समयमा गर्नुपर्छ र समय बितेपछि वा असमयमा गरिएको कुनै पनि कार्य निरर्थक हुन्छ भन्ने कुरालाई सूक्तिमय प्रस्तुति दिनका लागि लगनपछिको चुरापोते भन्ने उखानलाई प्रयोग गरिएको छ । मृत्युसम्बन्धी परम्परागत धारणाहरु पनि मुक्तकमा अभिव्यञ्जित छन् । मृत्यु अवश्यम्भावी भएर पनि अनिश्चित भएकोमा मुक्तककार सोचमग्न बनेको देखिन्छ ः

घडीले कहाँ घण्टी बजाउने हो थाहै छैन कुन दिन मुटुले ढोका लगाउने हो थाहै छैन यी रहर र यी तृष्णालाई अलपत्र पारेर कुन रात अन्तिम रात भएर आउने हो थाहै छैन । (मु.नं.८४ पृ.२७)

हजारौँ तारालाई एउटै सूर्यले लुकाइदिन्छ सयौँ योगदानलाई एउटै त्रुटिले बिर्साइदिन्छ समयको नित्य क्रिडा यति शक्तिशाली भइदिन्छ कि मै हुँ भन्ने बलवान्लाई परनिर्भर बनाइदिन्छ । (मु.न.२६८ पृ.७३) ‘औँला दिँदा हत्केला झिकेर लैजान खोज्छन्’ यस पङ्क्तिमा औँला दिए कुहिनो निल्ने भन्ने उखानको प्रस्तुति छ । वर्डस्वर्थले लिरिकल ब्यालेड्सको भूमिकामा सरल भाषामा गम्भीर भावहरुको प्रस्तुति साहित्यमा हुनुपर्छ भन्ने धारणा राखेका छन् । यसरी हेर्दा मुक्तकले पनि सरल भाषाको अपेक्षा गर्छ । समासयुक्त शब्दहरुमा पर्याप्त माधुर्य हुँदैन भन्ने पूर्वीय साहित्यशास्त्रीहरुको पनि मत रहेको छ । यसबाट समासरहित सरल शब्दहरुको अपेक्षा मुक्तकले गर्दछ । यो मान्यतालाई मुक्तककारले पनि अधिकांशतः स्वीकार गरेको पाइन्छ ।

शब्दस्रोतका दृष्टिबाट प्रस्तुत मुक्तकसङ्ग्रहमा सङ्गृहीत मु्क्तकहरुको अध्ययन गर्दा धेरै मात्रामा तत्सम शब्दहरुको प्रयोग गरिएको पाइन्छ । जसले मुक्तकमा काव्यात्मक मिठास थपेको छ । अन्य भाषाबाट आयातित शब्दहरु पनि थोरै मात्रामा प्रयोग भएका छन् ।

यस मुक्तकसङ्ग्रहमा सङ्गृहीत मुक्तकहरु कुनै १२ अक्षरका, कुनै १५ र कुनै १८ अक्षरसम्मका संरचनामा मुक्त लयमा लेखिएका छन् । बहर वा छन्दमुक्त स्वतन्त्र लयलाई समातेर अक्षर सङ्ख्यागत एकरुपतालाई अङ्गाली ए–ए–बि–ए को संरचनामा सबै मुक्तक आबद्ध छन् । संरचनात्मक हिसाबले हेर्दाखेरि प्रत्येक मुक्तकका पहिलो दोस्रो र चौथो पङ्क्तिमा काफियाको प्रयोग गर्नुपर्ने र तेस्रो पङ्क्ति स्वतन्त्र रहने मुक्तकको संरचनाको नियमलाई पूर्णतः पालना गरिएको छ । प्रायः जसो मुक्तकहरुका पहिलो, दोस्रो र चौथो पङ्क्तिमा रदिफको पनि प्रयोग गरिएको छ । आलङ्कारिक र वक्रोक्तिमय शैलीलाई अधिकांश मुक्तकहरुले अँगालेका छन् ।

रस परिपाकको दृष्टिले हेर्दाखेरि आचार्य भरतमुनिको नाट्यसूत्रका प्रत्येक चारओटा चरणहरुलाई पछ्याएर विश्लेषण गर्दा केही मुक्तकहरुमा शान्त रस परिपाकको स्थिति देखिन्छ ।

हाम्रै साथी बनिदिन्छ कहिलेकाहीँ मौनता पनि स्वर बनेर गुन्जिदिन्छ हृदयभित्र शून्यता पनि नियतिलाई मनसँग एकाकार गर्न सकियो पनि उस्तै उस्तै देखिन थाल्छ सुख र द्ुःखको भिन्नता पनि । (मु.नं.२७२ पृ ७४)

प्रस्तुत मुक्तकमा यस संसारलाई हेरेर मान्छेमा समभाव वा शान्तभावको अनुभूति भएको छ । यो संसार आलम्बन विभावको रुपमा आएको छ भने दुःख र सुखलाई सम देख्न उक्साउने उद्दीपन विभावको रुपमा मौनता र शून्यता आएका छन् ः—

सुन्दरता पनि एक दिन मैलिएर जान्छ गाढा रङ पनि आखिर खुइलिएर जान्छ अजम्बरी केही छैन पृथ्वीको विधानमा फूलको सौरभ पनि ओइलिएर जान्छ । (मु.नं.२२५ पृ. ७३) प्रस्तुत पङ्क्तिमा सांसारिक क्षणिकताको भाव व्यक्त गर्दैगर्दा पाठकमा भौतिक जगत्प्रति वितृष्णा पैदा भएर वैराग्य भाव उत्पन्न भएको हुँदा शान्त रसको परिपाक भएको छ ः—

भेटेर प्यास झन गाढा भएछ भैगो नभेट्ने समय कति छिट्टै गएछ भैगो नभेट्ने मिलन सधै उसैगरी मिलन नै भइरहे पो छुट्टिनु परिहाल्दो रहेछ भैगो नभेट्ने । (मु.नं.१६७ पृ ४८)

म शान्त आकाशको तारा झैँ मलीन भएर रहने छु प्रकृति झैँ ऋतुको अधीन भएर रहने छु । समयले मलाई जेजे गणित सिकाए पनि म शून्य हुँ शून्यमै बिलीन भएर रहने छु । (मु.नं.१६८ पृ ४८) उत्प्रेक्षा, रुपक, उपमा, दृष्टान्तजस्ता अर्थालङ्कार, वृत्यानुप्रास, छेकानुप्रास, अन्त्यानुप्रास जस्ता शब्दालङ्कार स्वाभाविक रुपमा प्रयोग भएका छन् । जस्तै ः

हृदय अधिग्रहण नगरेको पनि धेरै दिन भइसक्यो सपना अपहरण नगरेको पनि धेरै दिन भइसक्यो बाडुली आजभोलि नआउँदै कतै हराएर हो कि सम्झना नवीकरण नगरेको पनि धेरै दिन भइसक्यो । (मु.नं.२७४ पृ. ७५) प्रस्तुतमा अप्रस्तुतको कल्पना गरिएमा उत्प्रेक्षा अलङ्कार हुन्छ । यस मुक्तकमा प्रस्तुत विषय हृदय अधिग्रहण नहुनु, सपनामा नआउनु, बाडुल्की नलाग्नु र सम्झना नवीकरण नगर्नुको कारण अप्रस्तुत विषय हराउनु अर्थात् अन्यत्र कतै लागेर हो कि भन्ने कल्पना गरिएको छ । ‘लाग्ने गर्छ यहाँ नारी सिकार हुन् पुरूष सिकारी हुन्’ यस मुक्तकमा उपमेय नारीलाई उपमान सिकारसँग र उपमेय पुरूषलाई उपमान सिकारीसँग रुपारोपित गरी अभेद सम्बन्ध देखाइएकाले यहाँ रुपक अलङ्कारको प्रयोग भएको प्रस्ट हुन्छ ।

सुन्दरता पनि एक दिन मैलिएर जान्छ गाढा रङ पनि आखिर खुइलिएर जान्छ अजम्बरी केही छैन पृथ्वीको विधानमा फूलको सौरभ पनि ओइलिएर जान्छ । (मु.नं.२२५ पृ. ७३) दुई भनाइका बीचमा बिम्बप्रतिबिम्बात्मक सम्बन्ध देखिएमा दृष्टान्त अलङ्कार हुन्छ । यहाँ बिम्बका रुपमा रहेको फूल ओइलिनु र सौन्दर्य मैलिनु तथा रङ खुइलिनु प्रतिबिम्बका रुपमा देखा परेकाले यस मुक्तकमा दृष्टान्त अलङ्कारको प्रयोग भएको प्रस्ट हुन्छ ।

सूर्यास्तमा रश्मीहरु मलिन हुन्छन् जसरी अक्षरहरु अनुभूतिमा लीन हुन्छन् जसरी मन लाग्छ यदाकदा यसै गरी हराउन माटोभित्र बीजकणहरु बिलीन हुन्छन् जसरी । (मु.नं.२६६ पृ. ७३) एउटा उपमेयका साथमा अनेक उपमानहरुको प्रयोग भएमा उल्लेख अलङ्कार हुन्छ । यस मुक्तकमा मान्छे हराउन मन लाग्नु उपमेयका साथमा सूर्यास्तमा रश्मि हराउनु, अनुभूतिमा अक्षर हराउनु र माटोमा बीजकण हराउनु भन्ने अनेक उपमानहरु देखा परेकाले यहाँ उल्लेख अलङ्कारको प्रयोग भएको स्पष्ट हुन्छ ।

‘मन बनेर मनसँगै गए मनको साम्राज्यमा’ यस मुक्तकलाई हेर्दा व्यञ्जन वर्णहरु एकपटक वा अनेकपटक समान वा असमान क्रममा दोहोरिएमा वृत्तयनुप्रास अलङ्कार हुन्छ । यस मुक्तकमा म्, न् व्यञ्जन वर्ण अनेकपटक र स्, ग् व्यञ्जन वर्ण एकपटक समान क्रममा दोहोरिएकाले यहाँ वृत्तयनुप्रास अलङ्कारको प्रयोग भएको पाइन्छ ।

बिम्ब र प्रतीकको प्रयोगमा पनि मुक्तककारको सफलता पाइन्छ । ज्वारभाटा भन्ने बिम्बले महासागरको नियमित प्रक्रियाको सिङ्गो विषयवस्तुलाई समेटेको पाइन्छ । जड्यौरी भन्ने बिम्बले आर्थिक अभावमा पिल्सिएका मानिसको जीवनको प्रतिनिधित्व गरेको देखिन्छ । इन्द्रेणी भन्ने बिम्बले बहुरङ्गी संसारको विषयवस्तु प्रस्तुत गरेको भेटिन्छ । बाडुल्की भन्ने बिम्बले परम्परागत मान्यताअनुसार धेरै टाढा भएका आफन्तले सम्झदा व्यक्तिमा देखापर्ने एकप्रकारको मुखबाट निस्किने ध्वनि भन्ने व्यापक विषयवस्तुलाई समेटेको पाइन्छ । चिसो चुलो बिम्बमा अभाव र गरिबीको जीवनचर्या समेटिएको कारूणिक विषयवस्तुको प्रस्तुति देखिन्छ । चन्द्रमा भन्ने बिम्बले प्रायः असम्भव लाग्ने तर मनलाई अत्यन्त आकर्षण गर्ने वस्तुको प्रतिनिधित्व गरेको पाइन्छ । पुष्प थुङ्गा भन्ने पदावली कोमल मनको प्रतीक र हृदय ढुङ्गा भन्ने पदावली कठोर आत्माको प्रतीक बनेर आएका छन् । यस्ता खालका बिम्ब र प्रतीकको प्रयोगले मुक्तकलाई भावात्मक एवम् आकर्षक बनाएको पाइन्छ । यसले मुक्तकमा भाषिक मिठास ल्याउनुका साथै मुक्तकलाई ध्वन्यात्मक र वक्रोक्तिमय बनाउन सफल भएका देखिन्छन् ।

राम, कृष्ण, रावण, कुम्भकर्ण, महिषासुर र कंशजस्ता पौराणिक विम्ब र सिद्धार्थजस्ता ऐतिहासिक विम्बहरु पनि मुक्तकमा प्रयोग भएका छन् ।

वैराग्यको गुण सिद्धार्थसित गएर सोध्नू कर्म बन्धनको भोग पार्थसित गएर सोध्नू मनको लयलाई प्रश्नले अलमल्यायो भने जीवनको उत्तर यथार्थसित गएर सोध्नू (मु.नं. २६३ पृ. ६५)

राजनैतिक व्यवस्था, नेतृत्वको स्वभाव र कतिपय मान्छेका व्यवहारप्रति असन्तुष्टि व्यक्त भएका छन् र देश विकासका लागि त्याग र समर्पणको भाव सबैमा आउनु पर्छ भन्ने आग्रह पाइन्छ । यस कृतिमा ईश्वरप्रति आस्था भाव व्यक्त भएका धेरै मुक्तकहरु छन् । शून्यतामा संसार र कवि रहेको भाव छ । शक्ति र सामर्थ्य सबै आ नै मनमा रहेको, आ नै मन, जीवन र मस्तिष्कले जीवनको सबथोक भएको कविको तर्क छ ।

समग्रमा हेर्दा मुक्तकका प्रत्येक पङ्क्तिहरुले पाठकलाई स्वतन्त्र चिन्तन गर्ने र आ नो तरिकाले अर्थ लगाउने अवसर दिन्छन् । कविले जीवन, जगत्, मन, सम्बन्ध सबैलाई केही दुःखद सङ्घर्षपूर्ण र कहरपूर्ण भएको व्याख्या गरेको पाइन्छ । ज्वारभाटामा आजको मानिस बाँचेको अनुभूति मुक्तकमा यत्रतत्र छन् र पनि ज्वारभाटाबाटै जसोतसो गरी फिनिक्स बनेर बाँच्नुपर्छ, सम्बन्ध अगाडि बढाउनुपर्छ, मनको आकाशमा विचरण गर्न स्वस्थ उडान भर्नुपर्छ भन्ने सन्देश दिन्छन् । मुक्तकका प्रत्येक पङ्क्तिले जीवनको सङ्घर्षशीलता, आशा, विश्वास, सद्भाव वृद्धि गर्न प्रेरणा दिन्छन् । सांसारिक विसङ्गतिबाट मुक्ति प्राप्ति गर्न ज्ञान, कर्म, भक्ति र युगमार्गलाई अङ्गाल्दै आ नै मनतिर फर्किनुपर्छ भन्ने पूर्वीय षड्दर्शनको प्रस्तुति छ । मुक्तक पढ्दै गर्दा पाठकहरुलाई अध्यात्मको बाटो उज्यालै उज्यालो छ भन्ने देखाएको आभास हुन्छ । आशावादी हुनु, ईश्वरको अनुकम्पामा आस्था राख्नु कविको आध्यात्मिक व्यक्तित्वको परिचय पनि हो । सोही अनुसार आशावादी, आस्तिक र नैतिकवान् मानवहरुलाई सन्देश दिएको पाइन्छ ।

प्रेमको विषयमा लेखिरहँदा प्रेम के हो भन्ने सुझाइएको छ र प्रेम गर्ने नै हो भने त्याग समर्पण हुनुपर्छ भन्ने सन्देश मुक्तककारको रहेको छ ।

वैचारिक दृष्टिकोणबाट कृतिको मूल्याङ्कन गर्दा पूर्वीय षड्दर्शन र बौद्ध दर्शन आएका छन् भने पाश्चात्य दर्शनहरुमा अस्तित्ववादी र विसङ्गतिवादी चिन्तन यत्रतत्र छन् । अस्तित्ववादी दृष्टिकोण ः— सपनाको भरिया बनेर पनि थाक्दैन यो मन रहरहरु अधुरै रहेर पनि थाक्दैन यो मन जीवन प्रबन्धहरुको चक्रले थकित बन्छ मान्छे तर दुःख र पीडा अनेकौँ सहेर पनि थाक्दैन यो मन । (मु.नं.२४६ पृ. ६८) बोकेर आआ ना कथाहरु जीवन त बिताउनै पर्छ पोखेर पीडा पीर व्यथाहरु जीवन त बिताउनै पर्छ हामी बुद्धको बाटो हिडौँ अथवा कुबेर नै बनौँ भोगेर सांसारिक प्रथाहरु जीवन त बिताउनै पर्छ । (मु.नं.१५९ पृ. ४६) विसङ्गतिवादी दृष्टिकोण ः— भरोसाको आशमा त्रसित हुन पुगेछु मबाट केवल दोषी र आरोपित हुन पुगेछु मबाट म म नै हुन खोज्दा खोज्दै थाहा छैन खै कुन्नि (मु.नं. १६२ पृ. ४७) मौनतालाई जोड दिने बौद्ध दर्शन पनि मुक्तकहरुमा आएको छ । मनोभावनाको प्रस्तुति हुन्छ नबोलेर पनि पूजा,आराधना र स्तुति हुन्छ नबोलेर पनि स्वरभन्दा धेरै बलियो हुँदो रहेछ मौनता अनेक कुराको अनुभूति हुन्छ नबोलेर पनि । (मु.नं. १८४ पृ. ५२) श्रीकृष्णको प्रेम दर्शन पक्षपाती भएर पनि थुप्रै म्ुक्तकहरु लेखिएका छन् ः— कसैप्रति मोह जाग्नु कुनै अपराध त हैन जतनले मुटुमा राख्नु कुनै अपराध त हैन जुन सत्यको कथा लेख्नु भो भगवान् श्रीकृष्णले त्यै कथा सम्झिदै बाँच्नु कुनै अपराध त हैन । (मु.नं.५६ पृ. २०)

बन्न खोज्ने त्रिशूल र डमरू कोही देखिएनन् यहाँ के के गर्छु भन्नेहरु कोही देखिएनन् प्रेमको पक्षमा सदैव अटल भएर उभिने भगवान् श्रीकृष्णभन्दा अरु कोही देखिएनन् । (मु.नं. १५४ पृ. ४५) प्रश्नहरु (असहमति)/सीमा ः—

बोल्ने प्रतिस्पर्धा छ सु्रन्ने धीरता छैन कसैमा छिन्ने हतार छ केही दिने क्षमता छैन कसैमा रहर बोकेर दौडिन बाध्य छन अचेल मान्छेहरु अस्थिर मन नियन्त्रण गर्ने दक्षता छैन कसैमा । (मु.नं.पृ. ४७) माथि प्रस्तुत मुक्तकका पङ्क्तिहरुमा मानवको अस्थिर स्वभावलाई सामान्यीकरण गरिएको छ । यस कुरालाई सामान्यीकरण गर्न अलि मिल्दैन कि ? बरु ‘छैन कतिमा’ भनेको भए कोहीकोही वर्तमान मानिसको स्वभाव यस्तो छ भन्ने बुझिन्थ्यो । अस्थिर र अधैर्य मानवका वैयक्तिक गुण हुन् । ती वैयक्तिक गुणहरुमा विविधता पाइन्छ । त्यसकारण यसलाई समग्रतामा भन्नु त्यति उपयुक्त देखिँदैन । अथवा छैन धेरैमा भनेको भए पनि प्रायः आजका मानिसको स्वभाव झल्किन्थ्यो भन्ने मेरो तर्क रहेको छ ।

म त आजसम्म बाध्यताको भारी बोकेर हिडिरहेँ सद्भावना र आत्मीयताको भारी बोकेर हिडिरहेँ स्वार्थको जहाज चढ्नेहरु आकाशमाथि कता पुगिसके म त भुइँमै इमान्दारिताको भारी बोकेर हिडिरहेँ (मु.नं. १७१ पृ. ४९) प्रस्तुत मुक्तकमा बाध्यताको भारी बोकेर हिड्नु र सद्भावना र आत्मीयताको भारी बोकेर हिड्नु विरोधाभासपूर्ण भयो कि । सद्भावना र आत्मीयता बाध्यताले नभएर स्वतःस्फूर्त आउने कुरा हो । जहा्रँ आत्मीयता र सद्भावना हुन्छ त्यहाँ बाध्यताको आभास र अनुभूति नै हुँदैन । जहाँ बाध्यता हुन्छ त्यहाँ सद्भावना र आत्मीयता हुँदै हुँदैन । त्यहाँ हुन्छ त केवल औपचारिकता र समाजलाई देखाउने लोकाचार मात्र भन्ने मेरो ठहर रहेको छ ।

रोटी माग्दा तपाईँ सिद्धान्तको मन्त्र भन्नुहुन्छ आफ्नै कुरा साँचो अरूको षड्यन्त्र भन्नुहुन्छ आवश्यकताले यहाँ राणा शासन नै मागिसक्यो तपाइँ भने अझै लोकतन्त्र लोकतन्त्र भन्नुहुन्छ । (मु.नं.२२८ पृ. ६३) प्रस्तुत मुक्तकमा आवश्यकताले राणा शासन नै मागिसक्यो भन्नु अलि सान्दर्भिक भएन कि ? बरू स्रष्टा राजतन्त्रात्मक धरातलको मान्छे भएर राजतन्त्र नै मागिसक्यो भनेको भए लेखकको वैचारिक दृष्टिसंग पनि मेल खाने थियो तर जहाँनिया निरङ्कुश राणा शासनको माग हुनु आजको समय सन्दर्भमा हेर्दा स्वाभाविक लाग्दैन ः

लिए जस्तो गरौँ केही, केही दिए जस्तो गरौँ एकछिन कतै बिसौनीनिर उभिए जस्तो गरौँ फेरि कतै यसै गरी पुनः भेट नहुँदासम्म आउनुहोस् केही दिन बिर्सिए जस्तो गरौँ । (मु.नं. २३२ पृ. ६४) यस्ता परिच्छेदले मानव स्वभाव भेट हुँदा अति नै निकट भएजस्तो गर्ने र टाढा भए बिर्सिने कुरालाई ध्वन्यार्थमा व्यक्त गर्न खोजेको छ तर सोझा पाठकहरुका लागि भने अभिधा अर्थमा ब्ुझ्दा पाठकलाई नाटकीय अभिनय गर्न प्रेरित गर्छ । विरोध गर्नेको विरोध र जय गर्नेको जय गरौँ फूल उखेल्नेको होइन फूल रोप्नेको प्रश्रय गरौँ कोही मन बोक्दै आउनु कोही माया बोक्दै आउनु कोसँग कति शक्ति छ आउनुहोस् निर्णय गराँै । (मु.नं.२३४ पृ. ६५) प्रस्तुत मुक्तकको पहिलो पङ्क्तिले प्रतिशोधको भावनालाई प्रश्रय दिए जस्तो लाग्छ भने चौथो पङ्क्तिमा शक्तिको प्रतिस्पर्धालाई आह्वान गरे जस्तो लाग्छ । कर्म र भाग्यसम्बन्धी विचारहरु पनि विरोधाभासपूर्ण रुपमा मुक्तकमा आएका छन् ः—

जसरी हुन्छ बाँच्ने चेष्टा नै त जीवन रहेछ हाम्रो रूने र हाँस्ने चेष्टा नै त जीवन रहेछ भाग्य र कर्मले जेजे गराउँछ मान्छेलाई त्यहीँ अनुरुप नाच्ने चेष्टा नै त जीवन रहेछ । (मु.नं.९३ पृ. ३०)

जहाँ कर्म र ज्ञानको बाटो जोडिन्छ जहाँ अर्घसरी पसिना पोखिन्छ जहाँ मानिन्छ परिश्रमलाई मन्त्र त्यही नै भाग्यरेखा आफै कोरिन्छ (मु.नं.९६ पृ. ३०) माथि उल्लिखित पहिलो मुक्तकमा मान्छेले भाग्य र उसको कर्मले जेजे गराउँछ मान्छेले त्यही अनुरुप गर्छ भन्ने भाव व्यक्त गर्दा भाग्यले कर्म गर्न प्रेरित गरेको देखिन्छ । भाग्यद्वारा कर्म प्रेरित हुन्छ । भाग्यले जे गराउँछ त्यो मानिसले गर्छ भन्ने भाग्यवादी दृष्टि देखिन्छ भने दोस्रो मुक्तकमा परिश्रम र पसिनालाई भाग्यको निर्माताको रुपमा व्याख्या गरिएको छ । यसरी हेर्दा दुईओटा मु्क्तकमा विरोधाभासपूर्ण वैचारिक दृष्टि पाइन्छ ।

चिसो चुलोमाथि रित्तो कसौडी तताउन खोज्छु चन्द्रमामा गुलेलीले निशाना लगाउनु खोज्छ्ु जागेका मान्छेहरुको चर्तिकला देखेर पनि सुतेका मान्छेहरुलाई व्यर्थै जगाउन खोज्छु । (मु.नं.८८ पृ. २२)

माथि उल्लिखित मुक्तकका पङ्क्तिहरुमा म पात्रको महत्त्वाकांक्षी मनोवृतिप्रति व्यङ्ग्य प्रहार गरिएको छ तर यस मुक्तकको पहिलो र दोेस्रो पङ्क्तिको बिम्ब प्रयोगको सन्दर्भ तेस्रो र चौथो पङ्क्तिसँग असान्दर्भिक र अस्वाभाविक देखिन्छ किनकि चिसो चुलोमा रित्तो कसौडी तताउन खोज्नु र चन्द्रमामा गुलेलीले निशाना लगाउन खोज्नु असम्भव कुराको प्रतीकात्मक अर्थ र जागेका मान्छेका चर्तिकला देखेर पनि सुतेका मान्छेलाई व्यर्थै जगाउन खोज्छु भन्ने प्रसङ्ग अलि सान्दर्भिक भएन । किनकि सुतेका मान्छेहरु सबै एकै नहुन पनि सक्छन् । जागेपछि सबैको कला पृथक्पृथक् हुन पनि सक्छ । सुतेका मान्छेलाई जगाउनु सार्थक पनि हुन सक्छ । त्यसकारण असम्भव कुराको प्रतीकका माध्यमबाट सम्भावित कुराको दृष्टान्त प्रस्तुत गर्नु सान्दर्भिक छैन । यहाँनेर सबै मान्छेहरुलाई सामान्यीकरण गरियो । मान्छेमा प्रकृतिको विशेषता नै विविधता हो । त्यसकारण सुतेका र जागेका मान्छेहरुको सामान्यीकारण सान्दर्भिक छैन भन्ने मेरो तर्क छ अथवा यसैलाई अर्को शब्दमा भन्दा असान्दर्भिक र अतुल्य दृष्टान्त संयोजन भएको पाइयो ।

भन्न त भनिन्छ नारी मन्दिर हुन्, पुरूष पुजारी हुन् मान्ने त गरिन्छ नारी दाता हुन् पुरूष भिखारी हुन् तर अवस्थाले भूमिका यस्तो बनाइदिन्छ कि लाग्ने गर्छ यहाँ नारी सिकार हुन् पुरूष सिकारी हुन् । (मु.नं.२८२ पृ ७७)

यी पङ्क्तिलाई आजको सामाजिक यथार्थको सापेक्षतामा हेर्दा समग्रतामा गरिएको सामान्यीकरण भन्न मिल्दैन । जस्तै ः लाग्ने गर्छ यहाँ नारी सिकार हुन पुरूष सिकारी हुन् भन्ने पङ्क्तिले सबै नारीहरु सिकार र सबै पुरूषहरु सिकारी हुन् भन्ने बुझिन्छ । नारीवादी दृष्टिकोणबाट हेर्दा नारीको अस्तित्वलाई सिकारको रुपमा र पुरूषको अस्तित्वलाई सिकारीका रुपमा अभेद आरोप गरेर नारीप्रति सहानुभूति देखाउन खोजे पनि यो रुपक लैङ्गिक रुपमा गलत देखिन्छ ।

स्रष्टा आ नो भाषाप्रति सचेत भएर आयातित शब्द प्रयोगलाई वर्जित गर्न खोज्दाखोज्दै पनि कहीँ कतै थोरै मात्रामा चिप्लिएको पाइन्छ । जस्तै ः फारसी शब्द दङ्गा, याद, गुजारा, बिराना, स्याबास, अरबी शब्द नारा, तक्दिर, कुर्सी, फगत, हिसाब, अङ्ग्रेजी शब्द गेट, भिटामिन, हल, पुर्तगाली शब्द लिलाम, तुर्कीर् शब्द तलास आदिको प्रयोग भएको छ ।

खगेन्द्र गिरि ‘कोपिला’ को मुक्तकसङ्ग्रह ‘कालध्वनि’ अनुभव, अनुभूति र दर्शनको सङ्गालो बनेर आएको छ । पाका सर्जकका, पाका अनुभूति र अनुभव, ज्ञान र विवेकबाट सृजना भएका कारणले पनि अधिकांश मुक्तकहरु श्रुतिमधुर र मर्मस्पर्शी छन् । खारिएको विचार परिष्कृत प्रस्तुति, अकाट्य र समानुभूतिजन्य मान्यताहरु मुक्तकमय सूक्ति बनेर आएका छन् । यथार्थको नजिक छन् । तर्क उचित छन् र मान्यताहरु सामान्यीकरण हुन्छन् । (ज्ञानोदय क्याम्पस, खजुरा, बाँके—९८४८०—४५८५१)